२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

हिप्पी, युग र ‘फेक’

समय रेखा
अहिले सही सिद्धान्तले काम गर्ने राजनीति लगभग सकिए । फेक न्युज अर्थात् झुट्टा समाचार र प्रचारको आधार बनाएर शासकहरू जनतालाई पीडा दिन्छन् ।
अभि सुवेदी

काठमाडौँ — यो लेख अलिक शिक्षक मानिसले लेखेजस्तो देखिन सक्छ । भए होस्, एकाध कुरा लेखिहालुँ भन्ने लागेको छ । लेख बुझिएनन्, यसपालि त अलिक बुझियो अथवा बुझिएन भन्ने कुरा धेरै सुनेको छु । यसो बुझ्दा कुरा अनेकौं राख्ने बानीले गर्दा त्यस्तो भएको हो कि त भन्ने नलागेको होइन । यसपालि केही कुरा लेख्नैपर्ने भएको छ ।

हिप्पी, युग र ‘फेक’

पहिले स्मृतिको कुरा गरिहाल्छु । नेपाल उपत्यकाका सहर खासगरी काठमाडौं धेरै कुराको निम्ति प्रशिद्ध छ । त्यसमा सबभन्दा प्रशिद्ध यो सहर स्मृतिका गल्ली खोज्ने र त्यसका रेखाहरू कोर्नेमा सबभन्दा नामी छ । काठमाडौं सम्झिन्छ । सम्झिनु विस्मृतिको विपरीत कुरा हो ।

मानिसमाथि एकतन्त्री शासन गर्नेहरूले बिर्सिने कुरालाई महत्त्व दिन्छन् । त्यसलाई ‘एम्नेसिया’ भनेर निकै बहस गर्छन्, चिन्तकहरू । इतिहासका नमिठा घटनालाई मानिसले बिर्सिउन् भन्ने चाहनाले शासकहरू काम गर्न सक्छन् । त्यसो भयो भने सजिलो हुन्छ, शासन गर्न भन्ने भनाइ छ । अर्को कुरा देखिएकोलाई नदेखिएको पार्ने र त्यसलाई सत्य हो भन्ने पार्ने संस्कृतिले अहिले विश्वलाई उथल–पुथल पार्न लागेको छ । यसमा चर्चा गर्छौं ।

मलाई लाग्छ, काठमाडाैं भने बिर्सिन चाहँदैन, सम्झिन्छ । नेपाल उपत्यकाका सहरहरूको यो ठूलो विशेषता हो । सम्झिनलाई यसले अनेकौं उपाय गर्छ । जात्राहरू गर्छ । नाचगान गर्छ । प्राचीन कालदेखि चलेको कलालाई जीवन्त राखेर साँगुरा गल्लीहरूमा ढुङ्गामाथि टिक्टिक् छिना चलाएर नेपाल सहर सम्झना कोर्छ । नित्य सम्झना राख्छ । काठमाथि त्यसैगरी स्मृतिहरू खोपेर राख्छ ।

तर नेपाल सहर स्मृति राख्दा आकार दिन्छ । व्यक्ति र विश्वको सम्बन्ध बुझाउने कुरा खोप्छ र रेखा कोर्छ । तर सहरको अन्धाधुन्द विकास भएपछि उसले कोरेका स्मृतिका डोबहरू, खेत र बाटा छेउका आकारहरू छोपिन्छन् । ऊ तैपनि त्यसलाई बिर्सिंदैन । ऊ त्यो पहिलेको स्मृतिको थलोमा गएर विधिविधान गर्छ । ऊ त्यहाँ गाउँछ, नाच्छ र बाजा बजाउँछ । कीर्तिपुर विश्वविद्यालयको स्मृति भवनको छेउको गल्लीमा मैले एउटा त्यस्तै विधिविधान गर्ने समूह भेटेर सोधेँ, ‘यहाँ के छ र यत्रो विधि काम गरेको ?’ उत्तर आयो, ‘यहाँ देओ, हाम्रो पूजा गर्ने थलो थियो ।

यो पुरिएको धेरै वर्ष भयो, तर हामीले बिर्सेको छैन, यही ठाउँ हो । अनि हामी फर्किन्छौं र विधिविधान गर्छाैं, वर्षमा यही बेला ।’ मैले सम्झेंँ, फ्रान्सेली दार्शनिक मिसेल फुकोले यसलाई ‘हेटरोटोपिया’ भन्ने नाम दिए र यो सिद्धान्त चल्यो । यसको अर्थ पहिलेजस्तो होइन, तर त्यसको ठाउँमा आएको अलग प्रतिमान हो । मन्दिर छैन, तर त्यसको ठाउँमा असदृश तर बाटोको प्रतिमान छ । भुइँ छ । सम्झना छन् ।

