कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

खुट्टी देख्दै चाल पाइयो

‘नीति अनुसन्धान प्रतिष्ठान’को अवधारणापत्र सर्वसाधारण मान्छेले बुझ्नुपर्छ, यो विषय वा नीति अनुसन्धान नेपालको हो, नेपालीहरूको हो ।
भैरव रिसाल

काठमाडौँ — मान्छे शान्ति चाहन्छ, सबभन्दा पहिले । शान्तिपछि समृद्धि, समृद्धिका निम्ति होइन, सुखका निम्ति चाहेको हो समृद्धि । जन्मेपछि मर्नैपर्छ भन्ने धु्रव सत्य पनि प्राय: बुझेको हुन्छ, मान्छेले । मान्छेको अन्तिम इच्छा सजिलोसँग मर्न पाइयोस् भन्ने हुँदोरहेछ । यी कुरा सरल, सबैले बुझ्न सक्ने भाषामा भन्न र लेख्न सकिन्छ ।

खुट्टी देख्दै चाल पाइयो

मंसिर ५ गते मंगलबार गोरखापत्रमा प्रा. चैतन्य मिश्रले तयार पार्नुभएको एउटा अवधारणापत्र छापिएर आयो । त्यो रहेछ, सरकारले गठन गरेको ‘नीति अनुसन्धान प्रतिष्ठान’को परिचयात्मक बैठकमा पेस गर्नुभएको लिखत । प्रा. मिश्र उक्त प्रतिष्ठानको कार्यकारी अध्यक्ष हुनुहुँदो रहेछ ।


बुधबार बिहान त्यो लिखत पढेँ । म उहाँको विद्वता र खरो प्रस्तुति मनपराउने मान्छे हुँ । पढेँ, दोहोर्‍याएर पढेँ । अनि फोन गरेँ प्रा. मिश्रलाई र ठाडै भनेँ, मैले अवधारणा पत्र पढेँ, तर बुझिन । यस्ता कुरा सरल र सहज बुझ्ने भाषामा लेख्न सकिँंदैन ? भन्ने जिज्ञासा राखेँ । उहाँले ए, हो हगि ? सरल भएन ? भनी विनम्रतासाथ शिष्ट एवं शालीन भाषामा कुरा गर्नुभयो ।


यसका लागि म डा. मिश्रप्रति कृतज्ञ छु र सम्मान व्यक्त गर्छु । सजिलो र सर्वसाधारणले सहजै बुझ्ने नेपाली भाषा शैलीको सरलता र सहजता ठूला विद्यावारिधिवालाहरूको विशिष्ट विद्वताको बन्दी हुनलागेका छन् । मूल सार त शान्ति, समृद्धि र सुख नै होइन र ? यिनै कुरा सजिलो भाषा शैलीमा सार्वजनिक गरौंन, हुन्न ?


डाक्टरको प्रेस्क्रिप्सनजस्तो

यो सरुवा रोग सर्वसाधारणमा लाग्दैन । प्रोफेसर भएपछि प्रोफेसरमा लाग्छ । विद्यावारिधि अर्थात डाक्टर भएपछि डाक्टरमा लाग्छ । मेरो अल्पबुद्धिले भन्छ– मैले भन्न खोजेको कुरा, मैले दिन खोजेको सन्देश कसका लागि हो, उसले सजिलै र सहजै बुझ्नुपर्छ ।


अन्यथा मेरो भगीरथ प्रयत्न भए पनि खेर जान्छ, तुहिन्छ । तुहिनु भनेको नानी नजन्मनु हो, सम्पूर्ण परिश्रम खेर जानु हो । अझ स्पष्ट गरुँ, योग्यता नभएको ‘क्वाक’ मेडिकल डाक्टरले लेखिदिएको, नबुझिने अक्षरको प्रेस्क्रिप्सन सरह हो । औषधि जस्तो कुरा थोपा–थोपाको, ग्राम–मिलिग्रामको फरकले पनि रोगीको ज्यानै जान सक्छ ।


