कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नेदरल्याण्डको मेरो साईकल अनुभव 

बाबुराम लामिछाने

काठमाडौँ — केही दिन अघि कान्तिपुरमा ‘सेतो साईकल’ शीर्षकको सम्पादकीय पढेपछि, संसारमै सबैभन्दा बढि साईकल चढिने देश नेदरल्याण्डको मेरो साईकल अनुभवबारे केही लेख्ने जमर्को गरेको हुँ ।

नेदरल्याण्डको मेरो साईकल अनुभव 

मलाई पढाईको शिलशिलामा नेदरल्याण्डमा बस्ने मौका जुर्‍यो । साईकलको यस्तो व्यापक प्रयोग नेदरल्याण्डमा कसरी संभव भएछ, यसको सुक्ष्म अध्ययन गर्ने अवसर पाएँ र भाग्यवश मैले यहाँ नियमित रुपमा साईकल चढ्ने मौका समेत पाएँ । साईकल चढ्ने यस्तो संस्कार विकासबारे खोतल्दै जाँदा थाहा भयो, साईकल हिड्ने छुट्टै बाटो बन्न थालेपछि यसले तिब्रता पाएको रहेछ । यहाँ गाडी, मोटरसाईकल हुनेले पनि सकेसम्म साईकल चढ्दा रहेछन् । गाडीको बाटो छेउमा साईकलको छुट्टै बाटो हुँदा सुरक्षा खतरा ज्यादै न्युन हुन्छ । यहाँको सरकारले साईकललाई दिएको प्राथमिकता देखेर अत्यन्तै प्रभावित भएँ ।


मेरो विश्वविद्यालय डेराबाट करीब ६.५ कि.मि. टाढा पर्दथ्यो । साईकलबाट करिब २० मिनेटमा म यो दुरी दैनिक ओहोर-दोहोर गर्थेँ । यो भनेको रत्नपार्कबाट बुढानिलकण्ठतर्फ जाँदा हात्तीगौंडा पुगे बराबार हो । नेदरल्याण्डमा २५-३० कि.मि. टाढाको अफिससम्म पनि साईकलमा जानु सामान्य रहेछ । सरकारले साईकल चढ्ने र गाडी चढ्ने नागरिक बीच भेदभाव गर्दो रहेनछ, गाडीलाई हिड्ने बाटो बराबर नै साईकल हिड्ने बाटो पनि बनाएको रहेछ । बरु, देखिने गरी साईकललाई प्राथमिकता दिएको रहेछ, कार्यालय आउने-जाने प्रयोजनका लागि साईकल किन्दा सरकारले छुट पनि दिँदो रहेछ । साईकल चढ्नुलाई मान्छेहरु गर्वको रुपमा हेर्दा रहेछन् । बाटोमा गाडी वा मोटरसाईकलले भन्दा बढि साईकलले प्राथमिकता पाउनेरहेछ । विकसित हुनु भनेको भौतिक कुरा मात्र होईन रहेछ, यो त एकले अर्कोलाई सम्मान गर्ने संस्कारको विकास पनि रहेछ । गाडीको पार्किङ अत्यन्तै महँगो छ, जहाँतही पाईँदैन तर साईकल राख्ने ठाउँ भने सबै नि:शुल्क छ । सबैजसो चोक, गल्ली वा स्टेशनमा साईकल पार्किङ छन्, रेलमा समेत साईकल लान-ल्याउने पाईँदो रहेछ ।


म बस्ने अपर्टमेन्टको छेवैबाट नियमित रुपमा सुविधा सम्पन्न बस छुट्थ्यो । तर, किन किन मलाई साईकलको यात्रा नै रमाईलो लाग्थ्यो । चाहेको बेला रोक्न पाईयो, वरिपरि हेर्दै हिड्न पाईयो, अर्को बाटोबाट जान मन लागे जान पाईयो । त्यो भन्दा पनि बढि त प्रकृतिको नजिक हुन पाईयो । बसबाट जाँदा र साईकलमा जाँदा लाग्ने समय भने बराबर नै हुन्थ्यो। त्यहाँ बसले मान्छे कुर्दैन, मान्छेले नै बस कुर्छन् । तर पनि बसको आफ्नो रुट हुन्छ, ट्राफिक नियम छ । फेरि बसले अफिससम्मै त पुर्‍याउँदैन, बस स्टेसनबाट त हिड्नै पर्‍यो । यी सबैलाई ख्याल गर्दा बसभन्दा साईकल चढ्नु समयको हिसाबले समेत छिटो हुन्छ । नेपाल फर्केपछि साईकल चढ्ने मेरो बानीमा निरन्तरता दिन खोजेँ तर सकिन । म त्यही मान्छे हुँ, नेदरल्याण्ड हुँदा रमाएर साईकल चढेँ तर नेपालमा किन सकिन त? यसको कारण खोतल्दै जाँदा निम्न निर्कर्षमा पुगेँ ।


सुरक्षा: साईकलप्रति आकर्षण बढ्न नसक्नुको पहिलो कारण सुरक्षा नै हो । अहिलेको अवस्थामा काठमाडौं वा देशका कुनै पनि प्रमुख शहरमा साईकलमा हिड्नु भनेको ठूलो सुरक्षा जोखिम मोल्नु हो । बाटो साँघुरो छ, सबैलाई हतार छ । ठुला सवारी साधनले, अझै भनौ सक्नेले, अरुलाई पेलेर हिड्ने हाम्रो परम्परा जस्तै भैसक्यो । यस्तोमा विचरा साईकलयात्री के गरोस् ? कतिपयले साईकल चढ्ने रहर हुँदाहुँदै पनि जोखिमका कारण चढ्न नसकेको पाईन्छ । जोखिम कति ठुलो छ भन्ने त साईकलमा चढेकै अवस्थामा ट्रकको ठक्करमा देश/विदेशमा ख्यातिप्राप्त वन्यजन्तु विशेषज्ञ डा. प्रल्हाद योञ्जनले ६ वर्ष अघि ज्यान गुमाउनुपरेको घटनाले नै देखाउँछ । त्यसयता सडक सुरक्षा बढेको छैन, बरु काठमाडौंमा वायु प्रदुषण आकाशिएको छ, जसले गर्दा साईकल चलाउन अझै अप्ठ्यारो थपेको छ। सडक छेउको खाल्डोमा परेर साईकल यात्री श्यामसुन्दर श्रेष्ठको ज्यान गएबाट पनि जोखिमको भयाबह अवस्था देखाउँछ ।


प्रदुषण: साईकल चढ्नमा आकर्षण बढ्न नसक्नुको अर्को कारण प्रदुषण पनि हो । पैदल वा साईकलमा हिँड्दा धुँवा/धुलोले निसासिनुपर्ने अवस्था धेरैजसो शहरहरुमा छ । छुट्टै साईकल लेन नहुँदा गाडी तथा मोटरसाईकलको प्रदुषणको मारमा साईकलयात्री पर्नुपर्छ ।


साईकलप्रति समाजको लघुदृष्टि : नेपालमा साईकल चढ्नु भनेको मोटर-साईकल वा गाडी चढ्न नसकेर हो भन्ने गलत सोचाई आम मानिसमा छ । यसलाई चिर्न समाजमा गन्यमान्य र पहिचान भएकाहरुले साईकल चढ्ने बानी बसाल्नु र त्यसलाई प्रोत्साहन गर्न जरुरी छ । साईकलले मानवीय स्वास्थ्य, पर्यावरण र आर्थिक सबै हिसाबले दिने फाईदाहरुबारे आमजनतालाई बताउनु जरुरी छ ।


मेरो जन्मथलो गोरखा हो, हालको कर्मथलो चितवन । म हुर्केको गाउँमा त मोटरबाटो धेरै पछि पुगेको हो, तर कहिलेकाहि चितवन आउँदा जताततै साईकल देखेको सम्झन्छु । त्यतिबेला सईकल नै भरपर्दो साधन थियो । तराई र भित्रि मधेसमा मानिसहरु लामो दुरीसम्म साईकलमा यात्रा गर्थे । तर अहिले साईकललाई मोटरसाईकल र स्कुटरले विस्थापित गर्दै गएको छ । समयको क्रम र आर्थिक विकास सँगै परिवर्तन जरुरी छ । सबै ठाउँमा साईकल प्रयोग गर्न सकिँदैन तर सम्भव भएसम्म यसको अधिकतम् प्रयोग गर्ने वातावरण बनाउनु आवश्यक छ । यदि हाम्रो देशमा पनि साईकल संस्कारको विकास गर्ने हो भने साईकलको छुट्टै बाटो आवश्यक छ । पहाडी क्षेत्रहरुमा धेरै उपयोगी नभएपनि तराई र भित्रि मधेश तथा काठमाडौं जस्ता समथर क्षेत्रमा साइकलको प्रसस्त सम्भावना छ ।


यो ठूला-ठूला सपनाको कुरा हैन सानो तर जनताको दैनिक जीवनसँग जोडिएको कुरा हो । पछिल्लो समय यहाँ रेल ल्याउने, पानीजहाज ल्याउने, ठुला-ठुला बाटो बनाउने कुरा त धेरै भए तर आम जनताले किन्न सक्ने, चढ्न सक्ने साधन ‘साईकल’को कुरा सबैले बिर्सिए । जतिबेला भारतीय नाकाबन्दीले देश आक्रान्त बनेको थियो, पेट्रोल डिजेलको हाहाकार थियो, सबैको मुखमा झुण्डिएको थियो ‘साईकल’। त्यतिबेला ‘प्रचण्ड’ले समेत खुल्लामञ्चमा साईकल चढ्ने भाषण गरेका थिए । कतिले त त्यतिबेला ‘साईकल’ किने पनि होला तर सायद त्यतिकै थन्किए । वायु प्रदुषण र सवारी असुरक्षाका कारण साईकल चढ्ने आँट नेपालमा सितिमिति गर्न सकिँदैन, मुटु दह्रै चाहिन्छ । हामीले जनतालाई उचाल्न, सपना देखाउन भाषण त धेरै गर्‍यौ तर साच्चिकै गर्न सकिने जनताको दैनिक जीवनमा सरोकार राख्ने साना-साना कुराहरु बिर्सियौं । जसले गर्दा हाम्रा नेताका भाषणहरुले धरातल छोडे । राज्यले, स्थानीय सरकारले साईकल चढ्न प्रेरित गरोस्, भाषण/नारामा हैन पुर्वाधार बनाओस् ।

प्रकाशित : कार्तिक २९, २०७५ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?