कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

देवी उपासनाको मर्म

मानसिक वृत्ति परिवर्तन गर्न पूर्वजले देव–देवीका उपासना पद्धति चलाएका हुन् । बाह्य तामझाम निरर्थक छ ।
भवानीशंकर भट्टराई

काठमाडौँ — देवीले हामीलाई शक्ति अर्थात् ऊर्जा दिन्छिन्, मनोवैज्ञानिक सामथ्र्य दिन्छिन्, हामीभित्रका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता दानवलाई परास्त गरेर दैवी शक्ति उदय गराउने आत्मबल प्रदान गर्छिन्  । त्यसैले हामी प्रतिवर्ष देवीको उपासना गर्छाैं  ।

देवी उपासनाको मर्म


वैदिककालदेखि असोजलाई वर्षभरिका महिनामध्ये उत्तम मानिँदै आइएको छ । त्यसैले यही महिनामा देवीपूजा गरिएको हो । कृषि प्रणालीमा आश्रित हाम्रो जीवन पद्धतिमा वर्षाको हिलोमैलो सकिएको र खेतीको चटारो पनि समाप्त भएको खुसियालीमा असोजलाई रोजिएको हुनसक्छ । समय, परिस्थिति, मौसम आदि सबै कोणबाट उपयुक्त आश्विन शुक्लपक्षमा देवीको उपासना पद्धति हाम्रा पूर्वजले चलाएका हुन् ।


देवी उपासनाको मर्म पण्डाल बनाएर, तामझाम गरेर, गीत लगाएर रमाइलो गर्नु, गीतका प्यारोडी भजन बजाएर भिड भेला गर्नु, नाचगान गर्नु, मन र मस्तिष्कलाई पश्चिमी बनाए पनि समाज र अभिभावकका अघि देखावटी पूजा गरिटोपल्नु पटक्कै होइन । यसको उद्देश्य हामीभित्र रहेका नकारात्मक ऊर्जा परास्त गर्न सकारात्मक ऊर्जा आह्वान गर्नु हो । हामी कति निरपराध कमजोर मानिस र पशुमाथि दानवीय व्यवहार गरिरहेका छौं ।


हामीभित्रका अनुचित कामवासनाले दुधे बालिका, किशोरी, परस्त्री केही छुट्याएका छैनन् । हाम्रा आवेग र क्रोधले चित–अनुचित छुट्याउनसकेका छैनन् । अनाहकमा द्रव्यसञ्चय गर्ने लोभले भष्टाचारी, व्यभिचारी बनाएका छन् । अनुचित मायामोहले नातावाद, कृपावादलाई बढावा दिएका छन् । म खाऊँ मैलाऊँको अहङ्ककारले मानवताविमुख बनाएका छन् । यी सबै मानवताका शत्रु अर्थात् राक्षस (दानव) हुन् । यिनीहरूलाई परास्त गर्न देवीको उपासना आवश्यक छ ।


मानिसभित्र देवत्व विराजमान छ, तर दानवत्वले यसलाई थिचेको छ । आसुरी प्रवृत्तिबाट त्यो ढाकिएको छ । त्यसैले यो सबल बन्नसकेको छैन र पनि यदाकदा शिर उठाउने प्रयत्न गर्छ । हामीभित्रको देवत्व जाग्न थालेपछि असुरत्वले आफू अपमानित भएको अनुभव गर्छ । यी दुई यदाकदा बाझाबाझ पनि गर्छन् । तर अक्सर विजय दानवकै भइरहेको देखिन्छ । त्यसैले समाज व्यभिचारी, द्रव्यपिपासु, लोभी, पापी, हिंस्रक बन्दै गएको छ । दुर्गा उपासनाको मर्म हामीभित्रका दुर्वासना हटाएर नवीनतम देवशक्ति रिचार्ज गर्नु हो अर्थात् पुनर्जागृत गर्नु हो ।


उपासना एक प्रकारको तान्त्रिक अथवा यौगिक साधना हो । यो कोठाभित्र ध्यानमुद्रामा बसेर एकाग्रता, प्राणायाम, ध्यान, धारणा आदि यौगिक प्रक्रियाबाट पुरा गर्न सकिन्छ । तन्त्रविद्या जानेकाहरूका लागि त तान्त्रिक प्रक्रियाबाट झन् सहज छ । साधना पश्चात् चिती (चेतना), बुद्धि, दया, शान्ति, मैत्री, सहिष्णुता, मातृत्व, वात्सल्य, क्षान्ति आदिबाट मानिसभित्रका आसुरी शक्तिलाई दबाउन वा निर्मूल गर्न सकिन्छ । तसर्थ मानसिक वृत्ति परिवर्तन गर्न हाम्रा पूर्वजले देव–देवीका उपासना पद्धति चलाएका हुन् । दुर्गादेवीले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ आदिलाई मारेको, कतिको शिर छेदन गरेको अनि महिषासुरलाई पाउले कुल्चिएको प्रसङ्गलाई हामी सिधा–सिधा कथाका रूपमा मात्र बुझिरहेका छौं । यसको प्रतीकात्मक अर्थ आफैभित्रका आसुरीवृत्तिलाई मारेको, दबाएको र कुल्चिएको भन्ने हो । देवीले ज्ञानका हतियार प्रयोग गरेकी छन् । हामी पनि ती शस्त्रअस्त्र प्रयोग गरेर हामीभित्रका रक्तबीज, महिषासुर आदिलाई मार्न सक्छौं, त्यो नसके परास्त गर्न सक्छौं, त्यो पनि नसके एक वर्षसम्मका लागि कुल्चिन/दबाउन सक्छौं । यसैका लागि दुर्गाका उपासना र साधना परिकल्पना गरिएका हुन् ।


साधनाको बाटो असाध्यै अप्ठयारो अर्थात् दुर्ग (पुग्न कठिन) छ । त्यसैले यसलाई दुर्गा साधना भनिएको हो । देवी उपासनामा बाह्य तामझाम निरर्थक छन् । हुन त पण्डालमा देवीका मूर्ति स्थापना गरी गरिने पूजाका सकारात्मक पक्ष पनि नभएका होइनन् । यसबाट आपसी सद्भाव वृद्धि हुन्छ, युवा पुस्तामा धार्मिक आस्था बढ्छ, सामाजिक एकता प्रगाढ हुन्छ । तर यी सबै बाह्य द्वन्द्व निवारणका साधनमात्र हुन् । मनभित्रका अन्तरद्वन्द्व, छलछाम र पशुतालाई यिनीहरूले निवारण गर्न सक्दैनन् । त्यसैका लागि दुर्गा उपासना आवश्यक छ ।


वस्तुत: देवीको मूर्ति, देवीका अष्टभुजा, हातहतियार सबै प्रतीकात्मक मात्र हुन् । कुनै विषयलाई सहजै बुझाउन चित्र/मूर्ति प्रयोग गरिएझैं यिनीहरूको आकृतीकरण गरिएको मात्र हो । हामीले राक्षस चिनायौं र वस्तुको प्रतिविम्ब/प्रतिमूर्ति त्यस्तै बनायौं । ती वस्तुका परिकल्पनाकार हामी हौं, ती स्वरूप पनि हामी नै हौं । राक्षस र देवता दुबै हामी हौं । हामीले आफूभित्रका दानवी प्रवृत्तिलाई परास्त गर्नुछ भने बाहिरी तामझामबाट होइन, यौगिक विधिबाट दुर्गाको उपासना गरौं र सात्विक जीवन प्राप्त गरौं ।

प्रकाशित : आश्विन ३१, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?