कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

न्यायका नक्षत्र

श्रद्धाञ्जली
करिब पाँच वर्ष वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको शिष्य हुने अवसर पाउँदा  मैले उहाँबाट वकालतको शिल्प, मिहेनत गर्ने तरिका, अध्ययन, मस्यौदाको भाषा र प्रस्तुतिबारे सिकेँ ।
हरिहर दाहाल

काठमाडौँ — लक्ष्मीपूजाको बिहानै नेपालको सम्पूर्ण न्यायजगत स्तब्ध भयो, पाँच दशकभन्दा अधिक समय कानुन व्यवसायीका रूपमा क्रियाशील वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको लक्ष्मीपूजाको निधनमा । कुसुम श्रेष्ठले २०२०/२०२१ सालतिर कानुन व्यवसायीको रूपमा अभ्यास गर्न प्रारम्भ गर्दा पञ्चायती व्यवस्था निरंकुशतातर्फ उन्मुख हुँदै थियो ।

न्यायका नक्षत्र

राजनीतिक बन्दी र राजनीतिसँग जोडिएका मुद्दालाई चुनौतीका रूपमा प्रतिरक्षा गर्ने भूमिका रोज्नुभयो, उहाँले । न्यायका मान्य सिद्धान्तहरू विकास भइसकेको थिएन ।

तथापि विदेशका अदालतले स्थापित गरेका सिद्धान्तलाई इजलास समक्ष उद्धृत गर्दा सर्वोच्च अदालतका तत्कालीन धेरै न्यायाधीशले गम्भीरताका साथ सकारात्मक रूपमा ग्रहण गरे । यस्ता कसी प्रसंगहरू उहाँ हामीलाई सुनाउनुहुन्थ्यो ।

खासगरी २०२५ देखि २०३५ सालसम्म सर्वोच्च अदालतले स्थापित गरेका सिद्धान्तको उहाँले विश्लेषण गर्नुभएको छ । सर्वोच्च अदालतबाट स्थापित न्याय मान्य सिद्धान्तहरूको प्रतिपादनमा श्रेष्ठको सर्वाधिक योगदान पाइन्छ । २०३६ सालको जनमत संग्रहअघि पञ्चायतका कठोर दिनमा रूपचन्द्र नाहटा, ओमकार श्रेष्ठ, यज्ञमूर्ति बञ्जाडे विरुद्ध श्री ५ को सरकार, तत्कालीन नेपाल बार अध्यक्ष सर्वज्ञरत्न तुलाधर विरुद्ध राष्ट्रिय पञ्चायतको मुद्दामा सर्वोच्च अदालतले स्थापित गरेका सिद्धान्त विशेष छन् । संगठित एवं एकताबद्ध बारको भूमिका र वरिष्ठ अधिवक्ता श्रेष्ठ लगायत उहाँका समकालीनको अथक मिहेनत, परिश्रम, विशद अध्ययन र विद्वताले त्यो सम्भव भएको हो ।

जननायक बीपी कोइराला, सहिद भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापा उपरका मुद्दाहरूमा स्व. कुसुम श्रेष्ठले अग्रपंक्तिमा रहेर प्रतिरक्षा गर्नुभएको थियो । बहुदलीय प्रजातन्त्र पुन:स्थापनापश्चात तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ र तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ मा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको सम्बन्धमा सर्वोच्च अदालतमा दायर भएका रिट निवेदनहरूमा श्रेष्ठले बहस प्रतिरक्षा गरी पुर्‍याएको योगदानलाई पनि न्याय जगतले सधैं स्मरण गर्नेछ ।

वरिष्ठ अधिवक्ताहरू श्री कृष्णप्रसाद भण्डारी, स्व. श्रेष्ठ र स्व. लवदेव भट्ट समेतले सञ्चालन गर्नुभएको नेपाल ल फर्म नवोदित कानुन व्यवसायीहरूको प्रेरणा स्रोत थियो/छ । मैले पनि २०३३ चैतदेखि वकालतको क्षेत्रमा करिब पाँच वर्ष वरिष्ठ अधिवक्ताद्वय भण्डारी तथा श्रेष्ठको शिष्य हुने अवसर पाएँ । वकालतको शिल्प, मिहेनत गर्ने तरिका, अध्ययनको आवश्यकता, कुनै पनि मुद्दाको निम्ति तयार गरिने मस्यौदाको भाषा र प्रस्तुतिबारे श्रेष्ठबाट सिक्न पाएँ ।

म नेपाल ल फर्ममा प्रवेश गर्दा महादेवप्रसाद यादव त्यहाँबाट दीक्षा प्राप्त गरी आफ्नै फर्म स्थापना गर्ने सुरसार गर्दै हुनुहुन्थ्यो । त्यसताका हामीसँगै काम गरेका साथीहरू प्रकाश वस्ती, सुवासचन्द्र नेम्वाङ, भरतराज उप्रेती, वैद्यनाथ उपाध्याय, हरिशंकर निरौला लगायतसँगको संगत र सहकार्य मेरो स्मृतिमा ताजै छ । स्व. श्रेष्ठले नै हामी कानुन व्यवसायी सामाजिक अभियन्ता हौं भन्ने अवधारणाप्रति परिचित गराउनुभयो ।

मैले तयार गरेको मस्यौदा परीक्षण गर्दा श्रेष्ठले ‘यस्तो शैली र प्रस्तुतिले त सक्षम कानुन व्यवसायी बन्न सकिन्न, लेखनदास मात्र बनिन्छ’ भनेर सतर्क गराएकोलाई मैले सदैव प्रेरणाका रूपमा ग्रहण गरेंँ । मुद्दामा पक्षले दाबी/जिकिर गर्न चाहेका बुँदा तथा निर्णायक कुरा पहिचान गरेर मस्यौदा सुरु गर्दा

पूर्णता प्राप्त गर्न सकिन्छ भन्ने उहाँको शिक्षा हुन्थ्यो ।

मुद्दा मस्यौदाको भाषागत प्रस्तुति र स्तरीयतामा त्यसताका श्रेष्ठको स्थान अग्रपंक्तिमा थियो । उहाँको अंग्रेजी र नेपाली दुवै भाषामा समान रूपमा दख्खल थियो । कहिलेकाहीं मस्यौदा गर्दै जांँदा उहाँको दिमागमा अंग्रेजीका शब्द फुरिसकेको हुन्थ्यो, अनि त्यसबेला अंग्रेजी शब्दको नेपाली भाषामा कुन शब्द उपयुक्त हुन्छ भनेर सोच्ने गरेको दृश्य म अझै सम्झन्छु ।

नेपाल बार एसोसिएसन काठमाडौंमा मात्र सीमित भएको श्रेष्ठको ठम्याइ थियो । संगठनलाई राष्ट्रिय स्वरूप प्रदान गर्न मेची तथा महाकालीसम्मका साथी सहभागी हुनुपर्छ भन्ने तमाम कानुन व्यवसायीको आवाज थियो । त्यसलाई सम्बोधन गर्न २०३६ सालमा श्रेष्ठको नेतृत्वमा तयार भई साधारण सभाबाट

पारित विधान तत्कालीन सरकारले स्वीकृत नगरेको कारण लागु हुनसकेको थिएन ।

बहुदलीय प्रजातन्त्र पुन:स्र्थापना भए पश्चातमात्र यो पंक्तिकार नेपाल बार एसोसिएसनको महासचिव रहेको समयमा २०४८ सालमा प्रशासनबाट स्वीकृत भई उक्त विधान लागु भयो । यही विधान नै समयानुकूल संशोधन भई अहिलेसम्म लागु भई आएको छ ।

अहिले हामी सबैको आस्थाको धरोहरका रूपमा नेपाल बार एसोसिएसनको भवनको निर्मणमा पनि श्रेष्ठको भूमिका सम्झनैपर्छ । कुसुमजी र नर्वेजियन बार एसोसिएसनका श्री अल्फ स्कुग्लीको मित्रता नै नेपाल बार एसोसिएसन र नर्वेजियन बार एसोसिएसन बीचको सम्बन्धको कडी हो । २०४४ सालमा नर्वेजियन बार एसोसिएसनले कानुनी सहायता क्षेत्रमा प्रदान गरेको सहयोग २५ वर्षसम्म निरन्तर रह्यो ।

त्यस अवधिमा प्राप्त आर्थिक सहयोग मध्येबाट कानुन व्यवसायीले नि:शुल्क सहयोग गरी बचाएको रकम र विनिमय दरको अन्तरबाट प्राप्त रकमसमेत प्रयोग गरी नेपाल बार एसोसिएसनको भवन निर्माणको जग बसाउन सकिएको हो । नेपाल बार एसोसिएसनको इन्टरनेसनल बार एसोसिएसन तथा ल एसियाजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसंँगको सहकार्य र सम्बन्ध स्थापित गर्ने काममा पनि श्रेष्ठको प्रभावकारी भूमिका रह्यो ।

मेरो अनुभूतिमा एक समय यस्तो थियो, नेपालमा कानुन व्यवसायीका रूपमा अन्तर्राष्ट्रिय जगतले चिनेको व्यक्ति कुसुम श्रेष्ठमात्र हुनुहुन्थ्यो भन्दा अतिशयोक्ति हुँदैन । कुसुम श्रेष्ठलाई स्मरण गर्दा विद्वता, निर्भीकता, मिलनसारिता उहाँका विशेषता थिए । र न्यायप्रतिको उहाँको निष्ठा एवं प्रतिबद्धता सधैं उच्च रह्यो । त्यसैले न्याय जगतका नक्षत्रका रूपमा उहाँ हामीबीच अविस्मरणीय रहनुहुनेछ । उहाँको सुकीर्तिबाट उहाँ अमर रहनु हुनेछ ।

लेखक वरिष्ठ अधिवक्ता हुन् ।

प्रकाशित : मंसिर १, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?