कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

पत्नी पाउने भाग्यमानी !

बेइजिङ डायरी
चीनमा ३० वर्षभन्दा कम उमेरका पुरुषको संख्या सोही उमेर समूहका महिलाको भन्दा झन्डै तीन करोडले बढी छ । 
चेतनाथ आचार्य

काठमाडौँ — निराशा र कुण्ठाको यात्रा कहाँ गएर टुंगिन्छ ? सायद सबैको गन्तव्य सुखद नहोला । तर चीनका केही युवाले निराशा र कुण्ठा पोख्न सुरु गरेको प्रचलन आज संसारमै एउटा ठूलो उत्साहको दिनमा परिणत भएको छ ।

पत्नी पाउने भाग्यमानी !

हरेक वर्ष नोभेम्बर ११ लाई एकल दिवस अर्थात् सिङ्गल डेका रूपमा मनाउन थालेका थिए, केही चिनियाँले । प्रेमी–प्रेमिका नहुनेका लागि आफ्नो निराशा पोख्ने दिन थियो त्यो । अहिले यही दिन किनमेलका लागि संसारकै सबैभन्दा ठूलो हाट साबित भएको छ । जहाँ करोडौँ मान्छे झुम्मिन्छन् र अर्बौंको किनमेल गर्छन् ।

सन् १९९३ तिर चीनको च्याङ्सु प्रान्तको नानचिङ विश्वविद्यालयबाट सुरु भएको हो, एकल दिवस । यसबारे चीनमा दुइटा भनाइ प्रचलित छन् । पहिलो, नानचिङ विश्वविद्यालयका चार पुरुष विद्यार्थी माचोङ खेल्दै थिए । उनीहरू विश्वविद्यालयको छात्राबासमा बस्थे । खेल जितेमा के गर्ने भनेर उनीहरूले कुराकानी गरे । सबैको चाहना केटीसाथी बनाउने रहेछ । त्यो दिन नोभेम्बर ११ थियो । त्यसपछि जोडी नभएकाले भेला भएर नोभेम्बर ११ लाई एकल दिवस मनाउन थाले ।

अर्कोअनुसार नानचिङ विश्वविद्यालयमा एक विद्यार्थी थिए, क्वाङ खुन तर साथीहरूले उसलाई क्वाङ कुन भनेर बोलाउने गर्थे । चिनियाँ भाषामा ‘क्वाङ’ भनेको एक्लो र ‘कुन’ भनेको लठ्ठी हो । क्वाङ कुन एकजना युवतीसँग प्रेम गर्थे । उनका लागि ती युवती विश्वकै सबैभन्दा सुन्दर थिइन् । प्रेम सुरु भएको एक वर्षमा ती युवतीलाई क्यान्सर भएको पत्ता लाग्यो । दुर्भाग्यवश क्वाङ कुनको जन्मदिनमै उनकी प्रेमिकाको मृत्यु भयो । त्यो दिन नोभेम्बर ११ थियो ।

प्रेमिकाको मृत्युपछि क्वाङ कुन अत्यन्त निराश भए । ‘डिप्रेसन’ नै भयो । तैपनि उनले आफ्नो जन्मदिनमा प्रेमिकाको सम्झना गर्न बिर्सिएनन् । नोभेम्बर ११ का दिन छात्रावासको छतमा मैनबत्ती बालेर प्राथना गथ्र्याे । उनको प्राथनामा साथीहरू पनि भेला भए । त्यसपछि हरेक नोभेम्बर ११ मा प्रेमिका गुमाएका र प्रेमिका नभएकाहरू भेला भएर आपसमा सान्त्वना दिने प्रचलन सुरु भयो ।

क्वाङ कुनको जन्मदिन भएको हुनाले त्यो दिनलाई क्वाङ कुन चे भन्न थालियो । ‘चे’ भनेको दिवस । नोभेम्बर ११ का दिन वर्षभरि सबैभन्दा धेरै १ अर्थात् ११ महिनाको ११ तारिख हुँदा चारवटा १ हुन्छ । अंग्रेजीको संख्या १ एकल लठ्ठीको प्रतीक पनि हो । क्वाङ कुनको जन्मदिन पनि भएकाले यस दिनलाई चीनमा एकल दिवस अर्थात् क्वाङ कुन चे भन्न सुरु भएको हो ।

