कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बच्चा हुर्काउने हेक्का 

अधिकांश अभिभावक बालमनोविज्ञानका विषयमा अनभिज्ञ छन् । बालबालिका भगवान् भरोसामा हुर्किरहेका छन् ।
मधु राई

काठमाडौँ — सदाझैं यसपालिको दसैं–तिहारमा आफन्तसँग भेटघाट गर्ने अवसर जुर्‍यो । कतिपय आफन्तको घरमा स्कुल जाने उमेरका बालबालिकाले ठूलाले जस्तै घरधन्दामा सघाएको देख्दा मनै फुरुङ्गै भयो । घरपरिवारले भने उनीहरूलाई स्याबासी दिनुको साटो पाहुनाकै अगाडि ‘के गर्नु यिनीहरू पढाइमा खत्तम छन्’ भन्दा मनै चसक्क भयो ।

सोचेँ बिहानदेखि बेलुकीसम्म यसरी खप्की सुन्दै हुर्कने बालबालिकाप्रति घरपरिवार कति निर्दयी बन्नसकेका होलान् ।


कतिपय घरपरिवारमा हजुरआमा र हजुरबुबा र आमाबुबाले बिहानदेखि बेलुकीसम्म मदिरा सेवन गरेको देखेँ । त्यस्ता अभिभावक चाडबाडका बेला पाहुना लगायत छरछिमेकले थाहा पाउनेगरी नै पिउँछन् । गाउँघरको के कुरा, सहरका वडा र टोलहरूमा छ्यापछ्याप्ती मदिरा पसल खुलेका छन् ।


यस्ता पसलका नियमित ग्राहक अभिभावक नै हुन् । बेलुकीपिच्छे त्यस्ता पसल चहार्ने अभिभावक टोलछिमेकमा बग्रेल्ती । अझ कतिपयका अभिभावक स्वयं मदिरा बिक्रेता । छोराछोरीको जीवनशैलीमा यसले प्रत्यक्ष र परोक्ष रूपमा नकारात्मक असर परेको देखिन्छ ।


छोराछोरी हुर्काउँदा न्यूनतम जिम्मेवारीसमेत निर्वाह गर्न नसक्ने कतिपय यस्ता अभिभावक उल्टै भन्छन्, ‘अचेलको पढाइ नै खत्तम छ । खै के पढाउँछन्, शिक्षकहरूले ?’ भन्ने गर्छन् । हिजो आफ्नै दैनिकी र जीवनशैलीका कारण छोराछोरी पढ्न नसकेको र आज बेरोजगार भएको तथ्य यी अभिभावकले महसुस गर्नसकेका छैनन् । बालबालिकाहरूलाई अर्तिबुद्धि दिने निहुँमा उनीहरू कचकच मात्रै गर्छन् । मापसे गर्ने अभिभावकको दैनिकी र जीवनशैलीले बालबालिकाको वर्तमानमात्र हैन, भविष्य नै अन्योलग्रस्त बन्दैछ । मदिराकै कारण विकृति/विसंगति बढ्दैछ, समाजमा ।


कतिपय मापसे नगर्ने अभिभावकसमेत ‘खान दिएकै छु, लाउन दिएकै छु, तैपनि किन पढ्न नसकेका होलान्’ भन्दै विद्यालय र शिक्षकप्रति रोष प्रकट गर्छन् । छोराछोरी हुर्काउँदा कस्तो अभिभावकत्व प्रदान गर्नुपर्छ भन्ने विषयमा रत्तिभर चिन्तित देखिंँदैनन्, उनीहरू । के हुँदाखाने, के हुनेखाने अधिकांश अभिभावक बालमनोविज्ञानका विषयमा अनभिज्ञ भएकैले नेपाली समाजमा बालबालिका भगवान भरोसामा हुर्किरहेका छन् ।


पछिल्लो समय वैदेशिक रोजगारीले गर्दा कतिपय बालबालिका एकल अभिभावकको अभिभावकत्वमा हुर्किरहेका छन् । कतिपय आमाबाबु दुवै विदेशिएकाले हजुरआमा, हजुरबुबाको देखरेखमा हुर्कन बाध्य छन् । यस्ता कति कारणले बालविज्ञानका कुरा ओझेलमा परेको छ ।


विकसित मुलुकमा छोराछोरी कुट्ने अभिभावकलाई दण्ड–सजाय गरिन्छ । हकार्नसमेत हुँदैन । यसै दैनिकमा केहीअघि उपन्यासकार तथा ‘प्यारेन्टिङ पोडकास्ट’का सञ्चालक स्टिफेन मार्सेको ‘बच्चालाई हकार्नु हुँदैन’ भन्ने लेख प्रकाशित थियो । उनले आफ्नो लेखमा सन् २०१४ मा ‘द जर्नल अफ चाइल्ड डेभलपमेन्ट’मा प्रकाशित अध्ययनबारे लेखेका छन् ।


जसमा उनले शारीरिक दण्डले भन्दा गाली खाँदै हुर्केका बालबालिकामा दीर्घकालीन दुष्प्रभाव पर्छ भनेका छन् । बाल्यकालमा घरका ठूलाबडाले बालबालिकालाई उच्च स्वरमा गाली गर्दा उनीहरूमा नैराश्यता बढ्ने र यसले व्यक्तित्व विकासमा अवरोध पैदा गर्नेबारे अधिकांश नेपाली अभिभावक अनभिज्ञ देखिन्छन् ।


यस्तै के साक्षर, के शिक्षित र के गाउँ, के सहर, अधिकांश अभिभावक कस्तो व्यवहार गर्दा आफ्ना छोराछोरीको व्यक्तित्व विकास हुन्छ र पढाइप्रति रुचि जाग्छ भन्नेबारे चिन्तित देखिंँदैनन् । यसैको परिणाम पछिल्लो समय नेपाली समाजमा बाल अपराधका घटना चुलिएको छ । आफू हुर्कने वातावरण प्रतिकूल भएकै कारण बालबालिकामा मानसिक विचलन बढ्दैछ ।


छोराछोरी हुर्काउँदा न्यूनतम जिम्मेवारी बहन गर्न चुकेका अभिभावककै कारण स्कुले शिक्षा विद्यार्थीका लागि समय कटाउने मेलो बनेको छ । आफ्ना घरपरिवारमा सधैं ‘तेरो शिक्षकले के सिकाउँछ ?’ भन्ने गाली खाँदै हुर्केका बालबालिका कालान्तरमा बीचैमा पढाइ छाड्छन् । उनीहरूको बालमनमा शिक्षा र शिक्षकप्रति वितृष्णा जगाउने पहिलो काम आफ्नै अभिभावकले गरिरहेका छन् ।


विडम्बना † कसरी र कस्तो वातावरणमा हुर्काउँदा बालबालिका भविष्यको कर्णधार बन्न सक्छन् भन्ने विषयमा सरोकारवाल निकाय मौन देखिन्छन् । आफ्ना नागरिकलाई बालमैत्री व्यवहार अपनाउन सकेमात्र बालबालिकालाई भविष्यको कर्णधार बनाउन सकिन्छ भन्ने जनचेतना जगाउन तीनै तहका सरकार चुकेका छन् । बाल्यकालमा बालबालिकाले अभिभावकबाट बालमैत्री व्यवहार नपाएकै कारण युवा उमेरमा नैराश्यता बढ्दै गएको देखिन्छ । यसले उनीहरूलाई अन्तत: वैदेशिक शिक्षा र रोजगारीले आकर्षित गर्दै लगेको छ ।


सरकारी तथा गैरसरकारी संघ–संस्थाले बाल अधिकारको क्षेत्रमा काम गरिरहेका छन् । बाल अपराधको घटनामा भने कमी आएको देखिंँदैन । बालिका बलात्कारको घटनाले नेपाली समाजलाई पाषाण युगमा पुर्‍याएको छ । उदेकलाग्दो त यस्ता बाल अपराधलाई सामान्य घटनासरह सम्झने र दोषी उम्कने गरेकोले दण्डहीनता बढ्दै गएको छ ।


बालमैत्री घरपरिवार र समाजको परिकल्पना गर्ने कुरा असम्भवप्राय: देखिन्छ । तथापि केही पालिकालाई बालमैत्री बनाउन लागिपरेका देखिन्छन्, स्थानीय निकाय । यसमा विराटनगर महानगरपालिका अग्रपंक्तिमा पर्छ । तथापि बालमैत्री घोषणा गर्नुअघि नगरले के कस्तो मापदण्ड र पूर्वाधार तयार गर्‍यो भन्ने विषयमा अधिकांश नगरबासी अनभिज्ञ छन् ।


यस्तो घोषणा गरेर मात्र पुग्दैन, अभिभावकलाई बालमैत्री घरपरिवार बनाउन सरकारले अभिभावक शिक्षा कार्यक्रम पनि समानान्तर रूपमा लागु गर्नुपर्ने देखिन्छ । बालमैत्री घरपरिवारमा हुर्केका बालबालिकाले आफ्नो अधिकार उपभोग गर्न पाउँछन् ।


बाल्यावस्थामा बालअधिकार उपभोग गर्न पाउने बालबालिकालाई मानव अधिकारको पाठ सिकाइ रहनु पर्दैन । बाल अधिकार र मानव अधिकारबारे जानकार बालबालिकाले आफूहरूलाई देशको कर्णधार सम्झने वातावरण तयार हुन्छ । यस्तो वातावरण तयार गर्न अभिभावक र सरोकारवाला निकायले सारथीको भूमिका निर्वाह गर्न जरुरी छ । यसका लागि सरकारले वडा र टोलहरूमा बाल समूह गठन गर्न जरुरी छ ।


यस्ता समूहलाई समेत सहभागी गराई बालमैत्री वडा र टोल बनाउने हो भने बालमैत्री घरपरिवार बनाउन धेरै कुर्नु पर्दैन ।

प्रकाशित : मंसिर १५, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?