बच्चा हुर्काउने हेक्का 

अधिकांश अभिभावक बालमनोविज्ञानका विषयमा अनभिज्ञ छन् । बालबालिका भगवान् भरोसामा हुर्किरहेका छन् ।
मधु राई

काठमाडौँ — सदाझैं यसपालिको दसैं–तिहारमा आफन्तसँग भेटघाट गर्ने अवसर जुर्‍यो । कतिपय आफन्तको घरमा स्कुल जाने उमेरका बालबालिकाले ठूलाले जस्तै घरधन्दामा सघाएको देख्दा मनै फुरुङ्गै भयो । घरपरिवारले भने उनीहरूलाई स्याबासी दिनुको साटो पाहुनाकै अगाडि ‘के गर्नु यिनीहरू पढाइमा खत्तम छन्’ भन्दा मनै चसक्क भयो ।

सोचेँ बिहानदेखि बेलुकीसम्म यसरी खप्की सुन्दै हुर्कने बालबालिकाप्रति घरपरिवार कति निर्दयी बन्नसकेका होलान् ।

Citizen

कतिपय घरपरिवारमा हजुरआमा र हजुरबुबा र आमाबुबाले बिहानदेखि बेलुकीसम्म मदिरा सेवन गरेको देखेँ । त्यस्ता अभिभावक चाडबाडका बेला पाहुना लगायत छरछिमेकले थाहा पाउनेगरी नै पिउँछन् । गाउँघरको के कुरा, सहरका वडा र टोलहरूमा छ्यापछ्याप्ती मदिरा पसल खुलेका छन् ।

यस्ता पसलका नियमित ग्राहक अभिभावक नै हुन् । बेलुकीपिच्छे त्यस्ता पसल चहार्ने अभिभावक टोलछिमेकमा बग्रेल्ती । अझ कतिपयका अभिभावक स्वयं मदिरा बिक्रेता । छोराछोरीको जीवनशैलीमा यसले प्रत्यक्ष र परोक्ष रूपमा नकारात्मक असर परेको देखिन्छ ।

छोराछोरी हुर्काउँदा न्यूनतम जिम्मेवारीसमेत निर्वाह गर्न नसक्ने कतिपय यस्ता अभिभावक उल्टै भन्छन्, ‘अचेलको पढाइ नै खत्तम छ । खै के पढाउँछन्, शिक्षकहरूले ?’ भन्ने गर्छन् । हिजो आफ्नै दैनिकी र जीवनशैलीका कारण छोराछोरी पढ्न नसकेको र आज बेरोजगार भएको तथ्य यी अभिभावकले महसुस गर्नसकेका छैनन् । बालबालिकाहरूलाई अर्तिबुद्धि दिने निहुँमाउनीहरू कचकच मात्रै गर्छन् । मापसे गर्ने अभिभावकको दैनिकी र जीवनशैलीले बालबालिकाको वर्तमानमात्र हैन, भविष्य नै अन्योलग्रस्त बन्दैछ । मदिराकै कारण विकृति/विसंगति बढ्दैछ, समाजमा ।

कतिपय मापसे नगर्ने अभिभावकसमेत ‘खान दिएकै छु, लाउन दिएकै छु, तैपनि किन पढ्न नसकेका होलान्’ भन्दै विद्यालय र शिक्षकप्रति रोष प्रकट गर्छन् । छोराछोरी हुर्काउँदा कस्तो अभिभावकत्व प्रदान गर्नुपर्छ भन्ने विषयमा रत्तिभर चिन्तित देखिंँदैनन्, उनीहरू । के हुँदाखाने, के हुनेखाने अधिकांश अभिभावक बालमनोविज्ञानका विषयमा अनभिज्ञ भएकैले नेपाली समाजमा बालबालिका भगवान भरोसामा हुर्किरहेका छन् ।

पछिल्लो समय वैदेशिक रोजगारीले गर्दा कतिपय बालबालिका एकल अभिभावकको अभिभावकत्वमा हुर्किरहेका छन् । कतिपय आमाबाबु दुवै विदेशिएकाले हजुरआमा, हजुरबुबाको देखरेखमा हुर्कन बाध्य छन् । यस्ता कति कारणले बालविज्ञानका कुरा ओझेलमा परेको छ ।

विकसित मुलुकमा छोराछोरी कुट्ने अभिभावकलाई दण्ड–सजाय गरिन्छ । हकार्नसमेत हुँदैन । यसै दैनिकमा केहीअघि उपन्यासकार तथा ‘प्यारेन्टिङ पोडकास्ट’का सञ्चालक स्टिफेन मार्सेको ‘बच्चालाई हकार्नु हुँदैन’ भन्ने लेख प्रकाशित थियो । उनले आफ्नो लेखमा सन् २०१४ मा ‘द जर्नल अफ चाइल्ड डेभलपमेन्ट’मा प्रकाशित अध्ययनबारे लेखेका छन् ।

जसमा उनले शारीरिक दण्डले भन्दा गाली खाँदै हुर्केका बालबालिकामा दीर्घकालीन दुष्प्रभाव पर्छ भनेका छन् । बाल्यकालमा घरका ठूलाबडाले बालबालिकालाई उच्च स्वरमा गाली गर्दा उनीहरूमा नैराश्यता बढ्ने र यसले व्यक्तित्व विकासमा अवरोधपैदा गर्नेबारे अधिकांश नेपाली अभिभावकअनभिज्ञ देखिन्छन् ।

यस्तै के साक्षर, के शिक्षित र के गाउँ, के सहर, अधिकांश अभिभावक कस्तो व्यवहार गर्दा आफ्ना छोराछोरीको व्यक्तित्व विकास हुन्छ र पढाइप्रति रुचि जाग्छ भन्नेबारे चिन्तित देखिंँदैनन् । यसैको परिणाम पछिल्लो समय नेपाली समाजमा बाल अपराधका घटना चुलिएको छ । आफू हुर्कने वातावरण प्रतिकूल भएकै कारण बालबालिकामा मानसिक विचलन बढ्दैछ ।

छोराछोरी हुर्काउँदा न्यूनतम जिम्मेवारी बहन गर्न चुकेका अभिभावककै कारण स्कुले शिक्षा विद्यार्थीका लागि समय कटाउने मेलो बनेको छ । आफ्ना घरपरिवारमा सधैं ‘तेरो शिक्षकले के सिकाउँछ ?’ भन्ने गाली खाँदै हुर्केका बालबालिका कालान्तरमा बीचैमा पढाइ छाड्छन् । उनीहरूको बालमनमा शिक्षा र शिक्षकप्रति वितृष्णा जगाउने पहिलो काम आफ्नै अभिभावकले गरिरहेका छन् ।

विडम्बना † कसरी र कस्तो वातावरणमा हुर्काउँदा बालबालिका भविष्यको कर्णधार बन्न सक्छन् भन्ने विषयमा सरोकारवाल निकाय मौन देखिन्छन् । आफ्ना नागरिकलाई बालमैत्री व्यवहार अपनाउन सकेमात्र बालबालिकालाई भविष्यको कर्णधार बनाउन सकिन्छ भन्ने जनचेतना जगाउन तीनै तहका सरकार चुकेका छन् । बाल्यकालमा बालबालिकाले अभिभावकबाट बालमैत्री व्यवहार नपाएकै कारण युवा उमेरमा नैराश्यता बढ्दै गएको देखिन्छ । यसले उनीहरूलाई अन्तत: वैदेशिक शिक्षा र रोजगारीले आकर्षित गर्दै लगेको छ ।

सरकारी तथा गैरसरकारी संघ–संस्थाले बाल अधिकारको क्षेत्रमा काम गरिरहेका छन् । बाल अपराधको घटनामा भने कमी आएको देखिंँदैन । बालिका बलात्कारको घटनाले नेपाली समाजलाई पाषाण युगमा पुर्‍याएको छ । उदेकलाग्दो त यस्ता बाल अपराधलाई सामान्य घटनासरह सम्झने र दोषी उम्कने गरेकोले दण्डहीनता बढ्दै गएको छ ।

बालमैत्री घरपरिवार र समाजको परिकल्पना गर्ने कुरा असम्भवप्राय: देखिन्छ । तथापि केही पालिकालाई बालमैत्री बनाउन लागिपरेका देखिन्छन्, स्थानीय निकाय । यसमा विराटनगर महानगरपालिका अग्रपंक्तिमा पर्छ । तथापि बालमैत्री घोषणा गर्नुअघि नगरले के कस्तो मापदण्ड र पूर्वाधार तयार गर्‍यो भन्ने विषयमा अधिकांश नगरबासी अनभिज्ञ छन् ।

यस्तो घोषणा गरेर मात्र पुग्दैन, अभिभावकलाई बालमैत्री घरपरिवार बनाउन सरकारले अभिभावक शिक्षा कार्यक्रम पनि समानान्तर रूपमा लागु गर्नुपर्ने देखिन्छ । बालमैत्री घरपरिवारमा हुर्केका बालबालिकाले आफ्नो अधिकार उपभोग गर्न पाउँछन् ।

बाल्यावस्थामा बालअधिकार उपभोग गर्न पाउने बालबालिकालाई मानव अधिकारको पाठ सिकाइ रहनु पर्दैन । बाल अधिकार र मानव अधिकारबारे जानकार बालबालिकाले आफूहरूलाई देशको कर्णधार सम्झने वातावरण तयार हुन्छ । यस्तो वातावरण तयार गर्न अभिभावक र सरोकारवाला निकायले सारथीको भूमिका निर्वाह गर्न जरुरी छ । यसका लागि सरकारले वडा र टोलहरूमा बाल समूह गठन गर्न जरुरी छ ।

यस्ता समूहलाई समेत सहभागी गराई बालमैत्री वडा र टोल बनाउने हो भने बालमैत्री घरपरिवार बनाउन धेरै कुर्नु पर्दैन ।

प्रकाशित : मंसिर १५, २०७५ ०८:१५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मिटुलाई मनोबल

बहुसंख्यक पुरुष लेखकले मिटुबारे नलेख्दा पीडकको मनोबल बढ्ने निश्चितप्राय: छ । 
मधु राई

काठमाडौँ — केहीअघि पत्रकार उज्ज्वला महर्जन र काठमाडौं महानगरपालिकाका पूर्वकर्मचारी रश्मिला प्रजापतिले आफूहरू प्रदेश नम्बर ३ का पूर्व भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितबाट प्रताडित हुनुपरेको सार्वजनिक गरेका । त्यसबारे ‘द काठमाण्डु पोष्ट’ प्रथम पृष्ठमा मुख्य समाचार बनायो ।

‘कान्तिपुर दैनिक’ र ‘सेतोपाटी डटकम’ ले पनि स्थान दिए । विडम्बना भन्नुपर्छ, समाचार पढेर प्रतिक्रिया व्यक्त गर्ने पाठकको खडेरी पर्‍यो । अंग्रेजी दैनिकले प्राथमिकताकासाथ तस्बिरसहित छापेको आवरण पृष्ठको उक्त समाचारप्रति प्रतिक्रिया पठाउने जाँगर कसैले चलाएनन् । न्युज ट्वेन्टी फोर टेलिभिजनको ‘जनतासँग सिधा कुरा’ कार्यक्रम प्रस्तोता रवि लामिछानेले केशव स्थापितसँग उक्त विषयमा कुरा गरे पनि उनले चित्तबुझ्दो जवाफ दिएनन् ।

कछुवाको गतिमै भए पनि नेपाली सञ्चार माध्यमहरूले मिटु अभियानमार्फत पीडितको पीरमर्कालाई जनसमक्ष ल्याउने प्रयास गर्दैछन् । काठमाडौं पोष्टले पीडितहरूलाई आफूले भोगेका कुरा लेखिपठाउन आग्रह गर्दै छुट्टै ठेगानासमेत दिएको छ । तथापि यस सम्बन्धी जनचासो भने बढ्नसकेको छैन । केही समययता यस सम्बन्धी लेख–रचनाहरू छापिन थालेका छन् ।

पछिल्लो समय हलिउड र बलिउडका सेलिब्रेटीहरूले आफूले भोगेका यौनहिंसाका कुरा सार्वजनिक गर्दै ‘मिटु अर्थात म पनि’ भन्ने अभियान सञ्चालन गर्दै आएका छन् । यसै सन्दर्भमा अमेरिकी टेलिभिजनकर्मी ओप्रा विन्फ्रेले आफू नौ वर्षको उमेरदेखि बलात्कृत हुँदै आएको र चौध वर्षमा बच्चा जन्माएको सार्वजनिक गरेकी छिन् । आफूले भोगेको यौनहिंसा अरूले भोग्न नपरोस् भनेर ओप्राले आफ्नै नाममा फाउन्डेसन स्थापना गरी बालिका र महिला सशक्तीकरणको क्षेत्रमा काम गर्दै आएकी छन् ।

केही दिन अघिमात्रै बलिउड अभिनेत्री काजोलले पनि मिटुजस्ता अभियानले महिला विरुद्धको हिंसा न्यूनीकरण गर्न सहयोग पुग्नेभनी अभिव्यक्ति दिएकी थिइन् भने तनुश्री दत्तले एक दशकअघि नाना पाटेकरले यौन दुव्र्यवहार गरेको सार्वजनिक गरेकी छन् । हलिउड र बलिउडका अभिनेत्री लगायत कतिपय सेलिब्रेटीहरूले आफूले भोगेका यौन दुव्र्यवहार सार्वजनिक गर्नथाले पनि नेपाली अभिनेत्रीले आफूले भोगेका यौन दुव्र्यवहार अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।

हलिउड र बलिउडका अभिनेत्री लगायत सञ्चार जगतमा कार्यरत महिलाले भोगेका यौन उत्पीडनका कुरा मिटु अभियानमार्फत जनसमक्ष ल्याइरहे पनि नेपाली महिलाले आफूहरू यौनहिंसामा परेको कुरा जनसमक्ष ल्याउन दसपटक सोच्नुपर्छ ।

किनभने छ वर्षअघि पत्रकारिता गर्दा उज्ज्वला महर्जनले र १५ वर्षअघि काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मिला प्रजापतिले स्थापितद्वारा प्रताडित भएको जनसमक्ष ल्याउँदा उनीहरूको पक्षमा जनलहर आशा गरे अनुरूप ओर्लिएन । विकासप्रेमीका रूपमा धेरथोर नाम कमाएका स्थापितको विपक्षमा पुरुष लेखकले अहिलेसम्म कलम चलाउने आँट देखाएनन, बरु महिलाले यस सम्बन्धी लेखिरहेका छन् ।

पुरुष लेखकले मिटुलाई आफ्नो लेखनको विषय बनाउन नसक्दा यसले राष्ट्रिय बहसको रूप लिनसकेको छैन । बहुसंख्यक पुरुष लेखकले मिटुबारे नलेख्दा केशव स्थापितजस्ता व्यक्तिहरूको मनोबल बढ्ने निश्चितप्राय: छ । पीडकको मनोबल बढ्नु भनेको अर्की महिलाले फेरि उस्तै परिणति भोग्नु हो ।

मिटु अभियानले हलिउड र बलिउडका कतिपय ख्यातिप्राप्त पुरुष हस्तीको चरित्रमात्र उदाङ्गो पारेको छैन, यसले यौनहिंसा पीडितको आवाजलाई मुखरित बनाएको छ । यसरी यौनहिंसा पीडितले मिटु अभियानमार्फत आफ्ना पीडा व्यक्त गर्दा यसले कालान्तरमा परपीडक स्वभावका पुरुषहरूले दसपटक सोच्नुपर्ने वातावरण तयार हुन्छ र पीडितलाई न्याय दिलाउन र पीडकलाई दण्ड–सजायको भागिदार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

सूचना र प्रविधिका क्षेत्रमा नेपाल र नेपालीको पहुँच बढ्दै गए पनि यौनहिंसा पीडित महिलाका पीडालाई जनसमक्ष ल्याउन सहजीकरण गरिदिने सञ्चारकर्मी नगन्य छन् । स्थानीयको के कुरागर्ने मूलधारे प्रकाशन र प्रसारण गृहमा पुरुष सञ्चारकर्मीकै बोलवाला छ ।

यस्तो अवस्थामा पीडित महिलाले भोगेका यौनहिंसाका घटनाले प्राथमिकता पाउने सम्भावना कमै हुन्छ । यद्यपि यौनहिंसाका घटनामा कुनै बालिका वा महिलाको बलात्कार वा हत्या भए यसबारे समाचार छाप्न भने तिनै सञ्चार माध्यमहरूबीच प्रतिस्पर्धाचल्छ, कसले कति चाँडो पाठकलाई सुसूचित गर्ने भनेर ।

महिला हिंसाका घटना न्यूनीकरण गर्न हाम्रा सञ्चार माध्यमलगायत सूचना प्रविधिहरू महिलामैत्री बन्नसकेका छैनन् ।

अनेकौं जोखिम मोलेर यौनहिंसा पीडित महिलाले आफूले भोगेका पीडा जनसमक्ष ल्याएका हुन्छन् । तर यसले सामाजिक बहसको रूप लिन नसक्दा फेरि पनि पीडकहरू उम्कने र पीडितहरू सधैं अन्यायमा पर्ने सम्भावना प्रबल हुन्छ । यस्तो पीडा अहिले पत्रकार महर्जन र काठमाण्डु महानगरपालिकाकी पूर्वकर्मचारी प्रजापतिले भोग्दैछन् ।

पछिल्लो समय छापा र विद्युतीय सञ्चार माध्यमहरूमा मात्र हैन, सामाजिक सञ्जालमा समेत नगन्य मात्रामा भए पनि मिटुको अभियानले गति लिँंदैछ । तथापि जनस्तरसम्म उक्त अभियानलाई पुर्‍याउन सञ्चारकर्मीहरूले थप अध्ययन, अनुसन्धान गरी हिंसा पीडित महिलाहरूको मनोबल बढाउन जरुरी छ । यसका साथै मिटु अभियानलाई सरकारले पनि होस्टेमा हैंसे गर्न जरुरी छ ।

किनभने आफू मातहतका नेता, कार्यकर्ता वा मन्त्रीले यौन दुव्र्यवहार गरेको सञ्चार माध्यममा आइसकेपछि कम्तीमा यसबारे आवश्वयक छानबिन गर्न जरुरी छ । विडम्बना भन्नुपर्छ, समाज र देश विकास गर्ने जिम्मा लिएका स्थापित जस्ताको आचरण शुद्धीकरण गर्न सामान्य नसिहतसम्म दिने आँट नेपाल कम्युनिष्ट पार्टीले गर्न सकेको छैन ।

सरकारले आफू मातहतका नेता, कार्यकर्ता र मन्त्रीहरूको आचरण जनमैत्री भएमात्र विकासले गति लिन्छ भन्ने बिर्सेको देखिन्छ । किनभने जनप्रतिनिधिहरू विकासका संवाहक हुन् भने विकासप्रेमीजनता जन्माउने पहिलो कर्तव्य जनमैत्री सरकारको हो ।

प्रकाशित : मंसिर १, २०७५ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT