कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

मिटुलाई मनोबल

बहुसंख्यक पुरुष लेखकले मिटुबारे नलेख्दा पीडकको मनोबल बढ्ने निश्चितप्राय: छ । 
मधु राई

काठमाडौँ — केहीअघि पत्रकार उज्ज्वला महर्जन र काठमाडौं महानगरपालिकाका पूर्वकर्मचारी रश्मिला प्रजापतिले आफूहरू प्रदेश नम्बर ३ का पूर्व भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितबाट प्रताडित हुनुपरेको सार्वजनिक गरेका । त्यसबारे ‘द काठमाण्डु पोष्ट’ प्रथम पृष्ठमा मुख्य समाचार बनायो ।

‘कान्तिपुर दैनिक’ र ‘सेतोपाटी डटकम’ ले पनि स्थान दिए । विडम्बना भन्नुपर्छ, समाचार पढेर प्रतिक्रिया व्यक्त गर्ने पाठकको खडेरी पर्‍यो । अंग्रेजी दैनिकले प्राथमिकताकासाथ तस्बिरसहित छापेको आवरण पृष्ठको उक्त समाचारप्रति प्रतिक्रिया पठाउने जाँगर कसैले चलाएनन् । न्युज ट्वेन्टी फोर टेलिभिजनको ‘जनतासँग सिधा कुरा’ कार्यक्रम प्रस्तोता रवि लामिछानेले केशव स्थापितसँग उक्त विषयमा कुरा गरे पनि उनले चित्तबुझ्दो जवाफ दिएनन् ।


कछुवाको गतिमै भए पनि नेपाली सञ्चार माध्यमहरूले मिटु अभियानमार्फत पीडितको पीरमर्कालाई जनसमक्ष ल्याउने प्रयास गर्दैछन् । काठमाडौं पोष्टले पीडितहरूलाई आफूले भोगेका कुरा लेखिपठाउन आग्रह गर्दै छुट्टै ठेगानासमेत दिएको छ । तथापि यस सम्बन्धी जनचासो भने बढ्नसकेको छैन । केही समययता यस सम्बन्धी लेख–रचनाहरू छापिन थालेका छन् ।


पछिल्लो समय हलिउड र बलिउडका सेलिब्रेटीहरूले आफूले भोगेका यौनहिंसाका कुरा सार्वजनिक गर्दै ‘मिटु अर्थात म पनि’ भन्ने अभियान सञ्चालन गर्दै आएका छन् । यसै सन्दर्भमा अमेरिकी टेलिभिजनकर्मी ओप्रा विन्फ्रेले आफू नौ वर्षको उमेरदेखि बलात्कृत हुँदै आएको र चौध वर्षमा बच्चा जन्माएको सार्वजनिक गरेकी छिन् । आफूले भोगेको यौनहिंसा अरूले भोग्न नपरोस् भनेर ओप्राले आफ्नै नाममा फाउन्डेसन स्थापना गरी बालिका र महिला सशक्तीकरणको क्षेत्रमा काम गर्दै आएकी छन् ।


केही दिन अघिमात्रै बलिउड अभिनेत्री काजोलले पनि मिटुजस्ता अभियानले महिला विरुद्धको हिंसा न्यूनीकरण गर्न सहयोग पुग्ने भनी अभिव्यक्ति दिएकी थिइन् भने तनुश्री दत्तले एक दशकअघि नाना पाटेकरले यौन दुव्र्यवहार गरेको सार्वजनिक गरेकी छन् । हलिउड र बलिउडका अभिनेत्री लगायत कतिपय सेलिब्रेटीहरूले आफूले भोगेका यौन दुव्र्यवहार सार्वजनिक गर्नथाले पनि नेपाली अभिनेत्रीले आफूले भोगेका यौन दुव्र्यवहार अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।


हलिउड र बलिउडका अभिनेत्री लगायत सञ्चार जगतमा कार्यरत महिलाले भोगेका यौन उत्पीडनका कुरा मिटु अभियानमार्फत जनसमक्ष ल्याइरहे पनि नेपाली महिलाले आफूहरू यौनहिंसामा परेको कुरा जनसमक्ष ल्याउन दसपटक सोच्नुपर्छ ।


किनभने छ वर्षअघि पत्रकारिता गर्दा उज्ज्वला महर्जनले र १५ वर्षअघि काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मिला प्रजापतिले स्थापितद्वारा प्रताडित भएको जनसमक्ष ल्याउँदा उनीहरूको पक्षमा जनलहर आशा गरे अनुरूप ओर्लिएन । विकासप्रेमीका रूपमा धेरथोर नाम कमाएका स्थापितको विपक्षमा पुरुष लेखकले अहिलेसम्म कलम चलाउने आँट देखाएनन, बरु महिलाले यस सम्बन्धी लेखिरहेका छन् ।


