१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

के सौर्य मण्डलबाहिर उन्नत जीवनको संभावना छ?

बीर बहादुर बोहरा

काठमाडौँ — ब्रह्माण्ड र मानव मस्तिष्क दुबै अस्तित्वका अदभूत पहेली हुन् । जसरी ब्रह्माण्डको असिमितता र बिबिधता रहस्यमय छ, मानव मस्तिष्कको बौद्धिकता र कल्पनाशिलता पनि बेबुझ छ ।

के सौर्य मण्डलबाहिर उन्नत जीवनको संभावना छ?

आजको एक्काइसौ शताब्दिमा मानव मस्तिष्कले ब्रमाण्डको रहस्य केलाउन भरमग्दुर प्रयत्न भइरहेको छ । तैपनि अनन्त प्राकृतिक रहस्यहरु असिमित छन् र एकपछि अर्को देखापर्छन् । प्रकृतिका हरेक घटना, प्रकृया र संरचनाका प्रति मानव मस्तिष्क अनबरत जिज्ञासु छ । यहि जिज्ञासु प्रवृत्तिले होला मानिसले अनन्तकालदेखि नै के पृथ्वी बाहिर हामी जस्तै उन्नत जीवन छ? भनेर जिज्ञासा राख्दै आएको छ । मानव मात्रको यो अतृप्त जिज्ञासाउपर पछिल्ला दशकहरुमा भौतिक बिज्ञानको सहाराले बैज्ञानिक अनुसन्धानहरु भएका छन् । ठोस प्रमाण फेला नपरेता पनि पृथ्बी बाहिर जीवनको अस्तित्व छ र कुनै दिन पत्ता लाग्नेछ भन्ने कुरामा धेरैजसो बैज्ञानिकहरु बिश्वस्त छन् ।


कुनै बेला थियो जब अन्धबिश्वासी धार्मिक सत्ताले बैज्ञानिक पद्धति माथि धावा बोल्थ्यो । सन् १६०० मा बैज्ञानिक ब्रुनोलाई पृथ्बी सूर्यको वरिपरि घुम्छ र पृथ्बी बाहिर पनि जीवनको अस्तित्व छ भने बापत रोमको सडकमा ज्यूदै जलाइएको थियो । तर, आज त्यसको ठिक ४०० वर्ष पछि परिस्थति व्यापक फेरिएको छ । अन्वेषणकर्ताहरुले हरेक महिना कम्तिमा पनि २ वटा नयाँ सौर्य प्रणाली पत्ता लगाइरहेका छन्, जस मध्ये करीब २५० वटा ग्रहहरु हाम्रो पृथ्बी जस्तै सूर्यको वरीपरी घुम्छन् जहा जीवन सम्भव हुन सक्ने प्रचूर सम्भावना छ ।


बैज्ञानिक अवधारणा अनुरुप जीवनका लागि आवश्यक कुरा पानी, हाइड्रोकार्बन र डिएनएका अणुहरु हुन् । जो समुचित वातावरणमा जीवित प्राणी बन्न सक्छन् । यी पदार्थहरुको उपलव्धताको मापनका आधारमा कुनै अज्ञात ग्रहमा बुद्धिमान प्राणीहरुको अस्तित्व छ वा छैन भनी अनुमान गर्न सकिन्छ ।


भौतिकशास्त्री जोहानस केप्लरले सन १६९९ मा त्यो बेलाको बैज्ञानिक ज्ञानको आधारमा पृथ्बीदेखि चन्द्रमासम्मको यात्रामा बिरुवा, प्राणी र अर्को ग्रहका मानिसहरु एलियन भेटिन सक्ने अनुमान गरेका थिए । पृथ्बी जस्तो अर्को ग्रहको खोजी अभियानको अग्रणी नाम फ्र्याङ्क ड्रेक हो । कर्नेल बिश्वबिद्यालयका बैज्ञानिक ड्रेकले सन् १९६१ मै ब्रमाण्डमा सूर्य जस्ता ताराहरु, ति ताराहरुको वरिपरि घुम्ने पृथ्बी जस्ता ग्रहहरु र तिनमा बौद्धिक प्राणीको सम्भाव्यता पत्ता लगाउने एक समिकरण पत्ता लगाए । उनको समिकरणको आधारमा हाम्रो सौर्य प्रणाली रहेको मिल्किवे ग्यालेक्सि भित्र मात्र एक सयदेखि दश हजारसम्म पृथ्बी जस्ता ग्रहहरु र तिनमा बौद्धिक प्राणीहरु हुन सक्ने सम्भावना देखाएको थियो । अझ अर्का बैज्ञानिक कार्ल सगनले त सन १९७४ मा मिल्किवे ग्यालेक्सि भित्र मात्रै दशलाख वटा पृथ्बी जस्ता ग्रहहरु र बौद्धिक प्राणीहरु हुन सक्ने जनाएका थिए ।


नयाँ ग्रहहरुमा भेटिन सक्ने बौद्धिक प्राणीहरु (एलियनहरु) सँग सूचना आदान प्रदान गर्न भौतिकशास्त्रीद्वय जुजेपी कोकोनी र फिलिप मोरीसनले १ हर्ज देखि १० गिगाहर्ज आवृति भएको माइक्रोवेब रेडिएसन मेसिन निर्माण गरी सन् १९५९ मा सर्च फर एक्सट्राटेरिस्टेरियल इन्टेलिजेन्स (सेटी) नामक एक संस्थाको स्थापना गरे । ज्ञात रहोस्, १ हर्ज भन्दा कम आवृति भएको रेडिएसनलाई इलेक्ट्रोनको गतिले छेकि दिन्छ भने १० गिगाहर्ज भन्दा बढी आवृति भएको रेडिएसनलाई हाम्रो वायु मण्डलको अक्सिजन र पानीका अणुहरुले नष्ट गरी दिन्छन् । बैज्ञानिकहरुले १ हर्ज देखि १० गिगाहर्ज भित्र पनि १४२० मेगाहर्जलाई बाहिरी संसारको आवृति मापनका लागि सबैभन्दा उपयुक्त आवृति मान्छन् । यसलाई वाटर होल आवृति भनिन्छ जुन साधारण हाइड्रोजनको आवृति हो ।


सन् १९९५ देखि सर्च फर एक्सट्राटेरिस्टेरियल इन्टेलिजेन्स अभियानले हरेक वर्ष ५ मिलियन डलर खर्च गरेर एक हजार भन्दा बढी ताराहरु पत्ता लगाइसकेको छ । हालै सानफ्रान्सिस्को भन्दा २५० माइल उत्तर पूर्वमा ३५० एन्टेना भएको टेलिस्कोप जडान गरिएको छ । जसले सन २०२५ सम्ममा अन्तरिक्षबाट एलियनहरुले पठाएको सूचना समात्न सक्ने विश्वास गरिएको छ ।


कुस्त लगानी र अनबरत बैज्ञानिक खोजका बाबजुद पनि आजका मितिसम्म एलिएनहरुले पठाएको कुनै पनि रेडिएसन भने फेला परेको छैन । त्यसैले अचेल बैज्ञानिकहरु एलियनहरु हामी भन्दा अति विकसित हुन सक्ने र तिनले सूचना आदान प्रदानका निमित्त लेजर लाइट प्रयोग गर्न सक्ने अनुमान गर्न थालेका छन् । लेजर तरङ्गको तरङ्ग लम्बाई अत्यन्त छोटो छ र एउटै तरङ्गभित्र एक भन्दा बढी सिग्नल अटाउन सकिन्छ । तर यसको एउटा मात्र आवृति र एक मात्र दिशा हुने भएकाले उपर्युक्त दिशामा ट्युन गर्न भने कठिन छ ।


अमेरीकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले सन १९७४ मा पृथ्बीको अवस्थिति, यहाँ भएको मानिसको अस्तित्व र केही रसायनिक सूत्रसहितको कोड म्यासेज हामी भन्दा २५,१०० प्रकाश वर्ष टाढा अबस्थित ग्लोबुलर क्लष्टर एम १३ तिर पठाएको छ । बैज्ञानिकहरु उक्त म्यासेजको प्रतिउत्तरको पर्खाइमा छन् । तर सम्भावित एलियनको प्रतिउत्तर पाउन भने कम्तिमा पनि ५२,१७४ वर्ष कुर्नुपर्ने हुन्छ । यदाकदा बाहिरी ब्रमाण्डबाट आउने रहस्यमय रेडियो तरङ्गहरुले एलियनको अस्तित्व इङ्कित गर्दछ । सन १९७७ मा त्यस्तै रेडियो तरङ्ग पृथ्बीमा आएको थियो जसमा सृङ्खलाबद्ध अक्षरहरु र संख्याहरु थिए । यसलाई वाउ सिग्नल नामाकरण गरिएको छ ।


