कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

किशोरका कुण्ठा

डा.एन्जेला रेग्मी

काठमाडौँ — किशोर उमेरमा देखिने मानसिक स्वास्थ्य समस्या समाधान गर्न सधैं विशेषज्ञ चिकित्सक आवश्यक पर्दैन । नेपाल जनसंख्यामा नेपाल विश्वको ४८ सौं ठूलो मुलुक हो । आत्महत्यामा भने सातौं स्थानमा छ ।

प्रहरीका अनुसार तीन वर्षअघि आत्महत्या गर्नेको संख्या ४ हजार ७ सय थियो । गएको वर्ष यो संख्या बढेर ५ हजार ३ सय ४६ पुग्यो । आत्महत्या गर्नेमध्ये ८० प्रतिशत मानिस मानसिक रोगी हुने गरेको पाइएको छ । चौंतीस वर्षअघि काठमाडौं उपत्यकामा गरिएको अध्ययनमा १४ प्रतिशत जनसंख्यामा मानसिक समस्या पाइएको थियो ।


विश्व स्वास्थ्य संगठनको अनुमानमा विश्वमा प्रत्येक पाँच जनामा एक जनालाई कुनै एक खालको मानसिक समस्या छ । मध्यम तथा न्युन आय हुने मुलुकमा पाँचजना मानसिक रोगीमध्ये चार जनाले उचित उपचार पाउँदैनन् । नेपालमा यो अवस्था गएगुज्रेको छ ।

नेपाल मेडिकल काउन्सिलले बताए अनुसार १ सय ५० जनामात्र मनोचिकित्सक मुलुकमा छन् । मानसिक रोग विशेषज्ञता रहेको अस्पताल ललितपुरको लगनखेलमा रहेको मानसिक अस्पतालमात्र हो । सन् २०१४ मा गरिएको एक अध्ययनले मानसिक बिरामी भर्ना गर्न सरकारी तथा निजी अस्पतालमा गरी ४ सय ४० बेडमात्र उपलब्ध थिए । त्यो भनेको एक लाख जनसंख्यामा १.५ बेड हो ।


संवेदनशील उमेर समूह

आधाभन्दा बढी मानसिक रोग १४ वर्षको उमेरमा सुरु हुन्छ । २४ वर्ष पुग्दासम्ममा २५ प्रतिशत बढ्छ । १५ देखि १९ वर्षका किशोरको मृत्युको तेस्रो मुख्य कारण आत्महत्या हो । तसर्थ मानसिक रोग नियन्त्रण गर्न किशोरमा केन्द्रित हुनु जरुरी हुन्छ । १० देखि १९ वर्ष उमेर समूहका केटाकेटी वा युवा भनिनेहरू किशोर मानिन्छन् । यो उमेर समूहका व्यक्तिलाई केटाकेटी र उरन्ठ्याउला ठानेर वास्ता नगर्दा मानसिक समस्या पत्ता लाग्दैन, पत्ता नलागेपछि उपचार हुने कुरै भएन ।


यो उमेर समूह मानसिक रोगका लागि बढी संवेदनशील हुनुको मुख्य कारण शारीरिक, मनोवैज्ञानिक तथा सङ्गतमा आउने परिवर्तन हो । शारीरिक रूपमा यो उमेरमा आउने हर्मोन परिवर्तनका कारण मुड, विचार आदिमा बदलिन्छ । यौनिक रूपमा केटा होस् वा केटी सन्तान उत्पादन गर्नसक्ने शारीरिक अवस्थामा प्रवेश गर्छन् । मायाप्रेम वा यौनिक चाहना हुन्छ । त्यसमा असफल हुँदा मानसिक रूपमा असन्तुलित हुन्छन् ।


मनोवैज्ञानिक कारणमा आफ्नो धरातल र स्तर विचार नगरी चाहना राख्दा प्राप्त नभए कुण्ठा उब्जिन्छ । त्यसले मानसिक अवस्थामा समस्या ल्याउँछ । साथी, परिवार, वातावरणसँंग सामञ्जस्य राख्न नसक्दा कुण्ठा जाग्छ । साथीसँगको संगत अर्को कारण हो । यो उमेरमा ठिक, बेठिक राम्ररी ठम्याउन नसक्ने हुनाले साथीसंगी राम्रो परेनन् भने कुलतमा, अपराध कर्ममा किशोर–किशोरी पँmस्छन् । यसले मानसिक समस्या निम्त्याउँछ ।


यो उमेर समूहमा चाहना पुरा हुन नसक्दा चाँडै निराश हुने, अपरिपक्व तवरले जोखिम लिने (दुव्र्यसन सिक्ने, यौन सम्बन्ध राख्ने, तीव्र गतिमा सवारी गुडाउने आदि), शारीरिक सुन्दरताका सम्बन्धमा बढी सतर्क भएर खाना नखाई कुपोषित हुने, डरत्रास बढी हुने र विकल्प सोच्न नसक्ने (जस्तै परीक्षामा अनुत्तीर्ण भए आत्महत्या गर्ने) जस्ता समस्या आम रूपमा देखिने गर्छ ।


गर्ने के ?

समयमा पहिचान गरिए र उपयुक्त उपाय अपनाए मानसिक समस्या घटाउन सकिन्छ । किशोर उमेरमा सुरु भएको समस्या वयस्क र वृद्ध हुँदा बल्झिन सक्छ । त्यसैले यो उमेर समूहलाई मानसिक रोग रोकथाम र उपचारका लागि उच्च प्राथमिकतामा राख्नुपर्छ ।


किशोर उमेरमा देखिने मानसिक स्वास्थ्य समस्या समाधान गर्न सधैं विशेषज्ञ चिकित्सक आवश्यक पर्दैन । यो उमेर समूहका मानिसको मनोविज्ञान विचार गर्न र समस्या बुझ्नसके मात्र पनि धेरै समस्याको रोकथाम र नियन्त्रण हुनसक्छ । बाबुआमा, नातेदार, शिक्षक, छिमेकी, साथीभाइले किशोर वयकाको चाहना र कुरा संवेदनशील भई सुन्ने र उरन्ठ्याउलो नठान्ने गरे समस्या नआउन सक्छ ।


स्कुलका शिक्षक तथा गाउँटोलमा मनोसामाजिक परामर्शदाता तयार गरेर, स्वास्थ्यचौकी वा प्राथमिक स्वास्थ्यसेवा केन्द्रका कर्मचारीलाई मानसिक समस्यामा के गर्ने भनी प्रशिक्षित गरे र तिनलाई जिम्मेवारी दिएर मानसिक रोगको असर कम गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठन तथा मानसिक स्वास्थ्य सम्बन्धमा ल्यान्सेट कमिसनले पनि तेस्रो विश्वका मुलुकमा देखिएको मानसिक स्वास्थ्य समस्या कम गर्न यस खाले उपाय अपनाउन सिफारिस गरेको छ ।


लेखक लगनखेलस्थित मानसिक रोग अस्पतालमा कार्यरत छिन् ।

प्रकाशित : कार्तिक २८, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?