सीतादर्शनको सार

सीता वैदिककालीन कृषियुगका प्रतिनिधि हुन् । अन्न उमार्ने पात्र, प्रविधि र प्रक्रिया पनि उनै हुन्, अन्न पनि उनै ।
कमल रिजाल

काठमाडौँ — मङ्सिर शुक्ल पञ्चमीलाई विवाह पञ्चमी भनिन्छ । पौराणिक ग्रन्थहरूका अनुसार यसै दिन त्रेतायुगीन अयोध्याका राजकुमार रामसित जनक नन्दिनी सीताको विवाह भएको थियो । त्यसैको निरन्तरतास्वरूप अहिलेसम्म यस दिन राम–जानकी विवाहका लागि अयोध्याबाट जन्ती आउने गर्छ ।

सीतादर्शनको सार

यस वर्ष जन्तीको प्रतिनिधित्व भारत उत्तर प्रदेशका मुख्यमन्त्री स्वामी आदित्यनाथले गर्ने खबर छ ।

वाल्मिकीय रामायणका अनुसार सीता राजर्षि जनककी छोरी हुन्, तर उनका आत्मजा भने होइनन् । राजा जनकले यज्ञका लागि सुनको हलोले जमिन उत्खनन गर्दा उनलाई भेट्टाएका थिए ।


भनिन्छ, हलोको सियोबाट प्रकट भएकीले उनको नाम सीता राखिएको हो । पौराणिक युगमा कुनै विशेष यज्ञ गर्नुपर्दा यज्ञस्थललाई सुनको हलोले जोतेर पवित्र पारिन्थ्यो ।


सीतालाई जानकी भनिन्छ, राजा जनकी छोरी भएकीले । उनको अर्को नाम वैदेही हो । श्रीमद्भागवतका अनुसार राजर्षि जनकको जन्म विदेह वंशमा भएको देखिन्छ । त्यसैको आधारमा उनको नाम वैदेही रहन गएको हो । भागवत अनुसार एकपटक गुरु वसिष्ठका श्रापका कारण सूर्यवंशी राजा निमीले देहमुक्त हुनुपरेको थियो ।


त्यसपछि ऋषिहरूले उनको शरीर मन्थन गरी एक कुमार उत्पन्न गरेका थिए, जसलाई जनक भनिन्थ्यो । विदेहबाट उत्पन्न भएकाले उनलाई वैदेह पनि भनियो । मन्थन क्रिया (आधुनिक कलोन प्रविधि) बाट उत्पन्न भएकाले उनलाई मिथिल पनि भन्ने गरिन्थ्यो । यिनले नै मिथिलापुरी बसाएका हुन् (भागवत ९।१३।१३) । उक्त मिथिलापुरी आधुनिक भूगोल अनुसार केही भाग नेपालमा र केही भाग भारतमा पर्छ । माता सीताको धर्मपिता राजर्षि जनक तिनै जनक वा मिथिलका वंशज हुन्, जसलाई शिरध्वज भनिन्छ (श्रीमद्भागवत ९।१३।१८) ।


सीताको उल्लेख ऋग्वेदमै भेटिन्छ, जसले तत्कालीन कृषियुगको प्रतिनिधित्व गरेको छ । ऋग्वेद चतुर्थ मण्डलको ५७ औं सूक्त पूर्णत: कृषिसित सम्बन्धित छ । कृषिसूक्त पनि भन्न सकिने यस सूक्तलाई महर्षि वामदेव गौतमले क्षेत्रपतिको सम्मानमा गाएका हुन्, जसमा आठ मन्त्र छन् । छैटौंं मन्त्रमा सीतासँग (हलोको सियोसँग) ऐश्वर्य प्राप्तिका लागि प्रार्थना गरिएको छ । सातौं मन्त्रमा इन्द्रदेवले राम्रोसित हलोको अनौं समातेर खेत जोतुन् र पुषादेवले राम्रोसित सिंचाइ व्यवस्था मिलाई धर्तीलाई खाद्यान्नले पूर्ण पारुन् भन्ने कामना छ ।


अथर्ववेदमा पनि सीताको चर्चा भेटिन्छ । यस वेदको तेस्रो काण्डको १७ औं सूक्तलाई कृषिसूक्त भनिन्छ । यस सूक्तका द्रष्टा ऋषि विश्वामित्र हुन् । उनले सीतालाई पुरै सूक्तका अधिष्ठातृ देवता मानेका छन् । नौवटा मन्त्र रहेको यस सूक्तको उद्देश्य असल कृषि फसलसित सम्बन्धित छ ।


उपनिषद् दर्शनमा पनि सीताको उल्लेख्य चर्चा पाइन्छ । तर यहाँसम्म आइपुग्दा सीता तत्त्व कृषि प्रविधिबाट उठेर विशिष्टतम उपाश्य देवीको रूपमा प्रस्तुत हुनपुगेको छ । सीताको नाममा एउटा सिङ्गै उपनिषद् ग्रन्थ छ– अथर्ववेदीय सीतोपनिषद् । यस अनुसार सीता मूल प्रकृति वा षडैश्वर्य सम्पन्न सृष्टिका मूल आधार मानिएकी छन् । यहाँ उनलाई तीन रूपमा अथ्र्याउने प्रयास भएका छन् ।


