१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

त्यो सुकी, यो सुकी 

दिवाकर बागचन्द

न्यूयोर्क — मैले कुनै नाम चलेको अभिजात्य वर्गका छोराछोरी पढ्ने स्कूल पढ्ने मौका पाइन । प्रतिष्ठित कलेज या विश्वविद्यालयमा पढ्ने कुरा त कल्पना भन्दा बाहिरकै कुरा भयो । ठुला ठुला शिक्षण संस्थाबाट शिक्षा हाँसिल गरेका व्यक्तिहरुप्रति मेरो सदैव आदरभाव रह्यो ।

त्यो सुकी, यो सुकी 

उनीहरु जस्तो शिक्षा लिन पाएको भए समाज र देशलाई केहि योगदान गर्न सक्थे कि भन्ने मलाई सधै लागि रहन्थ्यो । अहिले बिस्तारै बोध हुन थालेको छ. मलाई जिन्दगीले जे दियो त्यसैमा खुशी हुन थालेको छु ।


अहिले फर्केर हेर्दा के पनि बोध हुन थालेको छ, संसारमा जति बितण्डा मचिएको छ, त्यो पढालेखा र विश्वले सम्मानित गरेकाबाट नै भएको छ । यसको अर्थ कदापि यो होइन कि पढाइ लेखाइका कारण बिश्व समस्या ग्रस्त छ । शिक्षा भन्दा महानतम् कर्म के हुन् सक्छ ? तर प्रश्न के हो भने पठनपाठनको औचित्य के? यसको उत्तर गान्धीलगायत थुप्रैले दिएका छन्, त्यसैले म दिन चाहन्न किनभने म जस्तो साधरण मनुस्यको सानो बुझाईले थुप्रैको भावनालाई आहत पार्न सक्छ, यस्तो कर्म गर्न चाहन्न ।


आज फेरी म यस्तो बिषय बिषयमा लेख्न गइ रहेछु, जुन मेरो देशको होइन । तर यसको प्रभावबाट मेरो देश मात्र होइन संसारका कुनै देश मुक्त छैन र हुन सक्दैन पनि । मलाई कतिपयले भन्ने गर्छन्, आफ्नो देशको बारेमा लेख न, के अरुको बारेमा लेखेको ? म उनीहरुलाई गान्धीको अमर बाणी याद दिलाउन चहान्छु, 'मेरा लागि देश प्रेम र मानव प्रेममा कुनै भेद छैन ।'


सामाजिक सञ्जालमा म्यान्मार र रोहिंग्याको बारेमा नलेखिएको कुनै दिन हुदैन । यसै क्रममा दिल्लीको लेडी श्रीराम कलेजमा आङ सान सुकीले बृक्ष रोपण गरेको तस्बिर भेटें । उनी त्यहि पढेकी रहिछन्, त्यसपछि बेलायतको अक्सफोर्डबाट स्नातकोत्तर गरेकी रहेछन् । म तस्बिर हेरी रहें । गान्धीको देशमा पढेकी, शान्तिका लागि नोवेल पुरस्कार पाएकी सुकी लाई कुनै समय टाइम पत्रिकाले 'गान्धीको बालक' गान्धीको अहिंसाको सिद्धान्तको उतराधिकारी भनेर लेखेको थियो ।


२१ वर्ष जेल बसेकी सुकीको जीवन यात्रा त्याग र साहसको गाथा हो । यो यात्रा सहज होइन, यो यात्रामा सबै हिड्न सक्दैनन् । सुकी त्यो कोही नहिड्ने कठिन बाटोमा हिडिन् । संसारले सम्मान र माया दियो । तर जुन गन्तब्यका लागि यात्रामा हिडेकी थिइन् त्यहाँ पुगेपछि उनी बिचलित भइन् । यात्राको कुनै निशान थिएन, केवल थियो त एउटा स्थान जो शक्ति, महत्वकांक्षको धम्भले लतपत देखियो । मैले उनको प्रभावशाली शिक्षामा गान्धीबादी जीवन पद्धतीको कुनै अंश पनि देखिन ।


उनी एक पछि अर्को गरि मानवीय मूल्य बिपरित अभिव्यक्ति दिन थालिन् । उनका यिनै ब्यबहारले उनको लोकतान्त्रिक चरित्र धोका हो कि भन्ने प्रश्न उठ्नु स्वाभाविक थियो । २०१३ मा बीबीसीका मिशाल हुसेनलाई दिएको अन्तर्वार्तामा रोहिन्ग्यामाथि भएको दमनको उनले भर्त्सना गरिनन् बरु अत्यन्त आपत्तिजनक टिप्पणी गरिन् । 'म्यानमारमा देखिएको तनाव' बिश्वब्यापी रुपमा 'बढ्दो मुस्लिम शक्ति' को कारणसमेत भन्न भ्याइन् । राजनीतिक खेलाडीका रुपमा यसो भन्ने स्वन्त्रता उनलाई थियो, यो उनको बाध्यता पनि हुन सक्थ्यो ।


तर, उनलाई बिश्वले लोकतन्त्र र मानव अधिकारको प्रतिमूर्ति ठान्थ्यो । उनी शान्तिका लागि नोबेल पुरस्कार बिजेता थिइन् । एउटा मानवको जीवन मात्र पनि अमुल्य हुन्छ, यहाँ एउटा ठुलो समुदायको नरसंहार गरिंदै थियो । नोवेल पुरस्कार बिजेता सुकी लाई बिश्व प्रश्न नगरी बस्न सक्दैनथ्यो । प्रश्न गर्नुपर्थ्यो र उनले जवाफ दिनु पर्थ्यो । गान्धीको देश दिल्लीमा बस्दा उनले के साँच्चै गान्धीको सिद्धान्तलाई आत्मसात गरेकी थिइन् ? या 'डिग्री' मात्र लिएकी थिइन् ? यदि आत्मसात गरेकी थिइन् भने कसरी बिर्सिइन् ? गान्धीका यि महान बिचार 'अहिंसामा आधारित स्वराजमा' कोहि कसैको शत्रु हुदैन । सारा जनताको भलाईको सामान्य उदेश्य पुरा गर्नका लागि हरेकले आ-आफ्नो योगदान दिन्छन् ।


'लोकतन्त्र र हिँसाको बीच मेलमिलाप हुन सक्दैन । जो राज्य आज नाम मात्रको लोकतन्त्रात्मक छ त्यसले या त स्पस्ट रुपले तानाशाही बन्नु पर्दछ या लोकतन्त्रात्मक बन्नु पर्दछ। अहिंसाको पालना व्यक्तिले मात्र गर्न सक्दछ । व्यक्तिबाट बनेको राष्ट्रले सक्दैन भन्नु बिल्कुल अविवेकी कुरा हो' मधुसुधन पाण्डेयले अनुवाद गरेको गान्धीको 'मेरो सपनाको भारत' पुस्तकमा उल्लेख छ ।


सुकीले धेरै पहिले आफ्नो निबन्ध संग्रह 'फ्रिडम फ्रम फियर' मा भनेकी थिइन्, 'शक्तिले होइन, शक्ति गुमाउने डरले मान्छे भ्रष्ट हुन्छ ।' २१ वर्ष जेल जीवन बिताएकी र पति गुमाएकी आङ सान सुकी लाई के को भय होला? तपाई आफु जस्तै मानवको हत्या रोक्न सक्नु हुन्न भने लोकतन्त्रको नैतिक धरातलमा खडा भएर पुरा बिश्वलाई सत्य त बताउन सक्नु हुन्छ । आज सुकी लाई बिश्वले सोधी रहेको छ ।


सुकीसंग अझ पनि अहिंसाको बाटोमा हिड्ने ऐतिहासिक अवसर छ । लोकतन्त्रलाई 'फ्रिडम फ्रम फियर' नामक निबन्ध संग्रहमा सिमित राख्ने कि जीवन्ट्ट बनाउने भन्ने रोजाई उनीसंगै छ, जसले कुनै दिन शान्तिका लागि नोवेल पुरस्कार पाएकी थिइन् ।


प्रकाशित : मंसिर ६, २०७५ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?