कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

चराका चित्रमा छल

एक ठाउँमा खिचिएको चरा तस्बिर अर्को ठाउँ वा जिल्लामा खिचिएको भनेर पुस्तकमा छाप्ने गलत प्रवृत्ति छ ।
कमल मादेन

काठमाडौँ — गत असोज १० गते साँझ फोटोग्राफर यात्रा राई थुलुङ, जन्तुविज्ञानका सह–प्राध्यापक कुलप्रसाद लिम्बु, एक्याप घान्द्रुक प्रमुख विदुर कुइँकेल, वरिष्ठ रेन्जर पवन यादवसँग म म्याग्दीको खोप्रा पुगेको थिएँ  । बिहानी पख फोटोग्राफर थुलुङले फाप्रे चरा (कमन हुपो) देखेछन्  ।

चराका चित्रमा छल

तस्बिर खिच्न क्यामेरा उचालेर निस्किहाले । खोप्रा समुद्री सतहबाट ३,६६० मिटर भू–उचाइ सतहमा छ । तराई र मध्य पहाडतिर अक्सर देखिने उक्त पन्छी असोज महिनामा खोप्रा उचाइमा देखिनु उनका लागि नौलो थियो ।

थुलुङले अन्यत्रै खिचेको फाप्रे चराको तस्बिर देखाएर खोप्रामा खिचेको भन्न सक्थे । तर एक ठाउँको तस्बिर अर्कै ठाउँको भन्नु गलत हो । कुनै लेखक वा फोटोग्राफरले एक ठाउँमा खिचेको तस्बिर अर्कै ठाउँमा खिचेको हो भनेर प्रकाशन गरे अपराध मान्नुपर्छ । यो पाठक वर्गलाई गुमराहमा राख्ने प्रयत्न हो । यस लेखमा केही पुस्तकमा छापिएका चराका यस्तै तस्बिरबारे चर्चा गरिएको छ ।

नेपालका चरा सम्बन्धी लेखिएको पछिल्लो पुस्तक ‘अ फोटोग्राफिक फिल्ड गाइड टु द बडर््स अफ नेपाल’ (सन् २०१७) मा ७५० चरा प्रजातिका २ हजारभन्दा बढी आकर्षक तस्बिर छन् । पुस्तक ओम बुक्स इन्टरनेसनल, भारतले छापेको हो । पुस्तक विक्रम ग्रेवाल, सुमित सेन, सरवन्दिप सिंह, निखिल देवसर र गरिमा भट्टले लेखेका हुन् । ग्रेवालले वन्यजन्तु सम्बन्धी निकै पुस्तक लेखिसकेका छन् । उल्लिखित पुस्तकमा २ सय ८० जनाले खिचेका रंगिन तस्बिर छन् । तर कसले कुन तस्बिर खिचेको भन्ने जानकारी छैन ।

‘कट–पेस्ट’ प्रवृत्ति
नेपालमा पाइने काँडे भ्याकुर बाहेक अन्य सबै चरा प्रजाति भारतमा पाइन्छ । यस आधारमा भारतका अर्निथोलोजिष्टहरू नेपालका चराबारे जानकार छन् । यसो भन्न सकिन्छ, भारतीय अर्निथोलोजिष्टहरूले नेपालमा पाइने चराका तस्बिर भारतमै खिचेका छन् । ‘अ फोटोग्राफिक फिल्ड गाइड टु द बडर््स अफ नेपाल’ शीर्षक पुस्तकमा समावेश सबैजसो चरा भारतमै खिचिएका हुन् । फोटोग्राफरमध्ये ज्योतेन्द्र ठकुरीसहित एकाधमात्र नेपाली हुन् । अरु सबै भारतीय । उनीहरूले नेपालको कुनाकन्दरा पुगेर चरा पक्कै खिचेका छैनन् ।

भारतमा खिचिएको तस्बिरका आधारमा नेपालमा हिजोआज ती चरा पाइन्छ भनेर लेख्नु गलत हो । नेपालमा पाइने चरा प्रजातिमध्ये केही नेपालमा कैयन दशकयता फेला पर्न नसकेको अनुसन्धानात्मक लेख तथा पुस्तकमा पढ्न पाइन्छ । उक्त पुस्तकमा नेपाली अर्निथोलोजिष्टले कहिल्यै फेला नपारेका थुप्रै चरा समावेश छन् । जस्तो– बट्टाई समूहको रेन क्वेइल भनिने एक चरा प्रजाति । यसको वैज्ञानिक नाम ‘कोटुर्निक्स कोरोमान्डेलिका’ हो । यो चरा पाकिस्तानदेखि थाइल्यान्डसम्म पाइन्छ भन्ने लेखिएको पाइन्छ । तर रिचार्ड ग्रिमेट, क्यारोलिन इन्स्किप, टिम इन्स्किप र हेमसागर बराल लिखित ‘हेल्म फिल्ड गाइड्स, बर्ड्स अफ नेपाल (सन् २०१६)’ मा यो चरा नेपालमा १९ औं शताव्दीयता नदेखिएको जिकिर छ । ग्रिमेट र अरुद्वारा लिखित पुस्तकमा यसको तस्बिर (स्केच) समावेश छैन ।

‘द स्टाटस अफ नेपाल्स बडर््स : द नेसनल रेड लिस्ट सेरिज’ भोलुम १–६ (सन् २०१६) मा नेपालको चरा सम्बन्धी लेखिएका पुस्तकहरूमध्ये सबैभन्दा बढी जानकारी समावेश छ । उक्त पुस्तकमा रेन क्वेइल हिजोआज नेपालमा पाइन्छ भन्ने जनाइएको छैन । पुस्तकमा अन्य प्रजातिका चरा कुन–कुन भागमा पाइन्छन् भनी नेपालको नक्रामा संकेत गरिएको छ । तर रेन क्वेइलको सन्दर्भमा नेपालको नक्सा प्रयोग गरिएको छैन ।

राजधनेश लोअर हिमालय क्षेत्रमा पाइन्छ भनेर तराईका जिल्लाहरू देखाइएको छ । उक्त पन्छी १८ सय मिटर भू–सतह उचाइसम्म पाइन्छ भनेर भारतको उत्तराखण्ड र वेष्टर्न घाटको चर्चा गरिएको छ । यो पन्छी भू–सतह ५ सय मिटरभन्दा माथि पाइँदैन । यो त नेपालमा आएका पर्यटकलाई त्यो चरा भारतमा पनि पाइन्छ, त्यहाँ जाउँ भनेको जस्तो भयो । पुस्तकमा यो पन्छी लेसर हिमालय क्षेत्रमा पाइन्छ भनिएको छ । नेपालमा लेसर हिमालयको रेन्ज ३५ सयदेखि ४५ सय मिटर भू–सतह उचाइलाई मानिन्छ ।

सिमसार क्षेत्रमा पाइने ‘लिटल रिन्ज्ड प्लोभर’ भनिने चरा भारतभर फिरन्ते हो भन्ने लेखिएको छ । सेतो गिद्ध पाइने क्षेत्र भारतभर भन्ने छ । पुस्तकमा पन्छी पाइने क्षेत्रमा पहिले भारतको कुनै ठाउँ लेखिएको छ । त्यसपछि हिमालय क्षेत्र भनिएको छ । भारतका चरा सम्बन्धी लेखिएको कुनै पुस्तकबाट कटपेष्ट गरेजस्तो देखिन्छ । तसर्थ पुस्तकबाट चराप्रेमी दिग्भ्रमित हुन्छन् । फिल्ड गाइड त उहिले होइन, हिजोआज फिल्डमा जाँदा भेटिने चरा चिन्न तयार गरिएको पुस्तक हो । त्यसले चरासहित ठाउँको पनि यकिन जानकारी दिनुपर्छ ।

नेपाली पनि उस्तै
‘अन्नपूर्ण संरक्षण क्षेत्रका चराहरू’ (सन् २०१८) शीर्षक एक पुस्तक ‘नेसनल ट्रष्ट फोर नेचर कन्जरभेसन’ र ‘अन्नपूर्ण कन्जरभेसन एरिया प्रोजेक्ट’ले संयुक्त रूपमा प्रकाशन गरेका छन् । पृष्ठ २० मा एक गांैथली आकाशमा उडिरहेको तस्बिर छ । त्यही तस्बिर ‘बडर््स अफ डोल्पा’ (सन् २०१८) शीर्षक पुस्तकको पृष्ठ ५८ मा पनि छ । दुवै पुस्तकमा चरा तस्बिरको कपिराइट प्रताप गुरुङ भन्ने लेखिएको छ । रमाइलो के छ भने डोल्पा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्दैन ।

डोल्पाको गौंथली केही घन्टामै अन्नपूर्ण संरक्षण क्षेत्रमा आइपुग्न सक्छ । यसैले डोल्पामा पाइएको त्यही गौंथली अन्नपूर्ण संरक्षण क्षेत्रमा पुग्दैन भन्ने होइन । यस्तै हथन चौरीले खिचेको फायर–टेल्ड सनबर्डको एकै तस्बिर माथि उल्लिखित दुवै पुस्तकमा परेको छ । यी दुई पुस्तक उही तस्बिर भिन्नाभिन्नै ठाउँका हुन् भनेर छपाउनुमा पुस्तक लेखकले ध्यान दिनुपथ्र्यो । बडर््स अफ डोल्पा पुस्तक नेप्लिज ओरिन्थोलिजकल सोसाइटी र डिपार्टमेन्ट अफ नेसनल पाक्र्स एन्ड वाइल्ड लाइफ रिजर्भले संयुक्त रूपमा प्रकाशन गरेका हुन् । पुस्तकमा ‘हुम्ला : जर्नी इनु टु दि हिडन सांग्रिला’ (सन् २०१६) शीर्षक पुस्तकमा छापिएका केही तस्बिरलाई फोटो फ्लिप र क्रप गरी छपाइएका छन् ।

एक पटक छापिएको तस्बिर अर्कोपटक कुनै पुस्तकमा छाप्न हुन्न भन्ने होइन । राम्रा तस्बिर अनेकन पुस्तकमा छापिन्छन् । तर एक ठाउँमा खिचिएको चराको तस्बिर अर्को ठाउँ वा जिल्लामा खिचिएको भन्न मिल्दैन । अध्ययन, अनुसन्धानकर्ताले नै छलकपट गर्नुलाई आश्चर्यजनक हो । यस्ता पुस्तक तथा फोटोमा फलानोको कपिराइट भनेर लेख्नु हाँसउठ्दो हुन्छ । पाठकलाई झुक्याएर केको कपिराइट ?

प्रकाशित : कार्तिक ९, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?