बालीमा रोएको मेरो मन

निश्चल दाहाल

यूएई — नेपाली पैसालाई रुपैयाँ भनिन्छ भने ईण्डोनेसियाको पैसालाई रुपी (अ) । एक नेपाली रुपैया बराबर १ सय २८ रुपी (अ) । एक अमेरिकी डलर बराबर १४ हजार ३ सय रुपी (अ) । अथवा ईण्डोनेसियाको पैसा भन्दा हाम्रो देशको पैसा निकै बलियो रहेछ ।

बालीमा रोएको मेरो मन

देश निकै नै गरीब भएर होला यस्तो भएको जस्तो लाग्थ्यो तर हैन रहेछ । गरीब भए पनि बिकासको गतिमा नेपालभन्दा धेरै फड्को मारेको सुन्दा र पढ्दा तपाईंलाई पनि विश्वास नलाग्न सक्छ ।


हैन, एक अमेरिकी डलरको १४ हजार ३ सय रुपी (अ) हुने देश त गरीब हैन र ? अनि गरीब देशको राजधानी हाम्रो देशको जस्तै गरीब देखिने अव्यवस्थित त होला नि ! मेरो मनमा पनि यस्तै खुलदुली लागेको थियो त्यहाँ जानु अघि ।


म श्रावण ९ गते अबुधाबीहुँदै इन्डोनेसियाको राजधानी जाकार्ता तिर उडें । म कुनै बिजनेस वा सेमिनारमा होइन, नितान्त ब्यक्तिगत परिवारिक भ्रमणमा थिएँ ।


जाकार्ताको सोकार्नो हात्ता (चेङ्कारेङ्ग) एयरपोर्टमा ओर्लिएँ । एयरर्पोट त बडेमानको रहेछ । तीन वटा टर्मिनल, अनेकन अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान, टिलिक्क टल्कने भुइ, मगमग बास्ना आउने ट्वाइलेट, ब्यवस्थित इमिग्रेसन डेस्क, विविध सामनको सहजता भएको ड्युटी फ्री सपिङ एरिया । पहिलो पाइलो मै त्यो भब्यताले मेरो पहिलेको सोचाइलाई ३ सय ६० डिग्रीमा घुमाइदियो । म अचम्मित भएँ । सोकार्नो हात्ता (चेङ्कारेङ्ग) एयर्पोर्टबाट बाहिर निस्कँदै गर्दा नै मेरो सोच बदलिसकेको थियो ।


केहीदिनको निजी भ्रमणको लागि अबुधाबीबाट जाकार्ता हुँदै बाली हिडेको म अब एक दिन जाकार्तामै बस्ने निर्णयमा पुगिसकेको थिएँ । सोही दिन जान भनेर डोमेस्टिक एअरलाइन्सको टिकट लिएको मेरो सोचमा एक्कासी बदलाव आयो । एक दिन जाकार्तामै बिताउने भएँ ।


१७ हजार ५ सय ८ टापुहरु भएको देशमा करिब ६ हजार टापुमा मानव बस्ती छ । तिनै टापुहरु मध्ये हिन्दु धार्मिक बाहुल्यता भएको बाली घुम्ने र जान्ने मेरो ईच्छा थियो । जब म जाकार्ताको एयरपोर्टमा उत्रिएँ । एक्कासी मलाई मेरो गर्विलो देश नेपालको याद आयो । एक मात्र अन्तर्रास्ट्रिय एयरपोर्टको याद आयो । बिमानस्थलमा ट्वाइलेट सफा गरियो भन्ने समाचार पढेको याद आयो । किरासरी गज्याङ्गगुजुङ्ग पारेर पार्किङ गरी राखिएको ट्याक्सी, यात्रुहरुको झोलातानेर बसाउन खोज्ने चालक, पान, गुट्खा, खैनी खाएर थुकेको रातो रङ, असरल्ल चुरोटका ठुटा र नानाथरी फोहोरले सजाईएको मेरो देशको बिमानस्थलको भुइँको याद आयो ।


हासिलो मुद्राका नेपालीझै देखिने मानिसहरु आआफ्नो काममा महंगो कार र स्कुटर लिएर हिडिरहेका थिए । काठमाडौं जस्तै ट्राफिक हुने यो ठाँउमा काठमाडौ जस्तो धुलो, धुवाँ र फोहोर भने पटक्क थिएन । आफ्नो सभ्यता संस्कृतिलाई जिवन्त राखी रहेका छौं भनेर देखाउने विभिन्न मुर्ती, शालिक, कलाकौशलताका सुन्दर नमुनाहरु बाटो भरी देखिन्थे । ती त काठमाडौमा पनि छन नि, तर फरक के छ भने यहाँ ब्यवस्थित र सफा छन् । सडक साना नै भएपनि राम्रा थिए कतै फोहोर देखिएन । ट्राफिक लाइटको ब्यवस्थापन चुस्त देखिन्थ्यो । प्रहरी बाटोमा बिरलै देखिने । खानाको लागि ब्यवस्थित चमेना गृहदेखि महुंगो होटल सहजै उपलब्ध छन् । अनि नेपालको भन्दा सस्तो पनि ।


