कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

शक्ति पूजा र बलि प्रथा

महाकालीले रक्तबिजको रक्तपान जगतको रक्षार्थ र आशुरी अत्याचार अन्त्यका लागि गरेकी थिइन् । पशुको रगतले नुहाइदिएर देवीलाई खुसी पार्न खोज्नु भ्रममात्रै हो ।
साधना प्रतीक्षा

काठमाडौँ — शक्तिस्वरूपा दुर्गा भवानीप्रति आस्थावान भएर पनि म नवरात्रिभर शक्तिपीठमा जाने रहर गर्दिन  । त्यहाँको रक्तरञ्जित भूमिमा पाउ राख्ने सामथ्र्य ममा छैन  ।

शक्ति पूजा र बलि प्रथा

शक्तिस्वरूपा दुर्गा भवानीप्रति आस्थावान भएर पनि म नवरात्रिभर शक्तिपीठमा जाने रहर गर्दिन । त्यहाँको रक्तरञ्जित भूमिमा पाउ राख्ने सामथ्र्य ममा छैन । हरेक दसैंमा म आफ्नै घरको पूजास्थानमा दुर्गामाता स्थापना गरेर पूजा गर्छु । उहिले देवीको मन्दिरमा मानिसले साना भए काखी च्यापेर अनि ठूला भए घिसारेर लगेका निमुखा पशुलाई बलि चढाएर भक्ति प्रदर्शन गर्दै इच्छासिद्धिको कामना गरेको देख्दा मेरो मानवता कुण्ठित भएको थियो । एकातिर हामी हिन्दु सनातन परम्पराका अनुयायी दुर्गा भवानीलाई माता भन्छौं, अर्कातिर तिनै माताको मन्दिरमा उनकै सन्तानको बलि चढाइदिन्छौं । यो कस्तो विरोधाभाष हो ? जगत जननी माता भन्नाले सम्पूर्ण जगत, जीव–जीवात्मा सबैकी आमा हुन्, तर मान्छेले उनलाई बडो चतुर्‍याइंँपूर्वक आफ्नीमात्र आमा बनाएर अन्य प्राणीकी भक्षकमा रूपान्तरित गरिदियो । यस्तो परम्पराको आरम्भ कहाँबाट र कसरी भयो, खोजीको विषय हो । धर्म–संस्कृतिका नाममा हत्या–हिंसाले निरन्तरता पाइरहनु मानव सभ्यताका लागि शोभनीय देखिँंदैन ।


हुन त मान्छेकै बाँच्न पाउने अधिकारको सुनिश्चितता गुमिरहेको वर्तमानमा पशु अधिकारको प्रसङ्ग असान्दर्भिक मात्र नभएर मुर्खतापूर्ण दृष्टिकोण हुनसक्छ । तर धर्मको मर्म विपरीत स्थापित बलि प्रथाबारे प्रश्न उठाउनु सचेत नागरिकको दायित्व हो । जुनसुकै धर्मको मूलसम्म पुग्ने हो भने जीवन–जगतको कल्याण नै त्यसको अभीष्ट रहेको देखिन्छ । हिन्दु धर्म अन्तर्गतका अठार पुराणको सारमा ‘परोपकार पुण्याय: पापाय: परपीडनम्’ अर्थात् अर्काको उपकार गर्नु धर्म हो भने अरुलाई पीडा दिनु पाप हो भन्ने भावना निहित देखिन्छ । यस्तो हिन्दु सनातन परम्परामा प्रचलित बलिप्रथाको औचित्यमाथि प्रश्न उठाउनु आजको आवश्यकता बनिरहेको छ । किनभने यो परोपकार र परपीडन केवल मानव जातिका सन्दर्भमा सीमित त छैन होला π प्राचीन समयमा ऋषिका आश्रममा निर्वाध रूपमा क्रीडारत मृगशावकहरूको प्रसङ्गले पनि यसको पुष्टि गरेको देखिन्छ । ती ऋषि तथा सन्तहरूको सात्विक जीवनशैली तथा दयालु स्वभावले हिन्दु परम्परामा रहेको अहिंसाको मर्मबोध गराउँछ ।


देव तथा दानव जन्मजात नभएर स्वभावजन्य भिन्नता हुन् । हत्या, हिंसा, आतङ्क, मांस–मदिराद्वारा प्रेरित वर्गको चेतनालाई अहंकारले दबाएको हुनाले ती दैत्य वर्गमा परेको र दया, करुणा र सात्विक जीवनशैली भएका सत्यका अनुयायीहरू देवता बनेको प्रसङ्ग विभिन्न धार्मिक मिथकहरूमा पाइन्छ । बलिको प्रचलन पनि तान्त्रिक सिद्धि प्राप्तिका लागि गरिने अनुष्ठानहरूमा रहेको देखिन्छ । तान्त्रिक विधिद्वारा शक्ति प्राप्त गरेर संसारमा आफ्नो प्रभुत्व कायम गर्नका लागि दुष्ट प्रवृत्तिबाट गरिने बलिजन्य हिंसालाई कालान्तरमा बलिया मानिसले निर्धामाथि आफ्नो प्रभुत्व कायम गर्न प्रदर्शन गर्ने शक्तिका रूपमा अनुशरण गर्दै आएको हुनसक्छ । मानिसले देवी–देवतालाई बलि चढाउन बाघ, भालु, हात्ती आदिजस्ता हिंस्रक अनि शक्तिशाली पशु नभएर राँगा, बोका, कुखुरा, हाँस आदिजस्ता निर्धा पशु–पन्छी चयन गरेको छ ।


अर्काको जीवनको बलि चढाएर आफ्नो कल्याणको कामना गर्ने यो परम्पराले मानवीय मूल्य–मान्यतालाई चुनौती दिइरहेको छ । हाम्रो मुलुकमा पटक–पटक प्रजातन्त्र स्थापनाका लागि ठूलठूला क्रान्ति भएका छन् । तर समानता र सहअस्तित्वको संस्कृति स्थापित हुन सकिरहेको छैन । शक्तिपूजामा हुने बलिप्रथाले समानता र सहअस्तित्व सहितको प्रजातान्त्रिक मूल्य–मान्यतालाई चुनौती दिएको देखिन्छ ।


देवी दुर्गा भवानीलाई अविवाहित र सन्तानकी माता पनि नभएको भन्ने धार्मिक मिथकहरू नभएका होइनन् । सृष्टिको आरम्भ अनि त्रिदेव तथा त्रिदेवीका सन्दर्भमा उनी शिवकी अर्धाङ्गिनी पार्वती नै हुन् । उनलाई शिवको शक्तिका रूपमा पनि मानिन्छ । शिव अर्थात् पुरुष र शक्ति अर्थात् प्रकृतिको संयोगबाटै सृष्टि सञ्चालित भएको मानिन्छ । यसको साक्षीका रूपमा अर्धनारीश्वर ईश्वरलाई लिन सकिन्छ । त्रिदेवी अर्थात् महाकाली, महालक्ष्मी तथा महासरस्वतीलाई क्रमश: शक्ति, वैभव तथा विद्याकी देवीका रूपमा पुजिन्छ । देवीका यी तीनै स्वरूपको एकात्मकतालाई देवी माताको नामले पुकारिन्छ । त्यसैले देवीलाई जगतमाता, जगतजननी आदि सम्बोधनद्वारा चराचर जगतकी आमा मानिएको छ । यस्ती आमालाई उनकै सन्तानको बलि स्वीकार्य होला र ? महाकाली लगायत देवीका असंख्य स्वरूपहरूका सन्दर्भमा पनि उनले बलिको माग गरेको प्रसङ्ग कहीं कतै पाइँदैन । देवीका यस्तै स्वरूपमध्ये छिन्नमस्ता देवीको प्रसङ्गमा उनले पशुहत्याको विरोधमात्र गरेकी छैनन्, पशुको जीवनरक्षाका लागि आफ्नै शिरसमेत छेदन गरेकी छन् । मृगको वध गरेर रक्तपान गर्न तत्पर जया–विजया नामक दानवीहरूलाई देवीले रोकेर अन्य भोजन गर्नभन्दा उनीहरूले आफूहरूको आहारा रगतमात्र भएको र त्यसको अभावमा आफ्नो जीवनरक्षा हुन नसक्ने अडान लिएपछि देवीले मृग तथा उनीहरू दुवै पक्षको जीवनरक्षाका लागि आफ्नो मस्तक अर्थात शिर छेदन गरेर रगतले तृप्त पारेको प्रसङ्ग पाइन्छ । सप्तरीको छिन्नमस्ता देवीको मूर्ति तथा तस्बिरले यो मिथकीय सन्दर्भलाई प्रस्ट्याइरहेको छ ।