यिनमा प्रथम रूप शब्दब्रह्ममय हो, जसलाई बुद्धिको माध्यमबाट जान्न सकिन्छ । राजर्षि शिरध्वज जनकको यज्ञभूमिमा हलोको सियोबाट उत्पन्न भएको दोस्रो रूप हो भने तेस्रो रूप व्यक्ता–व्यक्तरूपा प्रकृतिलाई लिइएको छ ।


वैदिक संहिताहरू प्रागैतिहासिक युगका उपज हुन् । यहाँ तत्कालीन समाजसुधारक ऋषिमुनिहरूले समाजोपयोगी सबै खाले शिक्षा दिने काम गरेका छन् । कृषियुग पनि त्यति बेलातिरै सुरु भएको हो । मानिसले सामाजिक हुने क्रममा सर्वप्रथम अग्निको खोज गरेका छन् । ऋग्वेदमा अग्नि खोजकर्ता ऋषिहरूको लामै सूची भेटिन्छ । आगोको खोजपछि मात्र मानिसले पकाएर खान जानेका हुन् । त्यस अघि काँचै कोपर्ने गर्थे । सँगसँगै उनीहरूले आफूलाई फाइदा गर्ने जडीबुटी अनुसन्धानमा ध्यान दिंँदै गए ।


विस्तारै उनीहरूले उचित फसलका लागि मल र जल पनि चाहिने रहेछ भन्ने थाहा पाउँदै गए र सिंचाइ तथा पशुपालनमा ध्यान दिनथाले । वेदमा पशुविज्ञान, वनस्पति विज्ञान, जलविज्ञान, मौसम विज्ञान तथा सिंचाइ विज्ञान सम्बन्धी प्रशस्तै चर्चा भएका छन् ।


अनुसन्धानकै क्रममा अन्न उमार्न हलो, अनौ, जुवा, फाली आदि कृषि उपकरणको आवश्यकता महसुस हुनथालेकाले त्यसको विकासतिर पनि ध्यान दिनथाले । गाईलाई माताको रूपमा मानेर दूध र मल लिन थालियो । बाछीहरूले माउकै स्थान पाउँदै गए । बाछा जतिलाई हलोमा नारेर जोत्न थालियो । वैदिक मन्त्रहरूले गाईको पनि सम्मान गरेका छन्, गोरुको पनि ।


गोठको पनि सम्मान गरेका छन्, मल र जलको पनि प्रशंसा गरेका छन् । हलोको चर्चा पनि गरेका छन्, जुवा र फालीको चर्चा पनि । अन्नको पनि सम्मान गरेका छन्, दुवो, पीपल, अपामार्ग, डुम्री, सतावरी आदि वनस्पतिको पनि । कुटानी–पिसानीका साधन ओखल र मुसलको पनि नमन गरेका छन् । धागो (तन्तु) लाई पनि नमन गरेका छन् । अनि धागो कात्ने चर्खा आदि औद्योगिक उपकरणको पनि ।


भिन्न नाम र रूपमै सही औद्योगिक यन्त्र–उपकरणको अहिले पनि पूजा हुँदै आएको छ । जे होस्, द्यावाभूमि लगायत हावा, पानी, माटो, आगो, सूर्य, चन्द्र, ग्रह, नक्षेत्र, पहाड, पर्वत, वर्षा, बादल सबै वैदिककालीन देवता हुन् । वेदले प्रकृतिको भण्डारमा मानवीय हितकारक जेजति पदार्थ भेटेका छन्, सबैलाई देवता मानेर नमन गरेका छन्, गर्न लगाएका लगाएका छन् । सीता दर्शन यसैको एउटा उदाहरण हो ।


प्रागैतिहासिक कृषि प्रविधिसित सम्बन्धित सीतातत्त्व उपनिषद् युगमा आएर मूलप्रकृति, पराम्बा, जगज्जननी आदि रूपमा चित्रित हुनपुगेकी छन् । यस युगका हर्ता, कर्ता, धर्ता, भर्ता सबै उनी नै मानिएकी छन् ।


शौनकीय तन्त्रका अनुसार उनी सर्ववेदमयी, सर्वदेवमयी, सर्वलोकमयी, सर्वकीर्तिमयी, सर्वधर्ममयी, सर्वआधारभूता, कार्यकारणरूपा, आब्रह्म स्तम्भपर्यन्त सबैको आत्मभूता देवता, ऋषि, गन्धर्व, आदिका स्वरूपभूता, भूत, प्रेत, पिचास, असुर प्रभृति सबै प्राणीका शरीररूपा मानिएकी मात्र छैनन्, पञ्चमहाभूत, दस इन्द्रिय, मन एवं प्राणरूपा, समस्त विश्वरूपा आदि विभिन्न रूप र प्रकृतिमा चित्रित हुनसमेत पुगेकी छन् (कल्याण उपनिषद् अङ्क पृष्ठ ६५७) । इतिहास र पुराणले यसैलाई कथानक रूपमा सरल र सरस पार्ने काम गरेका हुन् ।


समग्रमा सीता वैदिककालीन कृषियुगका प्रतिनिधि हुन् । अन्न उमार्ने पात्र, प्रविधि र प्रक्रिया पनि उनै हुन्, अन्न पनि उनै हुन् । अनि यही अन्न नै सृष्टिको मूल आधार हुन्, जसलाई उपनिषद्ले ब्रह्म भनेको छ, गीताले यज्ञ ।

प्रकाशित : मंसिर २२, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?