पुरुष लेखकले मिटुलाई आफ्नो लेखनको विषय बनाउन नसक्दा यसले राष्ट्रिय बहसको रूप लिनसकेको छैन । बहुसंख्यक पुरुष लेखकले मिटुबारे नलेख्दा केशव स्थापितजस्ता व्यक्तिहरूको मनोबल बढ्ने निश्चितप्राय: छ । पीडकको मनोबल बढ्नु भनेको अर्की महिलाले फेरि उस्तै परिणति भोग्नु हो ।


मिटु अभियानले हलिउड र बलिउडका कतिपय ख्यातिप्राप्त पुरुष हस्तीको चरित्रमात्र उदाङ्गो पारेको छैन, यसले यौनहिंसा पीडितको आवाजलाई मुखरित बनाएको छ । यसरी यौनहिंसा पीडितले मिटु अभियानमार्फत आफ्ना पीडा व्यक्त गर्दा यसले कालान्तरमा परपीडक स्वभावका पुरुषहरूले दसपटक सोच्नुपर्ने वातावरण तयार हुन्छ र पीडितलाई न्याय दिलाउन र पीडकलाई दण्ड–सजायको भागिदार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।


सूचना र प्रविधिका क्षेत्रमा नेपाल र नेपालीको पहुँच बढ्दै गए पनि यौनहिंसा पीडित महिलाका पीडालाई जनसमक्ष ल्याउन सहजीकरण गरिदिने सञ्चारकर्मी नगन्य छन् । स्थानीयको के कुरा गर्ने मूलधारे प्रकाशन र प्रसारण गृहमा पुरुष सञ्चारकर्मीकै बोलवाला छ ।


यस्तो अवस्थामा पीडित महिलाले भोगेका यौनहिंसाका घटनाले प्राथमिकता पाउने सम्भावना कमै हुन्छ । यद्यपि यौनहिंसाका घटनामा कुनै बालिका वा महिलाको बलात्कार वा हत्या भए यसबारे समाचार छाप्न भने तिनै सञ्चार माध्यमहरूबीच प्रतिस्पर्धा चल्छ, कसले कति चाँडो पाठकलाई सुसूचित गर्ने भनेर ।


महिला हिंसाका घटना न्यूनीकरण गर्न हाम्रा सञ्चार माध्यमलगायत सूचना प्रविधिहरू महिलामैत्री बन्नसकेका छैनन् ।


अनेकौं जोखिम मोलेर यौनहिंसा पीडित महिलाले आफूले भोगेका पीडा जनसमक्ष ल्याएका हुन्छन् । तर यसले सामाजिक बहसको रूप लिन नसक्दा फेरि पनि पीडकहरू उम्कने र पीडितहरू सधैं अन्यायमा पर्ने सम्भावना प्रबल हुन्छ । यस्तो पीडा अहिले पत्रकार महर्जन र काठमाण्डु महानगरपालिकाकी पूर्वकर्मचारी प्रजापतिले भोग्दैछन् ।


पछिल्लो समय छापा र विद्युतीय सञ्चार माध्यमहरूमा मात्र हैन, सामाजिक सञ्जालमा समेत नगन्य मात्रामा भए पनि मिटुको अभियानले गति लिँंदैछ । तथापि जनस्तरसम्म उक्त अभियानलाई पुर्‍याउन सञ्चारकर्मीहरूले थप अध्ययन, अनुसन्धान गरी हिंसा पीडित महिलाहरूको मनोबल बढाउन जरुरी छ । यसका साथै मिटु अभियानलाई सरकारले पनि होस्टेमा हैंसे गर्न जरुरी छ ।


किनभने आफू मातहतका नेता, कार्यकर्ता वा मन्त्रीले यौन दुव्र्यवहार गरेको सञ्चार माध्यममा आइसकेपछि कम्तीमा यसबारे आवश्वयक छानबिन गर्न जरुरी छ । विडम्बना भन्नुपर्छ, समाज र देश विकास गर्ने जिम्मा लिएका स्थापित जस्ताको आचरण शुद्धीकरण गर्न सामान्य नसिहतसम्म दिने आँट नेपाल कम्युनिष्ट पार्टीले गर्न सकेको छैन ।


सरकारले आफू मातहतका नेता, कार्यकर्ता र मन्त्रीहरूको आचरण जनमैत्री भएमात्र विकासले गति लिन्छ भन्ने बिर्सेको देखिन्छ । किनभने जनप्रतिनिधिहरू विकासका संवाहक हुन् भने विकासप्रेमी जनता जन्माउने पहिलो कर्तव्य जनमैत्री सरकारको हो ।

प्रकाशित : मंसिर १, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?