३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हराएको नैतिकताको पानो

समाज शिक्षित बन्दै गएको छ । तर आचरण र नैतिकता बिर्सिइँदै छ ।
शान्ता मरासिनी

काठमाडौँ — महिलाको पीडा, कुण्ठा र आक्रोशका भाव झल्किने नारा बनाउँदै प्रत्येक वर्ष लैङ्गिक हैसा विरुद्ध १६ दिने अभियान सञ्चालन गरिन्छ । यस वर्ष पनि ‘महिला हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ नाराका साथ अभियान चलाइरहेका छौँ ।

यसरी कहिलेसम्म आवाज उठाइरहने ? समाजमा महिला हिंसा र बलात्कारका घटना घटिरहेका छन् । ती घटनाका विषयमा समाज, सरकार, प्रहरी प्रशासन र अदालत उति गम्भीर देखिँदैनन् । बलात्कार, महिला हिंसा के महिलाको मात्र सवाल हो ?


चार महिनाअघि कञ्चनपुरमा १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउनसकेको छैन । यो प्रकरणमा राज्यले यो र त्यो बहानामा अनुसन्धान जारी छ भन्दै आएको छ । यसले राज्यमा न्याय हराएको भान भएको छ ।


छिमेकी मुलुक भारतमा केही महिना अगाडि आफ्नै अनुयायी किशोरीलाई बलात्कार गरेको आरोपमा धर्मगुरु आशारामलाई भारतको जोधपुर अदालतले आजीवन कारावासको सजाय सुनायो । उनका दुई सहयोगीलाई २० वर्ष जेल सजाय तोकियो । भारतमै किशोरी बलात्कार र हत्याका घटनामा कमी नआएको, समाजमा छोरीहरूको सुरक्षा नभएको र अपराधीलाई कडा सजाय नदिइएको भन्ने आवाज टड्कारो बनेपछि १२ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने कानुन बनेको छ ।

राज्यशक्ति दुरुपयोग गरेर, नैतिकता गुमाएर वा आफन्तको शक्तिको आडम्बरमा कहिले बोक्सीको आरोपमा, कहिले दाइजो नल्याएको वा छोरा नजन्माएको भन्दै महिलामाथि हिंसा गरिन्छ । यस्तै धम्क्याएर वा प्रलोभनमा पारेर यौन शोषण हुने गरेका छन् । बन्धक बनाएर, समूहमा बलात्कार गरिएका दृष्टान्त छन् ।


बलात्कार गरिसकेपछि घटना सार्वजनिक हुने डरले हत्या गरिएका घटना थुप्रै छन् । कानुन कार्यान्वयन गराउने संयन्त्रहरूको लापरबाही र उदासीनता तथा राज्यशक्ति संरक्षणले अपराधीहरू उम्कने गरेको पनि देखिन्छन् । हिंसाका घटनालाई समाजमै मिलापत्र गराउनेहरू पनि छन् । यस्तो प्रवृत्तिले हिंसालाई नै प्रश्रय दिन्छ ।


कतिपय दर्शनशास्त्री समाजमा आपराधिक घटनामा वृद्धि हुँदै जानुका पछाडि समाजमा नैतिकताको ह्रास हुनुलाई कारण देख्छन् । उनीहरूका अनुसार विज्ञान र प्रविधिको गलत उपयोगले मान्छे नास्तिक बन्दै गएको छ । समाज शिक्षित बन्दै गएको छ, तर आचरण र नैतिकता बिर्सिइँदैछ । सदाचारिता, नैतिकता,

सत्चरित्र, सेवाभाव, न्यायशीलता, सत्यवादिता, भावसंवेदनात्मकता जस्ता गुण मानवका जीवनमूल्य हुन् । यिनै मूल्यको क्षयीकरणका कारण परिवार र समाज विकृत बन्दै गइरहेको छ ।


शासन र समाज दुवैमा नीति, नियम, आचरण, नैतिकता, आदर्श, सत्कर्म, नीति संहिता, सेवाभाव जस्ता मानव गुण कुण्ठित, अपहेलित र तिरस्कृत हुँदै गएका छन् । हामीले हाम्रा पूर्वीय दर्शनका मूल्य–मान्यता प्रधान संस्कृति, सेवा उपकार नै पुण्य हो, अरूलाई पीडा दिनु महापाप हो, सबैलाई आफूसमान ठान्नु र मान्नु जस्ता सहस्र कल्याणकारी उदघोषलाई हाम्रो जीवन पद्धति बनाई पुन:स्थापित गर्न जरुरी छ ।


समाजमा घटिरहेका लैङ्गिक हिंसा, हत्या र बलात्कारजन्य आपराधिक घटना नियन्त्रण र निर्मूल गर्न तत्काललाई चाहिने कानुनको प्रभावकारी कार्यान्वयन हो । दिगो बाटो भनेको सम्पूर्ण मानवको कल्याण हुने आचरण, नैतिकता र अनुशासन पालना हो । यसका लागि नैतिक शिक्षाको पैरवी र पठन–पाठन चाहिन्छ । राज्यले महिलाको राजनीतिक, शैक्षिक र आर्थिक सशक्तीकरण पनि गर्नुपर्छ ।

प्रकाशित : मंसिर २२, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?