२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रथाका प्रताडना

पविता मुडभरी

काठमाडौँ — सामाजिक सम्मान, लैंगिक समानता र शारीरिक सौन्दर्य खोस्ने विधवा प्रथाविरुद्ध पुरुष वर्गको कटिबद्धता चाहिएको छ ।

प्रथाका प्रताडना

केही दिनअघि ४० वर्ष नकटेका देवरको निधन भयो । देवरका छोरा काजकिरियामा बसेका थिए । महिनावारी भएकी देवरकी श्रीमतीले विधवा भेषमा काजकिरिया नगरे पनि हुन्छ कि भनेर मैले जिज्ञासा राखेकी थिएँ । कुरा राखिनसक्दै खप्की खानुपर्‍यो । संस्कार विरुद्ध बोल्ने हिम्मत नगर्न चेतावनी पनि पाएँ । यो संघीय राजधानीकै घटना हो । शोकमय माहोल र कठोरपितवादी संस्कार ख्याल गरेर मैले बहस गरिन । मनमा भने विद्रोहको आगो दन्किरह्यो ।

हाम्रो समाजमा मृत्यु संस्कार र काजकिरियामा सामेल हुन छोरीलाई बन्देज छ । तर महिलालाई बाध्यता । पतिको मृत्युपछि महिलालाई टीका–सिन्दूर पुछिदिँदै र चुरापोते चुँडाल्दै सेता वस्त्र पहिर्‍याएर विधवाको ट्याग झुन्ड्याइन्छ । चलिआएको चलन हो, आइमाई भएपछि लोग्ने मर्दा यस्ता कर्म त भोग्नैपर्छ भनी यसलाई सामान्यीकरण गर्न खोज्ने पितृसत्ता समाजमा जब्बर छ । धर्म संस्कारका नाममा चलेका प्रथाका प्रताडनामा महिला नै किन ? दाइजो, बोक्सी, विधवा, छाउपडी लगायतका अनेक प्रथाको मारमा छन्, महिला ।


महिलामाथि मानसिक हिंसा, विभेद र उत्पीडन थोपर्ने विधवा प्रथा लगायतका संस्कार लैंगिक समानताको कसीमा कत्तिको उपयुक्त ठहर्लान् ? महिलावादीले विधवा शब्दका ठाउँमा एकल महिला शब्द राखेर र कहिलेकाहीं विधवालाई भेला गरी राता वस्त्र टीका लगाइदिने गरेका छन् । राता वस्त्र अभियान शरीरलाई रंगीन वस्त्र र गहनाले सजाउनमात्र नभई विधवाका नाममा गरिने चरम विभेद र निकृष्ट व्यवहार हटाउन पनि हो ।


सामाजिक न्याय र जैविक स्वतन्त्रताको सुखानुभूति गराउन हो । सामाजिक सम्मान, लैंगिक समानता र शारीरिक सौन्दर्य खोस्ने विधवा प्रथाविरुद्ध पुरुष वर्गको ऐक्यबद्धता र कटिबद्धता चाहिएको छ । समाजमा श्रीमती मरे पनि पुरुष विधुर, एकल, असहाय र ‘अलच्छिन’ मानिँदैनन् । महिलालाई भने किन फरक व्यवहार ? महिलालाई राज्यबाट विधवा भत्ता र समाजबाट सहानुभूति होइन, समान स्वतन्त्रता र सम्मान चाहिएको छ । उनीहरूलाई सामाजिक उत्पीडन, अवहेलना र मानसिक कुण्ठाबाट उन्मुक्ति चाहिएको छ ।


विधवालाई गरिने दुव्र्यवहार र तिरस्कार लैंगिक समानताका लागि ठूलो चुनौती हो । जीवनसाथीको मृत्युसँगै महिलाले आफ्नो शारीरिक रङ तथा मानसिक उमंग सदाका लागि चितामा जलाउनुपर्ने यो कुप्रथा अन्त्य किन नगर्ने ? महिलाले कहिलेसम्म धर्म संस्कारका नाममा बन्धन र उत्पीडनको आगोमा पिल्सिरहने ? भिन्न पहिरन र व्यवहारको रेखा कोर्ने चलन अन्त्य गरिनैपर्छ ।

दुर्गा घिमिरेले केही वर्षअघि साहित्यकार तथा समाजसेवी पति जगदीश घिमिरेको मृत्युपश्चात आफ्नो नाकको फुली फुकालेर पतिको चितामा चढाउँदै चुरापोते टुटाएर सेतै वस्त्र धारण गराइएको घटनालाई ‘उनको सम्झना’ कृतिमा मार्मिक ढंगले लेखेकी छन् । श्रीमान मरेपछि उसको श्रीसम्पत्ति उपभोग गर्न हुने, उसको समेत अंश रहेका छोराछोरीको साथमा रहन हुने तर वैवाहिक संस्कारमा उसबाट प्राप्त हुने केही शृंगार सामग्री भने ऊ मरेपछि कहिल्यै प्रयोग गर्न नहुने परम्परा अन्त्य गर्न जरुरी छ ।


हाम्रा जिबा, हजुरबाले जे गरे, महिलालाई त्यही संस्कारमा जकडाउने मानसिकता नाति–पनाति पुस्तामा समेत उस्तै देखिनु विडम्बना होइन र ? सती प्रथाजस्तै सोला दिने विधवा प्रथा हटाउन अब राज्य, समाज र आम महिला किन ऐक्यबद्ध नहुने ?


[email protected]

प्रकाशित : मंसिर ६, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?