फोनमै ९१ दिन !

‘२९ प्रतिशत अमेरिकीले बरु तीन महिना यौनसम्बन्ध त्याग गर्न सक्छन्, स्मार्टफोन एक साताका लागि पनि छाड्न सक्दैनन् ।’
पाउल ग्रिनबर्ग

काठमाडौँ — तीन चौथाइभन्दा बढी अमेरिकीसँग स्मार्टफोन छ । सन् २०१८ मा २५ करोड ३० लाख अमेरिकीले आफ्नो स्मार्टफोन र अन्य मोबाइल सामग्रीका लागि १ हजार ३ सय ८० डलर तथा १ हजार ४ सय ६० घण्टाका दरले खर्च गरे । सुत्ने समयको हिसाब नगरी जोड्दा ९१ दिन ।

समग्रमा तीन खर्ब ७० अर्ब घण्टा काम नगरी उनीहरूले लगभग तीन खर्ब ४९ अर्ब डलर खर्च गरे । सन् २०१९ मा यसलाई परिवर्तन गर्न उल्लिखित कार्य गर्न सकिन्छ, जुन समाज र आफ्नै लागि पनि उत्पादक हुन्छ ।

बिरुवा रोपौं
प्राय: पश्चिमी राज्यमा फोनमा गरिने १३८० डलर खर्च गरियो भने साढे ३ रोपनी जग्गा आउँछ । राम्रो अवस्थाको त्यति जग्गामा १५० वटासम्म रुख रोप्न सकिन्छ । एउटा रुखले वर्ष दिनभरिमा ४८ पाउन्डसम्म कार्बन खपत गर्छ । रुख रोप्नै नजान्नेले पनि ३० मिनेटमा एउटा रुख रोप्न सक्छ ।

यदि अमेरिकीहरूले स्मार्टफोनमा खर्चने समय र पैसा रुख रोप्न प्रयोग गरे वर्ष दिनमा ८८ करोड ६० लाख टन कार्बनलाई वातावरणबाट हटाउन सकिन्छ । त्यो भनेको देशले निकाल्ने कुल कार्बनको १० प्रतिशत हुन आउँछ । यदि आफैं रुख रोप्न मन छैन भने तपाईंले ६० सेन्ट राष्ट्रिय वन संघलाई दिनुभयो भने उसैले बिरुवा रोपिदिन्छ ।

प्रेम
हालै साइकोलोजी अफ पपुलर मिडिया कल्चरको जर्नलमा प्रकाशित कलेजमा पढ्ने विद्यार्थीबीचको प्रेम–सम्बन्धसम्बन्धी अध्ययनअनुसार स्मार्टफोनमाथिको निर्भरताले सम्बन्धलाई अनिश्चित बनाएको छ । यस्तो निर्भरताले सम्बन्धबाट मिल्ने सन्तुष्टि पनि थोरै मात्र प्राप्त हुन्छ । अर्को एक अध्ययनअनुसार २९ प्रतिशत अमेरिकीले बरु तीन महिना यौनसम्बन्ध त्याग गर्न सक्छन्, स्मार्टफोन एक हप्ताका लागि पनि त्याग्न सक्दैनन् ।

अब यसरी हरौं । यदि एक वर्षका लागि आफ्नो फोन त्याग्नुभयो भने तपाईंले १६ हजार पटक यौनसम्बन्ध राख्न सक्नुहुन्छ (‘फोरप्ले’को समय नजोड्दा एक अमेरिकीलाई यौनसम्बन्ध राख्न करिब साढे पाँच मिनेट भए पुग्छ) । यदि उक्त समय सँगसँगै व्यतीत गर्दा तपाईंहरू दुईको सम्बन्ध राम्रो हुँदैन भने थप चार घण्टा दुवै जना काउन्सिलिङका लागि जान पनि सक्नुहुन्छ ।

उत्प्रेरक
हालको अमेरिकी राजनीतिक प्रणालीले अधिकांश मतदाताको मतलाई अवमूल्यन गरेको छ । संसद्मा सिट संख्या बाँडफाँट न्यायोचित देखिन्न र यदि तपाईं यसलाई परिवर्तन गर्न चाहनुहुन्छ भने तल्लो तहबाटै सुरुवात गर्नुपर्छ ।

डोमेक्र्याटिजम नामक संस्थाका वकिल डेभिड गोल्डका अनुसार यदि मतदाताहरूले मोबाइल फोनलाई दिने समय र खर्च गर्ने पैसा राजनीतिक प्रणालीमा सुधारका लागि प्रयोग गरे भने उनीहरूले आफ्नो जनप्रतिनिधिलाई हप्ताको तीन पटकसम्म भेट्न सक्छन् र परिवर्तनका लागि आवाज उठाउन त्योकाफी हुन्छ ।

शुद्धीकरण
हरेक वर्ष एक करोड टन प्लास्टिकजन्य फोहोर समुद्रमा फालिन्छ । ओसन कन्सर्भेन्सीका जर्ज लियोनार्डका अनुसार यदि सबै अमेरिकीले फोनमा खर्च गर्ने पैसा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा लगाए भने त्यो पैसा एसियाली देशहरूमा ७० वर्षसम्म फोहोर व्यवस्थापनका लागि पुग्छ र फोनमा खर्च गर्ने समयले ११८ पटक स्वयंसेवी बनेर सुमद्र सफा गर्न सकिन्छ ।

पढाइ
एक सामान्य पाठकले एक मिनेटमा २८० शब्दसम्म पढ्न सक्छ । यो गति फोन प्रयोग नगरी पढ्ने हो भने १४६० घण्टामा कति किताब पढ्न सकिएला, आफैं अनुमान गर्न सकन्छि र फोनमा खर्च गरिने पैसाले कति किताब किन्न सकिन्छ, त्यो पनि आफ्नै ठाउँमा छ ।

उपचार
मायो क्लिनिकका अनुसार दिनमा आधा घण्टाको स्विमिङ, हिँडाइ वा दौडाइले शरीरको रक्तचापलाई ९ मिलिमिटरले घटाउन सकिन्छ । यदि तपाईं व्यायाम नगरेर फोन नै चलाउन रुचि राख्नुहुन्छ भने वर्षको थप ९०० सय डलर उपचारका लागि खर्च हुने सम्भावना अत्यधिक रहन्छ ।

बचत
एक सामान्य अमेरिकीले एक दशकमा स्मार्टफोनका लागि १४ हजार अमेरिकी डल खर्च गर्छ र ७० हजार घण्टा काम गर्ने समय व्यर्थ फाल्छ । यसलाई उत्पादनमूलक काममा खर्च गरेर बचत गर्ने हो भने अवकाश प्राप्त गर्ने उमेरसम्ममा पुग्दा लगभग १३ लाख डलर उपादन हुन सक्छ ।

घुमघाम
गत वर्ष स्कटल्यान्डका साइकलयात्री मार्क बियुमाउन्टले ७९ दिनमा पूरा विश्व परिक्रमा गरे । त्यसो गर्न उनले लगभग दिनको १६ घण्टा पाइडल चाल्नुपर्‍यो । तपाईंले बियुमाउन्टलाई नै त चुनौती दिन कठिन होला तर फोनमा खर्च गर्ने पैसा र समयले एक पटक विश्व भने घुम्न सकिन्छ ।

मनोरञ्जन
युवाहरूमा फोनको प्रयोग अत्यधिक रूपमा बढ्दै गइरहेको छ । त्यसलाई छोडेर त्यो समय संगीत सिक्न खर्चर्ने हो भने कतिको महारथ हासिल गर्न सकिएला ? अहिलेको अवस्थामा कुनै पनि संगीत सामग्री बजाउन सिक्न १० हजार घण्टा काफी छ । यदि यही रफ्तारमा फोन चलाउने दर बढ्ने हो भने आगामी एक दशकपछि संगीतकर्मी नै पनि भेट्न मुस्किल पर्न सक्छ ।

बोलचाल
अंग्रेजी भाषालाई उदाहरणका रूपमा लिने हो भने लगभग सात सय घण्टामा कोही पनि युरोपेली स्तरको अंग्रेजी बोल्न सक्षम हुन सक्छ । तपाईंले फोनमा खर्चिने समय त दुइटा भाषा सिक्न पर्याप्त हुन्छ ।

प्रकृति
हालैको एक अध्ययनअनुसार ७ देखि २४ महिनाका बच्चाले धेरै तनाव महसुस गरेको पाइएको छ । अभिभावकले अधिकांश समय फोनमा बिताउने भएकाले ती बच्चाले आफ्नो वरपरको वातावरण पनि हेर्न पाएका हुँदैनन् । यसरी हुर्किएकाले पछि त्यही गर्छन् । त्यसैले फोनमा एकोहोरिन छोडेर बच्चालाई वातावरण देखाउनुपनि एक प्रकारको भविष्यको लगानी हो ।

दन्यूयोर्क टाइम्सबाट अनुदित ।

प्रकाशित : पुस २८, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आदर्श नारी को ?

अग्निपरीक्षामा उत्रने सीता साहसी हुन्  तर उनलाई अत्याचारको प्रतिरोध नगरी अपमानजनक परीक्षा पालना गर्न लगाइएको छ । यसले नारीलाई अत्याचार सहन प्रेरित गरेको छ ।
रञ्जना विश्वकर्मा

काठमाडौँ — जोन काठ भन्छन्, ‘एक आदर्श पात्र हुनु शिक्षाको सबैभन्दा शक्तिशाली रूप हो ।’रामायणकी पात्र सीताको जीवनबाट आम हिन्दु नेपाली महिलाले लिने गरेको शिक्षाको रूप यस्तै शक्तिशाली सावित भएको छ । सीता नेपालकी पौराणिक राष्ट्र विभूति हुन् ।

उनको आदर्श र सचित्रताआम हिन्दु समाज र नेपाली नारीका लागि प्रेरणाको स्रोत मानिन्छ । दसैंमा टीका लागाएर ‘रामजस्तो छोरा र सीताजस्ती छोरी वा बुहारी हुनु’ भन्ने आशिर्वाद प्रचलन नै छ ।

गत मंसिर २६ गते जनकपुरमा धुमधामले विवाह पञ्चमि मनाइरहँदा तराईमा भौजी (भाउजू) लगायत महिलाहरूको जीवनी र उनीहरूसँग हुने गरेको वार्तालाप याद आयो । विवाह भएको केही वर्ष तराईका आम बुहारीहरूको घुम्टो परिवारजन र समाजको इज्जत ढाक्ने किम्ती पर्दा मानिन्छ । घुम्टो हट्ने हदम्याद गुज्रेपछि उनीहरूले चौतारीमा सामेल भई छरछिमेकसित सामान्य वार्तालाप रदु:खपीडा बाँड्ने अवसर पाउँछन् ।

मनको वह शान्त पार्ने उक्ति ‘महिलाको जीवन एस्तै हो’ भन्ने हुन्छ । साहस बटुल्ने माध्यम सीता माताको जीवनी हुन्छ । उनीहरूको बुझाइको सार हुन्छ– सीता माताजस्तो व्यक्तित्वले त आफ्नो जीवनमा कठिन रूपले परिक्षित हुनुपर्‍यो भने हामी सामान्य महिलाले अन्याय सहन विचलित हुनुहुन्न। यो सोच्ने शैली जुनसुकै महिलाको निम्ति घातक छ । अबको आम नेपाली महिलाको आदर्श विम्ब वास्तवमा कस्तो हुनुपर्छ भन्ने बहस आवश्यक छ ।

रामायणको उदाहरण
राम लगायतको टोली लंका पुग्नुअघि हनुमान अशोक वाटिका पुगेर सीतालाई आफूसँग फर्कन अनुरोध गर्छन् । रामएक महान योद्धा रहेकोसंसारलाई प्रमाणित गर्न उनी हनुमानसँगै फर्किंन्नन् । तर रामले रावणको वध गरी सीतालाई राज्यमा ल्याएपश्चात उनको वेतुकको अग्निपरीक्षा लिन्छन् ।

अग्निपरीक्षा उनको पवित्रता परीक्षण गर्न आवश्यक भएको कुतर्क बडो गर्वका साथ गरिएको देखिन्छ । व्यावहारिक र आम बोलीचालीको भाषामा भन्दा उक्त परीक्षाउनी ‘बलात्कृत’ भए–नभएको पुष्टि गर्न लिइएको थियो । उनीपवित्र सावित भए पश्चातको कथा विदितैछ । तर एकछिनलाई मानौं, उनी पवित्र नभएको पुष्टि हुन्थ्यो भने कथाको माग के हुन्थ्यो ? कतै धर्मको नाममा यसरी सोच्न र प्रश्न सोध्न प्रतिबन्ध त होइन ?

आज हामीले हिन्दु परम्पराको आदर्श अनुरूप पीडितले अपमानजन्य अग्निपरीक्षा दिने प्रावधानको वकालत गर्ने ? या कुनै महिलाको छवि उनको यौनिक अवस्थामा निर्भर नभएर उनको समग्र व्यक्तित्वमा हुन्छ भन्ने चेतना बाँड्ने ? अग्निपरीक्षामा उत्रने सीता पक्कै पनि साहसी पात्र हुन् । तरउनलाई आफूप्रतिका अत्याचारको प्रतिरोध नगरी अग्निपरीक्षा, राज्य निष्काशन, आत्महत्या लगायत अपमानजनक परीक्षाहरू आज्ञाकारी रूपमा पालना गराएरआम नारीहरूलाई अत्याचार सहन प्रेरित गरिएको छ ।

सीताको जीवन नियाल्दा उनी त्यो समयमा महिलाहरूलाई अर्धदास बनाएर बाँच्न बाध्य पारिएकी नमुना पात्रका रूपमा देखिन्छिन् । उनलाई आजसम्म हिन्दु नेपाली महिलाको आदर्श पात्रचित्रण गरिँदैछ । महिला सशक्त र स्वतन्त्र भएको नरुचाउने समूहको निम्ति त्यो सही र सुल्टो शिक्षा हो । महिला मुक्तिको कोणबाट सोच्दा र विश्लेषण गर्दात्यो गलत शिक्षा हो ।

भृकुटी
भृकुटी पनि नेपालको महिला राष्ट्र विभूति हुन् । उनलाई थान्का र पौवा कलामा हरित तारा भनिन्छ । नेपाल र चीन सम्बन्धकी सेतुको रूपले समेत उनी चिनिन्छिन् । तिब्बतमा नेपाली कलाको प्रचार गरेको विषयमा उनी शतप्रतिशत सम्मानको हकदार छिन् । तर नेपाल र चीन सम्बन्धसेतु बनेकोबेलाको कथाको वास्तविक विश्लेषण भने विरलै पढ्न–सुन्न पाइन्छ ।

महिलाहरू युद्धमा पनि अत्याधिक प्रयोग भएका छन् । युद्धमा महिलामाथि भएको अत्यधिक अत्याचारको एउटा रूप भृकुटी पनि हुन् । स्रङचङ गम्पोले नेपालसामु सात सर्त राखेका थिए । त्यसमध्ये एउटा सर्तउनलाई छोरी दिनुपर्ने पनि थियो । नत्र तिनले आक्रमण गर्छु भनेकाले राज्य जोगाउन भृकुटीलाई अन्माएर पठाइएको हो ।

बिहेवारी गरेर वा गम्पो आफै लिन आएर भृकुटी तिब्बत गएकी हैनन् । यहाँबाट लगेर उनलाई त्यहाँ छोडेर आइएको हो । त्यहाँ पुगेर उनले नेपालको नाम बढाइन्, त्यो बेग्लै कुरा भो । तर आफूले गरेको काम ठिक बनाउन पीडितको महिमा गाइएको हो । उनलाई विभूति घोषणा गरी शासकहरूले आफ्नो ऐतिहासिक अपराध छोपेका हुन् । महिलालाई जति धेरै उत्पीडन गर्‍यो, त्यति नै महानचित्रण गर्ने चलन छ । सीता र भृकुटी त्यसको प्रतिनिधि पात्र हुन् । त्यसैले आदर्श नारीको विम्ब उनीहरू हुन सक्दैनन् ।

आदर्शविम्बको गुण
बहुजाति र बहुसभ्यता भएको समाजमा कुनै एक समुदायबाट एक जनालाई मात्र आदर्श विम्ब मान्न मिल्दैन । तर महिला मुक्तिको कोणबाट कसैलाई आदर्शीकरण गर्दा व्यावहारिक रूपले केही अनिवार्य गुण हुनु आवश्यक देखिन्छ । जस्तै– आदर्श मानिने महिला आफ्नो जीविकाकोलागिपरनिर्भर नभएर आफै श्रमजीवी हुनुपर्छ । अर्धदासयुक्त जीवनको विरोध गर्दै पितृसत्ता विरुद्ध कुनै न कुनै ढङ्गबाट लडेको हुनुपर्छ । स्वन्त्रता र स्वनिर्णय अधिकारको प्रयोग गर्न नचुकेको हुनुपर्छ ।

