कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

त्यो नोभेम्बर क्रान्ति 

जहाजले फेरि घुमेर पर्चा खसाएपछि ब्यारेकका ठूला अधिकारीको सातोपुत्लो गयो । उनीहरू भन्न थाले– ‘अब जसरी भए पनि ज्यान जोगाउनुपर्छ ।’ 
जगत नेपाल

काठमाडौँ — सामान्यतया बिहान र राति तोप पड्काएपछि काठमाडौं उपत्यकामा आवत–जावत बन्द हुन्थ्यो । तर तिहार परेकाले ती दिन राणाहरूले जुवा फुकाएका थिए । रातभर तीनै सहर लगायत मुलुकका प्रमुख सहरमा आवत–जावत गर्ने स्वतन्त्रता दिइएको थियो ।

नेपाली कांग्रेसले सशस्त्र क्रान्तिको तयारी उत्कर्षमा पुर्‍याएको थियो । विद्रोहीसँग राजा त्रिभुवनको हिमचिम बढेको सूचना पाएपछि अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरले श्री ५ को गतिविधिमाथि निगरानी बढाएका थिए ।

क्रान्तिका लागि छद्मभेषमा पाल्पा पुगेका बीपी कोइरालाले नारायणहिटी दरबारभित्रै हेलिकप्टर उतारेर सुटुक्क राजालाई राणाको पहुँच बाहिर लैजाने योजना बनाए । प्रधानमन्त्रीको रोलक्रममै रहेका बेला काठमाडौंबाट निकाला गरी पाल्पाको बडाहाकिम बनाइएका रुद्रशमशेर राणा क्रान्तिलाई साथ दिन तयार भएपछि त्यो योजना बनेको थियो ।

योजना कार्यान्वयनका लागि जेल तोडेर भागेका गणेशमान सिंह भूमिगत रूपमा काठमाडौंमा सक्रिय थिए । वाथले कक्रिएका राजा हेलिकप्टरको व्यवस्था भए दरबार छाडेर क्रान्तिकारीलाई सथा दिन सकारात्मक भएपछि सिंहले हेलिकप्टरको प्रबन्ध गर्न भारतमा रहेका बीपी र सुवर्णलाई खबर पठाए ।

पाल्पामा राजालाई उतार्ने, उनका नाममा शासन सुरु गर्ने र सिंहदरबारलाई निसाना बनाउने योजना बन्यो । भारतको सहयोगविना हेलिकप्टर व्यवस्था गर्न त के उडाउने अनुमतिसमेत पाइन्नथ्यो । कांग्रेसले हेलिकप्टरको प्रबन्ध गर्न नसकेपछि भारतीय दूतावासमा शरण लिने निष्कर्षमा राजा पुगे । २००७ कात्तिक २१ गते सिकार र पिकनिकका लागि सपरिवार नागार्जुन जान उनले प्रधानमन्त्रीसँग अनुमति मागेका थिए । कात्तिक २० गते बिहानमात्र श्री ३ मोहनशमशेरले स्वीकृति दिए ।

दिनहुँ बिहान पूजापाठ नगरी पानीसम्म नपिउने प्रधानमन्त्रीले हिन्दु धर्मशास्त्र बमोजिम काटमार गर्न

वर्जित एकादशीकै दिन राजालाई सिकारमा जान अनुमति दिएको भेउनै पाएनन् । त्यही मौकामा राजाले परिवारसहित भारतीय दूतावासमा शरण लिए । मावल गएकाले साढे ३ वर्षका नाति ज्ञानेन्द्र मात्र छुटे । राजालाई फिर्ता गर्न गरिएका प्रयास असफल भएपछि मोहनशमशेर छट्पटिए । गणेशमान सिंह पक्राउ परिसकेका थिए । सिंहदबारभित्र बन्दी रहेका कांग्रेस नेता गणेशमान सिंहले भनेका छन्– मोटरहरूको चलह–पहल अप्रत्यासित रूपमा बढेर आयो । मानौं, सहरका सबै गाडी जम्मा भएका हुन् । त्यसअघि एकाबिहानै धरहराबाट निक्कैबेर बिगुल बजेको थियो । महत्त्वपूर्ण घोषणा हुने जंगी, निजामती, साहुमहाजन, सन्तमहन्त र दुनियाँलाई

जम्मा हुन उर्दी जारी गर्न त्यसरी बिगुल फुक्ने चलन थियो । उत्पन्न संकट र त्यसको समाधाननिम्ति छलफल गर्न प्रधानमन्त्रीले सिंहदरबारमा (बेलायती बैठक) बोलाएको सिंहले पछिमात्र थाहा पाए । बैठकमा दूतावासमा आक्रमण गरी राजालाई फिर्ता ल्याउने, दूतावास जाने पानीको पाइप काटिदिने लगायत विकल्पमा छलफल भयो ।

एकातिर राजगद्दी एकछिन खाली राख्न नहुने अर्कोतिर राजा फर्कन नमान्ने । राणाहरू अप्ठेरोमा परे । माहिला गुरु हेमराज र चन्द्रजंगले श्री ५ र श्री ३ को श्रपेच श्री ३ ले नै लगाउन उपयुक्त हुने सुझाव दिए । राजालाई अपदस्त गर्नुपर्छ भन्ने कतिपयको सल्लाह थियो ।

अन्त्यमा श्री ३ मोहनशमशेरको भारदारी सभाले त्रिभुवनलाई सत्ताच्युत गरी साढे ३ वर्षका ज्ञानेन्द्रलाई राजा घोषणा गरे । गोरखापत्रमा समाचार छापियो– ‘त्रिभुवन सत्ताच्युत । नेपालको बेइज्जत भयो ।’ समाचारमा त्रिभुवनलाई राजद्रोही भनिएको थियो ।

प्रधानमन्त्रीको रोलक्रममा रहेका बबरशमशेर भन्ने गर्थे– तरवारको भरमा हाम्रा पुर्खाले स्थापना गरेको शासन हामी तरवारकै बलमा अर्को ५० वर्ष चलाउँछौं । तर महावीरशमशेरको हिमालयन एयरवेजबाट छरिएको पर्चाले राणाशासनको जग हल्लाइदियो । फाट्टफुट्ट मात्र जहाज देखेका काठमाडांैबासीले उपत्यका थर्किनेगरी निक्कै बेर आकाशमा फनफनी जहाज उडेको पहिलोपटक त्यही बेला देखेका थिए । त्यो दिन पहिला वीरगन्जदेखि काठमाडौंसम्म पर्चा छरियो । देशको पूर्वी भागदेखि काठमाडौंसम्म रातो रंगका पर्चा छरिए । पर्चामा नेपाली सैनिकहरूलाई राजा त्रिभुवनको समर्थन गर्न अपिल गर्दै जहाजबाट बम खसालेर राणाहरूलाई समाप्त पार्ने चेतावनी दिइएको थियो । जहाजले सिंहदरबार वरिपरि निक्कै बेर घुमेर पर्चा फालेको थियो । जहाजबाट बम फाल्न सक्ने त्रासका कारण प्रधानमन्त्री मोहनशमशेर कात्तिक २५ देखि सिंहदरबारमा सुत्न सकेनन् । दरबारको दक्षिणपट्टि बरफवागमा गएर बसे । २००७ मंसिर १ गते गोरखापत्रमा कात्तिक २५, २६ र २७ गते हिमालयन एयरवेजको जहाजबाट पर्चाबाजी गरेको खबर प्रकाशित भयो ।

पर्चा छर्ने मध्येका एक कांग्रेस नेता स्व. रामहरि जोशीले सुनाए अनुसार पाइलटले नेपालको नक्सा राखेका थिए । उनी कराउँदै ल, फलानो ठाउँ आयो भन्थे । हामी त्यही आधारमा पर्चा खसाल्थ्यौं । सबैभन्दा बढी पर्चा विराटनगरमा खसायौं । फेरि चक्कर लगाएर हेर्‍यौं । माथिबाट हेर्दा सडक रातै देखिन्थ्यो । पर्चामा लेखिएको थियो– ‘आजदेखि हाम्रो क्रान्ति सुरु भयो । तपाईहरू सबै तयार रहनुहोला । यो राणाशासन खत्तम हुनेवाला छ ।’

राणाहरूले पर्चा छरेको आरोपमा धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दसरथ चन्द र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएको एक दशकपछि त्यस्तै पर्चाले राणाशासकको होसहवास उडेको थियो । मनोवैज्ञानिक रूपमा राणा परास्त भए । भारत सरकारले उपलव्ध गराएको विशेष विमानबाट राजा दिल्ली गएकै दिन मध्यरातमा कांग्रेसको मुक्तिसेनाले वीरगन्जमा हमला गर्‍यो । त्यो तहमा आक्रमण होला भन्ने राणाहरूले कल्पनासमेत गरेका थिएनन् ।

मध्यरातमा वीरगन्जका गल्लीहरू सुनसान थिए । कतै–कतै जुवा खेल्नेहरूले मार्रा... मार्रा... भनेका स्वर सुनिन्थे । ‘बिहानको ४ बज्न नपाउँदै थिरबम मल्लको नेतृत्वमा खाकी रंगको ऊनी जर्सी र पाइन्ट लगाएका मुक्तिसेनाको टोलीले बडाहाकिम सोमशमशेर राणाको निवास कब्जामा लिए । गारतमा निदाइरहेका १७ सैनिकको हतियार खोसियो । निद्रामा उङेर पहरा दिइरहेको अवस्थामा बडाहाकिम बंगलाको ढोके सन्तरी समेतलाई नियन्त्रणमा लिई सोमशमशेरलाई कैद गरियो ।

थिरबम मल्ल आफैले बडाहाकिमको ढोकामा लात्ताले हाने । गड्याङ–गुडुङ आवाज सुनेपछि बडाहाकिम हड्बडाएर उठे र माथिबाटै रिभल्वरको एक फायर गरे । जवाफमा मल्लले पनि एक फायर गरे । अनि बडाहाकिम आत्तिएर जोडले कराउन थाले ।

‘ए व्यारेक । ए व्यारेक । ए गारत ।’संकटको जनाउ दिन बिगुल बज्यो । बाहिर दोहोरो गोली हानाहानको आवाज आइरहेको थियो । राणाफौज धमाधम आत्मसमर्पण गर्दै थियो । हतियार गोलीगट्ठा र ढुकुटीबाट ठूलो रकम मुक्तिसेनाले कव्जा गरिसकेको थियो । चौतर्फी मुक्तिसेनाले कव्जा गरिसकेकाले बडाहाकिम लाचार थिए । मुक्ति सेनाका कमाण्डर थिरबम मल्लले बडाहाकिम सोमशमेरलाई गिरफ्तार गरी नम्रतापूर्वक भने, पार्टीको आदेश यस्तै छ । म लाचार छु, मामा ।

दोहोरो गोली हानाहान चलिरहँदा आकाशबाट एउटा हवाइजहाजले व्यारेकमाथि ३/४ चक्कर लगायो । नेपाली कांग्रेसको झण्डा फहराइएको त्यो जहाजले पर्चा खसायो । ‘पर्चामा लेखिएको थियो– हाम्रो लडाइँ आजदेखि सारा नेपालमा सुरु हुन्छ ।’ राष्ट्रिय फौजका जवानहरू पर्चा टिपेर पढ्न थाले । अर्कोतर्फ सैनिक अधिकारीहरू जवानहरूको हौसला बढाउन भन्दै थिए– ‘यी नाथे कांग्रेसीहरूले के नै गर्न सक्छन् र ।’ जहाजले फेरि घुमेर पर्चा खसाएपछि व्यारेकका ठूला अधिकारीको सातोपुत्लो गयो । उनीहरू भन्न थाले– ‘अब जसरी भए पनि ज्यान जोगाउनुपर्छ ।’ उनीहरूले जवानहरूलाई आदेश दिए– ‘जहाजबाट बम खसाले भने सबैजना कवाज खेल्ने चौरमा गएर सुतिहाल्नु ।’

त्यो घटनाले मुक्तिसेनाको मनोबल बढेको थियो । वीरगन्ज बजार नजिकको सैनिक व्यारेक र टँुडिखेलमाथि जहाज उडिरहेको थियो । पटक–पटक घरहरूभन्दा केही माथिबाट जहाजले ब्यारेकभित्रै पर्चा खसाएपछि राणाफौजको सातो गयो । ‘जहाजले बम खसाल्ने भयो भन्ने हल्लाले राणाफौज आत्तिएर आत्मसमर्पण गर्ने मनस्थितिमा पुगेको कुरा मातृकाप्रसाद कोइरालाले आफ्नो अनुभवमा लेखेका छन् ।’ राणाफौज यति डराएको थियो कि थुनामा रहेका बन्दी छोड्दै सैनिक अधिकारीहरू भन्नथाले, ‘ल हजुर हामीलाई बचाइदिनुस् ।’

एकजना कप्तान त अत्तालिँदै व्यारेकबाट बाहिरिए र अरु सैनिकलाई भन्नथाले, ‘ल सुत है । बम पनि झार्न सक्छ ।’ बमभन्दा ठूलो शक्ति प्रवाह गरेको थियो, त्यो पर्चाले । ‘पर्चाकै कारण मुक्तिसेना सामु राणाफौजले आत्मसमर्पण गर्‍यो र वीरगन्ज कव्जामा गर्न सहज भयो ।’ जेलबाट धमाधम बन्दीहरू छुटे ।

वीरगन्जको पराजयसँंगै राणाशासनको दिनगन्ती सुरु भए । सशस्त्रबलमा टिकेका राणाले विद्रोहीबाट त्यो हदसम्मको कारबाही होला भन्ने कल्पनासम्म गरेका थिएनन् । त्यसैले क्रान्तिको प्रतिरोध गर्ने तयारी र क्षमता उनीहरूसँंग थिएन ।

प्रकाशित : कार्तिक २१, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?