संस्कृत हिँडेको बाटो

संस्कृत विरोधीहरूले संस्कृतविरुद्ध गहिरो विश्लेषणात्मक तर्क दिन सकेनन् । जात सम्बन्धित नारा दिएर पन्छिए, जुन पूर्ण पाठ हुन सक्दैन ।
प्रमोद मिश्र

काठमाडौँ — संस्कृतको महत्त्व र यसको उपेक्षाबारे नेपाल र भारत दुबै देशमा विलौना हुँदै आएको छ । नेपाली मिडियामा यसको चर्चा–परिचर्चा जारी छ । कतै संस्कृत आधारित कर्मकाण्डको शिक्षा दिई पण्डित तयार पारिँदै गरेको सुखद समाचार उल्लेख हुन्छ ।

कतै काठमाडौं समाजका जानेमाने व्यक्तिलाई प्रख्यात संस्कृतविदबाट संस्कृत ज्ञानको ‘ट्युटोरियल’ र संस्कृत लोपको विलौना पाठ गराइन्छ । संस्कृतबारे चर्चा हुनु स्वाभाविकमात्रै नभई आवश्यक पनि छ, नेपाली भाषा र साहित्य(वाङ्मय) र हिन्दु संस्कृतिको आदिस्रोत संस्कृत भएकाले ।

दक्षिण एसियामा रविन्द्रनाथ टेगोरका रचना कसरी विश्व प्रसिद्ध भए ? किनभने विधा जुनसुकै भए पनि तिनको साहित्य दृष्टि पाश्चात्य, लोकभाकाका समसामयिक तत्त्वहरू संस्कृतजनित ज्ञान परम्पराद्वारा सिञ्चित थियो । क्यारिबियन कवि नाटककार डेरेक वालकाट विश्वविख्यात कसरी भए ? किनभने तिनका क्यारिबियन समुद्री गाथा ल्याटिन र प्राचीन ग्रिक महाकाव्य र मिथकबाट पुष्टित थिए ।

तर अहिलेको गणतन्त्रमा पनि संस्कृतबारे एकपक्षीय अलापमात्र पाइन्छ । गणतन्त्रपछि संस्कृत विरोधीहरूले चर्को नारा लगाए । जुन स्वाभाविकै थियो । फलस्वरूप संस्कृतको पठन–पाठनमा कमी भयो । यसलाई अनिवार्य विषय बनाइएन । तर संस्कृत विरोधीहरूले संस्कृत विरुद्ध गहिरो विश्लेषणात्मक तर्क दिन सकेनन् । जात सम्बन्धित नारा दिएर पन्छिए, जो पूर्ण पाठ हुन सक्दैन ।

संस्कृतलाई यसरी तर्क–वितर्क नगरी फाल्नु बच्चालाई ‘बाथ वाटर’संँगै मिल्काउनु हो, भुससँगै चामल पनि फाल्नु हो । तर संस्कृतको वर्चस्व ज्यौंकात्यौं स्वीकार्नु पनि हिन्दु जातीय व्यवस्थाको हैकम र यसको पदानुक्रम सोपानलाई निरन्तरता दिनु हो ।

हिन्दु राज्यव्यवस्थामा सदियौंदेखि संस्कृतमाथि ब्राह्मणको एकाधिकार रह्यो र अरूलाई यसबाट वञ्चित गराइयो । जहाँ हिन्दु राज्यव्यवस्था थिएन, जस्तै अंग्रेज शासित भारत, त्यहाँ पनि समाजले संस्कृतलाई ब्राह्मणकै एकाधिकारमा राख्यो, पूजापाठ, भागवत–पुराण वाचनमा । हिन्दु राज्यव्यवस्थामा तथाकथित तल्लो जातलाई संस्कृत पठन–पाठन निषेध नै थियो । संस्कृत शिक्षा या त गुरु परम्परा अनुसार गुरुको सान्निध्यमा गुरुकुलमा हुन्थ्यो या संस्कृत विद्यापीठ अन्तर्गत । यी दुबै राज्य सम्पोषित हुन्थे वा सम्पन्न जातीय समाजले यिनको भरणपोषण गथ्र्यो, जहाँ जातीय सनातनी रूढीबाट बच्ने कुनै उपाय नै थिएन ।

नेपालकै संस्कृत अध्ययन–अध्यापनको इतिहासलाई हेरौं । राणाशासनमा त पूजापाठका लागि मात्रै कर्मकाण्डी ब्राह्मणले संस्कृत पढ्न पाउँथे । आम जनताका लागि शिक्षा नै निषेध भएकाले संस्कृतको कुरै के गर्ने † तर राणा शासनपछि पनि गुठी सञ्चालित, राज्य सम्पोषित संस्कृत पाठशालामा ब्राह्मणका छोराले मात्र भर्ना पाउँथे । हुन त यो आरक्षण हिन्दु कर्मकाण्ड सम्पादनका लागि भनेर गरिएको थियो । तर तीनधारा पाठशालाबाट उत्पादित छात्रमध्ये कति कर्मकाण्डी पण्डित भए ? कति सीडीओ र मन्त्रालयका सचिव भए ? पञ्चायतको शेषकालमा पचहत्तर जिल्लामध्ये चालीसमा तीनधाराका विद्यार्थी सीडीओ थिए भनिन्छ । सचिव त कति हो कति । संस्कृत पठन–पाठनमा यो आरक्षण अहिले पनि अनौपचारिक रूपमा यथावत छ भन्दा अतिशयोक्ति नहोला ।
सन् २००७ मा मैले अमेरिकी कलेजका पच्चीसजति विद्यार्थीलाई एक सेमेस्टर भारतभरि घुमी–घुमी साहित्य, संस्कृति, समाज र पर्यावरण पढाएँ । त्यसक्रममा हामी दस दिनका लागि वाराणसी पुग्यौं । ‘गंगा मैली है’ भन्ने विषयमा संकटमोचन मन्दिरका महन्थबाट र बनारसको प्राचीन र आधुनिक महिमाबारे बनारस हिन्दु विश्वविद्यालयका विद्वानहरूबाट प्रवचनपछि एकदिन हामीलाई पण्डित तयार गर्ने पाठशाला लगियो । दस–पन्ध्र जनाजति किशोरले वेद पाठ गरिरहेका थिए ।

घिमिरे थरका नेपाली पण्डित तिनका शिक्षक थिए । ‘यी मेरा छात्र भारतका विभिन्न राज्यबाट आएका छन्,’ तिनले भने । मेरा एक छात्रले प्याच्च सोधिहाले, ‘यी विद्यार्थी कुन जातबाट आएका हुन्, महाशय ? भर्खरै डा. मिश्रले हामीलाई जाति व्यवस्थाबारे पढाउनुभएको छ । यहाँ कोही दलित वा अरू कुनै समुदायबाट आएका छन् ?’ यी सबै विभिन्न थरका ब्राह्मण जातिबाटै आएका हुन् भनेर तिनले भने । उत्तर सुनेपछि मेरा छात्रछात्रा एकछिन पनि त्यहाँ बस्न मानेनन् । मलाई लाजमर्दो भयो । हालै नेपाल साप्ताहिकमा प्रकाशित नेपालका यस्तै पुरोहित उत्पादन गर्ने पाठशालाबारे पढ्दा संस्कृत शिक्षाको जातीय समीकरणमा परिवर्तन आएजस्तो लागेन ।

संस्कृतमा विद्रोही विचारै नभएको होइन । दक्षिण एसिया विशेषज्ञ डेविड सुलमनका अनुसार उपनिषदमै पनि ब्राह्मण वर्चस्वको विरोध र यस विरुद्ध विद्रोह पाइन्छ । वैदिक कर्मकाण्ड समेतको विरोध पाइन्छ । समानताका पक्षमा, संस्थापन विरोधी, विद्रोही विचार शास्त्रीय परम्परामा सधैं रहँदै आएको छ । दक्षिण भारतमा वीरसैव विचारकहरूले संस्कृतमा असमान ढाँचा, पदानुक्रम सोपान, कर्मकाण्ड र मन्दिर विरुद्ध पुरै आन्दोल चलाए ।

तिनीहरूको ग्रन्थ श्रीकरभाष्यमा यसको प्रमाण प्रशस्त पाइन्छ । कन्नौजमा अभिनान्द र तिनका समकालीनहरूका संस्कृत श्लोकहरूमा दलित जीवनबारे सहानुभूतिपूर्ण वास्तविक चित्रण गरिएको छ ।तर यी सब हुँदाहुँदै पनि संस्कृत पठन–पाठन र यसका विद्यार्थी भर्नामा ढाँचागत परिवर्तन किन हुनसकेन ? अहिले पनि नेपाल र भारतमा यी संस्कृत गरुकुल र विद्यापीठहरूमा औपचारिक या अनौपचारिक तवरमा ब्राह्मणेतर जात, खासगरी दलित समुदायका विद्यार्थीमाथि बन्देज किन छ ? यसका राजनीतिक र सामाजिक कारण छन् ।

भारतमा मुसलमान र अंग्रेज शासनका बेला संस्कृत ज्ञान ब्राह्मणका जिम्मा रह्यो र तिनैले यसलाई जोगाएर राखे । तर जब भारत स्वतन्त्र हुनलाग्यो र भयो, संस्कृत ज्ञानका हिसाबले तीन धारबाट बेवारिसेमा पर्‍यो । तीनमध्ये मुख्य धारलाई नेहरू–गान्धी र तिनका पाश्चात्य उदारवादले प्रतिनिधित्व गरेको थियो । गान्धी र नेहरू दुवै संस्कृत जान्दैनथे र तिनीहरूको शिक्षादीक्षा र अभिमुखीकरण अंग्रेजी माध्यममा पाश्चात्य प्रणालीबाट भएको थियो ।

लङ्गोटी–धोती लगाए पनि, खेतमा शौच गरी मल तयार पार्ने कुरा गरे पनि, गुजरातीमा लेखे पनि, भारतलाई औद्योगिक हैन, ग्रामीण लघु र चर्खा क्रान्तिद्वारा विकास गर्ने कुरा गरे पनि, नजानेकाले वा संस्कृत ब्राह्मणमा आश्रित भएकाले, संस्कृतप्रति गान्धीको अनुराग थिएन ।

आफ्ना किताबहरूमा प्राचीन भारतको जतिसुकै गुनगान गरे पनि अंग्रेजीपरस्त नेहरूले संस्कृतको संरक्षण गर्ने कुरै भएन । न्युयोर्क र लन्डनमा पढेका दलित विचारक अम्बेदकर ब्राह्मणाश्रित संस्कृतका सोझै विरोधी हुने नै भए । बाँकी रहे सावरकर र गोलवाकर नितृत्वका हिन्दुवादीहरू । संस्कृत साहित्य र दर्शनभन्दा पनि तिनीहरूको ध्याउन्न हिन्दुवादी शासन र गैरहिन्दु, खासगरी मुसलमान विरोधी क्रियाकलाप र विचार प्रतिपादनमै केन्द्रित रह्यो ।

तर यीमध्ये कसैले चाहेको भए पनि पहिले हिन्दु जाति व्यवस्थामाथि मौलिक आधारभूत प्रहार नगरी संस्कृतको उद्धार गर्न सम्भव थिएन । नेपालमा भने राणाहरू त निरक्षर नै थिए भन्दा पनि हुन्छ र तिनले निरक्षरता नैआफ्ना रैतीमाथि थोपरे । र २००७ सालपछि लोहिया समाजवादी वा कम्युनिस्ट भएकाले बीपी लगायतका नेताहरूमा संस्कृतजनित ज्ञान थिएन । र भए पनि कतिपय सनातनी ब्राह्मण कांग्रेसीजन भएकाले जाति व्यवस्थाको संस्थागत र ढाँचागत विरोध र संस्कृतबाट जातीय वर्चस्व उन्मूलन गर्न सक्दैनथे ।

त्यसैले आजपर्यन्त पनि राज्य र समाज सम्पोषित संस्कृत शैक्षिक संस्थाहरूमा ब्राह्मणलाई नै भर्ना लिइन्छ वाग्राह्यता दिइन्छ । अनि संस्कृत सर्वस्वीकार्य कसरी होओस् र यसको अरू जाति–समुदायद्वारा विरोध किन नहोस् ?

संस्कृतलाई सर्वस्वीकार्य बनाउन दुइटा कार्य गर्नु अनिवार्य छ । एक, सबै संस्कृत पाठशालामा सबै जात वर्गलाई प्रलोभन र आरक्षणसहित भर्ना दिनुपर्छ । दुई, कर्मकाण्डी पण्डित जुनसुकै जातिको योग्य व्यक्ति पनि हुने व्यवस्था हुनुपर्छ । यी काम सामाजिक र संस्थागत रूपमा हुने बित्तिकै ब्राह्मणेतर समुदायमा संस्कृत विरुद्ध सहस्राब्दियौंदेखिको विरोध र पूर्वाग्रह हराएर जान्छ । र अर्को कुरा संस्कृत पठन–पाठनमा भाषा सिक्नमा बढी र व्याकरण घोक्नमा कम जोड दिनुपर्छ ।

यसका लागि अमेरिका, युरोपमा जसरी भाषाशास्त्रीय आधारमा संस्कृत पढाइन्छ, त्यसरी नै पढाउनुपर्छ । किनभने संस्कृतको घोकन्ते प्रणाली अरू विषयमा पनि सरेकाले दक्षिण एसियाकै शिक्षा प्रणाली सोचनशीलभन्दा पनि आँखा चिम्लेर पछिलाग्ने भिड उत्पादन गर्ने कारखाना बन्न पुगेको छ । नेपाल र भारतका स्कुल, कलेजमा मैले दस वर्ष संस्कृत पढेंँ । व्याकरण घोक्नु र साहित्य अनुवाद गर्नुबाहेक मैले केही गरिन । फलस्वरूप दस वर्षपछि पनि श्लोक र शब्द र धातुरूप त मलाई निकै कण्ठस्त भए, तर मैले संस्कृत बोल्न–लेख्न भने जानिन ।

तर आजका दिनमा संस्कृतविद र संस्कृत पक्षधरहरू संस्कृत पतनको विलौनाले नपुगेर हिन्दुत्ववादी पनि बन्नपुगेका छन् । तिनीहरूको हिन्दुत्ववादको त आम जनसमुदायले विरोध गर्ने नै भए । त्यही विरोधमा तिनको संस्कृत जगेर्ना गर्ने दलील पनि पानीको फोका बनेको छ । वास्तवमा यो अवस्था साहित्य, कला, समाज, दर्शन, र वैचारिक गहनताका लागि बडा उदेकलाग्दो हो । किनभने संस्कृत यी सबैको स्थानीय अथाह स्रोत हो, जोबिना महान साहित्य र दर्शन नेपाल र भारतमा जन्मिन गाह्रै छ ।

मिश्र संयुक्त राज्य अमेरिकास्थित लुइस विश्वविद्यालयमा अंग्रेजीको विभागाध्यक्ष हुन् ।

प्रकाशित : पुस २१, २०७५ ०७:५९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

इतर विचारका कलाकार

आज भारत हिन्दुवादी संगठनको तखतमा चल्दा सीमान्तकृत गैरहिन्दु समुदाय चेपुवामा परेका छन् । राज्यसत्ताकै संरक्षणमा आज असहिष्णुताको राजनीति संस्थागत र मूलप्रवाहीकरण भइरहेको छ । 
नीरज लवजू

काठमाडौँ — बलिउड कलाकार नसिरुद्दिन शाह नेपालमा पनि चिनिएकै कलाकार हुन् । दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाका विद्यार्थी शाह रंगमञ्चबाट बलिउडमा स्थापित कलाकारमध्ये अग्रस्थानमा गनिन्छन् । नेपालकै रंगकर्मी सुनिल पोखरेलसँग जोडिएर उनको नाम बेला–बेला नेपालका पत्रपत्रिका आउने गरेको छ ।

गएको डिसेम्बर १७ मा उनै नसिरुद्दिन शाहले अनलाइन भिडियोमार्फत प्रसारित अन्तर्वार्तामा दिएको अभिव्यक्ति भारतमा चर्चाको विषय बनेको छ । डिसेम्बर ३ मा नसिरुद्दिनको जन्म भएको भारतको उत्तर प्रदेशको बुलन्दसर जिल्लामा भएको हुलदंगाबारे प्रतिक्रिया जनाउँदै उनले भनेका थिए, ‘विष चारैतिर फैलिसकेको छ । कानुन हातमा लिनेको लागि यो पुरै दण्डहीनताको अवस्था बनेको छ । धेरै क्षेत्रमा हामी देख्दैछौं– एकजना प्रहरी अफिसरको मृत्युभन्दा एउटा गाईको मृत्युलाई बढी महत्त्व दिइँदैछ ।’

बुलन्दसरमा के भएको थियो ?
डिसेम्बर ३ को दिन उत्तर प्रदेशको बुलन्दसर जिल्लास्थित महाज गाउँमा बिहान ११:०० बजेतिर स्थानीय एउटा खुला चौरमा गाई र बाछाको सिनो भेटियो । गाउँलेहरूले त्यसबारे प्रहरीसमक्ष उजुरी गरे । प्रहरीले आवश्यक छानबिन गर्ने आश्वासन दियो । तर गाउँलेहरूले सिनो ट्र्याक्टरमा राखेर बुलन्दसर–गढ राजमार्ग नै अवरोध गरेर प्रदर्शन गरे ।

प्रहरीले जब अवरुद्ध राजमार्ग खोल्ने प्रयास गरे, तब स्थानीय गाउँले र प्रहरीबीच भिडन्त चर्कियो । सोही क्रममा प्रहरी अफिसर सुबोधकुमार सिंहको मृत्यु भयो । उनलाई बायाँ आँखाको आँखीभौं छेउमा गोली लागेको थियो । भिडन्तको क्रममा प्रदर्शनकारीले केही गाडीमाथि तोडफोड गर्नुका साथै आगजनी पनि गरेका थिए । सोही दिन सुमितकुमार नामका एकजना विद्यार्थीको पनि मृत्यु भएको थियो ।

त्यो दिन भिडको नेतृत्व हिन्दु अतिवादी बजरंग दलका नेता योगेश राजले गरेका थिए । उनीहरूले यसरी ‘गौमाता’को वध गर्नुमा स्थानीय अल्पसङ्ख्यक मुसलमानको भूमिका भएको दाबी गरेका थिए । प्रहरीले गाई मारेको अभियोगमा केही मुसलमानहरूलाई गिरफ्तार पनि गरिसकेको छ ।

नसिरुद्दिनले के भने ?
सोही घटनाको सन्दर्भ जोडेर कलाकार नसिरुद्दिन शाहले कुनै दिन त्यस्तै हुलदंगामा आफ्ना केटाकेटीलाई ‘तिमीहरू कुन धर्म मान्छौ ?’ भनी सोधे, उनीहरूले के जवाफ दिने होलान् भनी आफूलाई पीर परेको बताएका थिए ।

आफूले धार्मिक शिक्षा पाए पनि आफ्ना केटाकेटीलाई कुनै प्रकारको धार्मिक शिक्षा नदिएको उनको भनाइ थियो । मानिस असल र खराब हुनुमा धर्मसँग कुनै प्रकारको सम्बन्ध नभएकोमा आफ्नो विश्वास रहेको भन्दै उनी र उनकी श्रीमती अर्का कलाकार रत्ना पाठकले केटाकेटीलाई कुनै पनि धार्मिक शिक्षा नदिने निर्णय गरेको भन्दै भविष्यप्रति चिन्ता व्यक्त गरेका थिए ।

सोही घटनालाई लिएर उत्तर प्रदेशका केही बुद्धिजीवीले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथको राजीनामा मागेपछि विशेषत: हिन्दुवादीहरू शाहमाथि खनिएका छन् । उत्तर प्रदेशको भारतीय जनता पार्टीका प्रमुख आदित्यनाथले शाहलाई सोही अभिव्यक्तिका कारण ‘पाकिस्तानी एजेन्ट’को संज्ञा दिएका छन् ।

त्यस्तै पतञ्जलीका रामदेवले उनको सो भनाइलाई देशद्रोही अभिव्यक्ति भएको प्रतिक्रिया जनाएका थिए । उनको भनाइसँग जोडेर उठेको यो विवादका कारण २१ डिसेम्बरको दिन द अजमेर साहित्य महोत्सवमा नसिरुद्दिनले बोल्ने कार्यक्रम नै आयोजकले स्थगित गर्नुपरेको थियो ।

नसिरुद्दिन पहिला होइनन्
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बलिउड कलाकारबारे दिएको आक्रामक टिप्पणी यो पहिलो भने होइन । सन् २०१५ को नोभेम्बरमा उनले बलिउडका अर्का स्टार कलाकार शाहरूख खानलाई पाकिस्तानका आतंकवादी हाफिज साइडसँग तुलना गरेका थिए । शाहरूख खानले भारतीय समाज निकै असहिष्णु बन्दै गएको भन्दै दिएको अभिव्यक्तिको प्रतिक्रियामा आदित्यनाथले मुम्बई हमलाका मास्टरमाइन्ड मानिएका हाफिजसँग शाहरूखको तुलना गरेका थिए ।

त्यत्तिबेला उनले यदि भारतका धेरै मानिसले शाहरूखका चलचित्र नहेरे उनी ‘सामान्य मुसलमान’ बनेर सडकमा यताउता भौंतारिनुपर्ने भनी रिस पोखेका थिए । भाजपाका अर्का नेता कैलाश विजयवर्गीयले पनि खानमाथि चर्को हमला गरेका थिए । उनले शृङ्खलाबद्ध रूपमा लेखेका ट्विटमा खानलाई ‘राष्ट्रियता विरोधी’ र ‘भारतमा बसे पनि आत्म पाकिस्तानमा भएको’ भनेका थिए ।

यस प्रकारका हमलामा परेका अर्का बलिउड कलाकार हुन्–आमिर खान । भारतीय जनता पार्टीको मोदी सरकारको आलोचना गरेका कारण सन् २०१६ मा आमिरलाई ई–कमर्स कम्पनी स्न्यापडिलको ब्रान्ड एम्बेस्डरबाट निकालिएको थियो । आमिरको चलचित्र ‘पिके’मा हिन्दु देवतामाथि अपमान गरेको भन्दै भारतका हिन्दुवादीहरू उनीसँग रिसाएका थिए ।

अर्को एउटा अन्तर्वार्तामा आफ्नो पत्नी किरण रावले भारतमा बस्न असुरक्षित बन्दै गएको भन्दै दिएको अभिव्यक्तिलाई ‘आमिर भारत छोड्ने तयारीमा’ भन्ने हल्लाबाजी गरी उनको र किरणको चर्को आलोचना भएका थिए । बलिउडकै कतिपय नाम चलेका कलाकारले समेत उनको खेदो खनेका थिए । आफ्ना मनसाय त्यस्तो नभएको कुरा सबैलाई बुझाउन आमिरलाई हम्मे परेको थियो ।

सन् २०१५ को नोभेम्बरमा आयोजित रामनाथ गोयन्का पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा आमिरले असहिष्णुताका घटनाको जमेर विरोध गर्नुपर्ने भनी दिएको अभिव्यक्तिलाई भाजपा नेता–कार्यकर्ताले सरकार र हिन्दु धर्मको विरोधको रूपमा बुझेका थिए वा कम्तीमा त्यसरी प्रचार गरेका थिए ।

भारतमा बढ्दो असहिष्णुताप्रति विरोध जनाउँदै सरकारले प्रदान गरेका पुरस्कार बहिस्कार गर्ने चलचित्रकर्मी, प्राज्ञ, इतिहासकार र कलाकारको निर्णयलाई उनले पनि समर्थन जनाएका थिए । ‘म अहिंसात्मक विरोध प्रदर्शनलाई समर्थन गर्छु । विरोध प्रदर्शन अहिंसात्मक भएसम्म जोकोहीलाई पनि त्यस्तो प्रदर्शनप्रति समर्थन गर्ने अधिकार छ ।’

असहिष्णु बन्दै भारत
सन् २०१४ मा भारी बहुमतका साथ भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी ‘संसारकै सबभन्दा ठूलो प्रजातान्त्रिक देश’का प्रधानमन्त्री बने । भारतमा धार्मिक दंगा र विवाद नयाँ कुरा होइन । सन् १९४७ मा भारत र पाकिस्तानको विभाजन नै धर्मको आधारमा भएको थियो । बेलायती उपनिवेशले छोडेको यो विग्रहको वीउ अझै नष्ट भइसकेको छैन ।

भारतका सबैजसो प्रदेशमा कुनै न कुनै आकार र प्रकृतिका धार्मिक द्वन्द्व आज पनि छन् । तर विशेषत: हिन्दुवादको पृष्ठभूमिबाट आएका मोदी बलियो राजनीतिक शक्तिका साथ प्रधानमन्त्री बनेपछि हिन्दु अतिवादले फेरि सक्रिय हुने मौका पाइरहेको छ । धर्म, विचार, समुदाय आदि परम्परागत आधारमा भारतीय समाज क्रमश: अझ असहिष्णु बन्दै गएको मोदी प्रधानमन्त्री बने यताका धेरै घटनाले पुष्टि गरिरहेका छन् ।

त्यहाँका मुसलमान, दलित, अल्पसङ्ख्यक समुदायदेखि प्रगतिशील वा प्रजातान्त्रिक विचार राख्ने बुद्धिजीवीसम्म यो असहिष्णु राजनीतिको कोपभाजनमा परेका छन् । ‘अर्बन नक्सालाइट’ (सहरिया नक्सालबाडी) देखि केरला बाढीमा भएको पक्षपातसम्मका घटनालाई भिन्न मतमाथि दमन गर्ने मोदी र भाजपा सरकारको नीतिको रूपमा विश्लेषण गरिन्छ ।

जेएनयुमा भएको दमनदेखि हैदरावाद विश्वविद्यालयमा रोहित भेमुलाको आत्महत्या, पत्रकार गौरी लंकेशको हत्यासम्मका घटना धार्मिक अतिवाद र असहिष्णुताका शृंखला हुन् । हालै भारतको सङ्घीय सरकारले रिसर्च एन्ड एनालाइसिस विङ (र) लगायत दसवटा सरकारी निकायलाई भारतभरिका कुनै पनि कम्प्युटर वा विद्युत्तीय सामग्रीमाथि निरीक्षण र नियन्त्रण गर्नसक्ने अधिकार दिएको छ । यसलाई भारत क्रमश: पुलिस स्टेट बन्दै गएको अर्को प्रमाणको रूपमा लिइएको छ ।

धार्मिक असहिष्णुतालाई राज्य स्वयम्ले संरक्षण दिंँदा राज्यका सुरक्षा निकाय पंगु बनेका छन् । आज भारत हिन्दुवादी संगठनको तखतमा चल्दा सीमान्तकृत गैरहिन्दु समुदाय चेपुवा परेका छन् । राज्यसत्ताकै संरक्षणमा आज असहिष्णुताको राजनीति संस्थागत र मूलप्रवाहीकरण भइरहेको छ ।

नेपालमा प्रभाव
भारतीय राजनीतिको सबैभन्दा तीव्र प्रभाव नेपालमा पर्ने गरेको इतिहासले सावित गरेको विषय हो । छिमेकी देश, खुला सिमाना, आर्थिक निर्भरता, सामाजिक एवं धार्मिक समानता आदि धेरै कारणले भारतको प्रभाव नेपालमा पर्ने गरेको छ ।

अहिले हिन्दुवादी लहरको अलि बढी प्रभाव भारतका उत्तरी प्रदेशमा बढ्ता देखिएको छ । यस्तो अवस्थामा भारतीय हिन्दुवादी राजनीतिक प्रभाव नेपालसम्म आउन गार्‍हो कुरा होइन । नेपालकै राजनीतिमा पछिल्लो चर्चाको विषयमा रहेको हिन्दु राज्यको मुद्दा उठान कुनै न कुनै रूपमा यसबाट प्रभावित रहेको प्रस्ट छ ।

तर साँच्चै नेपाली समाजले आज भारतीयअल्पसङ्ख्यक र दलित समुदायले भोगिरहेको जस्तो राज्य प्रायोजित असहिष्णुता भोग्नुपरे अवस्था कस्तो होला ? त्यस्तो अवस्था आउनु अघि नै पूर्वसावधानी नेपाली जनताको सचेततामा भर पर्ने कुरा हो ।

प्रकाशित : पुस २१, २०७५ ०७:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT