प्रेमाप्रति प्रेम

प्रेमाका साहित्यिक लेखनमा मुख्य रूपमा यौन मनोविज्ञानवाद, विसंगतिवाद र नारीवाद गरी तीनवटा प्रवृत्ति स्पष्ट रूपमा देखा पर्छन् ।
ज्ञानु अधिकारी

काठमाडौँ — प्रेमा शाहको भौतिक शरीर ठिक एक वर्ष पहिले यो संसारबाट विदा भए पनि युगौँसम्म सम्झिरहनका लागि उनले नेपाली साहित्यमा अमूल्य कृति छाडेर गएकी छन् । प्रचार र प्रशंसाबाजीको साहित्यिक दुनियाँमा प्रेमा शाह फरक किसिमको नाम हो ।

प्रेमाप्रति प्रेम

उनलाई ‘पहेँलो गुलाफ’ र ‘लोग्ने’ कथामा मात्र खुम्च्याएर मूल्याङ्कन गरिनु पक्कै पनि उनको साहित्यकार व्यक्तित्वमाथि गरिएको अन्याय हो । बाल साहित्यको पाटो छाडेर पनि उनका पहेँलो गुलाफ (२०२३) र विषयान्तर (२०२८) कथासङ्ग्रह, मम्मी (२०४०) उपन्यास प्रकाशित छन् ।


यस बाहेक यिनको ‘आकाश विभाजित छ’ (सहलेखन, २०३२) उपन्यास पनि प्रकाशित छ । दसजना सहित्यकारको संयुक्त लेखनमा प्रकाशित भएको उक्त उपन्यासको अन्तिम खण्ड प्रेमा शाहद्वारा लेखिएको थियो र उपन्यासको यो अंश २०३० को ‘रूपरेखा’ पत्रिकामा प्रकाशित भएको थियो ।


यौन मनोविज्ञान, अस्तित्ववाद, विसङ्गतिवाद र नारीवाद जस्ता अवधारणालाई केन्द्र बनाएर निर्भीक कथा लेख्ने शाहले यस प्रकारको सशक्त लेखनलाई निरन्तरता दिन किन चाहिनन् (?) यो पक्ष सधैं अस्पष्ट रह्यो । उनी पछिल्लो समय भने बालसाहित्य क्षेत्रमा क्रियाशील रहिन् ।


नवीन चेतना, युगबोध र सशक्त अभिव्यक्तिसाथ सचेत रूपमा लेखन कार्यमा लागेकी प्रेमा न आफू विज्ञापित हुन चाहिन्, नत नेपाली साहित्य क्षेत्रबाट कुनै अपेक्षा गरिन् । ‘एउटै धार र प्रवृत्तिका बासी कुरामात्रै लेख्ने’ भनी आरोप लगाउने आलोचकले प्रेमाको यथोचित मूल्याङ्कन गर्नसकेका छैनन् । प्रेमा शाह नेपाली साहित्यमा पृथक् पहिचानका साथ उपस्थित स्रष्टा हुन् ।


बीसको दशकताका नेपाली साहित्यमा हस्तक्षेपकारी उपस्थिति देखाएकी शाह साहित्यिक संगतमा आउन नचाहने पात्र हुन् । विज्ञापित हुन नचाहने र अन्तरमुखी स्वभावकी उनी केवल आफ्ना साहित्यिक कृतिका माध्यमबाट मात्र यस क्षेत्रमा परिचित छिन् । त्यसकारण पनि हुनसक्छ— उनको समग्र साहित्यिक व्यक्तित्वको अध्ययन, विश्लेषण र मूल्याङ्कन पर्याप्त रूपमा भएको देखिँदैन ।


प्रेमाका साहित्यिक लेखनमा मुख्य रूपमा यौन मनोविज्ञानवाद, विसङ्गतिवाद र नारीवाद गरी तीनवटा प्रवृत्तिहरू स्पष्ट रूपमा देखापर्छन् । यसमध्ये नेपाली साहित्यमा उनको मूल्याङ्कन यौन मनोविज्ञानवादी कथाकारका रूपमा मात्र गरिएको छ ।


सैद्धान्तिक रूपमा नारीवादलाई पछ्याएर नलेखे पनि उनका आख्यानमा नारीवादी मान्यता स्थापित भएका देखिन्छन् । उनको मम्मी उपन्यासमा नारी अस्तित्व र अहम्लाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । उनको कथायात्राको समयावधि २०१८ देखि २०२८ सम्मको दस वर्षलाई हेर्दा दुई चरण देखापर्छन् । उनको ‘विषयान्तर’ कथा सङ्ग्रहमा विसङ्गतिवादी, अस्तित्ववादी तथा शून्यवादी चिन्तनको प्रभाव पाइन्छ ।


सहरिया परिवेश, सम्भ्रान्त परिवार, महलका सजिसजाउ कोठा, साजसज्जा र तीभित्र कुण्ठाले जलेका र निस्सारताको बोधले छट्पटाएका मानिसहरूको जीवन भोगाइलाई प्रस्तुत गर्न रुचाउने शाहका आख्यानमा काव्यिक भाषाको प्रस्तुति पाइन्छ ।


छोटा वाक्य, गहन अभिव्यक्ति, प्रतीकात्मक र विम्बात्मक भाषाशैलीका कारण उनका रचना शैलीगत दृष्टिले पनि विशिष्ट देखिन्छ । बीसकै दशकमा लेखिएका यिनका नारीपरक कथामा नारी विलौना, दुखेसोको एकोहोरो वर्णन पाइँदैन ।


बाँच्नु आफैंमा सबैभन्दा जटिल, सबैभन्दा यन्त्रणा र सबैभन्दा निस्सार कार्य हो भन्ने कुरा प्रस्तुत गर्दै उनले आफ्ना रचनाहरूमा मानिसको जीवनलाई अन्त्यहीन समयको वेगमा देखापरेको पानीको फोकाका रूपमा चित्रण गरेकी छन् ।


प्रेमा शाहको साहित्यिक यात्रा २०१६ को ‘शारदा’ पत्रिकामा प्रकाशित ‘दुई कविता’बाट आरम्भ भएको हो । उनको भने शारदामै कथा प्रकाशित भएपछि अघि बढेको देखिन्छ । प्रेमाको साहित्यिक यात्रामा उनको सक्रिय उपस्थिति भने सुरुको दुई दशकमात्र रह्यो । कविता विधाबाट प्रारम्भ भएको उनको लेखनयात्रा कथा, उपन्यास, एकाङ्की, निबन्ध तथा बालसाहित्य हुँदै अघि बढे पनि उनको विशेष योगदान र सक्रियता भने आख्यान विधामा देखिन्छ ।


आजसम्म पनि प्रेमाको समग्र साहित्यिक कृतिको गहन अध्ययन र विश्लेषण गरी कृतिका दार्शनिक, यथार्थ पक्ष तथा अन्य छोपिएका र प्रकाशमा नआएका पक्षमा लेखिएको देखिँदैन । यसकारण पनि उनी सिर्जना जगत्बाट पलायन भएकी हुन सक्छिन् ।


नेपाली साहित्यमा परम्परित लेखनका मान्यताबाट माथि उठेर नवीन सोच र चेतनाबाट प्रेरित भई सशक्त कलम चलाउने प्रेमा पारिजातपछिको प्रतिभाशाली र विशिष्ट नारी स्रष्टा हुन् । पाश्चात्य र हिन्दी साहित्यबाट प्रभावित यिनका कथाको परिवेश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भूगोलसम्म फैलिएको देखिन्छ ।


प्रेमा शाहजस्तो गहन र बौद्धिक कृति दिएर ओजपूर्ण उपस्थिति देखाउने साहित्यकार नेपाली साहित्यको इतिहासमा धुमिल बन्दै गएको स्थिति आफैंमा दु:खपूर्ण छ । पाश्चात्यवादको प्रभाव नेपाली साहित्यमा तीव्रतर हुँदै गइरहेको समयमा आफ्ना सशक्त कथाका साथ देखापरेकी प्रेमा परिमाणात्मक रूपमा थोरै लेख्ने तर बौद्धिक र सशक्त सिर्जना लेख्ने साहित्यकार हुन् ।


नेपाली साहित्यले यदि उनको साहित्यिक योगदानको मूल्याङ्कन नगर्ने हो भने एक प्रतिभाशाली र स्वाभिमानी स्रष्टाको छवि नेपाली साहित्यमा धुमिल बन्दै जाने स्थिति देखिन्छ ।

प्रकाशित : पुस ७, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?