कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

सोल्टी प्रवास

समिट सफल पार्न सोल्टी होटल प्रवास बसेका प्रधानमन्त्रीलाई सुशासन र नेतृत्व नभनी अरू उपाय सोची पुरस्कृत गरिएको भए यसरी कुरा काटिँदैनथे कि ?
भैरव रिसाल

काठमाडौँ — नेतृत्व र असल शासन भनेर हुन्छ कि गरेर ? यसबारे दुविधा या भ्रम भयो । यही १६ मंसिर २०७५ मंगलबार प्रधानमन्त्री के.पी. शर्मा ओलीले एउटा धर्मआबद्ध संस्थाकी विदेशी महामहिमको पावन करकमलबाट पारितोषिक ग्रहण गर्नुभएदेखि दिग्भ्रमित भएको हुँ ।

सोल्टी प्रवास

कहिलेदेखि आयो, हाम्रो नेपालमा सुशासन ? सोध्न मन छ । कि दक्षिण कोरियामा मुख्य कार्यालय रहेको युनिफिकेसन चर्चकी प्रमुख हक जा हानले सुशासन भनेपछि सुशासन भएको हो ? शासनको विशिष्ट ज्ञान भएकाहरूले प्रस्ट्याए ढुक्क हुन सकिन्थ्यो ।


सुशासनसँगै एउटा घटना जोडौँ । एसिया प्यासिफिक शीर्ष सम्मेलनमा सहभागी हुन ४५ मुलुकका १५ सय अतिथि आएका भन्दै सुशासन कायम राख्न ४ दिन जोर–विजोर प्रणालीमा यातायातका साधन चल्ने आदेश दियो, सरकारले । परन्तु जोर–विजोर लागु गरेको दिन जनताले साह्रै कष्ट खप्नुपर्‍यो ।


यातायातको भद्रगोलबाट आतंकित भए जनता । भोलिपल्ट १४ गते आधा दिनदेखि जोर–विजोर खारेज गर्न बाध्य भयो, सरकार । अर्को अनौठो कुरो ‘सम्माननीय’ प्रधानमन्त्रीले तीन दिनसम्म निवास छोडी सोल्टी होटलमै बिताउनु । प्रधानमन्त्री ओलीको होटल प्रवासलाई कूटनीतिक क्षेत्रले ‘आपत्तिजनक’ भन्ने टिप्पणी गर्‍यो ।


तर प्रधानमन्त्रीका वैदेशिक मामला सल्लाहकार डा. राजन भट्टराईले होटल प्रवासको औचित्य सावित गर्न ‘आवत–जावत’को समय बचाउन, सवारी आवागमनमा बाधा नदिन र अधिकतम देशका नेतालाई भेट्न उहाँ सोल्टी होटलमा बसेको भने । यो प्रसङ्ग यहाँ उठाउनको तात्पर्य ‘सुशासन छैन है’ भन्नु हो ।


१३ गते बिहीबार र १४ गते शुक्रबार काठमाडौं खाल्डोको यातायात क्षेत्रको भद्रगोल देख्ने र भोग्नेले के सुशासन छ भन्दा पत्याउँछन् ? यो समिट सफल पार्न सोल्टी होटल प्रवास गर्ने प्रधानमन्त्री ओलीलाई सुशासन र नेतृत्व नभनी अरू उपाय सोची पुरस्कृत गरिएको भए यसरी कुरा काटिँदैन थे कि बरु ?


विषय गम्भीर रहस्यपूर्ण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का माथिल्लै तहका वरिष्ठ नेता स्वनामधन्य माधवकुमार नेपाल पृष्ठभूमिमा मुख्य अभिभावक नै रहेछन् । उनकै पहलमा सरकार यो सम्मेलन नेपालमा गर्नदिन ६ महिनाअघि नै तयार भएको रहेछ ।


के–के घटना हुन्छन्, माधवजीकै अग्रसरतामा । युनिभर्सल पिस फेडरेसन नेपालका अध्यक्ष एकनाथ ढकालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री के.पी. ओलीसँग पनि भेट र सम्वाद गरेका थिए रे । माधवजीले त विरोधको वास्तै नगरी कार्यक्रममा सहभागी भएर होला ? होली वाइन पनि चाख्नु भएछ ।


