कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

न्याय : एक सतत संघर्ष

शक्तिशाली पार्टीको शक्तिशाली छत्रछायामा निर्मलाका हत्यारालाई निष्कण्टक संरक्षण दिइएको तथ्य अनुमान मात्रै होइन । नि:सन्देह सत्य हो ।
सरिता तिवारी

काठमाडौँ — सम्वत् २०७४ को जेठ २० गते चितवनको माडी, रामराज्यपुरको एउटा घटना उत्तिखेरै जिल्लाभर सनसनीपूर्ण समाचार बन्यो । क्रमश: नौ र एघार वर्षका दुई बालिकाको मृत शरीर गाउँको सिरानमा सिँचाइका लागि पानी जम्मा गरिएको पोखरीमा भेटिएको थियो  ।

न्याय : एक सतत संघर्ष

शनिबारको दिन पोखरी नजिकै पिकनिक खान गएका मसिना केटाकेटीमध्ये ती दुई बालिका एकाएक हराए । हराएर खोज्न थालेको अलिबेरमा उनीहरूको शव भेटियो, पोखरिभित्र । मृत्यु स्वाभाविक खालको थिएन ।

मृतकमध्ये ठूली बालिकाको योनिबाट रक्तस्राव भएको, शरीरका अन्य भागमा समेत रगत देखिएको र आँखाको माथिल्लो भागमा चोट लागेको थियो । यो घटना बलात्कारपछिको हत्या हो भन्नेमा स्थानीय जनसाधारण र जिल्लाका अधिकारकर्मी महिला सतर्क भए । भोलिपल्ट प्रहरी र अधिकारकर्मीसहित स्थानीयवासीको ठूलो लस्कर घटनास्थलमा पुग्यो ।

सँगै पिकनिक गएका बच्चाहरूले बताएको हुलिया र बयान अनुसार बाह्रदेखि अठार वर्षका पाँच किशोरलाई पक्राउ गरियो । घटनास्थलको प्रारम्भिक मुचुल्का र उनीहरूले आफ्ना हराएका साथी खोज्दै आएको भनेपछि किशोरहरूले नानीहरू त यता छैनन्, घर गैसके भनेर दिएको जवाफले अनुसन्धानको कडी तानिएको थियो ।

किटानी जाहेरी लगायत कानुनी प्रक्रिया अघि बढ्यो । शवको पोष्टमार्टम रिपोर्ट अनुसार बलात्कार भएको हुनसक्ने तर यकिनसाथ भन्न नसकिने कुरो बाहिर आयो । अनौठो त बालिकाको योनिमा भएको रक्तस्राव पोखरीमा रहेका खबटे किराको टोकाइबाट भएको भनियो । पौडँदा डाइभ हान्ने क्रममा पोखरीमा भएका रुखका ठुटामा ठोक्किएर घाउ भएको हुनसक्ने बताइयो । यसले शंका बढायो ।

आरोपीमध्ये दुई नाबालक भएका कारण प्रहरी हिरासतबाट छुटे । सत्र र अठार वर्षका तीन किशोरलाई पुर्पक्षका लागि थुनामा राखियो । घटना सार्वजनिक भएको सुरुवातको समय लगभग सबै राजनीतिक दल र स्थानीय सरकारले यसलाई गम्भीरतापूर्वक नै लिए । मृतक दलित परिवारका निम्न वर्गका बालिका थिए । आरोपी सबै सवर्ण र सम्पन्न ।

दिनहरू बित्दै जाँदा विभिन्न खालका हस्तक्षेप र प्रभावले न्यायिक प्रक्रिया प्रभावित हुनसक्ने सम्भावना महसुस हुनथाल्यो । विकसित घटनाक्रमले अनुसन्धानमा हुनसक्ने लापरबाही र चलखेलको अनुमान गरेका अधिकारकर्मी महिला सचेततापूर्वक लागे । महिलाहरूको संयुक्त संघर्ष समिति बन्यो ।

जिल्लाको अन्तरपार्टी महिला सञ्जाल लगायत अधिकारकर्मी त्यसमा सम्मिलित थिए । जिल्लाभरका महिला संगठन ताते । प्रत्येक जस्तो दिन विरोध सभा र र्‍याली निकालिए । पुन: पोष्टमार्टमको माग भयो । पोखरीको पानी जाँच्ने भिसेरा टेष्ट भयो । तर परिणाम शून्य । प्रहरीले नै घटनालाई रहस्यमय करार गरिदियो ।

यसबीच जिल्लाका मुख्य राजनीतिक दलले घटनाप्रति आश्चर्यजनक रूपले पिठ्युँमात्रै फर्काएनन्, आरोपी छुटाउन प्रहरीलाई दबाब नै दिए । अदालती प्रक्रियाको नेपथ्यमा धेरैथरी दाउपेच र खेलहरू खेलिएको अनुमान गर्न गाह्रो थिएन । घटनालाई लिएर केही प्रश्न गरे स्थानीय नेतृत्व कित टार्ने कि झर्केर उत्तर दिने गर्न थाले । महिला नेतृलाई समेत सम्बन्धित पार्टी नेतृत्वले आन्दोलन नचर्काउन दबाब दिन थाल्यो । गरिब, दलित भएकैले न्यायमा खेलवाड भएको गुनासो गर्दा एक दलित नेतृले सर्वहारा वर्गीय पार्टीका आफ्नै नेताबाट उल्टै सातो उड्नेगरी खप्की खाइन् ।

आखिरमा अदालतले प्रमाण नपुगेको भन्दै आरोपीलाई रिहा गर्न आदेश दियो । त्यतिन्जेलसम्म जुन ब्यग्रताका साथ राजनीतिक नेतृत्व आरोपीलाई छुटाउने पहलकदमीमा लाग्यो, त्यसको एक अंशमात्रै चासो ती अबोध बालिकाका अपराधी पत्ता लगाउने कुरामा देखिएन । आरोपी निरापराध हुन् भने वास्तविक हत्यारा को हो ? त्यसको खोजी गर्ने तत्परता देखिँदै देखिएन । दलित र गरिब समुदायका दुई अभागी बालिका साथीहरूसँग पिकनिक मनाउन जाँदा पोखरीमा पौडने क्रममा भवितब्य मृत्यु भएको मान्नुपर्ने भयो । त्यस घटनालाई ‘हत्या’ भनिँदा पंक्तिकारलाई जिल्लाका नाम चलेका एक अधिवक्ताले सामाजिक सञ्जालमै प्रश्न तेस्र्याए, ‘अनुसन्धान हुँदै गरेको मुद्दालाई सार्वजनिक रूपले आफैं हत्या भन्दिने ?’

यो र त्यसपछि जोडिएका घटनाक्रम असामान्य नै हुन् । यसमा सन्देह छैन । सबैभन्दा लाजमर्दो खबटे किरासँग गाँसिएको कथा थियो । घटनाको प्रकृतिले कतैबाट पनि यो स्वाभाविक, भवितब्य देखिँदैनथ्यो । तर यसलाई दुर्घटना करार गरेर प्रहरी, प्रशासन, राजनीतिक दल र स्थानीय सरकार आआफ्ना नियमित लयमा फर्किए ।

विस्तारै माडीका जनसाधारणले पनि कुनै दुस्वप्न बिर्से जस्तैगरी यो घटना भुले । घटना सार्वजनिक भएदेखि नै पीडितको पक्षबाट दबाब दिनेमध्ये एक महिला नेता संगीता भट्टराई यो पुरै प्रकरणलाई पद्धतिको एउटा डरलाग्दो त्रासदी भन्छिन् । यस्ता थुप्रै मुद्दासँग ठोक्किँदै पीडितलाई न्याय दिलाउने अभियानमा लागेकी उनीजस्ता समर्पित अगुवाहरू पद्धतिभित्रको यस्तो त्रासदीले न्यायको अपेक्षा एउटा विचार विलासमात्रै भएकोमा खिन्न छन् । माडी, रामराज्यपुरको पोखरीमा ‘रहस्यमय’ मृत्युवरण गर्ने नौ र एघार वर्षका नानीहरू शक्ति संरचनाको पाइतालामुनि यस्तरी किचिमिची परे कि यो घटना केवल स्थानीय अखबारका एकाध पाना भर्न काम लाग्यो, बस् ।

बलात्कार र त्यसपछि हत्याजस्ता घटना यसैगरी रहस्यमय बनिरहेका छन्, देशमा । यो आजको मात्रै कुरा होइन । झन् जब मुद्दाका पीडित गरिब र दलित हुन्छन्, पीडक पहुँचवाला छैन भनेमात्रै मुद्दामा प्रगति हुन्छ । पीडकलाई सजाय हुन्छ । होइन, पीडक पक्ष शक्ति संरचनासम्म पहँुच पुग्ने हैसियतको छ भने न्यायको लडाइँ लड्न पीडित पक्षले ठूलो धैर्य र मूल्य चुकाउनुपर्छ । यसको हृदय हल्लाउने उदाहरण कञ्चनपुरको निर्मला पन्त हत्याकाण्ड हो ।

बलात्कार र हत्याको प्रकरणलाई लिएर यति ठूलो र बृहत स्तरको राष्ट्रब्यापी प्रतिरोध हुँदा पनि राज्य ‘नकच्चरो’ भएर उल्टै घटनाका दोषीहरूका पक्षबाट मानव अधिकारको जिरह गर्छ । घटनासँग प्रत्यक्ष नाम जोडिएका मानिसहरूको तर्फबाट पुर्पक्ष गर्छ । देशका प्रधानमन्त्रीलाई एउटी निर्बोध किशोरीको बर्बर हत्या र हत्यारा लुकाउने खेलभन्दा ठूलो र जरुरी कुरा लाग्छ, हत्या प्रकरणमा मुछिएका दुई युवतीको भोलि विवाह हुँदैन भन्ने चिन्ता ।

घरि–घरि लाग्छ, यो देशलाई कसले चलाइरहेको हो ? दुई तिहाइको सुरक्षित समर्थन प्राप्त वामपन्थी सरकार या नैतिकता, लज्जा र मानवीय गरिमाका विरोधीहरूको रिमोटले ? लोकतन्त्र, गणतन्त्रको लागि त्यत्रो लडाइँ, त्यति ठूलो बलिदान गरेर हामीले पाउने कुरा यही हो ? अपराधीको सुरक्षा र संरक्षण, निर्धा निमुखाको घोर असुरक्षा र अपमान ?

यतिखेर गृह मन्त्रालयले केवल छानबिनमा लापरबाही गरेको अभियोगमा नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरेको छ । त्यो पनि भविष्यमा सरकारी सेवाका लागि अयोग्य ‘नठहरिने’गरी † न्याय माग्न काठमाडौं सिंहदरबार र बालुखाटारकै दैलामा पुगेका पीडित पक्षलाई आफ्नी छोरीले न्याय पाउने कुरामा अब आशा लगभग समाप्त भैसकेको छ । तिनका आँखा हतास भैसकेका छन् । के यही हो, निर्मलालाई राज्यले दिएको न्याय ? कसले गर्‍यो, उनीमाथि यस्तो नृशंस अपराध ? दोषी कहाँ छ ? अहिले जनतालाई निर्मलाको अपराधी चाहिएको छ, अपराधी † शक्तिशाली पार्टीको शक्तिशाली छत्रछायामा निर्मलाका हत्यारालाई निष्कंटक संरक्षण दिइएको तथ्य अनुमानमात्रै होइन । निसन्देह सत्य हो । सरकारले अविलम्ब आफ्नो भूमिकाका विषयमा गम्भीरतापूर्वक सोच्दैन भने यही प्रकरण उसका लागिमात्रै होइन, पद्धतिकै लागि भारी पर्न सक्छ ।

घटनाका सबै प्रमाण नष्ट गर्न नाभीदेखिको बल लगाउनेहरूसँग सोध्ने हिम्मत गरोस् राज्यले कि, किन पखालियो निर्मलाको योनि र लुगा ? किन गरियो पोष्टमार्ट गरेर शव जलाइहाल्ने हतारो ? कसको कर्तुत लुकाउन गरियो, निर्मलाका बाबुको नामको किर्ते दस्तखत ? कसको प्रतिष्ठा बँचाउन निर्मलाकी आहत आमालाई दिइयो, शव जलाउन नदिए सयौं मान्छेलाई गोलीले भुट्ने धम्की ? कसको अहंकारले चलाइयो बलात्कार, हत्या र अनुसन्धानमा भएको लापरबाही विरुद्ध आन्दोलित जनतामाथि गोली ? कसको शानमा भोग चढाउन लिइयो, सन्नी खुनाको ज्यान ? यी प्रश्नको उत्तर नआइन्जेल निलम्बन र बर्खास्ती केवल ‘नौटंकी’ हुन् ।

माडी, रामराज्यपुरको घटनामा न्यायको पहल फितलो भएकै हो । यस्ता अनेकौं घटना छन्, जसलाई रहस्यको गर्तमा पुरेर कानुनी शासनको खिल्ली उडाइएको छ । निर्मला हत्याकाण्ड र यसको न्यायिक प्रक्रिया इतिहासमा एउटा यस्तो नजिर बन्नुपर्छ कि अपराध गर्नेलाई मात्रै होइन, अपराधी लुकाउन, उम्काउन र राजनीतिक संरक्षण दिन खोज्नेले पनि सयपटक सोच्नुपरोस् । आज न्यायका लागि उठ्ने आवाज पलभरलाई पनि मत्थर हुनुहुँदैन । हो, हामीलाई आफ्नै जिन्दगीको चटारोले कहिल्यै छोडेको हुन्न । सबैका आआफ्नै दैनिकी र ब्यस्तता छन् । तर न्यायप्रेमी आवाजहरू थाक्नुहुन्न । डग्नुहुन्न । डराउनुहुन्न । भाग्नुहुन्न । यतिबेला न्यायको सतत् प्रतिबद्ध र अविश्रान्त लडाइँ जरुरी छ ।

प्रकाशित : कार्तिक १२, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?