देवीको रक्तपानको सन्दर्भ रक्तबिज नामक दानवको वधसँग सम्बन्धित देखिन्छ । रगतको एउटा थोपा जमिनमा खस्नासाथ त्यसबाट असंख्य दानव उत्पन्न हुने वरदान पाएको रक्तबिजको अन्त्यका लागि महाकालीले उग्र रूप धारण गरेर उसको सबै रगत पिएर मारेको प्रसङ्गलाई आधार बनाएर देवीलाई बलि दिने प्रचलन आरम्भ भएको हुनसक्छ । महाकालीले रक्तबिजको रक्तपान जगतको रक्षार्थ र आशुरी अत्याचार अन्त्यका लागि गरेकी थिइन् । पशुको रगतले नुहाइदिएर देवीलाई खुसी पार्न खोज्नु भ्रमबाहेक केही हुन सक्दैन ।
जसले जुन विशेषता धारण गरेको छ, त्यही नै उसको धर्म हो । मानवको विशेषता हिंसा र अत्याचार होइन, कल्याण र सदाचार हो । मानव निर्मित हुनाले संस्कृति रूढी नभएर परिवर्तनशील हुनुपर्छ । तर विडम्बना π हामीकहाँ बलिप्रथाको अन्धानुकरण मात्र नभएर यो त ‘बिरालो बाँध्ने’ रूढीकै रूपमा रहेको देखिन्छ । दुर्गा स्थापना गरेपछि सक्नेले बोकाको बलि दिन्छन् भने नसक्नेले कुभिन्डो, फर्सी वा घिरौला आदि नै भए पनि त्यसमा काठको सिङ, खुट्टा, पुच्छर आदि बनाएर मार हान्ने चलन छ । विशेषगरी शाकाहारीहरू यसरी तरकारी वा फलफूललाई प्रतीकात्मक रूमा पशु मानेर बलि दिने गर्छन्, जुन आफैमा हास्यास्पद देखिन्छ । मानव निर्मित धर्म–संस्कृतिभित्रका यस्ता असान्दर्भिक प्रचलन हटाइनुपर्छ ।
मांसाहार मानिसको इच्छाको विषय हो । आफ्नो इच्छालाई ईश्वर र धर्मसँग जोड्नुभन्दा त्यसबाट पृथक् गरेर पुरा गरिनुपर्छ । दसैं, तिहारजस्ता पर्वलाई हरेक समुदायले आ–आफ्नै परम्परा अनुसार मनाउने हुनाले खानपान पनि सोही अनुसार गरिन्छ । आ–आफ्नो गच्छे अनुसार मासु खानु, रमाइलो गर्नु, पर्व मनाउनु सबैको अधिकार हो । तर यसलाई धार्मिक प्रयोजनसँग आबद्ध गरेर ईश्वरका पवित्र धामहरूलाई रगताम्ये पार्नु उपयुक्त देखिंँदैन ।


सत्य, अहिंसा, न्याय, कल्याण आदिजस्ता विशेषता बहन गरेको ईश्वरीय तत्त्व र त्यसैका आधारमा निर्मित धार्मिक मूल्य–मान्यताको अपव्याख्या गरिंँदै जानुले आज मानिसमा नास्तिकताको विकास हुनुका साथै ऊ मानवीय मूल्य–मान्यताबाट समेत विमुख बन्दै गैरहेको देखिन्छ । शक्ति पूजाका नाममा धार्मिक स्थलमा भैरहेको बलिप्रथाले बलियाको शक्ति प्रदर्शन र निर्धामाथिको दमनको द्योतन गरिरहेको छ । शक्ति संघर्ष, हिंसा, आतङ्कबाट समाज, राष्ट्र अनि सम्पूर्ण विश्व समुदाय आक्रान्त भैरहेको वर्तमान परिवेशमा शान्तिको कामना तथा विश्व शान्ति स्थापनाका लागि बलिप्रथा अन्त्य झनै सान्दर्भिक बन्दै गैरहेको छ । मानव समाज आफ्ना धार्मिक–सांस्कृतिक मूल्य–मान्यताबाट निर्देशित हुनेहुँदा हिंसाको न्युनीकरणका लागि धार्मिक–सांस्कृतिक अभ्यासलाई परिमार्जन गरिनु आवश्यक छ । यसका लागि शक्तिपूजाका सन्दर्भमा भैरहेको बलिप्रथालाई निरुत्साहित गरिनुपर्छ ।

प्रकाशित : आश्विन ३१, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?