दरबार संग्रहालयको सम्पन्नता

दिनेश अधिकारी

काठमाडौँ — कान्ति–ईश्वरी घर, दियालो बंगला वा रत्न मन्दिरमा रहेका सामग्री ल्याएर नारायणहिटी दरबार संग्रहालयमा राखिनुपर्छ ।

दरबार संग्रहालयको सम्पन्नता

राजतन्त्र अन्त्य भएको करिब दस वर्षपछि गएको असोज २९ गते राजाका श्रीपेच, राजदण्ड र मुकुट लगायतका सामग्री सर्वसाधारणले हेर्न पाउनेगरी नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखियो । यो राम्रो काम हो । यस्तै सामग्रीले सम्पन्न हुनसक्ता सङ्ग्रहालयको महत्त्व बढ्ने हो ।


सङ्ग्रहालयमा श्रीपेच लगायतका ऐतिहासिक महत्त्वका वस्तु प्रदर्शनीमा राखिएको समाचार प्रकाशन/प्रसारणमा आएसँगै नारायणहिटी दरबार संग्रहालयलाई थप सम्पन्न गराउन आफूले गरेको

असफल प्रयासको सम्झना मेरो मस्तिष्कमा बौरिएर आयो ।


२०६६ असोजपछि २०६७ वैशाख बीचको कुरा हो । त्यसबेला म राजा वीरेन्द्र, रानी ऐश्वर्य समेतका नाममा रहेको सम्पत्ति खोजबिन र संरक्षण गर्दै ट्रष्टमा ल्याउन र त्यो सम्पत्ति वा त्यसबाट आर्जित धन सार्वजनिक हितमा प्रयोग गर्न, गराउन २०६४ सालमा स्थापित नेपाल ट्रष्टको कार्यकारी सचिव थिएँ ।


सम्पत्ति संरक्षण गर्ने सन्दर्भमा भरतपुर चितवनस्थित दियालो बङ्गला, हेटौंडा मकवानपुरस्थित कान्ति–ईश्वरी घर र पोखरा कास्कीस्थित रत्न मन्दिरको अनुगमन/निरीक्षण गर्न जाँदा ऐतिहासिक महत्त्वका तस्बिर, उपहार, कलाकृति, कलात्मक वस्तुसमेत रहे–भएको देखियो । ट्रष्टको अधीनमा रहेका ती चिज अर्थोपार्जनका लागि ट्रष्टले जेकेही गर्नसक्ने कानुनी व्यवस्था थियो, छँदैछ ।


तर यसो गर्नु सर्वथा उचित थिएन । ती सामग्रीलाई त्यही रूपमा छाड्दा उचित संरक्षण होला जस्तो लागेन । मैले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समक्ष पत्राचार गरेर ती शाखा दरबारमा रहेका सामग्री नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनका लागि राख्ने व्यवस्था मिलाउन अनुरोध गर्दै ट्रष्टले ती सामग्री उपहारस्वरुप निशुल्क उपलब्ध गराउने प्रस्ताव पठाएँ । त्यसपछि मौखिक रूपमा तत्कालीन नेतृत्व समक्ष एकाधपटक अनुरोध पनि गरेँ । तर सुनुवाइ भएन । त्यो सोचले मूर्तरूप लिन पाएन ।


फेरि एउटा अर्को संयोग पर्‍यो, २०६८ सालमा । म सरुवा भएर संस्कृति मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्न पुगेँ । नारायणहिटी दरबार सङ्ग्रहालय आफ्नो चासो र जिम्मेवारीभित्र पर्न आयो । मन–मस्तिष्कमा पहिलेको कुरा ताजै थियो । सोचेँ– अब नेपाल ट्रष्टसँग ती सामग्री माग गरेर नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनको व्यवस्था मिलाउनुपर्‍यो ।


आफ्नो राजनीतिक नेतृत्वसँगको छलफल र सहमतिपछि कान्ति–ईश्वरी घर हेटौंडा, दियालो बंगला भरतपुर र रत्न मन्दिर पोखरामा रहेका कलात्मक एवं ऐतिहासिक महत्त्वका सामग्री प्रदर्शनीमा राख्न नारायणहिटी दरबार सङ्ग्रहालयलाई उपलब्ध गराइदिन नेपाल ट्रष्टको कार्यालयलाई पत्रमार्फत अनुरोध गर्‍यौँ । संस्कृति सचिवको जिम्मेवारीमा छोटो समयमात्रै रहेकाले ताकेता गर्न भ्याइएन । तर पछिसम्म बुझ्दा पनि नेपाल ट्रष्टको कार्यालयबाट संस्कृति मन्त्रालयको प्रस्तावउपर प्रतिक्रिया प्राप्त भएन ।


न दिँदा लिइयो, न माग्दा दिइयो । त्यो सोच र प्रयास असफल हुनपुग्यो ।


शाहवंशसँग गाँसिएर आएका कारण श्रीपेच, राजदण्ड, मुकुट आदिको ऐतिहासिक महत्त्व छ । त्यो आफ्नो ठाउँमा छँदैछ । यही शाहवंशसँग कुनै न कुनै रूपमा जोडिएको कान्ति–ईश्वरी घर, दियालो बंगला वा रत्न मन्दिरका नाममा रहेका शाखा दरबारहरूमा रहेका सामग्री पनि प्रदर्शनका लागि महत्त्वपूर्ण वस्तु हुन् ।


सम्झना भएसम्म कान्ति—ईश्वरी घरमा राजा त्रिभुवनलाई स्वीटजरल्यान्ड लगायतका देशहरूबाट प्राप्त उपहार, दियालो बंगलामा रहेको राजा (त्यतिखेर युवराज) वीरेन्द्रको कोठामा कलाकार लैनसिंह वाङ्देलका तैल—चित्रहरू लगायत दरबारका अन्य कक्षमा पुरातात्त्विक एवं ऐतिहासिक महत्त्वका सामग्री थिए । रत्न मन्दिरमा पनि त्यस्तै हो । नारायणहिटी दरबार सङ्ग्रहालयमा राखे पनि नराखे पनि यी सामग्रीको संरक्षण राज्यको जिम्मेवारी भित्रकै विषय हो ।


नारायणहिटी दरबार सङ्ग्रहालयलाई थप आकर्षक बनाउन माथि उल्लेख गरिएका र नगरिएका स्थानमा रहेका शाहवंशसँग सम्बन्धित ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका सामग्री नेपाल ट्रष्ट समेतबाट प्राप्त गरी ‘कान्ति–ईश्वरी घर कक्ष’, ‘दियालो बंगला कक्ष’ वा ‘रत्न मन्दिर कक्ष’का रूपमा छुट्टाछुट्टै कक्ष निर्माण गरी नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनीमा राख्नु उपयुक्त हुन्छ ।


विश्वास छ, नेपाल–सरकार र विशेषगरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, त्यस अन्तर्गतका पुरातत्त्व विभाग र नारायणहिटी दरबार सङ्ग्रहालय स्वयंको पनि बेलैमा ध्यान जानेछ । राष्ट्रिय सम्पत्ति हिनामिनालाई व्यक्तिगत नोक्सानीजस्तो महत्त्व नदिने हाम्रो संस्कारका कारण हुनसक्ने क्षतिबाट बेलैमा बचाइनेछ । बेला घर्किसकेको छैन । अझै ढिलो भयो भने धेरै कुरा फेला पार्न कठिन हुनेछ ।


लेखक पूर्वसंस्कृति सचिव हुन् ।

प्रकाशित : कार्तिक २८, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?