कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

खान जाने स्वस्थ

सन्तानले के खान्छन्, ख्याल गर्नुहोस् है । नत्र स्वास्थ्य र पैसा दुवै नाश होला ।
डा. अरूणा उप्रेती

काठमाडौँ — मेरा बाजे मुरलीधर उप्रेतीको मृत्यु मधुमेहले भएको थियो । मेरी फुपू र उनका ४ छोरी मधुमेहका रोगी छन् । मेरो ठूलो बुबाका छोराको मृत्यु हृदयरोगले भएको थियो । उहाँ पनि मधुमेहको बिरामी हुनुहुन्थो । वंशानुगत रूपमा म मधुमेह हुनसक्ने सम्भावना भएकी महिला हुँ ।

खान जाने स्वस्थ

६० वर्षको उमेर र रजोनिवृत्ति भइसकेकी हुनाले मुटुको रोग हुनसक्ने सम्भावना पनि छ । त्यो समस्या सकेसम्म मलाई र मेरा छोरीहरूलाई नहोस् भनेर सतर्क भइरहेकी छु । मधुमेहको एक प्रमुख कारण मोटोपन नहोस् भनेर चनाखो छु । तै पनि कहिलेकाहीं जिब्रो नियन्त्रण गर्न नसक्दा तौल बढ्ने गर्छ ।


जीवनशैली सकेसम्म सरल राख्न कोसिस गर्छु । गाउँघर जाँदा कसैले पत्रु खाना दिए एक टुक्रा भए पनि मुखमा हाल्नैपर्ने हुन्छ । त्यस बाहेक पत्रु खाना खाँदिन । चिसो पेय पदार्थबाट टाढा बस्छु । बट्टाका फलफूलका जुस चिनीले भरिपूर्ण भएको हुनाले खान्न । म अरूलाई पनि पत्रु खाना, चाउचाउ, बट्टाका मिठाइ आदि नखान सल्लाह दिन्छु । तर मेरो सल्लाह प्राय: कसैले सुन्दैन । मधुमेहको समस्या भइसकेपछि भने के खान हुँदैन भनेर सल्लाह माग्छन् ।


यो वर्ष दसैंअघि धेरै पत्रकारले मसँग अन्तर्वार्ता लिए । सबैको प्रश्न प्राय: एउटै थियो । ‘दसैं र तिहारका बेला के खाने ?’ मैले सबैलाई एउटै उत्तर दिएँ, ‘मिठो खाने नाममा बेस्सरी चिल्लो हालेको मासु वा तरकारी नखाने । जिब्रोलाई नियन्त्रण गर्ने । दसैं, तिहारपछि बिरामी भएर अस्पताल जान नपरोस् भनेर ध्यान पुर्‍याउने । आफूले कोचेर नखाने, अरूलाई पनि कोचेर खान कर नगर्ने ।’


मेरो कुरा सुन्दै आइरहेकी फुपूकी छोरीले मलाई भनिन्, ‘अब तिमीजस्तै म पनि खानाको विषयमा एक घन्टा बोल्न सक्छु । तर तिमीजस्तो जिब्रो नियन्त्रण गर्न सक्दिन । दुई दिनको जिन्दगी छ, ढुक्क भएर खाने नि । बिरामी भए अस्पताल जाउँला । केको पीर †’ उनी मधुमेहकी बिरामी हुन् । मुटुमा समस्या भएको लामो समय भयो, उपचार गराउँदैछिन् । तर खाना नबार्ने अठोट छ । हरेक दसैं–तिहारपछि उनको रत्तचाप र मधुमेहको समस्या बढ्छ । उनी बिरामी भएपछि घरका मानिसलाई पनि समस्या पर्छ ।


वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाश रेग्मीका अनुसार सरकारले मुटुको रोग भइसकेपछि उपचार गर्न ३० करोड रुपैयाँ छुट्याएको छ । तर मुटुरोग, मधुमेह नहोस् भनेर जनतालाई सचेत पार्न पैसा छुट्याएको छैन । जनचेतना र सामाजिक जागरुकता नआई औषधिमात्र गरेर समस्या समाधान हुँदैन ।


पोलियो, बिफर (शितलामाई) रोकथामका लागि सुई नआएको भए कति व्यक्तिले अपांगताको जीवन बिताउनुपथ्र्यो होला ! अहिले कतिपयले मधुमेह, रक्तचाप वा मुटुरोगका कारण पक्षाघात भएर अपांगताको जीवन बिताउनुपरेको छ । मस्तिष्क पक्षाघात भएर कति व्यक्ति ‘जीवित’ भए पनि अरूले स्याहार गरिदिनुपर्ने अवस्थामा बाँचेका छन् । अस्वस्थ जीवनशैली, पत्रु खाना, मदिरा, घरेलु रक्सी, तनाव आदिले यस्तो समस्या हुन्छ भन्ने प्राय:लाई थाहा छ । स्वास्थ्य मन्त्रालयले भने यसबारे बोलेको छैन ।


मुटुरोग र मृगौलाका समस्या भएका व्यक्तिहरू बढ्दैछन् । केही वर्षपछि तिनलाई डायलिसिस गर्ने न अस्पतालको क्षमताले भ्याउनेछन् न सरकारसँग पैसा हुनेछ । साना नानीको समेत मिर्गौला पत्रु खानाका कारण बिग्रने गरेको छ । जनचेतना जागृत गराउन ध्यान दिने भने कति मृगौला रोगी कम हुन सक्छन् । निजी अस्पताल खोल्ने होड छ । अस्पताल सञ्चालकसँग राजनीतिक नेतृत्वको साँठगाँठ हुन्छ । रोग रोकथामका लागि निजी अस्पताल प्राय: बोल्दैनन् ।


१५ वर्षअघि अमेरिकामा मैले धेरै जवान केटाकेटी मोटा पाएँ । आमाबुबाले आफ्नो छोराछोरीको स्वास्थ्यमा किन बेवास्ता गरिरहेका होलान् भन्ने लागेको थियो । त्यो समस्या नेपालमा पनि देखिन्छ भन्ने मैले ठानेकी थिइन । अहिले काठमाडौंका सडक, विद्यालय र बाटोमा मोटा बालबालिका, मान्छे देखिनु सामान्य भइसकेको छ । आमाबुबाको सन्तानप्रति अधिक प्रेम वा बेवास्ता (अज्ञानता) को परिणाम हो यो ?


मेरो एक परिचितको १५ वर्षीय नाति ७० किलोको छ । उसको खाना र नास्तामा धेरैजसो पत्रु खाना हुन्छ । चिसो पेयपदार्थ पिउँछ । पिठ्युँ दुख्ने समस्याका कारण दौडिन सक्दैन । तेस्रो तलामा उक्लिनसमेत गाह्रो हुन्छ । उसमा उच्च रक्तचाप र मधुमेहको जोखिम उच्च छ । यो कुराले उसकी हजुरआमा चिन्तित छिन् । तर ऊ हजुरआमाले भनेको केही मान्दैन । सन्तानले के खान्छन्, तपाईंहरू ख्याल गर्नुहोस् है । नत्र स्वास्थ्य र पैसा दुवै नाश होला ।

प्रकाशित : कार्तिक ६, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?