भोलि पल्ट लायन एयरको विमान चढी अर्को प्रख्यात टापु बाली पुगेँ । ईस्लामिक देश भनी चिनिने ईन्डोनेसियामा बाली एक मात्र यस्तो टापु हो जहाँ करिब ८० प्रतिशत हिन्दुहरु बसोबास गर्छन् ।


एयरपोर्टबाट ट्याक्सी लिएर म मेरो गन्तव्य उबुदसम्म जाँदा बाटोका दुबै किनारका काठ, पथ्थर र धातुहरुले सज्जिएका दोकानहरु, मन्दिर झै देखिने एक तले घरहरु, बाटो भरी हिन्दु देवताका आकृतीहरुले मलाई निक्कै नै लोभ्यायो । अझ लोभ्याउने त रामायण र महाभारतको कथा नै भन्ने गरिएका कलाकृतिहरु बाटो भरी सजाईएका थिए । त्यहाँ देखिने पुराना कलाकृति तथा प्राकृतिक छटाले भरिपूर्ण वातावरण देख्दा मलाई मेरो देश सम्झेर रुन मन लाग्यो ।


मेरो ७ दिनको बाली बसाइले म भित्र धेरै प्रश्न उब्जायो । आखिर हामी पनि सँस्कृति, प्राकृतिक बिविधता, मनमोहक कलाकृतिका धनी देश हौं । किन मेरो देश यस्तो हुन सकेन ? हाम्रोमा पनि पर्यटकलाई मुग्ध बनाउने यस्तै अनेकन माध्यम छन् तर किन हामी अझै अब्यवस्थित ? यहाँका हर घरमा धार्मिक सदस्यहरु हुँदाँ रहेछन् । धर्मलाई आफ्नो पहिचान सम्झेर माया गर्ने । हामीले किन आफ्नो धर्म संस्कृति र पहिचान गुमाउँदैछौं ? उनीहरुले हरेक मन्दिरहरुलाई स्थापनाको प्राचीन ढाँचामा राख्न कुनै फेरबदलाब गरेका छैनन् । सरसफाइमा पनि कुनै कन्जुस्याइँ छैन ।


बालीले आफुले गर्ने खेतिपाती देखि लिएर आफ्नो सभ्यता बिदेशीलाई देखाएर मनग्य पैसा बनाइरहेको रहेछ । उदाहरणको लागि खेतिपातीको नमुना हेर्नको लागि 'राईस टेरेस' छ जहाँबाट हाम्रो पहाडमा हुने जस्तो मात्र धानखेती देखिन्छ । त्यो देखाएर पनि पैसा बटुलेका छन् । उबुद, नुसादुवा, तिर्त एम्पोल आदि मन्दिर जुन हाम्रो मनकामना, पशुपति, स्वयम्भू जस्तै मान्यता बोक्छन्, ति मन्दिरहरु हेर्न बेदेशी पर्यटकहरु २ डलर देखि ४ डलरसम्म तिर्छन् । उनीहरु त्यहाँ घुमेर फर्कदा आनन्दित हुन्छन् । सफा र स्वच्छ वातावरण देखेर मोहित हुन्छन् ।


सार्वजनिक यातायातको सिण्डिकेट कतै देखिन । रोचक कुरा त करिब चार अमेरिकी डलरमा स्कुटर र बाइक २४ घण्टाको लागि भाडामा पाइन्छ । ६० सेन्टमा अर्थात लगभग ८ हजार रुपी (अ) मा (नेपाली ६२ रुपैयाँ) मा एक लिटर पेट्रोल पाइन्छ । ३५ देखि ४० डलरमा १० देखि ११ घण्टाको लागि प्राइभेट आधुनिक कारहरु ड्राइभरसहित ट्याक्सीको रुपमा पाइन्छन् ।


बालीमा पनि ब्यवस्थित सडक, हाँसिला सहयोगी मान्छेहरु, शान्त र सुरक्षित बजार आदि देख्दा यो टापुलाई मैले गरीब भन्ने कुरै भएन । मेरो देश किन यस्तो भएन? यतिका दिनको मेरो बसाइमा राजनीतिक दलको कुनै झण्डा, कुनै पर्चा तथा भित्तामा कुनै नारा पनि देखिन मैले ।


हाम्रो भक्तपुर जस्तो उबुद छोडेर ठमेल जस्तो महंगो ठाउँ सेमिन्याक भन्ने ठाउँमा म समुन्द्री आनन्द लिन पुगें । जहाँ पैसा तिर्न पर्ने र नपर्ने धेरै समुद्री तटको आनन्द लिन पाइदा रहेछन् । हामीसँग आखिर यही समुन्द्री छैन । अरु त सबैथोक छ नी ।


आर्थिक आर्जनको सरल र राम्रो बाटो भरपुर प्रयोग गरेको पाईयो । आफ्नो श्रोत साधनको सहि सदुपयोग गर्न त बालीबाट नेपालले धेरै सिक्न जरुरी छ । झर्ना, समुन्द्र, मन्दिर, बार, होटल र रेस्टुरेन्टमा जाँदा आधुनिकतामा आफ्नो प्राचीन सभ्यतालाई बालीले जिवन्त राखेको पाएँ । मलाई लाग्न थाल्यो कि हामी नेपाली आधुनिकताको खोजिमा आफ्नो प्राचीन सभ्यतालाई बिर्सेर अघि बढिरहेका छौं । हामी न आधुनिक हुन सकिरहेका छौं न त पुरानो सभ्यतालाई नै बचाउन ।


मैले देखेको स्कुलहरुमा हरेक बालबालिकाले बालीको स्थानीय पहिरन लगाएका थिए । नेपालमा जस्तो तिघ्रासम्मको स्कट कसैले पनि लगाएको देखिन । हामी साँस्कृतिक बिविधता भएको मुलुकले किन यो गर्न सक्दैनौं? तामाङ, लिम्बू, थारु, शेर्पा आदि ज्यादा भएको राज्यहरुमा त्यही भेष लगाएर स्कुल जान किन सक्दैनौ?


बालीको एक हप्ताको बसाइ पछि मेरो मन धेरै अस्थिर भयो । विभिन्न देशमा भ्रमण गर्न जाने नेताहरुले के सिकेर, के बुझेर आउँछन त? हामीलाई पाश्चात्य सँस्कार चाहिएन तर सौन्दर्यसहितको विकसित बाली झै नेपालभए हुन्छ ।


हाम्रा एभरेष्ट बेस क्याम्प, चितवनको सफारी, ढोरपाटनको सिकार आरक्ष, पशुपति, मनकामना, स्वयम्भू, पोखराको सौन्दर्य, हिमालपारीका जिल्लाहरुको सौन्दर्य आदिलाई जिवन्त मात्र राख्ने हो भने र संरक्षण मात्र गर्ने हो भने हामी धेरै अगाडि बढ्न सक्छौं ।


समृद्धिका खोक्रे नारा भन्दा स्थानीय स्तरलाई प्रभवकारी बनाई लगानीको वातावरण तयार गरी पर्यटनलाई प्रोत्साहन गर्न सके हामी छिट्टै नै सम्पन्न बन्न सक्छौं । आर्थिक रुपमा सबल हुन हामीलाई खर्बौको कलकारखानाहरुको आवश्यकता नै नहुने रहेछ । बालीमा हरेक मन्दिर, हरेक पहाड, हरेक झर्ना, हरेक जङ्गल, हरेक निकुञ्ज, हरेक खोला, हरेक तालतलैया, हरेक हिमाल आदिहरुमा पैसा फलिरहेको छ । पैसा बगिरहेको छ । पैसा फुलीरहेको छ, टल्किरहेको छ तर हामी त्यसलाई देख्दैनौं ।


ईतिहासको कुरा गरेर र सम्झेर, कुनै पनि देशको अधिनमा रहन नपरेकोमा गर्व गरेर मात्र समृद्धि आउँदैन । हामीमा बिकासको उर्जा ल्याउन जरुरी छ । नेतृत्वलाई घच्घच्याउन जरुरी छ र नेतृत्वले जनतालाई वातावरण सृजना गरिदिन आवश्यक छ ।


आधुनिक रेल भन्दा गुणस्तरीय सडक, आधुनिक महल अघि साँस्कृतिक धरोहरको संरक्षण, बडेमानको पानीजहाज भन्दा भएका नदिनालाको संरक्षण अनि ब्यवस्थापन र आधुनिकीकरणको नारा अगाडि प्राकृतिक सौन्दर्यताको सुरक्षाको आवश्यकता हामीलाई छ । समृद्धि ल्याउन पुरानो संरचना ध्वस्त गरेर त्यसलाई बिस्थापन गर्नु भन्दा त्यो अवस्थालाई ब्यवस्थापन गरेर अगाडि बढे सहज हुन्छ । ईण्डोनेसियाको बालीको बिकास देखेर मैले यही सिकें ।


– दाहाल युएईमा कार्यरत छन् ।

प्रकाशित : मंसिर ६, २०७५ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?