नापतौलका भाष्य

फ्रान्समा गत साता भएको सीजीपीएम बैठकले नापतौलका सबै एकाइलाई अपरिवर्तनीय भौतिक गुणबाट परिभाषा गरेको छ ।
उदयराज खनाल

काठमाडौँ — भौतिक विज्ञानले जगतका भौतिक गुणहरू नापेर ती बीचको सम्बन्ध अध्ययन गर्छ । समूहका सदस्यहरूको सम्बन्ध गणितले अध्ययन गर्ने हुँदा यसैको विधिबाट भौतिकताको व्याख्या हुन्छ ।

भौतिक गुण उल्लेख गर्ने तीन मूल आयाम छन्– वस्तुलाई कुन बेला अवलोकन गरिएको भन्ने काल, कति टाढाको या कत्रो भन्ने लम्बाइ र कति तौलको भन्ने पिण्ड । यिनका प्रचलित एकाइहरू क्रमश: सेकन्ड, मिटर र किलोग्राम हुन् ।


अन्य सबै गुण यिनैमा भर परे पनि सुविधाका लागि अन्य चार तापमनको केल्विन, विद्युत धारको एम्पियर, उज्ज्वलताको केन्डेला र पदार्थमानको मोल थपेर अन्तर्राष्ट्रिय प्रणाली (एसआई) का सात आधार एकाइ बनाइएको छ । अन्य सबै गुणका एकाइ यिनैबाट निर्माण हुन्छ ।


यही १३–१६ नोभेम्बरमा फ्रान्सको बसाईमा बसेको सीजीपीएमको २६ औं बैठकले यी सबै एकाइलाई अपरिवर्तनीय भौतिक गुणबाट परिभाषा गरेको छ । सेकेन्ड र मिटरका त दशकौं अघिको परिभाषा हो, अब किलोग्रामको पालो आयो । सर्वसाधारणलाई यो परिवर्तनले कुनै खास असर गर्दैन । नापतौल क्षेत्रमा भने यो क्रान्तिकारी ठहरिनेछ ।


फ्रान्सको क्रान्तिताका निर्माण भएको प्रणालीबाट एसआई विकसित भएको हो । सन् १७९१ मा त्यहाँका वैज्ञानिकहरूले राजारजौटाका हातको लम्बाइ जस्तामा आधिरित पुराना अस्थिर एकाइ त्यागेर सर्वसुलभ र स्थिर बनाउने प्रक्रिया थाले । तदनुसार पृथ्वीलाई आफ्नो अक्षमा घुम्न लाग्ने एक अहोरात्रमा ८६,४०० सेकेन्ड र पेरिसबाट जाने देशान्तरको उत्तरी ध्रुवदेखि भूमध्य रेखासम्मको लम्बाइलाई एक करोड मिटर मानियो । त्यस्तै चार डिग्री सेल्सियस तापमानमा शुद्ध पानीको एक घनमिटरको तौल हजार किलोग्राम हुने तोकियो ।


काल नापनको लामो इतिहास छ । कृषिको विकाससंँगै मौसमको ख्याल राखेर उचित समयमा रोप्ने र गोडमेल गर्नुपर्ने भएकाले कालगतिको हिसाब राख्न आवश्यक परेर दिनमान, चन्द्रकला, ताराहरूको गति, सूर्यको अवस्था इत्यादि प्रयोगमा आए । समय नै मूल्यवान हुनथालेपछि, अहोरात्रको अंश नाप्न विभिन्न होरायन्त्र, छाया र पानी घडी प्रयोगमा आए । आँखा झिम्काउन लाग्ने निमेषको चार भागको एक भाग मानिएको त्रुटिसम्मको ग्रहगतिको हिसाब गर्न भाष्कराचार्य सफल भए । सत्रौं शताव्दीका दोलकयुक्त घडीहरू निकै स्तरीय र आजकलका क्वार्ट्ज घडी निकै स्थिर भए पनि सबैलाई अहोरात्रसंँग मिलान गर्नुपर्छ ।


अझ शुद्ध घडीहरूबाट अहोरात्र पनि परिवर्तनीय देखिएकाले र १० पद्म सेकेन्डमा १ मात्र फरक पर्ने आणविक घडी निर्माण भएपछि यिनै कालगतिको मानक बनेका छन् । यसर्थ सन् १९६७ देखि सिजियम–१३३ को अणुको निम्नतम अवस्था (ग्राउन्ड स्टेट) को अतिसूक्ष्म (हाइपरफाइन) पारगमनमा प्रवाहित हुने विद्युत चुम्बकीय तरङ्गको आवर्तन (फ्रिक्वेन्सी) लाई ९,१९२,६३१,७७० प्रति सेकेन्ड मानेर सेकेन्डको परिभाषा गरियो । तदनुसार, ब्रह्माण्डको जुन कुनामा पनि एक सेकेन्ड यहीं रहन्छ ।


सदैव पेरिसको देशान्तर नाप्न असम्भव भएकाले एसआईको कार्यालयमा प्लेटिनम मिटरको मानक राखेर विश्वभर त्यसको नक्कल वितरण गरिन्छ । मौसमसँंग यो मानकको लम्बाइ परिवर्तन हुने र यसको नक्कलमा सदैव अशुद्धि आउने सम्भावना सधंै रहन्छ । सन् १९८३ देखि शून्यतामा प्रकाशले एक सेकेन्डमा २९९,७९२,४५८ मिटर तय गर्ने परिभाषाबाट ब्रह्माण्डभर यसको मान अचल पारियो ।


किलोग्रामको १४३ वर्ष पुरानो मानक पनि मेट्रिक कार्यालयको जमिनभन्दा आठ मिटर तलको कोठाको नियन्त्रित वातावरणमा काँचको तीन तहभित्र राखिएको छ । त्यसका वरिपरि त्यस्तै छवटा साक्षी राखिएका छन् । भिन्न व्यक्तिसँंग भएका तीनवटा साँचोले मात्र खुल्ने त्यो कोठामा केही वर्षको अन्तरालमा पसेर बढा सतर्कतापूर्वक तौलिने गरिन्छ ।


यसै क्रममा त्यो मानकको तौल साक्षीभन्दा ६० माइक्रोग्राम कम भएको भेटियो । आँखाको परेलाको भन्दा कम तौलको भिन्नता पनि असह्य भयो । पिण्डको शुद्ध नाप गर्न नसकेसम्म यसको परिभाषा परिवर्तन गर्ने कुरा भएन । अब किबल तुलाले विद्युतीय धार बीचको आकर्षण राम्रोसँंग नाप्न सक्ने भएपछि प्लाङ्क स्थिराङ्कलाई ६.६२६०७०१५×१०–३४ किलोग्राम वर्गमिटर प्रतिसेकेन्ड तोकेर किलोग्राम परिभाषित हुँदैछ । यो निर्णय २० मे २०१९ देखि लागु हुनेछ । यसैगरी इलेक्ट्रोनको विद्युतीय चार्ज, बोल्टज्मान स्थिराङ्क र एवोगाड्रो संख्या तोकेर एम्पियर, केल्विन र मोल परिभाषित हुनेछन् ।


यतिमै यस्ता अन्योल त नहट्ला । सैद्धान्तिक भौतिकशास्त्रले प्रयोग गर्ने प्लेङ्क एकाइमा प्रकाशको गति, न्युटनको गुरुत्वाकर्षक स्थिराङ्क र प्लाङ्क स्थिराङ्क सबैलाई एक मानिन्छ । यी तीनबाट सबै भौतिक गुणका एकाइ प्राप्त हुन्छ । यो नै प्राकृतिक एकाइ हो । हामी नेपालीलाई भने यस्ता मानकको मतलव छैन । मान्यता प्राप्त पसलहरूबाट प्रयोगशालाका लागि १०० ग्रामको ढक किन्दा पांँच–सात ग्राम अपुग भेटिन्छ । हाम्रो नेपाल टाइम पनि विचित्रको छ ।


विश्वलाई एक–एक घन्टाको टाइम जोनमा भाग लगाइएको छ । यस्ता जोनका सीमा सर्वत्र सरलरेखा नभएर देश अनुकूल बनाइएका छन् । केही देशमा मात्र आधा घन्टाको फरक छ ।

हामीभन्दा पश्चिमको किर्गिस्तानले आफू अनुकूल जीएमटी+६ गर्न हुने, तर हामीले अनौठो जीएमटी +५:४५ गर्नुपर्ने के बाध्यता हो ? त्यस्तै नेपाली मुद्राका नोट र ढ्याकहरू कतिले तिनको रङ्ग, अङ्कित छाप र नापबाट पहिचान गर्छन् । यस्ता मानक नै परिवर्तन गर्दा निकै समस्या उत्पन्न हुन्छ । विकसित देशका पसलमा एक पैसा पनि बिर्से बाहिरसम्म फिर्ता गर्न आउँछन् । यहाँ पैसाको कुरा नगरौं, रुपियाँहरू पनि फिर्ता हुँदैन ।

प्रकाशित : मंसिर ६, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?