दुवै कथाका केही साझा मत छन् । दुवै नानचिङ विश्वविद्यालयबाट सुरु भएका । दुवैमा प्रेमिकाविहीन युवाको पीडा व्यक्त गरिएको । यसरी सन् १९९० को दशकमा सुरु एकल दिवस दक्षिण चीनका केही विश्वविद्यालयतिर फैलिन थाल्यो । अनि यो दिवसलाई अलिबाबाले सन् २००९ देखि चीनभर लोकप्रिय बनायो । अलिबाबाका संस्थापक ज्याक मा च्याङसु प्रान्तको नानचिङदेखि नजिकैको चच्याङ प्रान्तको हाङचौ सहरका हुन् ।

नानचिङका युवा विद्यार्थी जोडी नपाउने प्रतिनिधि पात्र मात्र हुन् । चीनमा जोडी नपाउने युवाको संख्या विकराल छ । सन् १९७८ देखि चीनले लिएको एक सन्तान नीतिले लैङ्गिक असमानता छ । चीनको जनसंख्यामा एक सय महिलाको अनुपातमा एक सय सोह्र पुरुष छन् । कुनै समय यो अनुपात १२० सम्म पुगेको थियो ।

अहिले ३० वर्षभन्दा कम उमेरका पुरुषको संख्या सोही उमेर समूहका महिलाको भन्दा झन्डै तीन करोडले बढी छ । सोझो अर्थमा, यतिबेला तीन करोड चिनियाँ युवाले जीवनसाथी नपाउने अवस्था छ । विश्वमा महिलाको अनुपातमा पुरुषको संख्या धेरै हुने मुलुकमा चीन अग्रभागमा पर्छ । एक सन्तान नीति र छोरालाई प्राथमिकता दिँदा यस्तो भएको हो ।

सन् २०३० सम्ममा चीनमा पुरुषको संख्या महिलाको भन्दा एक चौथाइले बढी हुने प्रक्षेपण छ । यही समस्यालाई ध्यानमा राख्दै चीनले सन् २०१६ देखि दुई सन्तानको नीति लिएको छ ।

त्यसो त जोडी पाउने युवालाई पनि बिहे गर्न कहाँ सजिलो छ र चीनमा ? चीनका दसवटा ठूला सहरमा विवाह गर्ने खर्चबारे विभिन्न विश्वविद्यालयले सर्वेक्षण गर्दा बेइजिङ, शाङहाई, शनचनलगायत चीनका पहिलो पंक्तिका सहरहरूमा विवाहको खर्च २० लाख युआन अर्थात् तीन करोड रुपैयाँभन्दा बढी लाग्छ । हाङ चौ, क्वाङ चौ, नानचिङ आदि सहरमा १० लाख युआन अर्थात् डेढ करोड रुपैयाँभन्दा बढी ।

चीनमा विवाह कति महङ्गो बन्दै गएको छ भन्ने सन् २०१७ को जुनमा बेइजिङमा आयोजित विवाह मेलाले पनि पुष्टि गर्छ । बेइजिङको केन्द्र भागमा पर्ने चोङशान पार्कमा विवाहका लागि उपयुक्त केटा अथवा केटीका लागि विज्ञापन गरिएको थियो ।

जोडी खोज्ने हाट लागेपछि त्यसलाई ‘ब्लाइनडेट पार्क’ नाम दिइएको थियो । उक्त मेलामा केटा अथवा केटीको निश्चित योग्यता र मापदण्ड तोकेर गरिएका विज्ञापन प्रदर्शनी गरिएका थिए । उच्चतम वर्गमा पर्ने महिलाका लागि केटामा हुनुपर्ने मापदण्डमा कम्तीमा ५६ लाख चिनियाँ युआन (८ करोड ४० लाख नेपाली रुपैयाँ), बेइजिङमा स्थायी बसोबासको प्रमाणपत्र, बेइजिङको केन्द्र भागमा आफ्नै घर, अत्याधुनिक कार र मासिक ५० हजार चिनियाँ युआनभन्दा बढी (साढे सात लाख रुपैयाँभन्दा बढी) आम्दानी, स्नातकोत्तर अथवा पीएचडी अथवा विदेशमा पढेको हुनुपर्ने सर्तहरू थिए ।

त्यसैगरी उच्चतम वर्गका एक पुरुषले बिहे गर्न महिलाको मापदण्डमा लेखेका थिए : सुन्दरी, बेइजिङमा स्थायी बसोबासको प्रमाणपत्र, बेइजिङको केन्द्र भागमा आफ्नै घर, अत्याधुनिक कार, मासिक आम्दानी २० हजार चिनियाँ युआन, स्नातक अथवा स्नातकोत्तर तह उत्तीर्ण ।

सन् २००९ मा अलिबाबाले वेभसाइटबाट बिक्री–वितरण बढाउन नोभेम्बर ११ मा विशेष छुट दिने घोषणा गर्‍यो । यसले सीमित युवा पुस्तामा रहेको एकल दिवसलाई अलिबाबाले करोडौँ चिनियाँमा पुर्‍याइदियो । एकल दिवस भए पनि यो छुट सबैले पाउने व्यवस्थाले यसलाई व्यापक बनायो ।

अलिबाबाले सन् २०१२ मा १९ अर्ब चिनियाँ युआनको सामान बिक्री गरेको थियो भने सन् २०१३ मा ३५ अर्ब, २०१४ मा ५७ अर्ब र २०१५ मा ९१ अर्ब चिनियाँ युआन । त्यसैगरी सन् २०१६ मा एक अर्ब र सन् २०१७ मा १५० अर्बको बिक्री गरेको थियो । गत नोभेम्बर ११ को २४ घण्टामा अलिबाबाले १८३ अर्ब चिनियाँ युआनभन्दा बढीको बिक्री गरेको छ ।

नोभेम्बर १० तारिखको मध्यराति १२ बजेदेखि भोलिपल्टको मध्यराति १२ बजेसम्म करोडौँ चिनियाँ सामान किन्न अनलाइनमा भिडिरहेका हुन्छन् । अलिबाबाले सुरु गरेको एकल दिवसको बिक्री ब्ल्याक फ्राइडे र साइबर मन्डे दुवै दिनको एकमुष्ट बिक्रीभन्दा झन्डै दोब्बर बढी छ । क्रिसमसभन्दा अगाडिको शुक्रबारलाई ब्ल्याक फ्राइडे भनिन्छ भने क्रिसमसपछिको सोमबारलाई साइबर मन्डे । यी दुई दिनमा पश्चिममा मुलुकमा व्यापक छुटमा सामान बिक्री गरिन्छ ।

उल्लिखित तथ्याङ्क अलिबाबाको अनलाइन बिक्रीको मात्र हो । यस बाहेक अमेजन र जेडी लगायत कैयौँ अनलाइन सपिङले पनि एकल दिवसका दिन बिक्रीमा छुट दिने गरेका छन् । नेपालमा पनि यही वर्षदेखि दराज अनलाइनले एकल दिवसका अवसरमा विशेष छुटको अभ्यास सुरु गरेको छ । दराजमा पनि अलिबाबाले लगानी गरेको छ । अनलाइनबाहेक प्रत्यक्ष बजारमा पनि उक्त दिन छुट दिने चलन सुरु भएको छ ।

कुनै बेला अत्यन्त निराश युवाले सुरु गरेको एक्लो र नैराश्यको दिन नै आज विश्वमा किनमेलका लागि उत्साहपूर्ण सबैभन्दा ठूलो हाट बनेको छ । लेखक चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सी.आर.आई.) नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन् ।

[email protected]

प्रकाशित : मंसिर १, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?