धामीको आडमा भेदभाव
काठमाडौँ — म धामी परिवारको सदस्य हुँ । म धामीलाई नचाउने दमाईको पनि प्रतिनिधित्व गर्छु । आगो बलिरहेको तेल पिउने, रातो आगोको गोलमाथि नाच्ने जस्ता आश्चर्यले भरिएको मेरो बाबाको धामी जीवन हेर्न अभ्यस्त मेरा आँखाले बाल मस्तिष्कमा भीमकाय चित्र बनाइदिएका छन् ।
आज बा हुनुहुन्न । बाको देउता मस्टा मरेको छैन । ऊ आज पुस्तौनी रूपमा बाको जेठो छोरो अर्थात मेरो दाइमाथि पदार्पण भएको छ । उस्तै आश्चर्यले भरिएका गतिविधि पर गएका छैनन् । वर्षभरि पूणर््िामाको धुमधाम चलेकै छ । तीर्थव्रतका लामा–लामा चरण पार गर्नु हाम्रो सामान्य दिनचर्या जस्तै छ । हामी यसमा अभ्यस्त भैसकेका छांै ।
पारिवारिक बाध्यतावश म योपटक मुगुको रुम गाउँस्थित विजय महादेवको पूजा गर्न गएको थिएँ । हजारौं जात्रुले भरिएको त्यो सानो रुम गाउँ उल्लासले भरिएको थियो । विभिन्न भेगबाट नामी देउडा खेलाडीलाई निम्तो गरिँदो रहेछ । ठिटाठिटीको चहल–पहल बेग्लै ।
गाउँ पुग्ने बित्तिकै जोकोही जात्रुले धामीको घरमा गएर दर्शनस्वरुप उनको खुट्टा ढोग्नुपर्ने चलन रहेछ । ढोगियो । साँझ पर्नैलागेको थियो । समूहका अगुवाले बासको प्रबन्ध मिलाए । खाना खाइयो । लामा थाडामा खेलाडीको देउडा रौनक
सुरु भैहाल्यो । त्यो रौनकले रुम गाउँलाई रातभर चामत्कारिक झलाकार बनाउँदो रहेछ । लाग्यो, त्यसैले त सबैले रुमको विजय भन्दारहेछन् ।
भोलिपल्ट बिहान ९ बजेतिर मुख पखालेर म लामा थाडामा पुगेँ । हजारौं श्रदालु र दर्शन गर्न गएका धामीको भिड बीचमा थिएँ, अघिल्लो दिन मैले ढोगेका धामी । उनका सयौंजना सुसारे थिए । तिनमा कोही डाँग्री, कोही खावा, कोही वहानका धामी आदि थिए । करिब चालिस जनाजति दमाईहरू बाजा बजाइरहेका थिए । त्यो थाडासँगै जोडिएको अर्को थाडाबाट पनि दमाहा बजिरहेको आवाज सुनिरहेको थिएँ । म त्यतैतिर लागँे । देखेँ, दमाहा बजाइरहेका तीन दमाई, एकजना वहानको धामी अनि एकजना मूल धामी र आसपासमा तीन–चारजना सुसारे । उनीहरू निराश थिए । मूल लामा थाडामा जस्तो गतिविधि हुन्थ्यो, त्यस्तै गतिविधि त्यही थाडामा पनि गरिन्थ्यो । म अचम्ममा परेँ । यत्रो रुमको विजय अगाडि निहुँ खोज्ने को रहेछ †
मैले तत्कालै एकजना स्थानीयसँग तिनी कुन देउताका धामी हुन् भनेर सोधेँ । ‘तिनी पनि रुम विजय महादेवका मूल धामी हुन्,’ उनले भने । मेरो दिमागमा झन् भद्रगोलता छायो– एक
देउता, एक पुनि (पूर्णिमा), एउटै थान (मन्दिर),
दुई धामी कसरी ?
ती स्थानीयका अनुसार उनले आफूमा विगत आठ वर्षदेखि रुम विजय महादेवको अवतार भयो भनेर धामीका रूपमा कर्मकाण्ठ गरिरहेका रहेछन् । त्यो अस्तित्वको लडाइँ पनि थियो । अर्को साँझ त्यसै गाउँका एकजना बूढा भेटिए । उनका अनुसार झन्डै पाँच पुस्ताअघि रुम विजयका धामी तिनका जिजुबा थिए रे । मर्ने अवस्थामा ती जिजुबाले भविष्यवाणी गरेका थिए रे, ‘मेरो देहवसानपछि यो देवता अहिले अर्कैमा अवतार भए पनि पाँच पुस्तापछि पुन: हाम्रै वंशजमा अवतार हुनेछ ।’ केही समयमै उनी मरे, विजय महादेव अर्कै व्यक्तिको वंशजमा अवतार भयो । चौथो पुस्तासम्म समाजले पछिल्लो धामीको पुस्तालाई स्वीकार्यो । अर्कातिर पुरानो वंशजलाई बिर्संदै गयो । भविष्यवाणी अनुसार चौथो पुस्तामा
हालका कान्छा धामी भनिने धामीले रुम विजयको अवतार आफूमा भयो भनेर कर्मकाण्ड चलाउँदै आएका रहेछन् ।
कान्छा धामी पीडाले छट्पटिनुको कारण रहेछ, गाउँमा उनको वंशजका अर्थात उनका पक्षका जम्मा पाँच घरधुरी र अर्का धामीको वंशजका साठी घरधुरी हुनु । सम्पूर्ण जमिनको धनी तथा न्यायको प्रतीक मानिने रुमको विजय महादेवको गाथमा पनि टाउको गन्ने लडाइँ चलिरहेको रहेछ ।
मैले कान्छा धामीसँग हार्दिकतापूर्वक कुरा गर्ने अनुमति मागेँ, उनी आफ्ना भावना खन्याउन हतारिएका थिए । यस्तो लाग्थ्यो, उनको आवाजलाई कसैले सुन्न चाहेको थिएन वा बेवास्ता गरिएको थियो । कान्छा धामीले भने, ‘देउताले मेरा जिजुबाको मृत्युपछिको पाँचौं पुस्तामा देउता फेरि मेरै वंशजमा अवतार हुनेछ । देवताले ममाथि बास गरिसकेको छ । तर यो कुरा कसैले सुन्न चाहिरहेको छैन ।’
देउताका नाममा वर्षेनि कर्णालीका विभिन्न जिल्लाबाट भक्तजनले धामीकहाँ ठूलो धनराशि चढाउँछन् । खसी–बोका मात्रै सयौं आउँछन् ।
यो एउटा प्रतिनिधि कथा हो । धामीलाई आस्थाको केन्द्र बनाई स्थानीय सामन्तहरूले समाजका केही महत्त्वपूर्ण निर्णय
आफ्नो पक्षमा पार्न सफल भएका छन् । प्राचीन कालमा सामन्तहरू धामीको प्रयोगबाट गरिबको जग्गाजमिन हडप्थे । जातपात र छुवाछूतलाई प्रबद्र्धन गर्थे । अहिले चुनावमा धामी प्रयोग गरेर गरिबलाई आफ्नो पक्षमा मत हाल्न बाध्य
बनाउँदै आएका छन् ।
परम्परादेखि खस सामन्तहरूले चिनेर–जानेरै धामीवाद आफ्नो पक्षमा प्रयोग गर्दै आइरहे । धामीवाद सिमान्तकृत दलित, जनजाति र महिलाको पहुँचमै थिएन । महिलाहरू बोक्सी र छाउपडी तथा दलितहरू जातीयताका नाममा पिल्सिरहे । यदि कोही मानिस गैरधामी परिवारबाट छ, ऊ बाहुन हो भने अशिक्षित भए पनि उसले छाउपडी तथा जातीय छुवाछूत उन्मूलनमा सघाउन सक्छ । यदि कोही मानिस दलित परिवारबाट छ, पढेलेखेको छ, धामी परिवारको पनि हो भने उसले धामीवादकै कारण छाउपडी तथा जातीय भेदभावलाई झन् प्रश्रय दिने काम गरिरहेको हुन्छ । धामीवादले दलित–दलितबीच, बाहुन–बाहुनबीच भेदभावको ठूलो खाडल
निर्माण गरेको छ ।
दसवर्षे सशस्त्र द्वन्द्वताका कर्णालीका खस ठालुहरूले थातथलो छाडेका बेला धामीको कर्मकाण्ड गरिब तथा दलितको हातमा आएको थियो । तर उनीहरू शक्तिविहीन थिए । शक्तिमा थियो, केवल तत्कालीन नेकपा माओवादी ।
धामीवादले कर्णालीमा सामन्तवादको प्रतिनिधित्व गर्दै आइरहेको छ । हामीकहाँ बोक्सी प्रथा, छाउपडी प्रथा र चरम जातीय भेदभावलाई धामीवादले संरक्षण गरेको छ । आजको जमानामा पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने चेतना अभाव छ । धामीवादले सिमान्तकृतका पक्षमा लेखिएका कानुनका दफाहरू काटिदिएको छ । यस्तो गहन विषयमा मौन छ, हाम्रो समाज ।
प्रकाशित : कार्तिक २१, २०७५ ०९:१४