१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मधुमेहीमा मुटुरोगको भय

डा. अंशुमाली जोशी

काठमाडौँ — अहिले विश्वमा संक्रमणरहित रोगहरू जस्तै– मुुटुरोग, मधुमेह, मोटोपना, क्यान्सर, रक्तचाप आदि दिनैपिच्छे बढ्दै गइरहेको छ । यी रोगहरूबाट प्रत्येक वर्ष मृत्युदर बढ्दै गएका कारण सबैको चासोको विषय बनेको छ ।

मुटुरोग लाग्न नदिन खानपिनमा विशेष ध्यान दिनु पर्ने, तौल घटाउनुपर्ने, नियमित व्यायाम गर्नुपर्ने, तनाव धेरै नलिने र धूमपान बन्द गरेर जीवनशैलीमा परिवर्तन गर्नुपर्ने हुन्छ । मुटुरोग लाग्ने विभिन्न कारणमध्ये मधुमेह रोग प्रमुख कारण मानिन्छ । करिब ६८ प्रतिशत मधुमेहका बिरामीहरूको मृत्यु मुटुरोगका कारणले गर्दा हुने गर्छ । मधुमेहका बिरामीहरूलाई हृदयाघात हुने सम्भावना २ देखि ४ गुणा बढी हुने गर्छ ।


यो सम्भावना महिला र धूमपान गर्ने मानिसमा झन् बढी हुने गर्छ । अहिले जीवनशैलीको परिवर्तनले गर्दा युवा अवस्थामा मधुमेह धेरै देखिन थालेको छ । युवा अवस्थामा देखिएको मधुमेहमा मुटुरोगको सम्भावना अत्यधिक हुने गरेको छ । हाम्रो अनुसन्धानले नेपालमा मधुमेह भएका बिरामीहरूमा ४४ प्रतिशतमा उच्च रक्तचाप, ४१ प्रतिशतमा उच्च कोलेस्ट्रोल, ६६ प्रतिशतमा मोटोपन र ७.५ प्रतिशतले धूमपान गर्ने देखिएको छ । मधुमेह रोग सुरु हुने औसत उमेर ४८ वर्ष देखिएको छ ।


मधुमेहले मुटुलाई विभिन्न तरिकाले असर गर्छ । मधुमेह नियन्त्रण नराखेमा रगतमा चिनीको मात्रा बढ्छ । यसले गर्दा कोलेस्ट्रोल बढेर रगत बग्ने नलीका भित्तामा कोलेस्ट्रोल जम्छ र विस्तारै यो जमेको कोलेस्ट्रोल बढेर रगत बग्ने नलीका भित्ता साँघुरो बनाइदिन्छ र नसामा अवरोध उत्पन्न भई हृदयाघात हुने गर्छ । यो समस्या मोटोपना, धूमपान, उच्च रक्तचाप, अस्तव्यस्त जीवनशैली एवं तनावले झनै बढाइदिन्छ । मधुमेहका बिरामीहरूलाई हृदयाघातको लक्षण जस्तै– छाती दुख्ने वा श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण नहुन पनि सक्छ । त्यसकारण मधुमेहका बिरामीहरूलाई हृदयाघात हुनु झन् बढी खतरनाक मानिन्छ र तुरुन्तै ज्यान जान सक्छ । मधुमेहका कारण मुटु सुन्निने र मुटुले राम्रोसँग काम नगर्ने अवस्था सिर्जना हुनसक्छ ।


मधुमेहका बिरामीहरूले मुटुरोग लाग्न नदिन शरीरमा चिनीको मात्रा (सुगर) लाई नियन्त्रण राख्नु जरुरी छ । तीन महिनादेखिको औसत सुगर देखाउने रगतको जाँच एच.बी.ए.वान.सी ९ लाई ७ प्रतिशत भन्दा तल राख्नुपर्छ । त्यस्तै रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण गर्ने औषधिहरूको नियमित रूपमा सेवन गर्नुपर्छ, जसले गर्दा मुटुरोग लाग्ने सम्भावना धेरै कम हुन्छ । मधुमेहमा रक्तचाप १३०/८० मुनि राखेमा मुटुरोगको जोखिम कम हुन्छ । त्यस्तै रगतमा विभिन्न किसिमका कोलेस्ट्रोलमध्ये एल.डी.एल. कोलेस्ट्रोल र ट्राइग्लिसराइडलाई खतरनाक कोलेस्ट्रोल मानिन्छ ।


मधुमेहमा एल.डी.एल. कोलेस्ट्रोल १०० एमजी/डिएल भन्दा मुनि राख्नुपर्छ र मुटुरोगको उच्च जोखिम भएकालाई ७० भन्दा तल राख्नुपर्छ । त्यस्तै ट्राइग्लिसराइडलाई १५० एमजीडिएल भन्दा मुनि राख्नुपर्छ । मुटुरोगको धेरै सम्भावना भएको मधुमेहका बिरामीहरूलाई रगत पातलो बनाउने औषधि एस्पिरिनको पनि आवश्यकता पर्छ । आजकाल मधुमेहका केही नयाँ औषधिले समेत हृदयाघातबाट बचाउने र मृत्युको सम्भावना कम गरेको केही नयाँ अनुसन्धानले देखाएको छ ।


इम्पाग्लिफ्लोजिन (जार्डियन्स) को प्रयोगले मुटुरोगको कारणले मृत्यु हुने सम्भावना ३२ प्रतिशतले कम गरेको देखियो । त्यस्तै मधुमेहको अरु नयाँ औषधिहरू लिराग्लुटाइड (भिक्टोजा) रक्यानाग्लिफ्लोजिनको प्रयोगले मुटुरोगको सम्भावनालाई कम गरी मृत्युदर घटाएको देखियो ।

मधुमेहमा कहिलेकाहीं सुगर चाहिनेभन्दा कम भएर पनि मुटुलाई नराम्रो असर पार्न सक्छ र मृत्युदरलाई बढाउन सक्छ । केही मधुमेहका औषधिहरू सुगरलाई चाहिनेभन्दा बढी कम गर्न सक्छ । मधुमेहलाई चाहिनेभन्दा बढी नियन्त्रण गर्न खोजेमा मृत्यु हुने सम्भावना हुन्छ । त्यसकारण मधुमेहको सन्तुलित नियन्त्रण गरेमा मृत्युदर घट्ने अनुसन्धानले देखाएको छ ।


मधुमेहमा मुटुरोगको शंका लागेमा गरिने जाँचहरू ई.सी.जी, इको, स्ट्ेरस इको र ट्ेरडमिल परीक्षण हुन् । यी परीक्षण पोजेटिभ देखिएमा मुटुको धमनीहरू हेर्नका लागि कोरोनरी एन्जियोग्राम गर्नुपर्छ । कोरोनरी एन्जियोग्राममा धमनीहरूमा कति मात्रामा अवरोध छन्, त्यही अनुसारको उपचार पद्धति गर्नुपर्ने हुन्छ । धमनीमा अवरोध धेरै भएमा एन्जियोप्लाष्टी वा बाइपास सर्जरी गर्नुपर्ने हुन्छ । तर यी उपचार तुलनात्मक रूपमा अलि महँगा हुनाले मधुमेहीहरू मुटुरोग लाग्नै नदिन सचेत हुनुपर्छ ।


मधुमेहका बिरामीहरूमा मुटुरोगको भय र मृत्युदर धेरै हुने हुनाले त्यसबाट बच्ने उपाय अपनाउनु जरुरी छ । खानपान र जीवनशैलीमा परिवर्तन गरी मधुमेह, रक्तचाप, कोलेस्ट्रोल र मोटोपनालाई नियन्त्रणमा राखेर, तनावबाट मुक्त भएर, धूमपान त्यागेर र मुटु बचाउने औषधिको प्रयोगबाट त्यो सम्भव हुन्छ । मधुमेह र मुटुरोग सम्बन्धी चेतनामूलक कार्यक्रममार्फत आम जनतालाई यसप्रति सजक र सचेत रहन सरकारी र निजी क्षेत्रबाट महत्त्वपूर्ण भूमिका रहनुपर्छ । त्यस्तै प्रत्येक घरपरिवारका सदस्यहरूबीच स्वास्थ्य र खानपानका विषयमा कुराकानी हुनु आवश्यक छ । उपचारभन्दा रोकथाम नै बढी प्रभावकारी, सजिलो र किफायती हुन्छ ।

लेखक इन्डोक्राइनोलोजिष्ट हुन् ।

प्रकाशित : कार्तिक २१, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?