एन्टिबायोटिकको जोखिम

घाँटी दुखेर, असजिलो भएर, चिलाएर, निल्न गाह्रो भएर होस् या बोली बस्दा एन्टिबायोटिक सेवन गरिहाल्ने बानी छ तर यसले ज्यानै जोखिममा पर्न सक्छ । 
डा. ढुण्डिराज पौडेल

काठमाडौँ — प्रथम र दोस्रो विश्वयुद्धका कारण कैयौं एन्टिबायोटिक आविष्कार गरिएका थिए । समयमै निरूपण हुन नसके एन्टिबायोटिकका कारण विश्वयुद्धमा जस्तै अकारण र अकालमा धेरै मानिसको मृत्यु हुने निस्चित छ । 

अन्य विशेषज्ञतामा जस्तै नाक, कान एवं घाँटीको समस्या देखापर्ने बित्तिकै एन्टिबायोटिक अनावश्यक प्रयोग हुने गरेको छ । कडा–कडा एन्टिबायोटिक दुर्गमका समेत निजी औषधि पसल र व्यवसायिकामा समेत पुग्ने गर्छन् ।

घाँटी दुखेर, असजिलो भएर, चिलाएर, निल्न गाह्रो भएर होस् या बोली बस्दा एन्टिबायोटिक सेवन गरिहाल्ने बानी छ । नाक, कान, घाँटी विभागमा घाँटीको समस्या लिएर जचाउन आउने आधाभन्दा बढी बिरामीले प्रतिदिन एक चक्कीको दरले सेवन गर्न मिल्ने ५०० र २५० मिलिग्राम एन्टिबायोटिक एजिथ्रोमाइसिन सेवन गरिसकेका हुन्छन् ।

यो धेरैजसो घाँटी दुखाइमा आवश्यक नपर्ने र विशेष प्रकारको ब्याक्टेरियाको संक्रमणमा प्रभावकारी हुने एन्टिबायोटिक हो । दिनको एक चक्कीका दरले केही दिनमात्रै सेवन गरे पुग्ने यो औषधि दुरुपयोग हुंँदा ड्रग रेसिस्टेन्ट अर्थात औषधि विरुद्ध प्रतिरोध क्षमता विकास हुने गर्छ । यसको अनावश्यक प्रयोगबाट मुटु, कलेजोसम्मलाई असर पुग्छ । सामान्यतयाएक सातामा आफै निको हुने भाइरस संक्रमण रुघाखोकी लाग्ने बित्तिकै एन्टिबायोटिक प्रयोग गर्दा उल्टै हानि पुग्छ ।

एमोक्सिक्लाभ, एमोक्सिसिलिन, क्विनोलिनदेखि विशेष एवं गम्भीर खाले संक्रमणमा प्रयोग गरिने नयाँ एन्टिबायोटिकको समेत दुरुपयोगले चिकित्सा क्षेत्रमा संकट पैदा हुँदैछ । तोकिएको भन्दा कम मात्रा एवं अवधिको अपूरो एवं अधुरो एन्टिबायोटिक प्रयोगले पनि असर पार्छ । घाँटी दुख्ने, खसखस हुने, निल्न गाह्रो हुने, कानतिर दुखाइ सर्ने एवं बोलाइमा अप्ठेरो हुने जस्ता घाँटीसँंग सम्बन्धित समस्यामध्ये केहीमा तुरुन्तै प्रभावकारी एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । अधिकांश समस्यामा भने एन्टिबायोटिक आवश्यक पर्दैन । घाँटीको समस्या पर्ने बित्तिकै एन्टिबायोटिक सेवन गर्नुभन्दा रोग ठम्याउनु आवश्यक हुन्छ ।

मुखको पछाडिको फ्यारिन्जाइटिस, टन्सिलाइटिस, इपिग्लोटाइटिस, स्वर यन्त्रको ल्यारिन्जाइटिस थाइरोइडको थाइरोइडाइटिस, घाँटीमा गिर्खाहरूको लिम्फाइडिनाइटिसदेखि मांसपेशी एवं विभिन्न ठाउँमा संक्रमण, सुजन पैदा हुनसक्छ । घाँटीमा कुनै वस्तु अड्किँदा पनि दुखाइ र जलन पैदा हुनसक्छ । आमाशयमा खाना पचाउन सहयोग गर्ने अम्लीय पदार्थ फर्केर घाँटीमा जलन भई अप्ठेरो हुनसक्छ ।

सामान्यतया जलन या संक्रमण अल्पकालीन एवं दीर्घकालीन हुन्छन् । अल्पकालीन घाँटीको संक्रमण पनि एन्टिबायोटिक चाहिने र नचाहिने खालका हुन्छन् । विशेषगरी बच्चामा हुने घाँटीको ब्याक्टेरियल संक्रमण जस्तो– टन्सिलाइटिस, इपिग्लोटाइटिस, डिप्थेरिया, कान र पछाडि हड्डीमा समेत दुख्ने र सुन्निने गम्भीर समस्या, घाँटीमा सेतो पिपजस्तो पदार्थ जम्मा भई दुख्ने समस्यामा तुरुन्तै प्रभावकारी एन्टिबायोटिक प्रयोग गर्नुपर्छ ।

यस्तो अवस्थामा बिरामीलाई भर्ना गरी नसाको माध्यमबाट पनि प्रभावकारी एन्टिबायोटिक चलाउनुपर्छ, नत्र ज्यान जोखिममा पर्न सक्छ । गर्धन मुख्यतया छाला, बोसो, मासु र हड्डीबाट बनेको हुन्छ । गर्धन दुख्दैमा जथाभावी एन्टिबायोटिक सेवन गर्न हँुंदैन । गर्धनको धेरैजसो दुखाइ मांसपेशी या हड्डीका कारण पैदा हुन्छ ।

घाँटी या गर्धनमा उब्जिएको रोगका कारण सिर्जित दुखाइ कानमा सर्न सक्छ । कानको दुखाइ लिएर आउने बिरामीको घाँटी या गर्धनमा समस्या हुनसक्छ । नाक बग्नु, हाछ्युंँ आउनु, बोली धोद्रो हुनु, रुघाखोकीसँंगै घाँटी दुख्नुको कारण भाइरस हो । यसमा एन्टिबायोटिकको कुनै भूमिका रहन्न । रुघाखोकी या भाइरसको संक्रमण हँदा घाँटी दुख्ने, घाँटी रातो हुने र निल्न गाह्रो हुने गर्छ, जुन समस्या सामान्यतया एक सातामा आफै निको हुन्छ । भाइरसकै कारण भाइरलको संक्रमण हँुंदा भिटामिन सी र यथासम्भव पोषिलो खानासहित प्रशस्त झोलिलो पदार्थ सेवन गर्नुपर्छ ।

रुघाखोकीसँंगै घाँटी दुख्दा अनि मुख र जिब्रोको पछाडि दुईतिर रहेका टन्सिल पनि सामान्यतया रातोमात्रै भई सुन्निँदा एन्टिबायोटिक प्रयोग गर्नुपर्ने ब्याक्टेरियाको संक्रमण कारक बनेको हुँदैन । यस्तो संक्रमणको समयमै उपचार नभए ज्यानलाई जोखिममा पार्नसक्ने जटिलता पैदा हुन सक्छन् ।

घाँटी भित्रको जलन अर्थात फ्यारिन्जाइटिस हुँदा पनि दुबैतिरका टन्सिल रातो भई सुन्निएका हुन सक्छन् । यसरी संक्रमण भई एकपटक सुन्निएका टन्सिलको आकार पूर्व अवस्थामा नजाने हुँदा बिरामी र बिरामीका अभिभावक चिन्तित हुने गर्छन् । त्यस्ता टन्सिललाई आवश्यक नपरिकन निकाल्न जोड दिने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनले अनावश्यक टन्सिलको शल्यक्रिया रोक्न फाल्नुपर्ने अवस्था तोकिदिएको छ । टन्सिलको आकारमात्रै ठूलो देखेर एन्टिबायोटिक सेवन र शल्यक्रिया गर्नु पर्दैन । घाँटी दुख्यो भन्दैमा धेरै तातो पदार्थ सेवन गर्नुहुन्न, झनै समस्या निम्तिन्छ । बरु तातो र चिसो वस्तु छिटो–छिटो प्रयोग गर्दा किटाणु फस्टाउँछ ।

घाँटी दुख्नुका साथै खकारसहित खोकी लाग्दा एक सातामा सन्चो हुनाको सट्टा बाक्लो सिंगान सहितको खोकी लागे एन्टिबायोटिकको सेवन गर्नुपर्ने हुन्छ । घाँटी दुख्दा मुख बाएर भित्रमात्रै होइन, घाँटीलाई बाहिरबाट पनि छाम्नुपर्छ । रुद्र घण्टी या त्यसको मुन्तिर थिच्दा च्वास्स दुख्न गए त्यो थाइरोइडको सुजनका कारण हुनसक्छ ।