नेपालमासबै महिलाश्रमजिवि छन् । तर स्वन्त्रताको र स्वनिर्णयको उपयोग गर्नेमाहिन्दु र मुस्लिम महिलाको दाँजोमा जनजाति महिला छन् । र हिमाली महिलाहरू अझबढी स्वतन्त्र छन् । उनीहरू पनि हाल पूर्ण स्वतन्त्र र पुरुष समान छन् भन्नमिल्दैन । तर अन्य समुदायको तुलनामा उनीहरू पितृसत्ताबाट कम उत्पीडित र बढी मुक्त छन् ।

उनीहरू श्रमजीवी हुन्छन् र अपवाद बाहेकश्रीमान–श्रीमतीबीच उनीहरूको बराबरी हैसियतको शासकीय सम्बन्ध पनि रहन्छ । स्वनिर्णय र स्वतन्त्रताको दृष्टिकोणबाट उनीहरूको कथा महिलालाई उत्प्रेरित र सशक्तीकरण गर्नेखालको पाइन्छ । नेपालमा जनजाति महिलाको जीवन आदर्शीकरण गर्न तुलनात्मक रूपमा योग्य देखिन्छ ।

उत्पीडितहरूमाथि प्रयोग हुने विम्बको भाष्यमै समस्या छ । त्यहाँभित्रको कथा उनीहरूलाई पीडित भैरहन बाध्य पार्नेगरी बनाइएको हुन्छ । जस्तै– महिलालाई सधैं उत्पीडित बनाइराख्न ‘हरेक सफल पुरुषको पछाडि एउटा महिलाको हात हुन्छ’ भन्ने भनाइ प्रचलित बनाइयो । यो महिलालाई सहयोगी बनाइरहन बाध्य पार्ने भनाइ हो । कसैको पछाडिमात्र कोही रहने हो भने उसको भर्‍याङमात्र बनिन्छ । यस्ता कथाहरू हाम्रो पितृसत्ताले बनाएका हुन् । यी भ्रमलाई चिरेर हामीले उचित शिक्षा बाँड्दै सही आदर्श सिको गर्नु आवश्यक हुन्छ ।

आहुतीले एकपटक भनेका थिए,‘आमाहरू उत्पीडित हुँदैन थिए भने उनीहरू महान हुँदैन थिए । एउटा उदाहरण छ, बच्चाको निम्ति आमा सबभन्दा प्यारो किन हुन्छ भने ऊ बिरामी हुँदा बाबु सुतिरहन्छ र आमा रातभरि उठिरहेकी हुन्छिन् । त्यो बच्चाले आफ्नी आमाले आफूप्रति गरेको व्यवहार देख्छ,त्यसकारण उसलाई आफ्नो आमा आदर्श र महान लाग्छ । तर त्यो आमा रातभरि उठ्नुको कारण श्रीमानले नसघाएर हो । यसलाई आमामाथि उत्पीडन भएको भन्दा हुन्छ । त्यसकारण परम्परागत महान आमाहरूको अन्त्य हुनुपर्छ । महिलाहरू स्वतन्त्र भए उनीहरू महान नभएर सामान्य हुन्छन् । मान्छे त सामान्य हुनुपर्‍यो नि ।’

वास्तवमा महिला मुक्ति चाहने हो भने आज्ञाकारी रूपमा अत्याचार सहन बन्द गर्नैपर्छ । महिलामाथि भएका एस्ता ऐतिहासिक गल्तीहरूको सही विश्लेषण गरेर मात्र शिक्षा प्रवाह गरिनुपर्छ । नत्र गलत आदर्शको पछि लागेर मानिसले तराईका भौजीहरूले जस्तो गलत शिक्षा लिन्छन् र आफ्ना सन्ततिलाई पनि त्यही सिकाउँछन् ।

ranjanabk2047@gmail.com

प्रकाशित : पुस २८, २०७५ ०८:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT