कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा नेपाली विद्यार्थीले ज्यान गुमाउनुका कारणहरू

नारायण खड्का

अस्ट्रेलिया — बितेको करिब दुई महिनाको अवधिमा अस्ट्रेलियामा तीन नेपाली विद्यार्थीले ज्यान गुमाए भने एक जना हराइरहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अस्ट्रेलियामा नेपाली विद्यार्थीले ज्यान गुमाउनुका कारणहरू

पछिल्लो समयमा अस्ट्रेलिया नेपाली विद्यार्थीको लागि चुनिएको गन्तव्य बनेको छ । तर आकर्षणसँगै विद्यार्थीहरूले विभिन्न समस्याहरू समेत भोग्नुपरिहेको छ । यहाँ रहेका विद्यार्थीमा बढिरहेको मानसिक र आर्थिक समस्याले उनीहरूलाई गाँजेको त छ नै पछिल्लो केही समयदेखि अनाहकमा ज्यान गुमाउने क्रममा समेत वृद्धि भएको छ । केही वर्षयता त समुन्द्रमा डुबेर नै आधा दर्जन बढी नेपाली विद्यार्थीको ज्यान गएको छ । सडक दुर्घटना र आत्महत्याका घटना क्रमिक रूपमा बढिरहेको छ । उच्च शिक्षा लिन आएका विद्यार्थीको शुल्कका कारण नेपाली विद्यार्थीहरूमा समस्याहरू बढिरहेको भए पनि त्यस्ता समस्यातर्फ कमै व्यक्ति वा संस्थाहरूको मात्र ध्यान गएको देखिन्छ ।


गतबर्षको क्रिसमस र नयाँ वर्षताका तीन जना विद्यार्थीले ज्यान गुमाएपछि स्थानीय पानीसम्बन्धी सुरक्षा दिने निकायहरूको समन्वयमा एक तालिम आयोजना गरिएको थियो । यसवर्ष पनि एकको मृत्यु र एक हराएपछि ‘भिजन फर मोटिभेसन’ नामक संस्थाले त्यस्तै तालिमको आयोजना गर्‍यो । जनचेतनाका लागि कहिलेकाहीँ हुने यस्ता तालिम बाहेक भविष्यमा हुन सक्ने दुर्घटना रोक्नका लागि प्रभावकारी कार्यक्रमहरू आउन सकेको छैन ।


एनआरएन आइसिसी सदस्य गोकुल घिमिरे विद्यार्थीहरू आफै जागरुक नभएसम्म एक लाख बढी नेपाली रहेको स्थानमा यस्ता तालिमहरूले मात्र समस्याको समाधान ननिकाल्ने बताउँछन् । उनी विद्यार्थीहरू उच्चशिक्षाका लागि अस्ट्रेलिया आउने प्रक्रिया सुरु गर्दादेखि नै यहाँका समस्याहरू र त्यसको समाधानको बाटो आफैले वा अन्य कोही अनुभवी व्यक्तिमार्फत खोजिनु पर्ने सुझाव दिन्छन् ।

अस्ट्रेलियामा कुनै विद्यार्थीको मृत्यु भइसकेपछि उसको शवलाई नेपाल पठाउन वा शवको अन्तिम संस्कारका लागि सहयोग जुटाउन आर्थिक रकम उठाइने गरिन्छ । करिब एक महिनाअघि सिड्नीमा मृत्यु भएको एक विद्यार्थीको शव नपेपाल पठाउनकै लागि करिब ४० हजार डलर (करिब ३५ लाख रुपैयाँ) सहयोग सङ्कलन गरिएको थियो । मरेपछि शवलाई नेपाल पठाउन रकम सङ्कलन गरिए पनि मृत्यु हुनै नदिनका लागि कार्यक्रमहरू गर्न तथा उपायहरू अवलम्बन गराउन भने रकम सङ्कलन हुने गरेको छैन ।


अर्कोतिर ठुलो सपना बोकेर आउने विद्यार्थीलाई नेपालबाट भिसा प्रोसेसिङ्गका लागि सहयोग गर्ने कन्सल्टेन्सीहरूले समेत यहाँको बारेमा यथेष्ट सूचना र सल्लाहहरू दिनुपर्ने आवाज लामो समयदेखि उठिरहेको छ । तर, अहिलेसम्म प्रभावकारी रूपले यस्ता सल्लाहहरु दिने गरिएको छैन ।


नेपालबाट अभिभावकको काखमा हुर्किएका भर्खरका युवाहरू यहाँ आएपछि उनीहरूले अपेक्षा गरेजस्तो वातावरण नपाउनु, भनेको समयमा काम नपाउनु, नेपालको भन्दा फरक अध्ययन शैली हुनु, साथीभाइको कमी हुनु र नजिकका नातेदारहरू नहुनुले समेत विद्यार्थीहरूमा समस्या देखिने गरेको हो । चारैतिर समुन्द्रले घेरिएको देशमा हाम्रो जस्तो भुपरिवेष्ठित मूलकबाट आएका विद्यार्थीहरूले पौडिन नजान्नु सामान्य लागेपनि उनीहरूले पानी सम्बन्धी सुरक्षामा ध्यान नदिएका कारण अनाहकमा ज्यान गुमाउनु परेको बताइन्छ । विद्यार्थीले प्रत्येक राज्यमा रहेका सामाजिक संस्थाहरूले विद्यार्थीको सुरक्षा सम्बन्धी तालिमहरूको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै आएका छन् । यद्यपि यसतर्फ अहिलेसम्म प्रभावकारी रूपमा कुनै कार्यक्रम भएको देखिएको छैन ।


पछिल्लो समयमा देखा परेको घटनाहरूप्रति कति त विद्यार्थीहरू नै पनि दोषी रहेको यहाँका सामाजिक संस्थाका प्रतिनिधिहरूको भनाई छ । मुख्य गरेर भौगोलिक, सामाजिक, आर्थिक परिवेश नेपालको भन्दा फरक हुन्छ भन्ने बुझाइको यहाँ उच्चशिक्षा अध्ययनमा आएका विद्यार्थीहरूमा कमी रहेको उनीहरूको ठम्याई छ । अर्कोतिर उच्चशिक्षा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूको सङ्ख्या बढिरहेकाले पनि समस्याहरू थपिँदै गएको हो । जे भए पनि अस्ट्रेलियामा वर्षौ पहिले आएर व्यवस्थित भइसकेका आफ्नै नेपालीहरूले सहयोगी भूमिका खेलिदिनु पर्नेमा त्यसो हुन नसकेको विद्यार्थीहरूको गुनासो छ । जीउदै हुँदा सहयोग नपाएपछि मृत्यु पछि मैनबत्ती बालेर आत्माको शान्तिको कामना गर्नुको के नै अर्थ रह्यो र ?


प्रकाशित : पुस ३०, २०७५ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?