कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

राजदुतमाथि मानव तस्करीको आरोप : दोषीलाई कारवाही होस्

नारायण खड्का

अष्ट्रेलिया — करिब दुई वर्षअघि अष्ट्रेलियामा पहिलोपटक नेपाली महिला राजदुत बनेर आउने चर्चा चल्दा यहाँका अधिकांश नेपालीहरुले खुशी ब्यक्त गरेका थिए । नेपालजस्तो देशबाट अष्ट्रेलियामा कुनै महिला राजदुत भएर आएपछि कुटनीतिक सम्बन्ध अझ सुमधुर हुनका साथै यहाँका बिद्यार्थीका समस्याहरुको समेत गुनासो सुनवाई हुने विश्वास राखिएको थियो ।

राजदुतमाथि मानव तस्करीको आरोप : दोषीलाई कारवाही होस्

तर अहिले आफ्ना पुर्व कर्मचारीले लगाएको आरोपको छानविनको लागि नेपाल बोलाइएपछि यहाँका नेपालीहरुमा अन्यौलता छाएको छ ।


अष्ट्रेलियास्थित नेपाली राजदुत लक्की शेर्पाले रकम लिएको, आफुलाई पीडा दिएकोलगायतको आरोप उनकै पूर्व अर्दली बाङछु शेर्पाको छ । उनले कान्तिपुरसँगकै कुराकानीमा पनि आफ्नो आरोपप्रति अडान लिए । अर्कोतिर राजदुत शेर्पाले पनि आफुमाथि लागेको सबै आरोपको खण्डन गरेकी छन् । उनले कान्तिपुरसँगको कुराकानीमा बाङछुले दिएको सबै कागजपत्र झुठो भएको दाबी गरिन् । उनले आफुले आवश्यक स्थानमा आफुमाथि लागेको आरोपको खण्डन गर्ने बताएकी छन् । त्यसैले पनि हुनसक्छ अहिले उनी परराष्ट्र मन्त्रालयमा स्पष्टिकरण दिने प्रक्रियामा छिन् ।

राजदुत पद ब्यक्तिको नभएर दुई देशबीचको प्रतिष्ठा, कुटनीतिक, ब्यवसायिक, साँस्कृतिक सम्बन्धसँग जोडिएको हुन्छ । फेरि अष्ट्रेलियामा नेपाली बिद्यार्थीहरुको संख्या तेस्रो स्थानमा रहनुलेसमेत नेपाली राजदुतको महत्व अन्य देशको भन्दा भिन्न र फरक छ । अष्ट्रेलियामा नेपालको राजदुत रहन थालेको करिब १० वर्षको समयमै नेपाली राजदुतको बारेमा गम्भिर आरोप लगाइनुले नेपाल अष्ट्रेलियाको कुटनीतिक सम्बन्धमा नै असर पर्ने बिष्लेषण गरिएको छ । हुनपनि कुटनीतिक सम्बन्ध स्थापना भएको ६ दशक बढि समय बितिसकेको अवस्थमा पहिलोपटक आफ्ना राजदुतमाथि यस्तो गम्भिर आरोप लाग्दा यसको सत्यतथ्य छानविन गर्नु र दोषी जो भएपनि कारवाही गर्नु सरकारको दायित्व हुन्छ ।


अर्कोतिर, चार वर्षसम्म सांसद रहिसकेकी र करिब दुई वर्ष राजदुतको रुपमा काम गरिसकेकी उनलाई यस्तो गम्भिर आरोपको छानविनका लागि बोलाइसकेपछि अनुसन्धान गरेर सरकारले कि दोषी भनेर कारवाही गर्न सक्नुपर्छ नभए निर्दोष हो भने उनलाई क्षतिपुर्तीसहित ससम्मान काममा फर्काउनुपर्छ । यसले यहाँ नेपाल र नेपालीप्रतिको दृष्टिकोण अझ राम्रो बन्नेछ । तर छानविनका लागि भनेर बोलाईसकेपछि कुनै निष्कर्ष सरकारले दिन सकेन भने यसले दुई देशबीचको सम्बन्धमा राम्रो छाप छोड्नेछैन् ।


युरोपको एक संचार संस्थाका अष्ट्रेलियास्थित सम्वादादातको रुपमा क्यानबेरामा रहेर काम गर्ने सुबेल भण्डारीको अनुभवमा करिब दुई वर्षको कार्यकालमा शेर्पाले धेरै राम्रो काम गरेकी छिन् । उनी शेर्पाको यहाँस्थित विदेश मन्त्रालय, राजनीतिक नेताहरुका साथै कुटनीतिक समुदायमा राम्रो छाप रहेका कारणसमेत उनलाई मानव तस्करीको आरोपमा छानविनका लागि बोलाईसकेपछि आरोपको निर्क्यौल हुनुपर्ने बताउँछन् । मानव तस्करीको अपराध अष्ट्रेलियामा अत्यन्तै गम्भिर रुपमा लिइने भएकाले समेत आरोपकै भरमा आफ्ना राजदुतलाई छानविनका लागि बोलाइएपछि सत्यतथ्य पत्ता लगाएर यदी उनी निर्दोष भए दोषीमाथि कारवाहीको प्रक्रिया अघि बढाउनुपर्ने उनी बताउँछन् ।


आरोप लगाउने वाङ्छु शेर्पा अहिले अष्ट्रेलियामै छन् । उनले केही सञ्चारमाध्यमलाई आफु 'प्रोटेक्सन भिषा' मा रहेको बताइरहेपनि उनी प्रोटेक्सन भिषा आवेदन गर्दा निर्णय नहुञ्जेल दिइने 'ब्रिजिङ भिषा'मा रहेका हुन् । उनी अहिले पनि आफु पीडित भएको र सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारवाही हुने बताउँछन् । अर्कोतिर एक बिज्ञप्ति मार्फत दुतावासले वाङ्छु एक वर्षअघि नै दुतावासबाट भागेको र बहुमुल्य सामानसमेत चोरी गरेकाले कानुनी कारबाही भइरहेको बताएको छ । राजदुतमाथिको गम्भिर आरोप, आरोप लागेपछि छानविनका लागि नेपाल बोलाइनु, भइरहेको छानविनको प्रक्रिया प्रष्ट रुपमा सार्वजनिक नहुनुलगायतका फेरिएको सन्दर्भमा अष्ट्रेलियाका नेपालीहरु भने को दोषी वा निर्दोष बाहिर आओस् भन्ने चाहन्छन् । उनीहरु नेपाल सरकारको परराष्ट्र मन्त्रीका साथै सचिवहरु नै यस बिषयमा अग्रसर भएको समाचारहरु आइरहेका कारण सत्यतथ्य बाहिर आउने र दोषी जो भएपनि कारवाही हुने आशावादी छन् ।


अष्ट्रेलियालाई आफैमा राजनीतिक र कानुनी संस्कारको उदाहरणीय देश मानिन्छ । तीन हजार डलरको वाईन कसैबाट उपहार लिएकै कारण न्यु साउथ वेल्सका प्रिमियर ब्यारी ओफ्यारेलले राजीनामा दिएका थिए । त्यसैगरि पाँच हजार डलर (करिब ४ लाख रुपैयाँ) को हवाईजहाज चढेर खर्च गरेका कारण संसदकी सभामुख ब्राउनी बिसपले समेत राजीनामा दिएकी थिईन् । यस्तो देशमा नेपालको प्रतिनिधित्व गर्दै आएकी राजदुतमाथि लागेको गम्भिर आरोपका कारण छानविनका लागि बोलाइएपछि सत्यतथ्य वाहिर ल्याउने र त्यसको नतिजा जान्ने अधिकार यहाँका नेपालीहरुलाई छ ।

राजदुत लक्की यहाँको कुटनीतिक निकायमात्र नभएर सामाजिक रुपमा समेत चर्चित छिन् । उनको सक्रियता र लगनशिलताको यहाँका अधिकांश नेपालीहरु खुलेरै प्रशंसा गर्ने गर्छन् । उनले दुतावासको आफ्नै भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया सकेर भवन निर्माणको प्रक्रिया शुरु गरिरहेकी छिन् । यद्यपि उनी आफै आफुमाथि लागेको आरोपको खण्डन गर्न सम्बन्धित निकायमा पुगेका कारण सत्यता बाहिर आउने विश्वास लिन सकिन्छ र सरकारले पनि छानविन पछि दोषी जो भएपनि पहिचान गरि कारवाही प्रक्रिया अघि बढाउनेमा आशा गर्न सकिन्छ ।

प्रकाशित : मंसिर २५, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?