धामीको आडमा भेदभाव

कर्णालीमा धामीवादले सामन्तवादको प्रतिनिधित्व गर्छ । यसले बोक्सी प्रथा, छाउपडी प्रथा र चरम जातीय भेदभावलाई संरक्षण गरेको छ । 
हीरा बिजुली नेपाली

काठमाडौँ — म धामी परिवारको सदस्य हुँ । म धामीलाई नचाउने दमाईको पनि प्रतिनिधित्व गर्छु । आगो बलिरहेको तेल पिउने, रातो आगोको गोलमाथि नाच्ने जस्ता आश्चर्यले भरिएको मेरो बाबाको धामी जीवन हेर्न अभ्यस्त मेरा आँखाले बाल मस्तिष्कमा भीमकाय चित्र बनाइदिएका छन् । 

आज बा हुनुहुन्न । बाको देउता मस्टा मरेको छैन । ऊ आज पुस्तौनी रूपमा बाको जेठो छोरो अर्थात मेरो दाइमाथि पदार्पण भएको छ । उस्तै आश्चर्यले भरिएका गतिविधि पर गएका छैनन् । वर्षभरि पूणर््िामाको धुमधाम चलेकै छ । तीर्थव्रतका लामा–लामा चरण पार गर्नु हाम्रो सामान्य दिनचर्या जस्तै छ । हामी यसमा अभ्यस्त भैसकेका छांै ।

Yamaha

पारिवारिक बाध्यतावश म योपटक मुगुको रुम गाउँस्थित विजय महादेवको पूजा गर्न गएको थिएँ । हजारौं जात्रुले भरिएको त्यो सानो रुम गाउँ उल्लासले भरिएको थियो । विभिन्न भेगबाट नामी देउडा खेलाडीलाई निम्तो गरिँदो रहेछ । ठिटाठिटीको चहल–पहल बेग्लै ।
गाउँ पुग्ने बित्तिकै जोकोही जात्रुले धामीको घरमा गएर दर्शनस्वरुप उनको खुट्टा ढोग्नुपर्ने चलन रहेछ । ढोगियो । साँझ पर्नैलागेको थियो । समूहका अगुवाले बासको प्रबन्ध मिलाए । खाना खाइयो । लामा थाडामा खेलाडीको देउडा रौनक
सुरु भैहाल्यो । त्यो रौनकले रुम गाउँलाई रातभर चामत्कारिक झलाकार बनाउँदो रहेछ । लाग्यो, त्यसैले त सबैले रुमको विजय भन्दारहेछन् ।
भोलिपल्ट बिहान ९ बजेतिर मुख पखालेर म लामा थाडामा पुगेँ । हजारौं श्रदालु र दर्शन गर्न गएका धामीको भिड बीचमा थिएँ, अघिल्लो दिन मैले ढोगेका धामी । उनका सयौंजना सुसारे थिए । तिनमा कोही डाँग्री, कोही खावा, कोही वहानका धामी आदि थिए । करिब चालिस जनाजति दमाईहरू बाजा बजाइरहेका थिए । त्यो थाडासँगै जोडिएको अर्को थाडाबाट पनि दमाहा बजिरहेको आवाज सुनिरहेको थिएँ । म त्यतैतिर लागँे । देखेँ, दमाहा बजाइरहेका तीन दमाई, एकजना वहानको धामी अनि एकजना मूल धामी र आसपासमा तीन–चारजना सुसारे । उनीहरू निराश थिए । मूल लामा थाडामा जस्तो गतिविधि हुन्थ्यो, त्यस्तै गतिविधि त्यही थाडामा पनि गरिन्थ्यो । म अचम्ममा परेँ । यत्रो रुमको विजय अगाडि निहुँ खोज्ने को रहेछ †
मैले तत्कालै एकजना स्थानीयसँग तिनी कुन देउताका धामी हुन् भनेर सोधेँ । ‘तिनी पनि रुम विजय महादेवका मूल धामी हुन्,’ उनले भने । मेरो दिमागमा झन् भद्रगोलता छायो– एक
देउता, एक पुनि (पूर्णिमा), एउटै थान (मन्दिर),
दुई धामी कसरी ?
ती स्थानीयका अनुसार उनले आफूमा विगत आठ वर्षदेखि रुम विजय महादेवको अवतार भयो भनेर धामीका रूपमा कर्मकाण्ठ गरिरहेका रहेछन् । त्यो अस्तित्वको लडाइँ पनि थियो । अर्को साँझ त्यसै गाउँका एकजना बूढा भेटिए । उनका अनुसार झन्डै पाँच पुस्ताअघि रुम विजयका धामी तिनका जिजुबा थिए रे । मर्ने अवस्थामा ती जिजुबाले भविष्यवाणी गरेका थिए रे, ‘मेरो देहवसानपछि यो देवता अहिले अर्कैमा अवतार भए पनि पाँच पुस्तापछि पुन: हाम्रै वंशजमा अवतार हुनेछ ।’ केही समयमै उनी मरे, विजय महादेव अर्कै व्यक्तिको वंशजमा अवतार भयो । चौथो पुस्तासम्म समाजले पछिल्लो धामीको पुस्तालाई स्वीकार्‍यो । अर्कातिर पुरानो वंशजलाई बिर्संदै गयो । भविष्यवाणी अनुसार चौथो पुस्तामा
हालका कान्छा धामी भनिने धामीले रुम विजयको अवतार आफूमा भयो भनेर कर्मकाण्ड चलाउँदै आएका रहेछन् ।
कान्छा धामी पीडाले छट्पटिनुको कारण रहेछ, गाउँमा उनको वंशजका अर्थात उनका पक्षका जम्मा पाँच घरधुरी र अर्का धामीको वंशजका साठी घरधुरी हुनु । सम्पूर्ण जमिनको धनी तथा न्यायको प्रतीक मानिने रुमको विजय महादेवको गाथमा पनि टाउको गन्ने लडाइँ चलिरहेको रहेछ ।
मैले कान्छा धामीसँग हार्दिकतापूर्वक कुरा गर्ने अनुमति मागेँ, उनी आफ्ना भावना खन्याउन हतारिएका थिए । यस्तो लाग्थ्यो, उनको आवाजलाई कसैले सुन्न चाहेको थिएन वा बेवास्ता गरिएको थियो । कान्छा धामीले भने, ‘देउताले मेरा जिजुबाको मृत्युपछिको पाँचौं पुस्तामा देउता फेरि मेरै वंशजमा अवतार हुनेछ । देवताले ममाथि बास गरिसकेको छ । तर यो कुरा कसैले सुन्न चाहिरहेको छैन ।’
देउताका नाममा वर्षेनि कर्णालीका विभिन्न जिल्लाबाट भक्तजनले धामीकहाँ ठूलो धनराशि चढाउँछन् । खसी–बोका मात्रै सयौं आउँछन् ।
यो एउटा प्रतिनिधि कथा हो । धामीलाई आस्थाको केन्द्र बनाई स्थानीय सामन्तहरूले समाजका केही महत्त्वपूर्ण निर्णय
आफ्नो पक्षमा पार्न सफल भएका छन् । प्राचीन कालमा सामन्तहरू धामीको प्रयोगबाट गरिबको जग्गाजमिन हडप्थे । जातपात र छुवाछूतलाई प्रबद्र्धन गर्थे । अहिले चुनावमा धामी प्रयोग गरेर गरिबलाई आफ्नो पक्षमा मत हाल्न बाध्य
बनाउँदै आएका छन् ।
परम्परादेखि खस सामन्तहरूले चिनेर–जानेरै धामीवाद आफ्नो पक्षमा प्रयोग गर्दै आइरहे । धामीवाद सिमान्तकृत दलित, जनजाति र महिलाको पहुँचमै थिएन । महिलाहरू बोक्सी र छाउपडी तथा दलितहरू जातीयताका नाममा पिल्सिरहे । यदि कोही मानिस गैरधामी परिवारबाट छ, ऊ बाहुन हो भने अशिक्षित भए पनि उसले छाउपडी तथा जातीय छुवाछूत उन्मूलनमा सघाउन सक्छ । यदि कोही मानिस दलित परिवारबाट छ, पढेलेखेको छ, धामी परिवारको पनि हो भने उसले धामीवादकै कारण छाउपडी तथा जातीय भेदभावलाई झन् प्रश्रय दिने काम गरिरहेको हुन्छ । धामीवादले दलित–दलितबीच, बाहुन–बाहुनबीच भेदभावको ठूलो खाडल
निर्माण गरेको छ ।
दसवर्षे सशस्त्र द्वन्द्वताका कर्णालीका खस ठालुहरूले थातथलो छाडेका बेला धामीको कर्मकाण्ड गरिब तथा दलितको हातमा आएको थियो । तर उनीहरू शक्तिविहीन थिए । शक्तिमा थियो, केवल तत्कालीन नेकपा माओवादी ।
धामीवादले कर्णालीमा सामन्तवादको प्रतिनिधित्व गर्दै आइरहेको छ । हामीकहाँ बोक्सी प्रथा, छाउपडी प्रथा र चरम जातीय भेदभावलाई धामीवादले संरक्षण गरेको छ । आजको जमानामा पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने चेतना अभाव छ । धामीवादले सिमान्तकृतका पक्षमा लेखिएका कानुनका दफाहरू काटिदिएको छ । यस्तो गहन विषयमा मौन छ, हाम्रो समाज ।

प्रकाशित : कार्तिक २१, २०७५ ०९:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

त्यो नोभेम्बर क्रान्ति 

जहाजले फेरि घुमेर पर्चा खसाएपछि ब्यारेकका ठूला अधिकारीको सातोपुत्लो गयो । उनीहरू भन्न थाले– ‘अब जसरी भए पनि ज्यान जोगाउनुपर्छ ।’ 
जगत नेपाल

काठमाडौँ — सामान्यतया बिहान र राति तोप पड्काएपछि काठमाडौं उपत्यकामा आवत–जावत बन्द हुन्थ्यो । तर तिहार परेकाले ती दिन राणाहरूले जुवा फुकाएका थिए । रातभर तीनै सहर लगायत मुलुकका प्रमुख सहरमा आवत–जावत गर्ने स्वतन्त्रता दिइएको थियो ।

नेपाली कांग्रेसले सशस्त्र क्रान्तिको तयारी उत्कर्षमा पुर्‍याएको थियो । विद्रोहीसँग राजा त्रिभुवनको हिमचिम बढेको सूचना पाएपछि अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरले श्री ५ को गतिविधिमाथि निगरानी बढाएका थिए ।

क्रान्तिका लागि छद्मभेषमा पाल्पा पुगेका बीपी कोइरालाले नारायणहिटी दरबारभित्रै हेलिकप्टर उतारेर सुटुक्क राजालाई राणाको पहुँच बाहिर लैजाने योजना बनाए । प्रधानमन्त्रीको रोलक्रममै रहेका बेला काठमाडौंबाट निकाला गरी पाल्पाको बडाहाकिम बनाइएका रुद्रशमशेर राणा क्रान्तिलाई साथ दिन तयार भएपछि त्यो योजना बनेको थियो ।

योजना कार्यान्वयनका लागि जेल तोडेर भागेका गणेशमान सिंह भूमिगत रूपमा काठमाडौंमा सक्रिय थिए । वाथले कक्रिएका राजा हेलिकप्टरको व्यवस्था भए दरबार छाडेर क्रान्तिकारीलाई सथा दिन सकारात्मक भएपछि सिंहले हेलिकप्टरको प्रबन्ध गर्न भारतमा रहेका बीपी र सुवर्णलाई खबर पठाए ।

पाल्पामा राजालाई उतार्ने, उनका नाममा शासन सुरु गर्ने र सिंहदरबारलाई निसाना बनाउने योजना बन्यो । भारतको सहयोगविना हेलिकप्टर व्यवस्था गर्न त के उडाउने अनुमतिसमेत पाइन्नथ्यो । कांग्रेसले हेलिकप्टरको प्रबन्ध गर्न नसकेपछि भारतीय दूतावासमा शरण लिने निष्कर्षमा राजा पुगे । २००७ कात्तिक २१ गते सिकार र पिकनिकका लागि सपरिवार नागार्जुन जान उनले प्रधानमन्त्रीसँग अनुमति मागेका थिए । कात्तिक २० गते बिहानमात्र श्री ३ मोहनशमशेरले स्वीकृति दिए ।

दिनहुँ बिहान पूजापाठ नगरी पानीसम्म नपिउने प्रधानमन्त्रीले हिन्दु धर्मशास्त्र बमोजिम काटमार गर्न
वर्जित एकादशीकै दिन राजालाई सिकारमा जान अनुमति दिएको भेउनै पाएनन् । त्यही मौकामा राजाले परिवारसहित भारतीय दूतावासमा शरण लिए । मावल गएकाले साढे ३ वर्षका नाति ज्ञानेन्द्र मात्र छुटे । राजालाई फिर्ता गर्न गरिएका प्रयास असफल भएपछि मोहनशमशेर छट्पटिए । गणेशमान सिंह पक्राउ परिसकेका थिए । सिंहदबारभित्र बन्दी रहेका कांग्रेस नेता गणेशमान सिंहले भनेका छन्– मोटरहरूको चलह–पहल अप्रत्यासित रूपमा बढेर आयो । मानौं, सहरका सबै गाडी जम्मा भएका हुन् । त्यसअघि एकाबिहानै धरहराबाट निक्कैबेर बिगुल बजेको थियो । महत्त्वपूर्ण घोषणाहुने जंगी, निजामती, साहुमहाजन, सन्तमहन्त र दुनियाँलाई
जम्मा हुन उर्दी जारी गर्न त्यसरी बिगुल फुक्ने चलन थियो । उत्पन्न संकट र त्यसको समाधाननिम्ति छलफल गर्न प्रधानमन्त्रीले सिंहदरबारमा (बेलायती बैठक) बोलाएको सिंहले पछिमात्र थाहा पाए । बैठकमा दूतावासमा आक्रमण गरी राजालाई फिर्ता ल्याउने, दूतावास जाने पानीको पाइप काटिदिने लगायत विकल्पमा छलफल भयो ।

एकातिर राजगद्दी एकछिन खाली राख्न नहुने अर्कोतिर राजा फर्कन नमान्ने । राणाहरू अप्ठेरोमा परे । माहिला गुरु हेमराज र चन्द्रजंगले श्री ५ र श्री ३ को श्रपेच श्री ३ ले नै लगाउन उपयुक्त हुने सुझाव दिए । राजालाई अपदस्त गर्नुपर्छ भन्ने कतिपयको सल्लाह थियो ।

अन्त्यमा श्री ३ मोहनशमशेरको भारदारी सभाले त्रिभुवनलाई सत्ताच्युत गरी साढे ३ वर्षका ज्ञानेन्द्रलाई राजा घोषणा गरे । गोरखापत्रमा समाचार छापियो– ‘त्रिभुवन सत्ताच्युत । नेपालको बेइज्जत भयो ।’ समाचारमा त्रिभुवनलाई राजद्रोही भनिएको थियो ।

प्रधानमन्त्रीको रोलक्रममा रहेका बबरशमशेर भन्ने गर्थे– तरवारको भरमा हाम्रा पुर्खाले स्थापना गरेको शासन हामी तरवारकै बलमा अर्को ५० वर्ष चलाउँछौं । तर महावीरशमशेरको हिमालयन एयरवेजबाट छरिएको पर्चाले राणाशासनको जग हल्लाइदियो । फाट्टफुट्ट मात्र जहाज देखेका काठमाडांैबासीले उपत्यका थर्किनेगरी निक्कै बेर आकाशमा फनफनी जहाज उडेको पहिलोपटक त्यही बेला देखेका थिए । त्यो दिन पहिला वीरगन्जदेखि काठमाडौंसम्म पर्चा छरियो । देशको पूर्वी भागदेखि काठमाडौंसम्म रातो रंगका पर्चा छरिए । पर्चामा नेपाली सैनिकहरूलाई राजा त्रिभुवनको समर्थन गर्न अपिल गर्दै जहाजबाट बम खसालेर राणाहरूलाई समाप्त पार्ने चेतावनी दिइएको थियो । जहाजले सिंहदरबार वरिपरि निक्कै बेर घुमेर पर्चा फालेको थियो । जहाजबाट बम फाल्न सक्ने त्रासका कारण प्रधानमन्त्री मोहनशमशेर कात्तिक २५ देखि सिंहदरबारमा सुत्न सकेनन् । दरबारको दक्षिणपट्टि बरफवागमा गएर बसे । २००७ मंसिर १ गते गोरखापत्रमा कात्तिक २५, २६ र २७ गते हिमालयन एयरवेजको जहाजबाट पर्चाबाजी गरेको खबर प्रकाशित भयो ।

पर्चा छर्ने मध्येका एक कांग्रेस नेता स्व. रामहरि जोशीले सुनाए अनुसार पाइलटले नेपालको नक्सा राखेका थिए । उनी कराउँदै ल, फलानो ठाउँ आयो भन्थे । हामी त्यही आधारमा पर्चा खसाल्थ्यौं । सबैभन्दा बढी पर्चा विराटनगरमा खसायौं । फेरि चक्कर लगाएर हेर्‍यौं । माथिबाट हेर्दा सडक रातै देखिन्थ्यो । पर्चामा लेखिएको थियो– ‘आजदेखि हाम्रो क्रान्ति सुरु भयो । तपाईहरू सबै तयार रहनुहोला । यो राणाशासन खत्तम हुनेवाला छ ।’

राणाहरूले पर्चा छरेको आरोपमा धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दसरथ चन्द र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएको एक दशकपछि त्यस्तै पर्चाले राणाशासकको होसहवास उडेको थियो । मनोवैज्ञानिक रूपमा राणा परास्त भए ।भारत सरकारले उपलव्ध गराएको विशेष विमानबाट राजा दिल्ली गएकै दिन मध्यरातमा कांग्रेसको मुक्तिसेनाले वीरगन्जमा हमला गर्‍यो । त्यो तहमा आक्रमण होला भन्ने राणाहरूले कल्पनासमेत गरेका थिएनन् ।

मध्यरातमा वीरगन्जका गल्लीहरू सुनसान थिए । कतै–कतै जुवा खेल्नेहरूले मार्रा... मार्रा... भनेका स्वर सुनिन्थे । ‘बिहानको ४ बज्न नपाउँदै थिरबम मल्लको नेतृत्वमा खाकी रंगको ऊनी जर्सी र पाइन्ट लगाएका मुक्तिसेनाको टोलीले बडाहाकिम सोमशमशेर राणाको निवास कब्जामा लिए । गारतमा निदाइरहेका १७ सैनिकको हतियार खोसियो । निद्रामा उङेर पहरा दिइरहेको अवस्थामा बडाहाकिम बंगलाको ढोके सन्तरी समेतलाई नियन्त्रणमा लिई सोमशमशेरलाई कैद गरियो ।

थिरबम मल्ल आफैले बडाहाकिमको ढोकामा लात्ताले हाने । गड्याङ–गुडुङ आवाज सुनेपछि बडाहाकिम हड्बडाएर उठे र माथिबाटै रिभल्वरको एक फायर गरे । जवाफमा मल्लले पनि एक फायर गरे । अनि बडाहाकिम आत्तिएर जोडले कराउन थाले ।

‘ए व्यारेक । ए व्यारेक । ए गारत ।’संकटको जनाउ दिन बिगुल बज्यो । बाहिर दोहोरो गोली हानाहानको आवाज आइरहेको थियो । राणाफौज धमाधम आत्मसमर्पण गर्दै थियो । हतियार गोलीगट्ठा र ढुकुटीबाट ठूलो रकम मुक्तिसेनाले कव्जा गरिसकेको थियो । चौतर्फी मुक्तिसेनाले कव्जा गरिसकेकाले बडाहाकिम लाचार थिए । मुक्ति सेनाका कमाण्डर थिरबम मल्लले बडाहाकिम सोमशमेरलाई गिरफ्तार गरी नम्रतापूर्वक भने, पार्टीको आदेश यस्तै छ । म लाचार छु, मामा ।

दोहोरो गोली हानाहान चलिरहँदा आकाशबाट एउटा हवाइजहाजले व्यारेकमाथि ३/४ चक्कर लगायो । नेपाली कांग्रेसको झण्डा फहराइएको त्यो जहाजले पर्चा खसायो । ‘पर्चामा लेखिएको थियो– हाम्रो लडाइँ आजदेखि सारा नेपालमा सुरु हुन्छ ।’ राष्ट्रिय फौजका जवानहरू पर्चा टिपेर पढ्न थाले । अर्कोतर्फ सैनिक अधिकारीहरू जवानहरूको हौसला बढाउन भन्दै थिए– ‘यी नाथे कांग्रेसीहरूले के नै गर्न सक्छन् र ।’ जहाजले फेरि घुमेर पर्चा खसाएपछि व्यारेकका ठूला अधिकारीको सातोपुत्लो गयो । उनीहरू भन्न थाले– ‘अब जसरी भए पनि ज्यान जोगाउनुपर्छ ।’ उनीहरूले जवानहरूलाई आदेश दिए– ‘जहाजबाट बम खसाले भने सबैजना कवाज खेल्ने चौरमा गएर सुतिहाल्नु ।’

त्यो घटनाले मुक्तिसेनाको मनोबल बढेको थियो । वीरगन्ज बजार नजिकको सैनिक व्यारेक र टँुडिखेलमाथि जहाज उडिरहेको थियो । पटक–पटक घरहरूभन्दा केही माथिबाट जहाजले ब्यारेकभित्रै पर्चा खसाएपछि राणाफौजको सातो गयो । ‘जहाजले बम खसाल्ने भयो भन्ने हल्लाले राणाफौज आत्तिएर आत्मसमर्पण गर्ने मनस्थितिमा पुगेको कुरा मातृकाप्रसाद कोइरालाले आफ्नो अनुभवमा लेखेका छन् ।’ राणाफौज यति डराएको थियो कि थुनामा रहेका बन्दी छोड्दै सैनिक अधिकारीहरू भन्नथाले, ‘ल हजुर हामीलाई बचाइदिनुस् ।’

एकजना कप्तान त अत्तालिँदै व्यारेकबाट बाहिरिए र अरु सैनिकलाई भन्नथाले, ‘ल सुत है । बम पनि झार्न सक्छ ।’ बमभन्दा ठूलो शक्ति प्रवाह गरेको थियो, त्यो पर्चाले । ‘पर्चाकै कारण मुक्तिसेना सामु राणाफौजले आत्मसमर्पण गर्‍यो र वीरगन्ज कव्जामा गर्न सहज भयो ।’ जेलबाट धमाधम बन्दीहरू छुटे ।

वीरगन्जको पराजयसँंगै राणाशासनको दिनगन्ती सुरु भए । सशस्त्रबलमा टिकेका राणाले विद्रोहीबाट त्यो हदसम्मको कारबाही होला भन्ने कल्पनासम्म गरेका थिएनन् । त्यसैले क्रान्तिको प्रतिरोध गर्ने तयारी र क्षमता उनीहरूसँंग थिएन ।

प्रकाशित : कार्तिक २१, २०७५ ०९:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT