मञ्चमा खसेको उज्यालो

समय रेखा
हराउँदै गएका पशुपन्छी, मुहान सुक्तै गएका बस्ती र देशै छोडेर हिंँडिरहेका नरनारीका बिम्बले जितिसकेका बेला नाटकले के परिवर्तन ल्याउला ? 
अभि सुवेदी

काठमाडौँ — केही महिनाअघि अप्रत्यासित रूपमा चीनबाट एउटा निम्तो आयो । हाइनान प्रान्तको राजधानी हाइकोउ टापुमा हुने विश्वको सबभन्दा ठूलो नाट्यमहोत्सव मलाई सक्रिय सहभागी हुने निमन्त्रणा थियो । मलाई चीनका सांस्कृतिक संस्थाहरूबाट कहिलेकाहीं निमन्त्रणा आइबस्छन् ।

मञ्चमा खसेको उज्यालो

म तिनमा भाग लिन गएको छु र त्यहाँ आफ्ना कार्यपत्रहरू र बहसहरू राखेको छु । आएर लेखहरू लेखेर वा कक्षामा गएर पोस्टग्राजुअट तहका विद्यार्थीहरूलाई आफ्ना अनुभव भन्ने गरेको छु । मेरो यो एउटा अभ्यास नै भएको छ । अन्त गएको बेला पनि म त्यसै गर्छु ।


तर यसपालिको निम्तोले म किञ्चित चकित भएँ । विश्व नाट्य संस्था आईटीआइलाई यसको सत्तरीऔं वर्ष महोत्सव मनाओस् भनेर चीनले पुरै बोलाएको रहेछ । अरू पनि नाट्य समूह र नृत्य समूह साथै मजस्ता प्राज्ञिक कर्म गर्ने, नाटक लेख्ने र विश्वविद्यालयतिर ‘पर्फमिङ आर्ट्स’मा कक्षा प्रवचन गरिआउने र म्युजियमका मानिसहरू पनि बोलाएको रहेछ ।


अर्को अर्थमा भन्दा आजको अत्यन्तै जटिल चुनौतीपूर्ण युगमा नाट्य प्रस्तुति कलाले भोगेका र गर्नुपर्ने कर्मको बहस गर्न चीनले पुरै आर्थिक भार बोकेर बोलाएको यो भेलाले के देखाउँछ र एक स्वतन्त्र मानिसको हिसाबले हेर्दा मेरा हाइकोउमा कस्ता अनुभव भए, त्यसको विषयमा यो छोटो पत्र लेखिएको छ ।


हाइकोउमा पुगेपछि थाहा भयो, यो अत्यन्त स्वतन्त्र झन्डै अराजक अनि संस्थापनजनिन नरनारीहरूको भेला रहेछ । विश्वका १६० जना यस्ता मानक बोकेका र स्वतन्त्र तर ‘जिनियस’ नरनारीहरूको यो भेला बोलाएर चीनले एउटा अनौठो र चाखलाग्दो अभियान आरम्भ गरेको देखेंँ ।


यस विषयका बहसहरू अरू पनि नउठेका होइनन् । तर मूल विषय अब यस्ता ‘फ्रिक’ र विश्वमा प्रस्तुतिकलाका साधक र हिमायतीहरूले एक ठाउँमा आएर के कुरा गर्छन्, त्यसको प्रस्तुति गराउन विश्वका धनाढ्य राष्ट्रहरूलाई एक पैसाको पनि चासो नरहने अवस्था आयो ।


अलिअलि यसो संस्कृतिको संरक्षण गर्लान् जस्ता राष्ट्र र संस्थाहरूलाई केही गर न भन्दा ‘मेरी सीता देख्यौ ए सल्लाहरू हो’ भनेर रामले सोधनी गर्दा सल्लाहरूले दिएको ‘आफ्नै सल्ली सुसाएर मर्न लागेंँ, तेरी सीताकी खोज’ भन्ने उत्तरजस्तै बोली सुनिन्छ, आजकाल ।


अमेरिकाका राष्ट्रपतिले विश्वको सांस्कृतिक रक्षा र विकासको बहस अनुत्पादक हो भनेर युनेस्कोबाट अलग हुने घोषणा गरेपछि सङ्कटमा परेको युनोस्कोसँग नाम जोडेको नाट्य संस्थाको हालत झन् कस्तो होला ।


यस्तो सङ्कट परेको नाट्य संस्था आईटीआइलाई आऊ यहाँ बस भनेर सांघाईमा भव्य भवन दिने, यसका डाइरेक्टर जेनरल, उनका स्टाफलाई सुविधा तलब र अरू कामको निम्ति चाहिने कुराको सुविधा दिने, अनि पश्चिमी स्वतन्त्र राज्यहरूले स्वतन्त्र मञ्च, कला र अभिव्यक्तिका माध्यमको उत्थान र रक्षा गर्ने कुरा खोक्रा हुनलागेपछि त्यस अवस्थामा यस्ता संस्थालाई आर्थिक सहायता दिएर बचाउने, स्वतन्त्र प्राज्ञिक मानिस र साधकहरूलाई बोलाएर सभा र प्रस्तुति गराउने चीनको नीति अहिले एउटा ठूलो चाख र महत्त्वको विषय भएको छ ।


अमेरिकी विद्वान फरिद जकरियाले २६ अक्टोबर २०१७ को ‘वासिङगटन पोस्ट’मा लेखेका छन्, ‘चीनले अहिले इतिहास बनाउन लागेको छ । अमेरिकाले विचल्ली पारेका ठाउँमा यो पस्छ र सहयोगी हात बढाउँछ ।’ यो अर्कै लामो लेखको विषय हो ।


हाइकोउ सहरको विशाल विश्वविद्यालयको थलोमा नोभम्बर २२–२६, २०१८ मा भएको यो महोत्सवमा उठेका बहसहरूको मूल विषय अबको प्रस्तुति कला वा मञ्च के हो भन्ने थियो । विषय सोझै राख्नुपर्छ । आजको जटिल संसारको यथार्थ सामना गर्न, नाट्य प्रस्तुति जटिलतातिर नगएर सरलतातिर लाग्नुपर्ने किसिमको हुनुपर्छ ।


तर कुरा उठ्छ, के सजिलो विषय हासिल गर्नु सजिलो छ ? उत्तर हुन्छ, छैन । कुन देशको नाटक कस्तो हुनुपर्छ भनेर कसले निर्धारण गर्ने ? यसको उत्तर त्यही समाज र त्यही परिवेशको संस्कृति र साधकहरूले निर्णय गर्ने विषय हो । सेमिनार र छलफलमा रूसका विख्यात निर्देशक र गुरु आनातोली भासिलेभले राखेको विचार सरल सुनिए पनि गम्भीर थियो ।


नाटक खोज्न पहिले भित्र अन्तरमनमा जानुपर्छ, तर खोजिएको नाटक बाहिर हुन्छ । उनको भनाइ रूसी विख्यात गुरु स्तानिलाभ्स्कीको विचारको नजिक थियो । रूसी कवि पुस्किनका विचारको तिनले प्रयोग गरे । हाम्रा बोलीहरूमा नाटकको आधार हुन्छ । भित्री सिर्जनाले खोज्दा बाहिर भाषा र अभिनयमा भेटिएको विषय नाटक हो ।


प्यानेलमा बोल्ने चीन, इटली, सुडान, फिलिपिन्स, ग्रीस र अफ्रिकाका वक्ताले आजको युगमा नाटकले भोग्नुपरेको चुनौतीको विषयमा विचार राख्तै भने, नाटक र रङ्गमञ्चले ठूला कुरा नताकेर आफ्ना सहर, समुदाय र साना वृत्तहरूमा नाटकको प्रयोग गर्नुपर्छ भन्ने विचार राखे । मैले शरीर कसरी नाटकको भाषा हुन्छ भन्ने विषयको समूह छाने ।


मैले एमफिलमा विद्यार्थीहरूसँग पनि त्यही विषय गरिरहेकोले त्यसमा मेरो चाख छ । मैले अनुभवको आधार कुरा राखेंँ । शरीर आफैं पाठ हो । लेख्तै जाँदा यसले आफ्नो भाषा आफैं लिन्छ भन्ने मेरो धारणा हो । ‘मायादेवीका सपना’ नाटक नेपालमा द्वन्द्वकालको विषयमा लेख्ता मैले देहको धेरै प्रयोग गरेंँ । हात नभएको मानिस, युद्धमा परेका युवक, जन्मिने बित्तिकै पाइलैपिच्छे फूल छोड्दै हिँंड्ने गौतम, पछि बुद्ध, गाउँले निर्भीक वृद्ध महिलाहरूको पाठ तिनका देहले नै जन्माएका थिए, त्यो लेख्दा । मैले देहका सिद्धान्तको पनि चर्चा गरेँ ।


नाटक र रङ्गमञ्चको पाठ जीवन हो र त्यसका अनुभव जटिल नभई महत्त्वपूर्ण हुन्छन् । हाइकोउको यो नाट्य महाभेलाले उठाएका छलफलको सार जीवनका अनुभूतिको नजिक भएर नाटक गर्नुपर्छ भन्ने हो । एउटा उदाहरण लिन्छु ।


भर्खरै चन्द्र गुरुङले लेखेको ‘देश’ शीर्षकको कविता यही मंसिर ८ को ‘कोशेली’मा पढेंँ । कविलाई मैले चिनेको र पहिले पहिले पढेको जस्तो लागेन । तिनले आठ–नौवटा अनुच्छेदमा जीवन नाटकलाई देश रङ्गमञ्चमा राखेर कविता प्रस्तुत गरेका छन् । यस कविताले मलाई आकर्षित गर्‍यो ।


होर्डिङको परिवार नियोजनको साधन, नेताको सी ग्रेडको घोषणापत्र, भोजान्तरमा सुपारी खाएर मस्त थुकिहिँड्ने मानिस, जङ्घा बीचको चिलाउने खटिरा, दाउपेचका गोटी चाल्ने मानिस, अमूक गोप्य उद्देश्यको निम्ति डायरीमा लुकाएको गुलाब, कर्तुत गर्नेको भन्टाजत्रो नाक, अनि बाहिरबाट फर्किंदाको माटो स्पर्शको अनुभूति अनि हामी यथार्थ स्नेहालु पात्र सबै मिलेर बनिएको नाटक देश हो भन्ने यो राम्ररी लेखिएको कवितामा पाठ, मञ्च, देह र सम्वेदना अनि प्रत्येकमा क्रिया वा अभिनयद्वारा देश नाटकको कलेवर रचना भएको छ ।


बेर्टोल्ट ब्रेख्तको नाटक ‘मदर करेज’की पात्राले बुझेको समय र सहर वा देश नाटक भएझैं एउटा कविताले पनि नाटकको अनुभूति बोक्न सक्छ । भित्र पसेर खोजिने तर बाहिर साधारण बोलीमा रहेको यथार्थ नै नाटक हो भन्ने आनातोली भासिलेभको धारणा जीवनका अनुभव र झड्काहरूबाट हेर्नुपर्छ । हामी नेपालमा नाटक साधारण परिवेश र आफ्नै अनुभूतिमा खोज्छौं । एउटा नाटकको सजिलो चरित्रबाट शक्ति

बुझ्ने त्यो ठिक आधार हो ।


आजको संसार यही साधारण अनुभवको विरोधी छ । ठूलठूला जघन्य अपराध, हत्या, पृथ्वीको विनाश गरिरहेका जर्जर दावानल, विशाल समुद्री तुफान र हराउँदै गएका पशुपन्क्षी, बिना कुनै संकोच छेदन गरिने वनजङ्गलहरू, मुहान सुक्तै गएका बस्ती वा देशै छोडेर अज्ञाततिर हिँंडिरहेका हजारौं नरनारी, युद्धले भत्केका भवन, स्कुल, अस्पताल र घरका विम्बहरूले लगभग जितिसकेको विश्वमा नाटक गर्नेले के परिवर्तन ल्याउन सक्छ ? उत्तर छ, जीवनका सरल अनुभवहरूलाई मञ्चमा ल्याउनु नै एउटा शक्तिशाली कर्म हो ।


नेपालमा अहिले निकै बलिया दिग्भ्रमित घटनाक्रमले हामीलाई जित्दै लगेका छन् । हामी भोलि गएर साधारण भाषामा हामीलाई राख्न नसक्ने हुने अवस्थाबाट बाँच्न, हामी जीवन्त र स्वतन्त्र छौं भन्ने कुरा बुझ्न र बुझाउन सरल अनुभवका नाटकहरू गर्नुपर्छ । हाम्रा युवा नाट्यकर्मीहरू देख्ता मलाई ठूलो भरोसा र आशा लाग्छ ।


उनीहरूमा स्वतन्त्रता नाटक हो, विशाल र बलिया घटनावली र यथार्थले हामीलाई जित्नु हुँदैन भन्ने चेतना छ । अलिक नाटक र मुक्तिका विषयमा छलफल हुन्, निर्देशक र कलाकारहरूले अनि नाटक लेख्नेले अलिक बढी भेटुन्, स्वतन्त्र रहन मुस्किल हुँदै गएको हाम्रो यथार्थ बुझ्ने गम्भीर प्रयासहरू गरिउन्, कला, कविता, उपन्यास, चित्रकला, सामाजिक चेतनाहरू नाटकका विषय बनुन् भन्ने हामी सबैको समर्पण

भाव हुनुपर्छ ।


नाट्य मञ्च र प्रस्तुतिकलाका अनेकौं युग र धार प्रतिनिधित्व गर्नेहरूको जमघट मैले विश्वका निकै यस्ता कार्यक्रममा गए पनि यस्तो भेला यसअघि देखेको थिइन । यो मेरो जीवनको ठूलो अनुभव हो । यसबाट एउटा आशा पलाएको छ । शक्तिशालीहरूको द्वन्द्वमा पनि नाट्यमञ्च र प्रस्तुति कलाको महत्त्व नहराउनु भनेको मञ्चमा खसेको पृष्ठभूमिको उज्यालो हो, जुन शाश्वत छ ।

प्रकाशित : मंसिर १५, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?