लामो प्रयास पश्चात पनि सर्च फर एक्सट्राटेरिस्टेरियल इन्टेलिजेन्स अभियानले बाहिरी संसारबाट कुनै सूचना प्राप्त गर्न नसके पछि केही बैज्ञानिकहरु ड्रेक समिकरणका आधारभूत पक्ष माथि नै पुनर्बिचार गर्नुपर्ने तर्क गर्न थालेका छन् । हालसालैका केही अध्ययनहरुले एलियनहरु ड्रेकले सन १९६१ मा अनुमान गरे भन्दा भिन्न बातावरणमा हुन सक्ने संकेत गरेको छ । पहिले तरल पानीको अस्तित्व सूर्यको आसपास (जसलाई गोल्डिलाक्स जोन भनिन्छ) मा मात्र सम्भब छ भन्ने बैज्ञानिक मान्यता थियो । गोल्डिलाक्स जोन त्यस्तो क्षेत्र हो जहाँ न पानी जम्ने गरी चिसो हुन्छ नत बाफ बन्ने गरी तातो नै । यस्तो बाताबरण जीवनका लागि अत्यन्त अनुकूल हुन्छ । पृथ्बीमा यस्तै बातावरणका कारण जीवन सम्भव भएको छ । तर पछिल्ला अध्ययनहरुले जुपिटरको उपग्रह यूरोपको हिउँले भरिएको सतह भित्र पानी भएको प्रमाणित भए पछि बैज्ञानिकहरु स्तव्ध बनेका छन् । यसले एलियनहरुको खोजी गोल्डिलाक्स जोन भन्दा अन्त पनि सम्भब छ भन्ने तर्कलाई बल पुर्‍याएको त छ । साथै सौर्य मण्डलबाहिर त्यस्तो ग्रह हुन सक्ने आंकलन समेत गरिएको छ ।


ग्रहको आफ्नै प्रकाश नभएका कारण सौर्य मण्डल भन्दा बाहिरको ग्रहको अवलोकन गर्न अत्यन्त कठिन छ । ति तारा भन्दा करौडौं गुणा अध्यारा भएकाले कुनै पनि टेलिस्कोपले देख्न गाह्रो छ । सौर्य मण्डल भन्दा बाहिरको पहिलो ग्रह सन् १९९४ मा पेन्साल्भेनिया विश्वविद्यालयका प्रोफेसर अलेक्जेण्डर वल्सजनले पत्ता लगाएका हुन् । त्यसको करिब २ वर्ष पछि स्वीस बैज्ञानिक ब्यमाइकल मायोर र डिडियर क्विलोजले ५१ पेगासी भन्ने ताराको वरीपरी घुम्ने जुपिटर आकारका ग्रहहरु पत्ता लगाए ।


भौतिक, रसायन र जीव विज्ञानको मौजुदा ज्ञानका आधारमा बैज्ञानिकहरु एलियनहरुको शारीरिक बनोट कस्तो होला भनी कल्पिन्छन् । पृथ्बीमा भएका प्राणीहरुको शारीरिक बनोट किन द्विपक्षीय एक रुपतायुक्त छ भनी न्यूटनलगायतका बैज्ञानिकहरु चासो राख्दथे । के यो भगवानको श्रीजना हो वा भवितव्य? जीववेत्ताहरुका अनुसार ५० लाख वर्ष पहिले एक बिष्फोट भएको थियो जसलाई क्याम्ब्रियन बिष्फोट भनिन्छ । उक्त बिष्फोटको लगत्तै प्रकृतिले बहुकोशीय जीवहरुको आकारप्रकार माथि भरपूर प्रयोग गरेको थियो । ति मध्ये कोही अंग्रेजी बर्णमालाको एक्स, वाई, र जेड आकारका थिए भने कोही स्टारफिस आकारका थिए । आकस्मिक रुपमा ति मध्ये एउटाको आकार अंग्रेजी बर्णमालाको आई जस्तो देखा पर्यो जुन द्विपक्षीय एक रुपतायुक्त थियो । यसैलाई आजका सबै स्तनधारी जीवहरुको पुर्खा मानिन्छ । त्यसैले मानिसको शारीरिक बनोटमा द्विपक्षीय एकरुपता छ । तर एलियनहरु पनि मानिस जस्तै हुनु पर्छ भनेर एकिन भने भन्न सकिन्न । तथापी उन्नत प्राणीमा निम्न तिन कुरा भने हुनै पर्छ १) कुनै प्रकारको सेन्सिङ अङ्ग वा आँखा, २) केहि कुरा समात्नका लागि हात र औलाहरु, र ३) सूचना आदान प्रदानका लागि भाषा । पूर्णतया अर्कै डिएनएबाट निर्मित भएकाले सम्भबत: एलियनहरुलाई पृथ्बीमा भएका प्राणीहरुप्रति सहवासको इच्छा भने हुँदैन ।


भौतिकशास्त्रमा एउटा नियम छ जसलाई स्केल नियम भनिन्छ । स्केल नियम अनुसार जब कुनै बस्तुको आकारमा सानो बदलाव आउँछ, भौतिकशास्त्रका नियमहरुमा उल्लेखनीय परिवर्तन देखा पर्छ । बैज्ञानिकहरु स्केल नियमका आधारमा एलियनहरुको शारीरिक आकार अनुमान गर्ने गर्छन् । यही अनुमानका आधारमा एलियनहरु लगभग मानिस जत्रा आकारका हुनुपर्छ भन्ने बैज्ञानिक मत छ ।


