कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कठैबरी हामी !

बाहिरको आवाजसम्म नजाने र सुरक्षा घेराभित्र राखिएको राष्ट्रपतिलाई भट्टीले ‘डिस्टर्ब’ गर्ने तर देशभरका भट्टीका कारण प्रभावित जनस्वास्थ्य, घरेलु एवं सामाजिक हिंसातर्फ कसैको ध्यान जानु नपर्ने ?
लीला लुइटेल

काठमाडौँ — एउटा दैनिक पत्रिकामा काठमाडौं महानगरपालिकाले उपभोक्ता अधिकारकर्मी तथा खाद्य विभाग प्रमुखलाई समेत साथमा लिएर राष्ट्रपति भवन नजिकका भट्टी पसल बन्द गराउनाका लागि प्रयासरत रहेको आशयको समाचार पढेपछि अत्यन्त खुसी लाग्यो ।

हाम्रो समाजमा प्रचलित कतिपय धार्मिक तथा सांस्कृतिक पर्वमा मादक पदार्थको प्रयोग अनिवार्य मानिन्छ ।


आफ्ना कलिला लालाबालाको मुख मोसी अन्न कुहाएर तयार पारिएको मादक पदार्थ विभिन्न चाडपर्वमा सगुन तथा ईश्वरको प्रसादका निहुँमा प्रयोग गर्ने प्रचलन लामो समयदेखि हाम्रै समाजमा विद्यमान छ । यसले व्यक्तिको स्वास्थ्यमा हानि गर्छ भन्ने कुरा कसैलाई भनिरहनु पर्दैन । एकातिर हामी ठूलो धनराशिको खाद्यान्न आयात गर्न बाध्य छौं भने अर्कातिर कुनै कोणबाट पनि उपयुक्त नदेखिने मादक पदार्थका लागि अन्नको दुरुपयोग गरिरहेका छौं ।


मादक पदार्थको सेवनले अधिकांश पारिवारिक तथा सामाजिक सम्बन्धमा धमिरा लागेको दृश्य हाम्रै आँखाअगाडि छ । यसरी सगुन तथा प्रसादका निहुँमा शरीर र चेतनाले नै थेग्न नसकी आफूलाई सम्हाल्न नसक्दा पारिवारिक र सामाजिक सम्बन्ध त कहाँ पुग्छ कहाँ, यसको प्रभावले दुर्घटना एवं झैझगडा भई व्यक्तिको ज्यानै गएको घटना हामीले देखे–सुनेका र भोगेका छैनौं र ?


अझ अर्काे कुरा यस्ता घरेलु मादक पदार्थ बनाउन अचेल त झन् युरिया मलको प्रयोग हुने कुरा पनि हामीले देखे–सुनेकै छौं । युरिया मलको सेवनले व्यक्तिको स्वास्थ्यलाई के कस्तो हानि गर्न सक्छ भन्ने कसैलाई पनि बुझाउनु पर्दैन होला ।


मादक पदार्थको सेवनलाई धार्मिक एवं सांस्कृतिक प्रचलनका रूपमा व्याख्या विश्लेषण गर्ने ठूलो जमात हाम्रै समाजमा छ । कुनै बेला सामाजिक तथा पारम्परिक संस्कारकै रूपमा रहेका सतीप्रथा तथा धर्मका नाममा रजस्वला हुनुपूर्व नै कन्यादान गर्ने वा बालविवाह गरिदिने प्रचलन उन्मूलन गर्ने पनि हामी नै हौं ।


पतिको अवसानपश्चात् पत्नीलाई रातो रङ्गबाट वञ्चित गरिने सामाजिक व्यवस्थाको विरोध अभियान आंशिक रूपमा भए पनि सफल हुँदै गएको छ । पतिको मृत्युपछि पनि रातो रङ्गको प्रयोग अभियानमा उत्साहपूर्वक साथ दिएर देशका विभिन्न भागका दिदीबहिनीले सामाजिक तथा पारम्परिक संस्कारकै रूपमा रहेको यस प्रचलनलाई चुनौती दिएर बढिरहेको हामीले देखिरहेका छौं ।


अर्कातिर जन्मदाता आमाबाबुका लागि १३ दिन नसकेर काजकिरिया कति दिन गर्ने भन्ने विचार विमर्श भई यसका लागि कतिपय समाज सुधारक यसको विधि निर्माणतर्फ लागिरहेको सर्वविदितै छ । जन्मदाताका लागि १३ दिन समर्पण गर्न विवाद झिक्ने हामी बहादुरहरू व्यक्ति, समाज एवं देशलाई नै प्रत्यक्ष रूपमा हानि पुर्‍याउने मादक पदार्थको प्रयोग ईश्वरको प्रसाद एवं सगुनका निहुँमा प्रयोग गर्ने कुप्रचलनको खुलेर विरोध गर्न किन सक्तैनौं ?


एक्काईसौं शताब्दीको विद्युतीय सञ्चारको युगमा आइपुगेका हामीले अब पनि यस्ता कुसंस्कार त्याग्ने बेला भइसकेको छैन र ? यसरी अनेक खाले परिवर्तन गर्ने प्रयास भइरहेका बेला कुनै पनि कोणबाट सकारात्मक रूपमा लिन नसकिने यस्ता क्रियाकलापलाई कुसंस्कार भन्ने हिम्मत हामी कसैले किन गर्न नसकेको ?


हाम्रा अधिकांश सडक दुर्घटना चालकले गरेको मादक पदार्थको सेवनका कारण हुने गरेको तथ्य सर्वविदितै छ । राजमार्गमा रहेका भट्टीहरू मात्र बन्द गर्न सकियो भने हरेक दिन भइरहेका दुर्घटनामा कमी हुने घामजत्तिकै छर्लङ्ग छ । प्रमुख राजमार्ग एवं देशैभरि छरिएर रहेका अवैध भट्टीहरू बन्द गराउन खासै खर्च लाग्ने स्थिति देखिँदैन ।


कडा कानुनको निर्माण गरेर एउटा परिपत्र मात्र गरिदिए पनि यसलाई समाप्त गर्न सकिन्थ्यो भन्ने उदाहरण छिमेकी देशको नेपालसँगै सिमाना जोडिएको एउटा राज्यले गरेको जानकारी सबैलाई हुनुपर्ने हो । यदि तुरुन्तै निमिट्यान्नै नभए पनि धेरै हदसम्म त कमी हुन्थ्यो होला नि ।


अर्काेतर्फ कानुनै बनाएर मादक पदार्थलाई बन्देज लगाउने हो भने ‘मापसे’ जाँच गर्न तथा अवैध मादक पदार्थ नियन्त्रणमा लिएर नष्ट गर्नाका लागि खटाइने सुरक्षाकर्मीको ठूलो हिस्सा जनहितका अरू नै क्रियाकलापमा उपयोग गर्न सकिन्थ्यो कि ?


अहिले पारपाचुके भइरहेका अधिकांश घटनामा लोग्नेले दिन–रात मादक पदार्थ खाएर कुटपिट गरेको, पैतृक सम्पत्ति स्वाहा पारेर परिवारलाई सडकमा पुग्न बाध्य बनाएको जस्ता कारण नै प्रमुख रूपमा जिम्मेवार रहेका देखिन्छन् । सम्पूर्ण देशभरि यस्तो स्थिति विद्यमान रहेको जनप्रतिनिधि भनिएका अहिले सत्तासीनहरूलाई थाहा नभएकै हो त ?


मादक पदार्थको सन्दर्भका माध्यमबाट यहाँ उठाउन खोजिएको प्रश्न हामी कहिलेसम्म सत्तासीनमुखी भइरहने भन्ने हो । बाहिरको आवाजसमेत नजाने अनि निर्बाध रूपमा सर्वसाधारण सडकमा

हिँड्नसमेत नपाउने ठाउँमा राष्ट्रको ठूलो रकम खर्चेर सुरक्षा घेराभित्र राखिएको राष्ट्रपतिलाई चाहिँ भट्टीले डिस्टर्ब गर्ने तर देशभर रहेका भट्टीका कारण प्रभावित जनस्वास्थ्य, आर्थिक दुरुपयोग, पारिवारिक विघटन, घरेलु एवं सामाजिक हिंसातर्फचाहिँ कसैको ध्यान जानु नपर्ने ?


एक्काईसौं शताब्दीको मानवअधिकारप्रति प्रतिबद्ध जनवादी सरकारको वर्चस्व रहेका बेला पनि सत्तासीनकै सजिलो एवं सुविधाका लागि राज्यको संयन्त्र लागिपर्नुपर्ने तर खासै खर्च नलाग्ने एउटा परिपत्रका भरमा काम हुने सन्दर्भका लागि कसैको ध्यान नजाने ?

कठैबरी हामी !

प्रकाशित : मंसिर २९, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?