औषधि बेच्ने बिक्रेताले प्रेस्क्रिप्सनको अक्षर नबुझिकन औषधि दियो भने बिरामी विसेक होला कि मर्ला ? हाम्रा बौद्धिक व्यक्तित्वहरूले आफ्नो बौद्धिकता प्रदर्शन गर्न लेखेका कार्यपत्र वा अवधारणापत्रका कारण कोही मरित हाल्दैन । तर निर्माण र विकास मर्छ वा ठिकसँग हुँदैन । निर्माण र विकास ठिकसँग नभएपछि समृद्धि हुँदैन । समृद्धि नभएपछि सुख हुने त कुरै भएन ।


यसरी परिणाम वा नतिजा नखोजेको हुन्छ, नचिताएको हुन्छ । यसर्थ विशिष्ट विद्वत वर्ग तपाईंले सजिलोभन्दा सजिलो, सबैले बुझ्न सक्ने भाषा र शैलीमा लेखिदिनुपर्‍यो । त्यसो भए निर्माण र विकास चाहने मान्छे काममा लाग्छन् । समृद्धि हुन थाल्छ, सुख हुन थाल्छ ।


तापभन्दा प्रकाश छर्ने, के हो यो ?

प्रा. चैतन्य मिश्रले त्यो मङ्गलबारको अवधारणापत्रमा ‘कम गर्न’ भने हुने ठाउँमा ‘न्युनीकरण गर्न’ भनिएको छ, कम गर्न भन्ने शब्द धेरैले बुझ्छन् । ‘वर्तमान क्षेत्रीय र विश्व ऐतिहासिक संरचना, प्रवाह र बिन्दु समेतको आँकलनको आधारमा नेपालको वस्तुस्थिति र प्रवाहको आँकलन र नीति विश्लेषण र पुनरावलोकनमार्फत नेपाल सरकारको उद्देश्य पूरा गर्न सहयोग गर्ने’ भन्ने अंश छ, यसको विशिष्ट उद्देश्य मध्येको (ङ) दफामा ।


यो के भन्न खोजिएको हो, मैले त बुझिन, मेरो बुद्धिले भ्याएन । कुनै पनि अवधारणापत्रमा लेखिएका कुरा सररर पढ्नासाथ बुझिनुपर्छ भन्ने जिकिर हो । ‘आकलन’ शब्दको ‘आ’ अक्षरका टाउकामा अनुस्वारको ‘ा’ राखिएको छ ।


मैले बुझेसम्म ‘आकलन शब्दको अर्थ हो, जम्मा गर्नु । अब कताबाट आयो यो अनुस्वार ‘आ’को माथि । यस्तै अर्को विशिष्ट उद्देश्य ‘च’ दफा यस्तो छ, ‘उपर्युक्त आँकलनहरूमध्ये अधिकांश सार्वजनिक सूचना, ज्ञान र बहसका लागि प्रवाहित गर्ने र मुलुकमा सूचनामा आधारित तापभन्दा प्रकाश छर्ने नीतिगत बहसलाई टेवा दिने ।’


यो वाक्य वा सूत्र पनि मैले बुझिनमात्र होइन, पटक्कै बुझिन । यही प्रस्तुतिको ‘तापभन्दा प्रकाश छर्ने’ भनेको के हो ? यो पनि फलामको च्युरा भो, मेरालागि । ‘दिनदिनै भने हुनेमा दैनन्दिन शब्द प्रयोग भएको छ । दिनदिनै प्राय:ले बुझ्छन् ‘दैनन्दिन’ शब्दभन्दा होइन र ?


कार्यभार, पदचाप, अंकित असजिला

‘प्रतिष्ठानले नीति अनुसन्धानको क्षेत्र आफैले पनि निर्धारण गर्छ ।’ यो वाक्य सामान्यत: बुझिन्छ, ‘निर्धारण गर्छ’ को ठाउँमा ‘तोक्छ’ राखेको भए झन् सरल हुन्थ्यो होला । त्यही अनुच्छेदमा ‘प्रतिष्ठानले कार्यभार सिर्जना गर्ने यो दोस्रो पद्धति हो ।


आफैले कार्यभार सिर्जना गर्दा प्रतिष्ठानले दैनन्दिन तहको नभएर उच्च र मध्यम व्यापकता ओगटेका र मुलुकको शासन र जनजीवनमा तुलनात्मक रूपले व्यापक प्रभाव पार्न सक्ने नीतिहरू पुनरावलोकन गर्न प्राथमिकता दिनेछ । साथै प्रतिष्ठानले खास–खास नीतिहरूबारे विश्लेषण र पुनरावलोकनले व्यापक असर पार्न सक्ने सरकारका खास–खास अङ्गका पदाधिकारी लगायत राष्ट्रिय जीवनमा महत्त्वपूर्ण पदचाप राख्ने व्यक्तिहरूसँग परामर्श गर्नेछ ।’


यो अनुच्छेदमा ‘कार्यभार’ भन्ने शब्द र ‘पदचाप’ भन्ने शब्द नौलो लाग्यो । अझ पदचाप भन्ने शब्द त नितान्त नै नौलो लाग्यो । यो अनुच्छेद पनि छ्याङ्गै बुझिएन । ‘लैंगिकता’को कुनै सरल शब्द छ कि ? ‘संविधानमा अंकित’ भनेको संविधानमा लेखिएको’ भनिएको होला । ‘कार्याधिकार’को सजिलो शब्द छ कि ? ‘उच्च प्राज्ञिक व्यावसायिकता प्रदर्शन गरेका’ बल्लबल्ल बुझेँजस्तो लाग्यो । अर्को ठाउँको ‘उक्त परिमार्जित सुझावलाई सरकारका लाभदायी अङ्गहरू’ भन्ने वाक्यांशको ‘लाभदायी अङ्गहरू’ कसलाई भन्न खोजेको हो, स्पष्ट भएन । ‘चयनको’ शब्दमा ‘छान्ने शब्द सरल हुन्थ्यो कि, यी केही नमुना हुन् । तात्पर्य सबैले बुझ्ने भएन भन्ने हो ।


किन शब्दाडम्बर ?

बौद्धिक व्यक्तिहरू सर्वसाधारण र अझ असाक्षर व्यक्तिहरूका लागि बाटो देखाउने, असजिला, नौला विषय र वस्तुहरूलाई सरल र सजिलो भाषाशैलीमा बुझाउने पात्रका रूपमा देखापर्नु उत्तम हुन्थ्यो । प्रा. चैतन्य मिश्रजस्ता राम्रा मान्छे उत्पादन गर्ने प्राध्यापक (प्रोफेसर) हरूले कसरी पढाउनु हुन्थ्यो होला ?


निश्चय नै जटिलभन्दा जटिल विषयलाई पनि सरलभन्दा सरल भाषाशैलीमा सिकाउँछन्, बुझाउँछन् भन्ने आशा गर्दाहुन् । उहाँहरूले पनि हाम्रा आजका विशिष्ट व्यक्तित्वहरूलाई विद्यावारिधि उपाधि लिने उम्मेदवार बनाउँदा यथासम्भव सरल, सहज, सजिलोसँग ज्ञान र अनुभव अरूलाई बाँड्छन् भन्ने चाहना राखेको हुनुपर्छ ।


यो एउटा साधारण सूत्र हो कि भन्नेले भनेको कुरा जसका बारेमा भनिएको हो, उसले पक्कै पनि जम्मै बुझ्नुपर्छ । जसका लागि लेखिएको हो, पढ्दा र सुन्दा उसले बुझ्नुपर्छ । ‘नीति अनुसन्धान प्रतिष्ठान’को अवधारणापत्र सर्वसाधारण मान्छेले बुझ्नुपर्छ, यो विषय वा नीति अनुसन्धान नेपालको हो, नेपालीहरूको हो । यो सम्पूर्ण नेपालीको सरोकारको, चासोको विषय हो । तसर्थ सम्पूर्ण नेपालीले बुझ्नुपर्छ ।


यसकारण पनि यो विषय विद्वानहरूको शब्दाडम्बरको विद्वताको घमन्ड एवं अहंको सिकार हुनुहुँदैन । ‘अवधारणापत्र र कार्यपत्रहरू सर्वसाधारण नेपालीले बुझ्ने भाषाशैलीमा आउनुपर्‍यो, ताकि सबै नेपाली यसका सहयात्री हुन सकून् ।

प्रकाशित : मंसिर ८, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?