रसियन खगोलशास्त्री निकोलाई कार्डिसेभले तिनले दोहन गर्ने उर्जा खपतलाई आधार मानेर एलियन सभ्यतालाई तीन भागमा बिभाजन गरेका छन् । पहिलो सभ्यताका एलियनहरु ज्वालामुखी बिष्फोट र सौर्य उर्जा दोहन गर्न सक्ने, भुकम्प र हावापानी नियन्त्रण गर्न सक्ने र समुद्रमा शहर निर्माण गर्न सक्छन् । अर्थात आफू बस्ने ग्रहको सम्पूर्ण उर्जा तिनको पकडमा हुन्छ । दोस्रो सभ्यताका एलियनहरु आफ्नो ग्रह मात्र होइन सिङ्गो सूर्यको उर्जा नियन्त्रण गर्न सक्छन् । यिनीहरु प्रलय समेत रोक्ने ताकत राख्छन् र केही गरी तिनको सौर्य मण्डलमै गढबढी आएमा अर्को सौर्य मण्डलमा बसाई सर्न समेत सक्छन् । अत यि अमरणशिल छन् । समग्र सौर्य मण्डलमै पकड भएकाले पहिलो सभ्यताका भन्दा दोस्रो सभ्यताका एलियनहरु करौडौ गुणा शक्तिशाली हुन सक्छन् । सबै भन्दा शक्तिशाली तेस्रो सभ्यताका एलियनहरु हुन्छन् जसले समग्र ग्यालेक्सिको उर्जा नियन्त्रण गर्न सक्छन् । यिनले व्ल्याक होलको उर्जा समेत दोहन गरी समग्र आकाशमा विचरण गर्न सक्छन् । एलियन सभ्यताका दाँजोमा हामी भने शून्य सभ्यतामा छौं । हाम्रो उर्जा खपत तेल, कोइला र सानो मात्रामा सौर्य उर्जा हुन् । तर गएका दशकहरुमा भएका इन्टरनेट जस्ता केही आबिस्कारहरुले हाम्रो सभ्यतालाई शून्यबाट पहिलो श्रेणीमा फड्को मार्ने संकेत गरेको छ ।


लामो समयदेखि नै एलियनहरु अज्ञात उडन तस्तरी (युएफओ) को रुपमा पृथ्बीमा आइरहन्छन् भन्ने एकथरी धारणा छ । स्वतन्त्र प्रत्यक्षदर्शीहरुको पटक पटकको दृश्यावलोकन र राडारको रेकर्ड समेतले यो धारणा सही होइन भन्न कठिन छ । सन १९८६ नोभेम्बर १७ तारिखका दिन पेरिसबाट जापानका लागि उडेको जापानिज् एयरलाइनको १६२८ नम्बरको उडानका चालक दलका सदस्यहरुले पूर्वी अलास्काको आकाशमा तिनवटा युएफओ देखेका थिए । उक्त घटनालाई पछि अमेरिकी संघीय उड्डयन विभागले १३ महिना लगाएर अध्ययन गरेको थियो । राडारको रेकर्ड र उच्च स्तरीय बैज्ञानिकहरु सम्मिलित अध्ययनले युएफओको अस्तित्वलाई सही सावित गरेको थियो । त्यस्तै सन १९८९ मा बेल्जियममा पनि युएफओ देखा परेको थियो जसलाई नाटो राडार र जेट इन्टरकोप्टरले रेकर्ड गरेको थियो भने इरानको तेहरानमा सन् १९७६ मा देखिएको युएफओले जेट प्लेनको सिस्टममा व्यापक गढबढी ल्याइदिएको थियो ।


टाढाबाट युएफओहरु देखिएता पनि बैज्ञानिकहरुले अहिलेसम्म पनि एलियनहरुको डिएनए, कम्प्युटर चिप वा भौतिक उपस्थिति भने फेला पारेका छैनन । तैपनि यो शताव्दिको अन्तसम्ममा एलियन सभ्यताको कुनै न कुनै ठोस संकेत प्राप्त गर्न सक्नेमा भने बैज्ञानिकहरु आशाबादी छन् । जुन परिघटना मानव जातिका लागि कोशेढुङ्गो सावित हुनेछ ।


– बोहोरा अमेरिकाको हन्ट्सभिलस्थित अलाबामा यूनिभसिर्टीका भौतिकशाश्त्री हुन् ।


प्रकाशित : मंसिर १०, २०७५ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?