कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सत्ताको चुट्किला 

सिउँडी
सरकारले प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा सतत ‘सत्ताको चुट्किुला’ प्रवाहित गरिरहेकाले हाँसोको प्रस्फुटन भइरहेको हो । 
विमल निभा

काठमाडौँ — केही समयका लागि म सपत्नी नेपाल बाहिर थिएँ । यसलाई स्पष्ट शब्दमा भन्ने हो भने पत्नी रिता श्रेष्ठका साथ छोरा प्रथमकृष्ण श्रेष्ठ र बुहारी आस्था अधिकारीकहाँ । अर्थात सुदूर मुलुक क्यानाडाको मेनिटोबा राज्यस्थित सहर विनिपेग ।

सत्ताको चुट्किला 

त्यहाँ झन्डै अर्धसंवत्सर सकाएर फिरेपछि प्रथमत: मैले नेपाललाई नै भेट्न खोजेंँ । यो अकारण होइन । किनभने म देश नेपाललाई छाडेर गएको थिएँ नि !


‘हल्लो नेपाल ।’ (अलिकति लवज फेरिएछ) ।

यसको समुचित उत्तर पनि यस्तै हाय र हल्लोमा हुनुपथ्र्याे । तर मेरो अनुमानको सर्वथा उल्टो मेरो देश नेपाल त हाँस्न पो थाल्यो ।


(हलुका र उच्च ध्वनिको अवरोह र आरोहसहित) । यसले म केहीबेर चकितावस्थामा रहेंँ । त्यसपछि निधार खुम्च्याएर सोच्न थालेंँ– यो के हो हँ ? यसको दुई कारण हुनसक्छ । एक, मेरो अलिक समयको अनुपस्थितिमा नेपालमा अभूतपूर्व सुख–चैनको स्थापना भएको छ । यसैको स्वाभाविक परिणामस्वरूप यस्तो हाँस्नुपर्ने स्थिति विद्यमान छ ।


र यसरी हाँस्नु भनेको पीडाजनक रुनुको विपरीतावस्था होइन र ? यो त शुभ हो नि ! म उत्साहपूर्वक अरू घोरिएँ । हेर्नाेस्, म नेपालबाट बाहिरिँंदा यहाँ दुई तिहाइको सरकार थियो । नेकपा एमाले र नेकपा माओवादीको युगल रूप नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबल सरकार ।


यही सरकारले कमरेड खड्गप्रसाद शर्मा ओलीको प्रधानमन्त्रीत्वमा बृहत्तर जनपक्षीय कार्य तीव्रतापूर्वक सम्पन्न गरेकोले यस्तो आनन्ददायक हाँसोको वातावरण बनेको हो कि ? र दोस्रो कारण के भने वर्तमान प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले कुनै हास्यास्पद...। (छाड्नोस्, केही जटिलतातर्फ मोडिएकोले म अर्कै प्रकारले लेख्ने प्रयत्न गर्छु ।)


त क्यानाडाबाट नेपाल आइपुगेपछि मैले आफन्त, छिमेकी र संगीसाथीहरूसँग सम्पर्क गरेर मुलुकको ताजा अवस्थाको सही बुझ–बुझारथ गर्न खोजेँ । यही सिलसिलामा एक आफन्तसँग भनेँ, ‘नमस्ते दाइ ।’ र उताबाट यसको प्रत्युत्तर आउनु अगावै मेरो संवाद भावावेशमा चालु नै रह्यो । रोकिएन, ‘दाइ, के हाल–खबर छ ? महालक्ष्मी भाउजुलाई आरामै छ ? छोरा–छोरीहरू के गरिरहेका छन् ? सबै ठिकठाक त छ दाइ ?’ र म एक्कासी रोकिएर यसको एकमुस्ट जवाफको प्रतीक्षा थालँें । तर रामगोपाल दाइ त अचम्मैले हाँस्न थाले ।


(ठ्याक्कै नेपालजस्तै) ।

‘होइन दाइ, किन हाँसिरहनुभएको हो ?’ मैले उनको अस्वाभाविक हाँसोमा लगाम लगाउन खोजेंँ । तर उनले रोकिने नाम लिएनन् । अपितु त्यो झन् चर्कियो ।


‘दाइ, तपाई मेरो....।’ मेरो वाक्य उनको हाँसोको वेगमा हरायो ।


त्यसपछि केही नलागेर मैले छिमेकी सीतारामजीसँग संवाद स्थापित गरेंँ, ‘नमस्कार, सीतारामजी ।’

उनी मेरो घरको छतसँग जोडिएको आफ्नो छतको फलामे रेलिङ समातेर उभिइरहे, केही भनेनन् ।

‘नमस्कार, सीतारामजी ।’ मैले केही जोडले अभिवादन दोहोर्‍याएँ । तथापि सीतारामजीमा कुनै परिवर्तन आएन । उनी त्यसै रेलिङमा टाँसिएर टोलाइरहे ।


‘सीतारामजी, सबै बेसै त त ?’ मैले पुन: बल लगाएर कुराकानीलाई अघि बढाएँ । तर यसपालि उनी बेसरी हाँस्न थाले ।


यसको अर्थ के हो भने मुलुकमा साँच्चिकै हाँसो उत्पन्न गर्ने सुखद स्थितिको निर्माण भइसकेको छ । यो हाइसन्चोको बेला हो । र यस्तो रमाइलो वातावरणमा उन्मुक्त हाँसोको प्रकटीकरण विलकुलै स्वाभाविक हो ।


वस्तुत: कुरो यही हो । त्यसकारण म छिमेकी सीतारामजीलाई हाँसोमै छाडेर भर्‍याङबाट तल ओर्लिएँ । र आफ्नो बैठक कोठामा बसेर थप चिन्तन गर्न थालेँ । के प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीबाट पटक–पटक अभिव्यक्त भए बमोजिम नेपालमा तीव्रगामी रेलको आगमन भइसकेकै हो ? र यसरी नै विशालकाय पानीजहाजहरू पनि सरर चलिरहेकै छन् त ?


प्रत्येक नेपाली गृहिणीका चुलो–चुलोमा खाना पकाउने सुलभ ग्यास पाइपको जडान भइसकेकै हो र ? अनि त्यसै खेर गइरहेको हावाबाट ऊर्जा तानेर चल्ने हावामिल पनि तयार भइसकेकै हो ? उनको आरम्भिक वाचा अनुसारको तुइनविहीन नेपाल पनि अस्तित्वमा आइसकेको हो त ?


याने सम्पूर्णतामा नेपालका सबै नेपालीले अश्रुपूर्ण रोदनको त्याग गरेर सहजतासँग हाँस्नुपर्ने स्थितिको निर्माण भइसक्यो र ? यिनै समसामयिक खुलदुलीहरू बोकेर म बेलुकीपख नयाँसडक पुगेंँ । त्यहाँ ‘कविकुना’ (कतिपयका शब्दमा–नेपाल स्ट्रीट एकेडेमी) मा मेरा परम साहित्यकार एवं पत्रकार मित्रहरू पुरुषोत्तम सुवेदी, शार्दुल भट्टराई, नारायण ढकाल, नयनराज पाण्डे र अविनाश श्रेष्ठसँग भेट भयो । मैले सबैसँग एकैचोटी फ्याट्टै सोधेंँ, ‘के छ, मित्रहरू हो ?’


सबै उसरी नै मरी–मरी हाँस्न पो थाले त !


यस प्रकारको हाँसोबाट कुनै उन्मुक्ति नपाइएकोले मैले राति सत्यासत्य निरुपणका निम्ति चिन्तन– मननको समाधिवस्थामा प्रवेश गर्ने निर्णय गरेंँ । तर कहीबेरमै यो पनि व्यर्थ गयो । वास्तवमा यसको कुनै आवश्यकता नै थिएन ।


किनभने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा सतत ‘सत्ताको चुटकुला’ प्रवाहित गरिरहेकोले यस्तो हाँसोको प्रस्फुटन भइरहेको हो । यसमा के रहस्य छ ? तर लगत्तै म केही भयभीत पनि भएँ ।


हो, यसरी निरन्तर हाँस्दाहाँस्दै अर्थात् ‘सत्ताको चुटकुला’द्वारा हाँसोको चरम बढोत्तरीले अन्तत: नेपाली जनताको आँखामा रक्तमिश्रित आँसुका कणहरू देखिन थाले भने....?

प्रकाशित : पुस ७, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?