फोटो सर्कलले भर्खरै फोटोग्राफीको प्रदर्शन गर्‍यो । त्यसमा झोंँछेमा राखिएका हिप्पीका चित्रले मलाई ताने । नेपाल सहर परिवर्तन भयो, तर यसले साठीको अन्त्य र सत्तरीको सुरुका वर्षमा यहाँ आउने ठाउँका स्मृतिहरू जानेर होस् वा नजानेरै बचाएको छ । म त्यो बेला काठमाडौंमा आएर विश्वविद्यालयको विद्यार्थी भैसकेको थिएँ । सबै देखेंँ । हिप्पी भनिएकाहरूमा कविहरू भेटेँ, कलाकारहरू भेटेंँ । दार्शनिक र विद्वानहरू भेटेंँ । ती सबै यो काठमाडौं सहरले राखेका स्मृति र सम्झनाले तानिएका थिए ।

हामीले नदेखेका कुना र घर, मूर्ति र कला उनले देखे । हामीले नदेखेका भित्ता तिनले देखे । झोंँछेमा तिनका चित्रहरू राखिएका छन् भन्ने थाहा पाएर हेर्न गएँ । खुला र कोठामा हेरेंँ । पहिले उनीहरू बसेका चिसा छिंँडी अहिले राम्रो तेलिया इँंटले बनेको घरका परिवेशमा तिनका फोटाहरू टाँगिएका रहेछन् । परैबाट फोटोग्राफर कवि आइरा कोहेन र उनकी साथी नाट्य कलाकार र जर्मन अभिनेत्री पेत्रा भोको प्रेमपूर्ण युगल फोटो देखिहालेंँ ।

तिनीहरू ढोका टोलमा बसेका अनि तिनकोमा धेरैपटक गएर चिया खाँदै कुरा गरेको अनि आइराले कविता सुनाएको स्मृतिले मलाई भावुक बनायो । आइरा बाहेक अरू हिप्पीहरूका पनि चित्र थिए । मैले चिनेका नाम बिर्सेका अरू केही थिए । तर थलो थियो, परिवेश थियो, अनि तिनको मुहार मुद्रा थियो, फोटोग्राफीमा । मैले आइराका कविताहरू त्यस राति फेरि पढेंँ । एङ्गस मकलिस र ग्लिङका अरू

कवि थिए, दुबै मित्र थिए । तिनका फोटा त्यहाँ थिएनन्, तर स्मृतिबाट उजागर गरेर तिनका कविता पढेंँ ।

एउटा जीवन्त चित्र र एकाध ज्ञानहरू खुले ।

अक्टोबर १२ देखि नोभेम्बर १६ सम्म काठमाडौं, पाटन म्युजियम र अन्त पनि फोटो काठमाडौंका अनेकौं ठाउँमा प्रदर्शित फोटाहरू हेरेंँ । यी तलका हरफहरूमा हिप्पीका स्मृतिले उठाएका केही कुराहरूको मात्र छलफल गर्न चाहन्छु ।

हिप्पीहरू यहाँ र अरू भागमा किन यसै आएका थिए, गएका थिए, त्यसको अर्थ अहिलेको निकै चुनौतीपूर्ण र धेरै विग्रह बोकेको युगमा खुलेको छ । मैले यो कुरा राम्ररी विचार गरेको थिइन । हिप्पी भन्ने नाम त्यति प्रयोग गर्न मन नपरे पनि मैले यिनीहरूका विषय र आफ्ना उनीहरूसँगका केही अनुभवका विषयमा लेखेको र बोलेको छु । तर युवा पुस्ताले यी हिप्पीहरूमाथि किन चाख राख्न थालेका छन्, त्यसबारे मैले सोचेको रहेनछु । मेरा विद्यार्थी र मित्र शेखर खरेलले ‘मैले नदेखेको हिप्पी’ शीर्षकमा निबन्धको किताब निकालेका छन् ।

मेरै सलिल सुवेदीले आफ्नो बाउको उमेरको युरोपेली हिप्पी स्वीट्जरल्यान्डका टमस बर्चीसँग मित्रता गरेर अनेकौं संगीत र भ्रमणका काम गरेको कुरामा उसको निष्पृह संलग्नता र उत्सुकता बाहेक अरू केही देखेको थिइन । तर हुँदाहुँदै सलिलले स्वीट्जरल्यान्डमा बर्चीसँग उसका स्मृतिका आधारमा ‘ड्रिमसिड्स’ (२०१४) भन्ने किताब लेख्यो, जुन उतै प्रकाशित भएको छ । यता बजारमा आएदेखि राम्रो हुने हो ।

काठमाडौंका पनि अनौठा फोटाहरू भएको यो र शेखरका किताब निस्केपछि हिप्पीमाथिको पुस्तान्तर चेतनाले चिन्तनशील भएको हुँ । अब हिप्पीहरू काठमाडौंको स्मृतिमा पनि छन् । युवाहरूलाई ती एक चाखलाग्दो युगको परिवर्तनका सूचक छन् । मेरा निम्ति ती चित्रहरू झोंँछेमा स्मृतिमा छरिएका वैश्विक चेतना, फेकिएका पखेटा र उडानका सपना हुन् भने युवाका निम्ति ती विषय हुन्, इतिहास र सांस्कृतिक अध्ययनका ।

तर यहाँ मैले निकै वर्षपछि बुझेको अर्को कुरा राख्न चाहन्छु । अहिलेको पश्चिमी जगतमात्र होइन, सबैतिर झुट्टा समाचारले राजनीति, आचार र विचारमा ठूला हलचल ल्याइदिएको छ । षडयन्त्र, सिद्धान्त भयानक शक्तिशाली भएको छ । बीबीसीको झुट्टा समाचार अथवा फेक न्युजको भण्डाफोर गर्ने कार्यक्रम चल्दैछ । झुट्टा समाचारको कारणबाट गोहाटीमा दुईजना युवक संगीतकारहरूको हत्या गरिएको खबर र भिजुअलले म अत्यन्त दु:खित भएको अवस्था छ । धेरै ठाउँमा कारणबिना यातना दिइएका कथा छन् ।

मिडियालाई झुटको खेती गर्ने भनेर दोष दिने राजनीतिज्ञहरू र तिनका मिडियामाथिका प्रहार अहिलेको विश्वको समस्या बनेको छ । दिनदिनै झुट्टा समाचारले प्रभावित राजनीतिको सिकार भएका मानिसका चित्र देखिबस्छौं, मिडियामा । अहिले डिजिटल माध्यमले गर्दा हल्ला र फेक समाचार अविजेय शक्ति भएको छ ।

अहिले बुझ्छु, पश्चिमी जगत, खासगरी अमेरिकामा त्यो बेला यस्तै फेक न्युजको वर्चस्व बढेको थियो । अमेरिकाका म्याक्कार्थीको सिद्धान्त अनुसार अलिक अलग र प्रगतिका विचार राख्नेहरूलाई कम्युनिष्ट भनेर जेल र यातना दिइन्थ्यो । नाटककार आर्थर मिलरले सन् १९५३ मा ‘क्रुसिबल’ नाटक लेखेपछि उनलाई अमेरिकी संसद्ले कमिनिष्ट भनेर सोधपुछ र हैरानी दिएर नाटक प्रतिबन्ध लगाएको थियो ।

अश्वेत संगीतकार पल रबर्टसनलाई त्यसै गरियो । ती अमेरिका छाडेर घाना गए । रूसमा लेखकहरूलाई स्वतन्त्र विचार लेखेको कारणले गुलागमा निर्वासन गरिन्थो । अहिले बुझ्दा मानिसलाई त्यसै दु:ख दिने तथाकथित शीतयुद्धले आक्रान्त युवाहरूले फेक विरुद्ध गरेको विद्रोहको अवस्थाले आएको थियो, हिप्पी आन्दोलन ।

आज मानिस त्यो अवस्थाभन्दा चर्को र भयानक डरलाग्दो अवस्थामा छन् । अहिले सही सिद्धान्तले काम गर्ने राजनीति लगभग सकिए । फेक न्युज अर्थात् झुट्टा समाचार र प्रचारको आधार बनाएर शासकहरू जनतालाई पीडा दिन्छन् । सुरुमै विस्मृति वा एम्नेसियाको कुरा गरियो । हामी पनि नेपालमा त्यो संस्कृतिको अनुशरण गर्न लागेका छौं कि त ? सूचना र सही समाचार बङ्ग्याएर प्रचार गर्ने अनि जनताले पनि त्यही लिने चक्र चल्न लागिरहेको त छैन कतै ? फेक न्युज सिद्धान्तको अर्को रूप अदृश्य हुने हो ।

किसानले फलाएको धानको ऊ तोकिएको मोल पाउँदैन, तर प्रचारमा भने ऊ पाउँछ, सडक बनेका हुँदैनन्, तर बनेको व्याख्यामा हुन्छन्, पानी छैन, तर छताछुल्ल पानीको चेतना व्याप्त हुन्छ । सरकार र आधिकारिक एजेन्सीहरू योजना सुनाउँछन्, तर ती हुँदैनन् । थाहा पाएर पनि प्रतिक्रियाविहीन नहुनु, फेक न्युज, षडयन्त्र अनि अदृश्य हुने अवस्थाको प्रतिरोध गर्नु र आफैले पनि त्यस्तो रचना नगर्नुमा मात्र हाम्रो मुक्ति छ ।

प्रकाशित : मंसिर १, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?