यो धेरैजसो भाइरल आफै निको हुने या अन्तरनिहित कारणले सिर्जित हुन्छ । यसमा स्टेरोइड औषधि दिने गरिन्छ । घाँटीमा रहेका अन्य ग्रन्थिहरू (लिम्फनोडहरू) पनि संक्रमण एवं क्यान्सरका कारण दुखाइसहित या दुखाइ बिना पनि सुन्निन सक्छन्, जसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।

क्यान्सर या शंका ?
आफ्नो पारिवारिक सदस्य, आफन्त या चिनेजानेका कोही व्यक्तिमा घाँटीको क्यान्सर रहेछ भने घाँटीमा अप्ठ्यारो महसुस गर्ने कैयौं व्यक्तिले क्यान्सरको चिन्ता लिने गर्छन् । उनीहरू लामो समयसम्म मनोवैज्ञानिक समस्याले ग्रस्त हुन्छन् र अनावश्यक परीक्षणमा ठूलो धनराशि खर्च गर्छन् ।

दुई साताभन्दा बढी निल्न गाह्रो भए, बोली धोद्रो भए, घाँटी र कानतिर दुखाइ सर्न गए, घाँटीमा गिर्खा या ग्ल्यान्ड बढ्न गए क्यान्सरको शंका गर्नुपर्ने हुन्छ । विशेषगरी चुरोट, रक्सी, सुर्तीजन्य, सुपारीजन्य आदि हानिकारक वस्तुका सेवनकर्ता मुख, जिब्रो, घाँटी सम्बन्धी क्यान्सरको सिकार बन्न सक्छन् ।

आणुवंशीय एवं वंशानुगत कारणले पनि सन्ततिहरू थाइरोइड लगायतका क्यान्सरबाट पीडित भइरहेकै छन् । यस्ता जोखिममा रहेका व्यक्तिहरूमा घाँटी दुख्ने, सांँच्चिकै निल्न गाह्रो हुने, स्वर सुक्दै जाने, घाँटीका गिर्खा सुन्निँदै जाने, निको नहुने घाउखटिरा हुने जस्ता लक्षण देखिए पनि क्यान्सरको शंका गर्नुपर्ने हुन्छ ।

लेखक वीर अस्पतालका नाक, कान, घाँटीविभाग प्रमुख हुन् ।

प्रकाशित : पुस २१, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हिंसाका अनेक रूप

विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनअनुसार विश्वमा हरेक तीनमा एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका छन् ।
दुर्गा घिमिरे

काठमाडौँ — संसारमा कुनै पनि राष्ट्र महिलामाथि हुने हिंसाबाट मुक्त छैन । विकासको चरम उत्कर्षमा पुगेका राष्ट्र पनि । हिंसाका स्वरूप भने दिनानुदिन बदलिँदै गएका छन् । ज्यादा हिंसा नजिकैको नातेदार वा साथीबाट हुने गरेको पाइएको छ । सबैभन्दा सुरक्षित मानिएको घरमै महिलाहरू सबैभन्दा बढी हिंसामा पर्छन् । 

विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययन अनुसार विश्वमा हरेक तीनमा एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका छन् । अध्ययनले यस्तो हिंसा नजिकको साथीबाट हुने देखाएको छ । यस्ता घटनाले महिलाको शारीरिक, सामाजिक, आर्थिकमात्र नभएर मानसिक अवस्थामा पनि नराम्रो असर पारेको छ । उनीहरूको प्रजनन स्वस्थ्यमा पनि नराम्रो प्रभाव पारेको छ । कति अवस्थामा महिला एड्सको सिकारपनि भएका छन् ।

यस सन्दर्भमा हाम्रो सामाजिक संरचना नै पुनरावलोकन गनुपर्ने देखिन्छ । हाम्रो सामाजिक संरचना पुरुषप्रधान भएकाले महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउनसकेको छैन । जहाँ महिलाको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन् भन्ने उक्तिलाई व्यवहारमा कमै उतारिन्छ ।

हरेक क्षेत्रमा महिला सहभागितामा उल्लेखनीय वृद्घि भएको देखिए तापनि व्यवहारमा त्यसलाई स्वीकारेको अवस्था छैन । महिलामाथि हुने हिंसाका घटनाहरू दिनानुदिन बढेका छन् । महिला सहभागिता वृद्धिका लागि हिंसामुक्त सामाजिक अवस्थाको
खाँचो छ ।

संविधानले आफ्नो प्रस्तावनामै लैड्डिक हिंसा अन्त्य गर्ने प्रतिबद्धता जनाए तापनि व्यवहारमा यसको पूर्ण कार्यान्वयन हुनसकेको छैन । कैलालीकी किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या घटनाको छानबिन अझै टुंगोमा पुगेको छैन । देशभरि उनको समर्थनमा नारा, जुलुस, धर्नाजस्ता विरोधका कार्यक्रमहरू भैरहेका छन् । पीडित परिवार न्यायको पर्खाइमा सरकारको बाटो हेरिरहेका छन् । यो घटनाले जनतालाई कानुन र न्याय प्रणालीप्रतिनै विश्वास हराउँदै गएको छ ।

संसारको आधा आकाश ढाकेका महिलामाथि हुने हिंसाको समस्या केवल उनीहरूको मात्र समस्या होइन । यो समस्या विरुद्ध सिंगो समाज, युवा पिढी, मानव अधिकारकर्मी, पत्रकार, सामाजिक अभियन्ता, बौद्धिक वर्ग सबैले साझा सवालका रूपमा लिएर आ–आफ्नो स्तरबाट, लेख्ने, बोल्ने, धर्ना बस्ने, विरोधमा सामेल हुने र सरकारलाई दबाब सिर्जना गर्न संलग्न हुनुपर्छ ।

म्हिलामाथि हुने हिंसाका घटनालाई सहने र समाज र परिवारको इज्जतको डरले लुकाउने प्रवृत्ति ठूलो चुनौती हो । महिला स्वयम्ले नै आफूमाथि हुने हिंसालाई लुकाएर राख्ने गर्छन् । यो सहेर, लुकाएर राख्ने प्रवृत्तिले हिंसालाई बढी प्रोत्साहन गर्छ । र पीडकले थप उत्तप्रेरणा पाउने गरेको छ । यसकै विरुद्ध हिंसा नलुकाऊ भन्दै राष्ट्र संघले ‘हि फर सी’ र ‘हियर मि टु’ जस्ता अभियान चलाएको छ । यस्ता ‘उनका लागि म छु’ र ‘मेरो पनि कुरा सुन’ जस्ता अभियान व्यापक रूपमा प्रचार रप्रसार हुनु जरुरी छ ।

महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि साधन र स्रोत सम्पन्न संस्थागत संरचनाको आवश्यक छ । जसले पीडितलाई तत्काल उद्धार र कानुनी सेवा मनोवैज्ञानिक परामर्शको व्यवस्थासहित उसको प्रतिष्ठित जीवनयावन गर्नसक्ने अवस्थाको सिर्जना गरोस् । अन्तर्राष्ट्रिय कानुन अनुरूप राष्ट्रिय कानुन निर्माण र त्यसको कार्यान्वयन अवस्था मूल्यांकन गरी निर्देशन दिनसक्ने शक्ति सम्पन्न निकायको खाँचो छ ।

हिंसा नियन्त्रणका लागि सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । हिंसा विरुद्ध शून्य सहिष्णुताको नीतिको व्यावहारिक कार्यान्वयन हुनुपर्छ । हिंसा नियन्त्रणका लागि स्थापना भएका संस्थागत संरचना विकास र सुदृढीकरणमा जोड दिनुपर्छ । कानुन कार्यान्वयन गर्ने निकायलाई द्रुत र चुस्त बनाउन नयाँ प्रविधिको आवश्यक तालिम प्रदान गर्नुपर्छ । घर–परिवारबाटै शून्य सहिष्णुताको नीतिलाई अभियानको रूपमा थालनी गर्नुपर्छ । पीडक जुनसुकै तहको भए पनि कडा कारबाही गर्नुुपर्छ ।

पीडितलाई स्वास्थ्य उपचार, परामर्श सेवा, कानुनी सेवा लगायत आर्थिक सशक्तीकरण गर्ने जस्ता कार्य छिटोछरितो हुनुपर्छ । हिंसा नियन्त्रणका लागि गठन भएका सञ्जालहरूले सहजकर्ताको प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । सबै पक्षको सहयोग र सहकार्यबिना यो समस्याबाट मुक्ति पाउन सकिँदैन ।

अझै पनि हिंसाबाट प्रभावितहरूलाई हेयको दृष्टिले हेर्ने प्रचलन छ । पीडितलाई नै दोष लगाउने प्रवृत्ति यथावत छ । यसरी कोही पनि हिंसामा पर्नुमा उसको नभएर सिंगो समाज दोषी हुन्छ, जसले यस्तो प्रवृत्तिको जन्म दिन्छ । हिंसा प्रभावितलाई माया,सहयोग दिनु जरुरी छ ।

प्रकाशित : पुस २१, २०७५ ०८:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT