फोनमै ९१ दिन !

‘२९ प्रतिशत अमेरिकीले बरु तीन महिना यौनसम्बन्ध त्याग गर्न सक्छन्, स्मार्टफोन एक साताका लागि पनि छाड्न सक्दैनन् ।’
पाउल ग्रिनबर्ग

काठमाडौँ — तीन चौथाइभन्दा बढी अमेरिकीसँग स्मार्टफोन छ । सन् २०१८ मा २५ करोड ३० लाख अमेरिकीले आफ्नो स्मार्टफोन र अन्य मोबाइल सामग्रीका लागि १ हजार ३ सय ८० डलर तथा १ हजार ४ सय ६० घण्टाका दरले खर्च गरे । सुत्ने समयको हिसाब नगरी जोड्दा ९१ दिन ।

फोनमै ९१ दिन !

समग्रमा तीन खर्ब ७० अर्ब घण्टा काम नगरी उनीहरूले लगभग तीन खर्ब ४९ अर्ब डलर खर्च गरे । सन् २०१९ मा यसलाई परिवर्तन गर्न उल्लिखित कार्य गर्न सकिन्छ, जुन समाज र आफ्नै लागि पनि उत्पादक हुन्छ ।


बिरुवा रोपौं

प्राय: पश्चिमी राज्यमा फोनमा गरिने १३८० डलर खर्च गरियो भने साढे ३ रोपनी जग्गा आउँछ । राम्रो अवस्थाको त्यति जग्गामा १५० वटासम्म रुख रोप्न सकिन्छ । एउटा रुखले वर्ष दिनभरिमा ४८ पाउन्डसम्म कार्बन खपत गर्छ । रुख रोप्नै नजान्नेले पनि ३० मिनेटमा एउटा रुख रोप्न सक्छ ।


यदि अमेरिकीहरूले स्मार्टफोनमा खर्चने समय र पैसा रुख रोप्न प्रयोग गरे वर्ष दिनमा ८८ करोड ६० लाख टन कार्बनलाई वातावरणबाट हटाउन सकिन्छ । त्यो भनेको देशले निकाल्ने कुल कार्बनको १० प्रतिशत हुन आउँछ । यदि आफैं रुख रोप्न मन छैन भने तपाईंले ६० सेन्ट राष्ट्रिय वन संघलाई दिनुभयो भने उसैले बिरुवा रोपिदिन्छ ।


प्रेम

हालै साइकोलोजी अफ पपुलर मिडिया कल्चरको जर्नलमा प्रकाशित कलेजमा पढ्ने विद्यार्थीबीचको प्रेम–सम्बन्धसम्बन्धी अध्ययनअनुसार स्मार्टफोनमाथिको निर्भरताले सम्बन्धलाई अनिश्चित बनाएको छ । यस्तो निर्भरताले सम्बन्धबाट मिल्ने सन्तुष्टि पनि थोरै मात्र प्राप्त हुन्छ । अर्को एक अध्ययनअनुसार २९ प्रतिशत अमेरिकीले बरु तीन महिना यौनसम्बन्ध त्याग गर्न सक्छन्, स्मार्टफोन एक हप्ताका लागि पनि त्याग्न सक्दैनन् ।


अब यसरी हरौं । यदि एक वर्षका लागि आफ्नो फोन त्याग्नुभयो भने तपाईंले १६ हजार पटक यौनसम्बन्ध राख्न सक्नुहुन्छ (‘फोरप्ले’को समय नजोड्दा एक अमेरिकीलाई यौनसम्बन्ध राख्न करिब साढे पाँच मिनेट भए पुग्छ) । यदि उक्त समय सँगसँगै व्यतीत गर्दा तपाईंहरू दुईको सम्बन्ध राम्रो हुँदैन भने थप चार घण्टा दुवै जना काउन्सिलिङका लागि जान पनि सक्नुहुन्छ ।


उत्प्रेरक

हालको अमेरिकी राजनीतिक प्रणालीले अधिकांश मतदाताको मतलाई अवमूल्यन गरेको छ । संसद्मा सिट संख्या बाँडफाँट न्यायोचित देखिन्न र यदि तपाईं यसलाई परिवर्तन गर्न चाहनुहुन्छ भने तल्लो तहबाटै सुरुवात गर्नुपर्छ ।


डोमेक्र्याटिजम नामक संस्थाका वकिल डेभिड गोल्डका अनुसार यदि मतदाताहरूले मोबाइल फोनलाई दिने समय र खर्च गर्ने पैसा राजनीतिक प्रणालीमा सुधारका लागि प्रयोग गरे भने उनीहरूले आफ्नो जनप्रतिनिधिलाई हप्ताको तीन पटकसम्म भेट्न सक्छन् र परिवर्तनका लागि आवाज उठाउन त्यो काफी हुन्छ ।


शुद्धीकरण

हरेक वर्ष एक करोड टन प्लास्टिकजन्य फोहोर समुद्रमा फालिन्छ । ओसन कन्सर्भेन्सीका जर्ज लियोनार्डका अनुसार यदि सबै अमेरिकीले फोनमा खर्च गर्ने पैसा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा लगाए भने त्यो पैसा एसियाली देशहरूमा ७० वर्षसम्म फोहोर व्यवस्थापनका लागि पुग्छ र फोनमा खर्च गर्ने समयले ११८ पटक स्वयंसेवी बनेर सुमद्र सफा गर्न सकिन्छ ।


पढाइ

एक सामान्य पाठकले एक मिनेटमा २८० शब्दसम्म पढ्न सक्छ । यो गति फोन प्रयोग नगरी पढ्ने हो भने १४६० घण्टामा कति किताब पढ्न सकिएला, आफैं अनुमान गर्न सकन्छि र फोनमा खर्च गरिने पैसाले कति किताब किन्न सकिन्छ, त्यो पनि आफ्नै ठाउँमा छ ।


उपचार

मायो क्लिनिकका अनुसार दिनमा आधा घण्टाको स्विमिङ, हिँडाइ वा दौडाइले शरीरको रक्तचापलाई ९ मिलिमिटरले घटाउन सकिन्छ । यदि तपाईं व्यायाम नगरेर फोन नै चलाउन रुचि राख्नुहुन्छ भने वर्षको थप ९०० सय डलर उपचारका लागि खर्च हुने सम्भावना अत्यधिक रहन्छ ।


बचत

एक सामान्य अमेरिकीले एक दशकमा स्मार्टफोनका लागि १४ हजार अमेरिकी डल खर्च गर्छ र ७० हजार घण्टा काम गर्ने समय व्यर्थ फाल्छ । यसलाई उत्पादनमूलक काममा खर्च गरेर बचत गर्ने हो भने अवकाश प्राप्त गर्ने उमेरसम्ममा पुग्दा लगभग १३ लाख डलर उपादन हुन सक्छ ।


घुमघाम

गत वर्ष स्कटल्यान्डका साइकलयात्री मार्क बियुमाउन्टले ७९ दिनमा पूरा विश्व परिक्रमा गरे । त्यसो गर्न उनले लगभग दिनको १६ घण्टा पाइडल चाल्नुपर्‍यो । तपाईंले बियुमाउन्टलाई नै त चुनौती दिन कठिन होला तर फोनमा खर्च गर्ने पैसा र समयले एक पटक विश्व भने घुम्न सकिन्छ ।


मनोरञ्जन

युवाहरूमा फोनको प्रयोग अत्यधिक रूपमा बढ्दै गइरहेको छ । त्यसलाई छोडेर त्यो समय संगीत सिक्न खर्चर्ने हो भने कतिको महारथ हासिल गर्न सकिएला ? अहिलेको अवस्थामा कुनै पनि संगीत सामग्री बजाउन सिक्न १० हजार घण्टा काफी छ । यदि यही रफ्तारमा फोन चलाउने दर बढ्ने हो भने आगामी एक दशकपछि संगीतकर्मी नै पनि भेट्न मुस्किल पर्न सक्छ ।


बोलचाल

अंग्रेजी भाषालाई उदाहरणका रूपमा लिने हो भने लगभग सात सय घण्टामा कोही पनि युरोपेली स्तरको अंग्रेजी बोल्न सक्षम हुन सक्छ । तपाईंले फोनमा खर्चिने समय त दुइटा भाषा सिक्न पर्याप्त हुन्छ ।


प्रकृति

हालैको एक अध्ययनअनुसार ७ देखि २४ महिनाका बच्चाले धेरै तनाव महसुस गरेको पाइएको छ । अभिभावकले अधिकांश समय फोनमा बिताउने भएकाले ती बच्चाले आफ्नो वरपरको वातावरण पनि हेर्न पाएका हुँदैनन् । यसरी हुर्किएकाले पछि त्यही गर्छन् । त्यसैले फोनमा एकोहोरिन छोडेर बच्चालाई वातावरण देखाउनु पनि एक प्रकारको भविष्यको लगानी हो ।


दन्यूयोर्क टाइम्सबाट अनुदित ।

प्रकाशित : पुस २८, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?