यतिमात्र हो र ? कथित जिससकी छोरी हाक जा हान मुनबाट आशिर्वाद पनि लिनुभो रे । मुनले आफ्नो भाषणमा स्पष्टै भनिन्, म जिससकी छोरी हुँ । धर्मसँग गाँसिएका विषयमा विज्ञानलाई मिसाउन निको मान्दैनन्, धर्मभीरुहरू । उनले त यतिसम्म भन्न पनि बाँकी राखिनन्, ‘ममार्फत आशिर्वाद लिएन भने कुनै पनि क्रिस्चियन र कुनै पनि मानव ईश्वरको भक्त हुन सक्तैनन् ।’ अझ अगाडि बढेर भनिन्– मेरो आशिर्वाद ठाउँ–ठाउँमा गएर यो धर्मको प्रचार गर्नुपर्छ । किनकि आशिर्वाद एक–अर्कालाई बाँड्नुपर्छ ।


माधवजी र सरकारमार्फत तल्लो तहका जनप्रतिनिधिहरू पनि आमन्त्रित थिए । तर उनीहरूलाई निम्तोको उद्देश्यबारे खास कुरा थाहा रहेनछ । यो फेडरेसनका संस्थापक सङ म्युङ मुन होटल, सञ्चार माध्यममात्र होइन, साना हतियार उत्पादन कम्पनीहरूमा लगानी गरेको भन्ने चर्चा विश्वका कैयौं सञ्चार माध्यमले गरेका छन् ।


यस्तै स्रोतबाट आर्जित सम्पत्ति प्रयोग गरी आफू र आफ्नी श्रीमती हाक जा हान मुनलाई जिससले पठाएको साँच्चा–साँच्चिका पिता भनी प्रचार गरे । यस्तो नितान्त विवादास्पद संस्थाको ललाइ–फकाइमा के.पी. शर्मा ओलीजस्ता विलक्षण चतुर व्यक्तित्व कसरी गहिरोसँग गाँसिन पुगे । यो कम गम्भीर रहस्यपूर्ण छैन ।

विशिष्ट व्यक्तित्वहरूको दण्ड बैठक

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, जापानजस्ता देशमा विभिन्न स्वरूप चरित्र र नकारात्मक पृष्ठभूमिमा परिचित युनिभर्सल पिस फेडरेसनले नेपालमा कमालै गर्न सफल भयो । सिङ्गो राज्य संयन्त्र नै संलग्न भएजस्तो भो ।


प्रधानमन्त्री जस्तो कार्यकारी प्रमुख ओली तीन दिन होटलमै बसे । सुशासन र नेतृत्वको एक लाख डलरको पुरस्कार हात थापे । स्वर्णपदक गलामा थापे । यसरी विदेशीले दिने पुरस्कार तथा पदक ग्रहण गर्न संविधानले मर्यादित व्यवस्था गरेको छ । सँगसँगै संविधानले त नेपाल सरकारबाट स्वीकृति प्राप्त नगरी नेपालको कुनै पनि नागरिकले विदेशी सरकारबाट प्रदान गरिने उपाधि, सम्मान वा विभूषण ग्रहण गर्न हुँदैन भनी स्पष्ट भनेको छ । यहाँ विदेशी सरकार भनिएको छ ।


यो असल शासन पुरस्कार दिने कुनै सरकार होइन । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । युनिभर्सल पिस फेडरेसन भन्ने अपव्याख्या पनि गरिएला । साथै विभूषण ऐन २०६४ ले पनि स्वीकृत लिनैपर्ने भनिएको छ । त्यो पनि विभूषण समितिमार्फत भन्ने स्पष्ट किटानी छ । यस्तो स्पष्ट संविधानको एवं कानुनी व्यवस्था छँदाछँदै प्रधानमन्त्री ओलीले कसरी हात र गला थाप्नुभो वा थाप्न सक्नुभो, आश्चर्य लाग्छ ।


