३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

खादा प्रतिबन्ध : वातावरणीय स्वच्छता की धार्मिक असहिष्णुता ?

गणेश राई

काठमाडौँ — केही वर्षदेखि खादा संस्कृतिमाथि धावा बोल्ने क्रम बढेको छ । त्यसको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । उनी अघिल्लो पटक प्रधानमन्त्री हुँदा पहिलो पटक त्रिभुवन विश्वविद्यालय सभालाई बिसर्जन गरेलगत्तै ‘एउटा कुरा भन्नु छ’ भन्दै दोहोरिएर समातेको माइकबाट पहिलो पटक खादा नलगाउनु आह्वान गरेका हुन् ।

खादा प्रतिबन्ध : वातावरणीय स्वच्छता की धार्मिक असहिष्णुता ?

त्यसबेला उनले प्रश्न गरेका थिए, 'नकुहिने, नबुझिने अक्षर लेखिएकाले खादा किन प्रयोग गर्ने ?'


विषय गम्भीर हो, यद्यपी उतिखेर प्रधानमन्त्री छँदा ओलीले दक्षिणी छिमेकीको नाकाबन्दीलाई निस्तेज तुल्याउन उत्तरी छिमेकीलाई रिझाउन केही कुटनीतिक पहल गरिरहेका थिए । केहीले अर्थ पनि लगाए, चीनलाई रिझाउनका लागि खादामा लेखिएको अक्षर ‘फ्रि तिब्बत' को नारा हुनसक्ने भएकोले प्रधानमन्त्रीको अभिव्यक्ति कुटनीतिक होला । तर, पछिल्लो समयमा केही स्थानीय तहले गरेको निर्णयबाट प्रधानमन्त्रीको अभिब्यक्ति कुटनीतिक होइन, नियोजित थियो की भन्ने ठान्न थालिएको छ ।


खादा बुद्ध धर्म र केही जातीय साँस्कृतिक समुदायको आस्था हो । संविधानले कुसैको धार्मिक आस्था र जातीय संस्कृतिक समुदायको भावनामाथि चोट पुर्‍याउन बर्जित गरेको छ । त्यो जान्दाजान्दै जनप्रतिनिधिले प्रधानमन्त्रीको त्यसबेलाको भनाईलाई व्यवहारमा उतार्न थालेका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष नेत्रबहादुर कार्कीले २०७५ असोज ९ गते बैठक राखेर आउँदो कात्तिक १ गतेदेखि वडा क्षेत्रभित्र हुने कुनैपनि सार्वजनिक कार्यक्रममा खादा प्रयोग गर्न नपाउने निर्णय गरेका छन् ।


वडा अध्यक्षले कुनै धार्मिक समुदायले पवित्र बस्तुका रुपमा प्रयोग गर्ने खादामाथि प्रतिवन्ध लगाउने उर्दी जारी गरेकोमा आदिवासी जनजाति संघसंस्थाहरुले विरोध गर्दै उनको राजीनामासमेत माग गरेका छन् । उनीहरुले कुनै पनि समुदायको धार्मिक रुपमा पवित्र मानिने बस्तुमाथिको प्रतिबन्ध धर्म निरपेक्षताको मर्म र भावना विपरित रहेकोसमेत उल्लेख गरेको छ ।


यद्यपि, यसरी खादा प्रतिबन्ध लगाउने सिन्धुपाल्चोकका सुनकोशी गाउँपालिकामात्र छैन । वैशाखमै गोरखाका आरुघाट गाउँपालिकाले प्लास्टिकका गिलाससंगै नाइलनबाट बनेको खादा पनि प्रयोगमा रोक लगाएको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णय गाउँसभाले अनुमोदन गरेपछि गाउँपालिकाले सूचना जारी गर्दै ढाका उद्योग खोल्न स्थानीयलाई प्रोत्साहन गर्ने समेत योजना अघि सारेको छ ।


तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले २०७३ सालमै आफ्नो मातहतका कार्यालयमा 'विदेशी' खादाको प्रयोग नगर्न निर्देशन जारी गरेको थियो । विदेशबाट आयात हुने खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक बस्तुमा राज्यकोषबाट वार्षिक करोडौं रुपौया बाहिरिने मन्त्रालयको तर्क थियो । मन्त्रालयले आफु मातहतका विभाग, प्रतिष्ठान, प्राधिकरण, निगम आदि विभिन्न ४० वटा निकायलाई परिपत्र गरेको थियो । उसले विदेशी भाषामा लेखिएका खादालाई प्रतिवन्ध र यस्तै खादा प्रयोग गर्नु परेमा नेपालमै उत्पादित ढाका, कटन र नेपाली कागजबाट बनेका खादामात्र प्रयोग गर्न भनेको थियो । नेपालमा उत्पादन भएको खादामा सम्भव भएसम्म पर्यटन विकासलाई प्रवर्द्धन गर्ने भाषा र तस्बिरको प्रयोग गर्न भनेका थियो ।


विश्लेषक आहुतिको शब्दमा माओवादी जनयुद्धको समाप्ति र शान्तिकालको थालनीसँगै ‘खादा’ को प्रयोग बढेको हो । एउटा सभ्यताले अर्को सभ्यतालाई गरेको दमनपछिको प्रतिफल खादा प्रयोग हो । खादा पहिचान मुद्दाको मर्म हो । यसको लगातार प्रयोगले नेपालको परम्परागत शासक समुदायलाई पिरोलेको छ । ‘खादा’ महायानी बौद्ध परम्पराबाट विकसित भएको मानिन्छ । आहुतिकै शब्दमा खादाको इतिहास खोज्दै ४७ सय वर्षअघिको चिनियाँ ह्वाङहो सभ्यतामा मंगल कामना गर्दा प्रयोग हुने कपडाको कथासम्म पुगिन्छ ।


