कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परराष्ट्र नीतिको पटकथा

डेटलाइन तराई
कसरी र कहिले नेपाल र नेपालीको हित अनुकूल हुनेगरी विश्वसनीय कूटनीतिको पटकथा लेखिन्छ ?
चन्द्रकिशोर

काठमाडौँ — स्वतन्त्र र सार्वभौम सत्तासम्पन्न राष्ट्रको हैसियतले केही दायित्व पुरा गर्नुपर्छ । त्यसको मुख्य पक्ष परराष्ट्रनीति हो ।

परराष्ट्र नीतिको पटकथा

परराष्ट्र नीतिमा स्वतन्त्रता निर्वहनको हैसियतले मुलुकको स्वाधीनता परिभाषित हुन्छ । संयुक्त राष्ट्र संघको एक सदस्यका हैसियतले अन्तर्राष्ट्रिय जगतमा नेपालको चिनारी, सहयोग र अडानलाई प्रस्तुत गर्न राष्ट्रिय स्तरमा केही कार्यभार पुरा गर्नुपर्छ ।

परराष्ट्र नीतिलाई निर्देशित गर्न केही पक्षले असर गरिराखेका हुन्छन् । भूगोल र जनसंख्या एउटा पक्ष हो, योसंँग जोडिएको अर्को पक्ष भौगोलिक अवस्थिति हो ।

राजनीतिक इतिहास र परम्पराको जगमा नेपालको परराष्ट्र नीतिको यात्रा बढेको पाइन्छ । परराष्ट्र नीतिको जरो यहाँको सामाजिक बनोट, सांस्कृतिक मान्यता, लोकतन्त्रका लागि भएका संघर्षमा आधारित हुनुपर्ने हो । तर यहाँका शासकहरूको प्राथमिकता, रुझान र स्वार्थको व्यवस्थापनमा परराष्ट्र नीतिको ऊर्जा बढी खर्चिइएको छ ।

राष्ट्रिय शक्तिको अपव्यय तत्कालीन शासकहरूको महत्त्वाकांक्षा र सुरक्षामा आधारित पाइन्छ । भनिन्छ, घरेलु वातावरणको विदेश नीतिसँंग नङ र मासुको जस्तो सम्बन्ध हुन्छ । लोकतान्त्रिक देशमा विदेश नीति घरेलु वातावरणको प्रतिविम्ब हो । देशको शक्ति संरचनामा सेनाले कस्तो ठाउँ ओगटेको छ ? छरछिमेक र अन्य मुलुकसंँग सेनाले कस्तो सम्बन्ध राखेको छ वा कस्तो सम्बन्ध विकसित हुँदै छ ? मुलुकको सैन्य क्षमता र त्यसले अन्तर्राष्ट्रिय जगतमा खेलेको रचनात्मक हस्तक्षेपलाई पनि बेवास्ता गर्न मिल्दैन । कुनै मुलुकको नागरिक अर्को मुलुकको सैन्य संरचनामा कस्तो भूमिकामा छ, त्यसले पनि नीति निर्धारणमा अर्थ राख्छ ।

सरकारले लिने निर्णयमा नेतृत्वमा रहेको व्यक्तिको व्यक्तित्व, महत्त्वाकांक्षा र जनमतले उत्प्रेरित गरिरहेको हुन्छ । जबकि लोकतान्त्रिक संरचनामा विपक्षी दलको पनि सरोकार र भूमिका अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणमा खोजी गरिएको हुन्छ । त्यसका निम्ति विभिन्न प्रतिस्पर्धी राजनीति शक्तिहरूसंँग संवाद र समझदारी विकसित गर्ने प्रयत्न गरिन्छ ।

त्यसैगरी संघीय संरचनामा प्रदेशहरूको अपेक्षा, आकांक्षा र अभिप्राय:को सामञ्जस्यपूर्ण स्वर संघीय सरकारको विदेश नीतिमा झल्किनुपर्छ । मुलुक भित्रका राजनीतिक शक्तिहरू बीचको अवस्था द्व्रन्द्व्रात्मक वा संवादयुक्त छ, यसले पनि अन्तर्राष्ट्रिय मोलमोलाइका लागि आन्तरिक शक्ति प्राप्त भइराखेको हुन्छ ।

राष्ट्रले आत्मसात गरेको पद्धति कतिको स्वीकार्य छ ? त्यसले जनतालाई कतिको आश्वस्त पारेको छ ? यसबाट पनि वैदेशिक प्रयत्नको गतिमा प्रभाव पार्छ । त्यसैगरी जोडिएका छिमेकीहरूको आपसी तालमेल कस्तो छ ? वैश्विक घटनाक्रम वा नजिकका क्षेत्रीय घटनाक्रमले के कस्ता सूचक छाडेका छन्, यसबाट पनि व्यावहारिक बाटाहरू खुला हुन्छन् । के गर्दा दीर्घकालीन आर्थिक भलो हुन्छ ? यो पक्ष पनि अहिले सम्बन्ध निर्धारणको आधारभूत खुडकिलो भएको छ ।

विदेश नीति निर्माण व्यक्तित्ववादको आधारमा हुँदैछ कि संस्थागत आधारमा ? संस्थागत आधार भनिए पनि जुन अमूक ‘डर’ वा ‘भरोसा’ भनिएको छ, त्यो कतिको वस्तुपरक छ ? राष्ट्रिय हितको उन्नत एवं फराकिलो क्षितिज खोज्न र त्यसलाई स्थायी आधार दिन छिमेकी देशहरूको रवैयाले पनि काम गरिरहेको हुन्छ ।

नेपालले जनताको सर्वोत्तम हित हुने लोकतन्त्र रोजेको छ । यो नेपालको आन्तरिक जीवनका साथै अन्तर्राष्ट्रिय जीवनमा पनि प्रतिध्वनित भइराख्नुपर्ने हो । के हामी छरछिमेकमा भइराख्ने घटनाक्रमबारे बोल्न स्वतन्त्र छौं ? आफ्नो दृष्टिकोण राख्नुको अर्थ कुनै मुलुकको आन्तरिक जीवनमा खेल्नु होइन । तर त्यहाँका जनपक्षीय शक्तिलाई प्रश्रय वा ऐक्यबद्धता दिनसक्ने अवस्था रहन्छ कि रहँदैन ? ठूलो संघर्षबाट निर्माण भएको गणतान्त्रिक नेपालले साम्राज्यवाद, उपनिवेशवाद, अधिनायकवाद लगायतका विभेद मेटाउन आफ्नै तहमा सैद्धान्तिक भूमिकाका साथ व्यवहारमूलक भूमिका रोज्ने स्थिति छ कि छैन ?

महत्त्वपूर्ण प्रश्न यो पनि हो कि नेपालको आदर्शवादी दृष्टिकोणप्रति विश्वको के प्रतिक्रिया रहन्छ ? नेपाल अन्तर्राष्ट्रिय मुद्दाहरूमा ‘कुनै पनि सर्तमा नबाँधिएर’ तथा ‘असरदार’ रूप अपनाउन सक्छ ? के हाम्रो अवस्थितिले हाम्रो भूमिकालाई सीमा कोरिदिएको छ ? अन्तर्राष्ट्रिय सम्बन्धको जटिलता, शक्ति समीकरण, स्वार्थ एवं होडलाई मिहिन तरिकाले विश्लेषण नगरिकनै स्वतन्त्र राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने दिशामा अग्रसर हुँदा आइपरेका जोखिमहरूको संस्थागत स्मृतिको अवस्था कस्तो छ ? हाम्रो परराष्ट्रनीति निर्धारणमा आन्तरिक रूपमा के कुन संस्थाले ‘फिडब्याक’ दिइरहेको हुन्छ ? क्षेत्रीय कूटनीतिमा नेपालको अभ्युदय के कुन रूपमा सम्भव छ ? यी प्रश्न र पक्षकै आधारमा परराष्ट्र नीतिको पटकथाको अभिरेखांकन भइरहेको हुन्छ, हुनुपर्ने हो ।

राजनीतिक संस्कार र परराष्ट्र नीतिको गहिरो सम्बन्ध छ । नेता आफ्नै निजी र दलगत स्वार्थमा बढी डुब्नथाले या अन्तर्राष्ट्रिय सम्बन्धलाई निजी आर्जनका रूपमा लिई मनपरी गर्नथाले कालान्तरमा हानि पुग्छ । सस्ता र आकर्षक नाराका साथ विदेश नीति उठाएर चुनाव जित्न सकिन्छ । तर सत्तारुढ भएपछि अभाव, दबाब र प्रभावबाट कतिको मुक्त रहन सकिन्छ ? नेपालको ‘परराष्ट्र चासो’ कुन–कुन मुलुकसँग जोडिन पुग्छ ? निर्वाचनपछि र पहिलेका नीतिमा दल विशेषको रुझान फरक हुनसक्छ ।

तर परराष्ट्रनीति प्रयोगशाला होइन । कतिपयले भारतलाई ‘रफ नेबर’ त कतिपयले चीनलाई ‘टफ नेबर’ भनेर विशेषण जोड्छन् । यी दुई मुलुकसंँगको सम्बन्धमा रहेको सहजता वा असहजताको प्रतिच्छाया आन्तरिक शक्ति संरचनाको परिणाममा परिरहेको हुन्छ । हामी छिमेकीलाई ‘हाम्रा समानता वा साझा सरोकार हाम्रा मतभेदभन्दा गर्‍हँुगो छन्’ र ‘हाम्रा आमहित हाम्रा मतभेदभन्दा निकै दूर छन्’ भन्ने स्थितिमा छौं ।

असल, मैत्रीपूर्ण र विश्लासिलो सम्बन्ध विकास गर्ने भनिरहँदा त्यसलाई सरोकारवाला पक्षहरूले पनि के त्यही रूपमा ग्रहण गरिरहेका हुन्छन् ? परराष्ट्र नीतिको एउटा महत्त्वपूर्ण पाटो देशको ‘विश्वसनीयता’ हो । परराष्ट्र सम्बन्धका कोठाचोटा राष्ट्रिय सुरक्षा, राष्ट्रिय स्वार्थ, सामाजिक–आर्थिक विकास र राष्ट्रिय अखण्डता हुन् । तर परराष्ट्र सम्बन्धमा तीनवटा ‘सी’ महत्त्वपूर्ण मानिन्छन्, क्लियारिटी (स्पष्टता), कन्सिसटेन्सी (स्थिरता) र क्रेडिबिलिटी (विश्वसनीयता) । विश्वसनीयताले सम्बन्धलाई पोषण दिन्छ । यसले राष्ट्रिय छवि पनि निर्माण गर्छ ।

छिमेकीहरूसँंगको सम्बन्धमा मात्र होइन, क्षेत्रीय संगठन, संयुक्त राष्ट्र संघका पाँच शक्तिराष्ट्र, स्वयं संयुक्त राष्ट्र संघ र दाता एवं श्रम रोजगार उपलब्ध गराउने मुलुकसँंगको सम्बन्ध नै परराष्ट्र नीतिभित्र पर्छ । यसमा भूअवस्थितिको हाँक र हौसला के छ र त्यसलाई कसरी बुद्धिमतापूर्ण ‘डिल’ गर्न खोजिन्छ । त्यसले परराष्ट्र नीतिसंँग जोडिएका स्वार्थ पुरा गर्छ ।

परराष्ट्र नीतिको एउटा आयाम उच्चस्तरीय भ्रमण आदान–प्रदान हो । आफ्नो र अर्को मुलुकबाट कति भइराखेको छ ? नेपालबाट हुने बहुस्तर एवं पक्षका भ्रमण कतै उलार भएका छन् ? त्यसले अर्को पक्षलाई के कस्तो जागरुक गराएको छ ? त्यसलाई पनि परराष्ट्र नीतिका वास्तुशिल्पीले सूचनामा राख्नुपर्छ । अरुले औंल्याउनुअगावै सम्बोधन गर्न उपयुक्त हुन्छ । नेपाललाई ऐक्यबद्ध तथा प्रगतिशील बनाउने चाहनाको हार्दिकता भेटिँदैछ कि पुन: एकपटक सम्भाव्य द्व्रन्द्वको तातो हावाका रूपमा हेर्न थालिएको छ ।

परराष्ट्र नीतिमा केवल मनोगत विश्लेषण काम लाग्दैन । सरोकारवाला अरु पक्षले पनि के कुन रूपमा हेरिराखेका छन्, त्यो पनि निर्णायक हुन्छ । एकथरी ‘महेन्द्रपथ’ परराष्ट्र नीतिलाई पुनर्जीवित गर्न खोज्दैछन् भने अर्कोथरी यसबाट झस्किएका छन् । एउटै सत्तारुढ घटकको नेता विशेषलाई एकअर्का प्रतिस्पर्धी मुलुकले नाडी छाम्ने उच्चस्तरीय प्रयास सुरु गरेका छन् ।

नेपालले कसरी र कहिले नेपाल र नेपालवासीको हित अनुकूल हुनेगरी विश्वसनीयतापूर्ण कूटनीतिको पटकथा लेख्छ ? के हाम्रा नीति स्थिर, संगतिपूर्ण र खुला छन् ? यीसंँग जोडिएको अर्को प्रश्न हो, अन्तर्राष्ट्रिय सम्बन्ध निर्धारणका लागि चाहिने प्राज्ञिक काममा हाम्रो कत्तिको लगानी छ ? रातारात विज्ञको पगरी पहिरिनेहरू कसका हित चिताइरहेका हुन्छन् ? गणतान्त्रिक नेपालले आफ्नो अन्तर्राष्ट्रिय छविका लागि अन्तर्राष्ट्रिय चासो र चिन्ताको ऐनामा आफ्नो अनुहार हेर्नुपर्छ ।

प्रकाशित : कार्तिक १५, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?