त्यतिमात्र हो र ! युनिफिकेसन चर्चको प्रशंसा र यो संस्थाकी प्रधान हाक जा हानको सम्मानमा नेपाल लगायत ४६ देशका उच्चपदस्थहरूले शिर निहुराउँदै यो एसिया प्यासिफिक समिटको १५ मंसिरमा उद्घाटन गरे । के भएर हो, नेपाली कांग्रेसले भने भाग लिएन ।


प्रमुख प्रतिपक्ष कांग्रेसले चर्चको प्रचारका लागि भनेर सहभागी नभएको भन्ने बाहिर आयो । धन्यवाद । सो उद्घाटन समारोहमा उपस्थित सम्पूर्ण सहभागीलाई म्याडम मुनका सामुन्ने उभ्याइएछ । त्यसरी उभिने विशिष्ट व्यक्तिमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सरकारका सचिवहरू, मेयर सम्मानित ओहदाधारी पनि रहेछन् ।


यस अतिरिक्त म्यान्मारकी आङसान सुकी, क्याम्बोडियाका प्रधानमन्त्री हुनसेनसमेत सात देशका राज्य/सरकार प्रमुख पनि रहेछन् । भारतीय जनता पार्टीका एकजना नेताले त हानलाई सम्बोधन गर्दै ‘उहाँ साक्षात शान्तिदूत हुनुहुन्छ । यो संसारलाई उहाँको जन्मले पवित्र पारेको छ ।


एकपल्ट हामी सबै उहाँको सम्मानमा उठौँ’ भनेछन् र सबैलाई उभ्याएछन् । यसरी विशिष्ट व्यक्तित्वहरूलाई दण्ड बैठकजस्तै गराइएछ । कत्रो शक्ति म्याडम मुनको । कत्रो निरीहता सहभागीहरूको ।


धेरैका आन्द्राभुँडी देखिए

म्याडम मुन हुन् को त वास्तवमा ? यो विषय पनि चाखलाग्दो रहेछ । मुन कोरियाली धार्मिक नेता सन म्युङ मुनकी पत्नी रहिछन् । सन् १९६३ मा १७ वर्षकी युवती हानसँग ४० वर्षे प्रौढ मुनले बिहे गरेछन् । यो दम्पतीले १४ सन्तान जन्माएछन् ।


कति धेरै ! ती मध्ये चारजना बितेछन् । १० सन्तान जीवितै छन् रे । ६ वर्षअघि सन् २०१२ मा मुन बितेछन् । तत्पश्चात दक्षिण कोरियाको युनिफिकेसन चर्चका अधिपति म्याडम मुन नै छन् । उनैले सो चर्चको सम्पूर्ण गतिविधि विश्वव्यापी रूपमा अघि बढाइरहेकी रहिछन् । उनको अनौठो दाबी रहेछ, ‘विश्वमा विभिन्न खालका हिंसा बढेकाले त्यसलाई रोक्न आफू पृथ्वीमा आएकी’ रे ।


उद्घाटन समारोहमा वक्ताले त हकको यति प्रशंसा गरे र भने, ‘उहाँको अनुहारको कान्ति हेर्नोस्, कस्तो चमक छ ।’ हानले सम्मेलनलाई सम्बोधन गर्दै सबैलाई आफूले भनेको मान्न आग्रह गर्दै त्यसो गर्दा कसैले दु:ख पाउँदैन भनिछन् । उपस्थित सबैलाई ईश्वरका प्यारा सन्तान घोषणा पनि गरिछन् । उपस्थित समुदायले करतलध्वनिको गडगडाहटले त्यो घोषणाको स्वागत पनि गरेछ ।


पूर्व प्रधानमन्त्री तथा कार्यक्रमको आमन्त्रण समितिका अध्यक्ष माधवकुमार नेपालले ‘म्याडम मु हामी सबैकी एकमात्र आमा हुनुहुन्छ भने’ भनी अखबारमा छापिएको छ । यो फेडरेसनको बहिखाता जति पल्टायो, उतिनै रहस्य उद्घाटित हुँदै जाने रहेछ । नेपाली राजनीतिक पार्टीका ठूला नेतामध्ये निकैजना विदेश भ्रमणको रोग लागेका छन् ।


युपिएफका नेपाल अध्यक्ष परिवार दलका प्रमुख एकनाथ ढकाल यो बेथा बुझ्ने र विदेश भ्रमणको तारतम्य मिलाउन विछट्टै सिपालु ठहरिएका छन् । उनी २०६९ जेठ मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सहकारी तथा गरिबी निवारण मन्त्री भए भने २०७२ असोजमा के.पी. शर्मा ओलीको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्री भए । यसरी राजनीतिक उचाइ पक्रन पनि सिपालु ।


गत जुलाईमा एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) का संस्थापक अध्यक्ष फिलिपिन्सका पूर्व सभामुख डी. भेनेसिया, युनिभर्सल पिस फेडरेसनका अध्यक्ष थोमस वाल्स सहितको समूह तस्बीरले पनि नेपाल कम्युनिष्ट पार्टीका चार नेतालाई त्यो सम्मेलनमा उतारेको छ । त्यसमा के.पी. शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल छ्याङ्गै चिनिनुहुन्छ ।


ठूला नेताहरूको चिना

जिससकी छोरी म्याडम मुनले जति नै ठूला आशिर्वाद दिए पनि र जति नै पावन जलले अभिषेक गरे पनि नेपाल कम्युनिष्ट पार्टीमा अहिलेसम्म मेघमात्र गर्जेको छ, चट्याङ परिसकेको छैन । चट्याङ नपरेसम्म स–साना रेक्टल स्केलका भूकम्प जानथालेका लक्षण राम्रो छैन ।


नेकपाका चतुर ठानिने केही नेता यसमा पँmसे । तर चतुर नदेखिने झलनाथ उम्किए । नारायणकाजी श्रेष्ठ यो मुद्दामा निकै अघि सन् २०१२ मै परराष्ट्र मन्त्री हुँदादेखि नै स्पष्ट रहेछन्, बँचे । नेकपाका अर्का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ पनि यो युपीएफको सुनामीबाट अन्त्यतिर आएर उम्किए ।


नारायणकाजी यो काण्डमा सबैभन्दा चोखा देखापरेका छन् । उनले जति ठूलो बोलीमा चिच्याए पनि सुहाउँछ । भीम रावल, घनश्याम भूसालहरूको बोलीको वजन पनि लरतरो हुँदैन । अरू नेताहरू खुल्न बाँकी छ । झलनाथले त यो युपीएफ काण्डलाई ‘नेकपाको सैद्धान्तिक मूल्य–मान्यता विपरीतका यस्ता गतिविधि सच्याउनुपर्छ’ भनेका छन् ।


सो सम्मेलन गलत भएकोले प्रधानमन्त्रीले आत्मालोचना गरेर भए पनि पार्टी र सरकारमाथि लागेको दाग हटाउनुपर्छ भनी स्पष्टै भनेका छन् । प्रचण्डको दाँत दुखेछ र उद्घाटन स्थलतर्फ नलागी अस्पतालतर्फ लागेछन् । आयोजकहरूको कुदृष्टि नपरोस् भनी दाँत दुखेको खबर भने गर्न भ्याएछन् । हाम्रा नेता यस्तोमा कम बाठा कहाँ छन् र ? यो मुद्दा नेकपाका विभिन्न फोरममा कडा रूपमा उठ्ने संकेत देखापरेको छ ।


शान्तिका निम्ति आयोजित प्रस्तुत सम्मेलनले शान्ति त जन्माएन । जिससकी छोरी र सम्मेलनका सहभागीहरूकी माता मुनको आशिर्वाद र पवित्र जलसेचन यसपाला कुठाउँमा परेजस्तो पूर्वाभास हुनथालेको छ । प्रधानमन्त्रीको सोल्टी प्रवास कतै महाभारतको अन्त्यमा यदुवंश नाश गर्ने मुसल

कदाचित नहोस्, नेकपाका निम्ति । ‘मान्छे ताक्छ मुडो, बन्चरो ताक्छ घुँडो’ भन्ने कथा होला बचाउनोस्, बुद्धि पुर्‍याउनोस् ।

प्रकाशित : मंसिर २२, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?