त्यसैगरी वागमती उपत्यकाका नेवारले पूजापछि घाँटीमा लगाउने रातो कपडाको धजा पनि त्यही खादाकै एउटा अवशेषको अर्थमा अर्थ्याउन खोज्छन् । जे भए पनि सम्मानका निम्ति कपडाको धरोको प्रयोगको यो संस्कृति उत्तरबाटै सुरु भयो र तिब्बतमा बौद्ध धर्मको एउटा शाखा महायानको विकाससँगै यसले व्यवस्थित सांस्कृतिक रूप धारण गर्‍यो । यही महायानी बौद्ध परम्परा बोकेका समुदायहरू आजको नेपालको हिमाली र पहाडी भूभागमा विचरण गर्ने क्रमसँगै खादा पनि सँगै आयो । खादा हिमाल र पहाडका आज चिनिएका २९ जातिको पुण्य कर्महरूमा खादा प्रयोग हुन्छ । यो परम्पार सयौं वर्षदेखिको हो । हिन्दूहरूको फूलको माला जस्तै खादा पनि धर्मका लागि वा केवल साँस्कृतिक कर्मका लागि मात्र प्रयोग गरिन्छ । माला केवल फूल या पातको भए हुन्छ, खादा पनि कपडा मात्र भए पुग्छ । खादामा केही लेख्नैपर्ने कुनै बाध्यकारी मान्यता छैन । मालाको बीचमा कसैले ‘राम’ लेखेझैं, खादामा कसैले बुद्धको बन्दना लेख्छ भने कसैलाई आपत्ति हुँदैन । राजीव गान्धीलाई मालामै बम राखेर उडाइएको आशंका जस्तै कसैले फ्री तिब्बत या केही लेख्छ भने त्यो माला वा खादा कसैले जिम्मा लिनुपर्ने विषय पनि होइन ।


संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार खादा तिब्बती संस्कृति हो । जाडो ठाउँमा फूल फुल्दैन । नौनी घिउ जमाउँदा कक्रक्क पर्छ । ‘म्हाल’ (घिउ) ‘म्हेन्दो’ (चरु) चरणमा लगाउने परम्परा छ । त्यस निम्ति नेपालबाट टटेलाको सेतो भाग लैजान्छन् । सेतो कमलको फूलको प्रतीकका रुपमा त्यसलाई लिइन्छ । लामावादी बौद्धमा खादाको चलन छ । खादा पनि फूलको रुपमा खादा प्रयोग गरिन्छ । नेपालमा प्रयोग हुने खादा भारतमा बन्छ । तिब्बतमा होइन । यो दुई किसिमको हुन्छ । साधारण मन्त्र नलेखिएको र दोस्रो रंगीत अनि मन्त्र लेखिएको हुन्छ । पहोलो, रातो, नीलो, हरियो अनेक थरीका पाइन्छन् । त्यसमा पाँच हजार बौद्धधारणी मन्त्र लेखिएको हुन्छ । त्यसलाई शुभकार्य, कल्याणका निम्ति फूलमालाका रुपमा धारण गरिन्छ ।


नेपालमा खादालाई व्यापारका हिसाबले हेर्न थालिएको छ । वार्षिक करोडौं रुपैयाँको फूलमाला भारतबाटै आयात हुन्छ । फूलमाला एक पटक प्रयोग गरेपछि ओइलिन्छ । खादा चाहिं पटक पटक प्रयोग गर्न सकिने भएपछि बढी प्रयोगमा आउने गरेको संस्कृतिविद् गुरुङ उल्लेख गर्छन् । सहज र कम खर्चिलो भएकोले खादाको प्रयोग बढेको हो । ‘धर्म निरपेक्ष गणतन्त्र नेपालमा सबै धर्म समान छन्,’ उनी भन्छन्, ‘त्यसैले यसको प्रयोगमा प्रतिबन्ध लगाइनु हुन्न । हिन्दु, क्रिश्चियन जस्ता धर्मावलम्बीले प्रयोग नगरुन् । तर बौद्ध समुदायले प्रयोग गर्न पाउनु पर्छ । अर्काको धर्म संस्कृतिमाथि अतिक्रमण गरिएकोमा आपत्ति छ ।’


फूलमालाको सट्टा खादा प्रयोगको चलन व्यापक बढेको छ । कसको संस्कृतिबाट किन हामीले चलायौं ? हामीले ध्यान दिनु पर्ने पक्ष चाहिं ख्याल गरिरहेका छैनौं । बहुराष्ट्रिय कम्पनीको उत्पादनले नेपाली जनजीवनलाई चुर्लुम्मै डुबाएको चाहिं ख्याल गरेका छैनौं । सहरदेखि नगर, गाउँघर, रस्तीबस्ती, बाटाघाटा, खोलानाला, नदी सबैतिर कोक, फ्यान्टा, डिउ जस्ता बस्तुका प्लास्टिक बोतलले विरुप तुल्याएको छ । प्लास्टिकका प्याकेटमा पाइने चाउचाउ, कुरकुरे, प्लास्टिकका झोला, बियरका बोतल, रेडबुल आदि आल्मुनियमजन्य पदार्थले सबैतिर ढाकेको छ । तर, पुरै राज्य संयन्त्र अनावश्यक खर्च र वातावरण प्रदुषण गरेको नाममा कुनै धार्मिक समुदायको आस्थाको विरुद्धमा क्रमश: अघि बढिरहेको छ ।


[email protected]

प्रकाशित : कार्तिक ७, २०७५ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?