कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेलायतमा नेपाली माटोको सम्झना

काठमाडौँ — सन् २०१८ लाई इतिहासको गर्भमा बिदा गरी सन् २०१९ सुरु भएको छ । यो अन्तर्राष्ट्रिय नयाँ वर्षको शुभारम्भले मलाई २०१८ ले कस्तो छाप छोडेर गएको छ र यसले २०१९ को संसारलाई कसरी प्रभावित पार्नेछ भन्ने कुराले सोच मग्न बनायो । आत्मसम्मान र स्वाभिमानलाई कायम राख्दै बेलायत ब्रेक्जिटतिरै अग्रसर छ ।

बेलायतमा नेपाली माटोको सम्झना

ब्रेक्जिटले बेलायतलाई केही समय अवश्य नै नकारात्मक असर गर्नेछ । तर, बेलायतमा सुशासनको जग बलियो भएकाले संसारको बौद्धिक र वित्तीय राजधानीको रूपमा लन्डनको वर्चस्व कायमै रहनेछ । युरोपियन युनियनको धेरै अनावश्यक नियमनको चंगुलबाट मुक्त बेलायत सिङ्गापुर र स्वीटजरल्याण्ड जस्तै संसारको व्यापारिक केन्द्र बन्न सक्ने सम्भावना छ । अमेरिकी राजनीतिमा देखिएको विसङ्गतिमा २०१९ मा सुधार आउने अपेक्षा गरिएको छ । नेपालको राजनीतिक नेतृत्वमा देखिएका केही अपरिपक्वताका बाबजुद मुलुक लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गर्ने र आर्थिक विकासलाई तीव्रता दिने क्रममा अघि बढ्नेछ । विभिन्न उतारचढावका बाबजुद दक्षिण एसियामा लोकतन्त्रको जग दरिलो हुने मुलुकमा नेपाल अग्रपङ्क्तिमा छ । दुई वर्ष अघि नेपालमा आम निर्वाचन हुँदा कुनै पनि दलबाट निर्वाचनमा धाँधली भयो भन्ने आवाजै नउठेको सुस्खद स्थिति छ भने बङ्गलादेशको हालैको विवादास्पद र हिंसाग्रस्त निर्वाचनको दुस्खद उदाहरण यही दक्षिण एसियामै छ ।


मेरो व्यक्तिगत जीवनमा पनि सन् २०१८ एक विशेष वर्षका रूपमा रह्यो । यो वर्ष मेरा स्वर्गीय पूज्य पिताजी पण्डित होमनाथ सुवेदीको शतवार्षिकी थियो र मैले यही वर्ष ६० वटा वसन्त पार गरेँ । उहाँले भर्खरै काठमाडौँमा उच्च शिक्षा सुरु गर्न लाग्दा हाम्रा हजुरबुवाको अल्पायुमै स्वर्गारोहण भयो र जेठो छोराको नाताले मेरो पिताजीले काठमाडौँको आफ्नो पढाइ छाडेर लमजुङ खुदी फर्किएर घर व्यवहार धान्नु पर्‍यो । चार भाइ र एक बहिनीलाई पढाउने, हुर्काउने र व्रतबन्ध गरी घरजम बसाइदिने सबै दायित्व पिताजीको काँधमा आइपुग्यो । त्यसपछि जन्मिएका हामी ५ दाजु भाइ र ५ दिदी बहिनीको लालनपोषण, शिक्षादीक्षा, व्रतबन्ध, विवाह सबै उहाँको काँधमा थपियो । तर, आफ्नो दायित्वबाट कत्ति पनि विचलित नभई हामी सबैलाई शिक्षादीक्षा दिनुभयो । गाउँको संस्कृत प्रधान पाठशालामा अध्यापन गर्ने देखि लिएर कमला प्रावि स्थापना गर्ने, ती विद्यालयको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने जिम्मा पिताजीकै थियो । अहिलेको जमानामा असम्भव प्राय लाग्ने दायित्व त्यो बेलाको सीमित आयको भरमा पिताजीले कसरी पुरा गर्नुभयो भन्ने मलाई लाग्दछ र ती कुरा सम्झँदा पिताजीप्रति मेरो सम्मान सय गुणा बढ्दछ । पिताजीले समाजमा जुन उदाहरण प्रस्तुत गर्नुभयो, त्यसले लमजुङको सेरोफेरो सबैमा राम्रो सन्देश प्रवाह गरेको थियो । हाम्रो लमजुङको सुवेदी परिवारले जिल्लामा शिक्षाको ज्योति बाल्नेमा अग्रणी भूमिका निर्वाह गरेको थियो । अमर मावि मैले जहाँबाट एसएसलसी परीक्षा उत्तिर्ण गरेँ, त्यसको स्थापना, सञ्चालन र अध्यापनमा मेरा पिताजीको ठुलो भूमिका रह्यो ।


म आफैँले व्यक्तिगत रूपमा जे जति उपलब्धि हासिल गरेको छु त्यसमा मेरो पिताजीले आर्जन गरेको धर्म र कठोर मिहेनतको छाप छ । मेरो प्राध्यापक, डाक्टर, ब्यारिस्टर, क्वीन्स काउन्सिल, अफिसर अफ द अर्डर अफ द ब्रिटिस अम्पायर, सुप्रवल गोर्खा दक्षिण बाहु, विशिष्ट श्रेणीमा कानुनाचार्य आदि सबै उपाधि र उपलब्धिको पछाडि पिताजीको योगदान छ । मेरो पिताजी मेरो पिताजीमात्र नभएर शिक्षक र मन्त्र सुनाउने गुरु समेत हुनुहुन्थ्यो । म सानै देखि विद्रोही स्वभावको छोरो थिएँ । चौध वर्षको कलिलो उमेरमै राजनीतिमा चासो राखेर आफ्नो विद्यालयको स्ववियू सभापतिमा निर्वाचित भएँ । पछि ल क्याम्पसमा पढ्दा जनमत सङ्ग्रह अगाडिको विद्यार्थी आन्दोलनमा जेल परेँ । तर, उहाँले कहिल्यै हिम्मत हार्नु भएन र मलाई रोक्नु भएन । मेरो राम्रा र नराम्रा उतारचढाव सबैमा उहाँको सहयोग र स्नेह निरन्तर कायम रह्यो । प्रवासमा रहेर नेपाललाई बौद्धिक योगदान दिने व्यक्ति भनेर गोदवाको मान पदवी पाउने सम्भवतस् म नै पहिलो थिएँ । बेलायतबाट अन्तर्राष्ट्रिय कानुनमा विशिष्ट श्रेणीमा प्रथम भई उत्तिर्ण हुँदा र अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली म हुन पुगेकोमा पिताजीलाई ठुलो गौरव लागेको थियो । तर, मलाई दुस्ख लागेको कुरा मेरा सबै उपलब्धि सुन्ने र त्यसबाट सुस्खी हुने मौका उहाँले पाउनुभएन । उहाँको ७८ वर्षको उमेरमै निधन भयो ।


प्रत्येक व्यक्तिको जिन्दगीको सफलता पछाडि विगतको पुस्ताको ठुलो योगदान रहेको हुन्छ । त्यसै गरी गत वर्षले नव वर्षलाई प्रभावित गरेको हुन्छ । आशा गरौँ अन्तर्राष्ट्रिय वर्ष २०१९ ले सबैलाई अतीतबाट पाठ सिक्ने र विगतको पुस्ताप्रति आभारी हुँदै भविष्यमा लम्कने प्रेरणा प्रदान गर्नेछ । मैले दुई वर्षअघि बेलायती महारानीबाट कानुनी क्षेत्रका उत्कृष्ट विद्धानलाई प्रदान गरिने उच्च उपाधि क्वीन्स काउन्सिल (क्यूसी) पाउँदा अहिलेसम्म पिताजी जीवितै रहेको भए कति खुसी हुनुहुन्थ्यो होला भन्ने लाग्यो । प्रत्येक सन्तानको उपलब्धिमा निस्स्वार्थ रूपमा बढी खुसी हुने माता पिता नै हुन्छन् । लन्डनको वेस्ट मिनिस्टरको राजाप्रसाद (राजदरवार) मा भएको सुशोभन समारोहमा मेरो पदवी लिन अघि बढ्ने क्रममा मलाई एक छिन रोकिएर मेरा मातापिता र नेपाली माटोलाई सम्झिएर प्रणाम गर्न इच्छा लाग्यो । मैले मेरो पदवी लिएपछि बेलायतका कानुन मन्त्रीले तपाईँ समारोहमा किन एक छिन रोकिनुभएको हो भनेर सोधे । मैले जवाफ दिएँ, मैले मेरा मातापिता र नेपाली माटोलाई जसले मलाई यहाँसम्म पुर्‍याए तिनैको सम्झना र तिनैप्रति अनुग्रहित हुन रोकिएको हुँ भनेँ । मेरा काका पण्डित श्री घनश्याम सुवेदी जो धर्मशास्त्र र ज्योतिषशास्त्रका विद्धान हुनुहुन्छ, उहाँले मलाई आफ्नो हालैको बेलायत भ्रमणका क्रममा बाबु तिमीले बेलायत जस्तो उन्नत र अत्यन्त प्रतिष्पर्धात्मक मुलुकमा जति प्रगति गरेका छौँ त्यो र संसारमा नेपालको प्रतिष्ठा अभिवृद्धिका लागि जुन योगदान दिएका छौ, त्यो तिम्रो पिताजीको पुण्यको फल हो भन्नु भएको थियो । पिताजीबाट पाएको शिक्षादीक्षा र संस्कृत विद्यालयमा पढ्दा हितोपदेश लगायतका नीति शास्त्रले देखाएको बाटोमा हिँडेर नै म यहाँ आइपुगेको हुँ भन्नेमा मलाई विश्वास छ । त्यसैले सन् २०१८ लाई बिदा गरी सन् २०१९ लाई स्वागत गर्ने क्रममा मैले मेरा मातापिता र नेपाली माटोलाई पुनस् प्रणाम गर्दै २०१९ मा संसारमा सबैको भलो होस् भन्ने इच्छाका साथ आफ्नो प्राज्ञिक कलम अगाडि बढाउने प्रतिज्ञा गरेको छु ।


– सुवेदी बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक हुन् ।

प्रकाशित : पुस २२, २०७५ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?