कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हिंसाका अनेक रूप

विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनअनुसार विश्वमा हरेक तीनमा एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका छन् ।
दुर्गा घिमिरे

काठमाडौँ — संसारमा कुनै पनि राष्ट्र महिलामाथि हुने हिंसाबाट मुक्त छैन । विकासको चरम उत्कर्षमा पुगेका राष्ट्र पनि । हिंसाका स्वरूप भने दिनानुदिन बदलिँदै गएका छन् । ज्यादा हिंसा नजिकैको नातेदार वा साथीबाट हुने गरेको पाइएको छ । सबैभन्दा सुरक्षित मानिएको घरमै महिलाहरू सबैभन्दा बढी हिंसामा पर्छन् । 

विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययन अनुसार विश्वमा हरेक तीनमा एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका छन् । अध्ययनले यस्तो हिंसा नजिकको साथीबाट हुने देखाएको छ । यस्ता घटनाले महिलाको शारीरिक, सामाजिक, आर्थिकमात्र नभएर मानसिक अवस्थामा पनि नराम्रो असर पारेको छ । उनीहरूको प्रजनन स्वस्थ्यमा पनि नराम्रो प्रभाव पारेको छ । कति अवस्थामा महिला एड्सको सिकार पनि भएका छन् ।


यस सन्दर्भमा हाम्रो सामाजिक संरचना नै पुनरावलोकन गनुपर्ने देखिन्छ । हाम्रो सामाजिक संरचना पुरुषप्रधान भएकाले महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउनसकेको छैन । जहाँ महिलाको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन् भन्ने उक्तिलाई व्यवहारमा कमै उतारिन्छ ।


हरेक क्षेत्रमा महिला सहभागितामा उल्लेखनीय वृद्घि भएको देखिए तापनि व्यवहारमा त्यसलाई स्वीकारेको अवस्था छैन । महिलामाथि हुने हिंसाका घटनाहरू दिनानुदिन बढेका छन् । महिला सहभागिता वृद्धिका लागि हिंसामुक्त सामाजिक अवस्थाको

खाँचो छ ।


संविधानले आफ्नो प्रस्तावनामै लैड्डिक हिंसा अन्त्य गर्ने प्रतिबद्धता जनाए तापनि व्यवहारमा यसको पूर्ण कार्यान्वयन हुनसकेको छैन । कैलालीकी किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या घटनाको छानबिन अझै टुंगोमा पुगेको छैन । देशभरि उनको समर्थनमा नारा, जुलुस, धर्नाजस्ता विरोधका कार्यक्रमहरू भैरहेका छन् । पीडित परिवार न्यायको पर्खाइमा सरकारको बाटो हेरिरहेका छन् । यो घटनाले जनतालाई कानुन र न्याय प्रणालीप्रति नै विश्वास हराउँदै गएको छ ।


संसारको आधा आकाश ढाकेका महिलामाथि हुने हिंसाको समस्या केवल उनीहरूको मात्र समस्या होइन । यो समस्या विरुद्ध सिंगो समाज, युवा पिढी, मानव अधिकारकर्मी, पत्रकार, सामाजिक अभियन्ता, बौद्धिक वर्ग सबैले साझा सवालका रूपमा लिएर आ–आफ्नो स्तरबाट, लेख्ने, बोल्ने, धर्ना बस्ने, विरोधमा सामेल हुने र सरकारलाई दबाब सिर्जना गर्न संलग्न हुनुपर्छ ।


म्हिलामाथि हुने हिंसाका घटनालाई सहने र समाज र परिवारको इज्जतको डरले लुकाउने प्रवृत्ति ठूलो चुनौती हो । महिला स्वयम्ले नै आफूमाथि हुने हिंसालाई लुकाएर राख्ने गर्छन् । यो सहेर, लुकाएर राख्ने प्रवृत्तिले हिंसालाई बढी प्रोत्साहन गर्छ । र पीडकले थप उत्तप्रेरणा पाउने गरेको छ । यसकै विरुद्ध हिंसा नलुकाऊ भन्दै राष्ट्र संघले ‘हि फर सी’ र ‘हियर मि टु’ जस्ता अभियान चलाएको छ । यस्ता ‘उनका लागि म छु’ र ‘मेरो पनि कुरा सुन’ जस्ता अभियान व्यापक रूपमा प्रचार र प्रसार हुनु जरुरी छ ।


महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि साधन र स्रोत सम्पन्न संस्थागत संरचनाको आवश्यक छ । जसले पीडितलाई तत्काल उद्धार र कानुनी सेवा मनोवैज्ञानिक परामर्शको व्यवस्थासहित उसको प्रतिष्ठित जीवनयावन गर्नसक्ने अवस्थाको सिर्जना गरोस् । अन्तर्राष्ट्रिय कानुन अनुरूप राष्ट्रिय कानुन निर्माण र त्यसको कार्यान्वयन अवस्था मूल्यांकन गरी निर्देशन दिनसक्ने शक्ति सम्पन्न निकायको खाँचो छ ।


हिंसा नियन्त्रणका लागि सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । हिंसा विरुद्ध शून्य सहिष्णुताको नीतिको व्यावहारिक कार्यान्वयन हुनुपर्छ । हिंसा नियन्त्रणका लागि स्थापना भएका संस्थागत संरचना विकास र सुदृढीकरणमा जोड दिनुपर्छ । कानुन कार्यान्वयन गर्ने निकायलाई द्रुत र चुस्त बनाउन नयाँ प्रविधिको आवश्यक तालिम प्रदान गर्नुपर्छ । घर–परिवारबाटै शून्य सहिष्णुताको नीतिलाई अभियानको रूपमा थालनी गर्नुपर्छ । पीडक जुनसुकै तहको भए पनि कडा कारबाही गर्नुुपर्छ ।


पीडितलाई स्वास्थ्य उपचार, परामर्श सेवा, कानुनी सेवा लगायत आर्थिक सशक्तीकरण गर्ने जस्ता कार्य छिटोछरितो हुनुपर्छ । हिंसा नियन्त्रणका लागि गठन भएका सञ्जालहरूले सहजकर्ताको प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । सबै पक्षको सहयोग र सहकार्यबिना यो समस्याबाट मुक्ति पाउन सकिँदैन ।


अझै पनि हिंसाबाट प्रभावितहरूलाई हेयको दृष्टिले हेर्ने प्रचलन छ । पीडितलाई नै दोष लगाउने प्रवृत्ति यथावत छ । यसरी कोही पनि हिंसामा पर्नुमा उसको नभएर सिंगो समाज दोषी हुन्छ, जसले यस्तो प्रवृत्तिको जन्म दिन्छ । हिंसा प्रभावितलाई माया, सहयोग दिनु जरुरी छ ।

प्रकाशित : पुस २१, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?