योग दिवसलाई श्राद्ध हैन, सार्थक बनाऊँ

काठमाडौँ — योग पूर्वीय दर्शन हो । यो पौराणिक विज्ञान हो । यो विधा भारतबर्षमा विकसित भएको हो । हाल यसको अस्तित्व  विश्वभर फैलिँदो छ ।

 योग दिवसलाई श्राद्ध हैन, सार्थक बनाऊँ

जुन २१, २०१५ अर्थात् प्रथम विश्व योग दिवसको अवसरमा विश्वभरका १९३ देशमा एकै साथ योग गरे । यसै दिन अमेरिकाको न्यु योर्क सहरमा ३० हजार मानिसले योग गरे । अमेरिका, बेलायत, चीन, जापान, कोरिया जस्ता राष्ट्रहरूको शैक्षिक क्यालेण्डरमा योग विधा समेटिएको छ । पवमेड (अमेरिकी जर्नल लाईब्रेरी ) मा करिब ५ हजार योगसँग सम्बन्धित आर्टिकल प्रकाशित छन् ।


सन् २०१५ मा अमेरिकामा गरिएको एक सर्वेक्षणले अमेरिकाका ९४० वटा विद्यालयले योगको पाठ्यक्रम समावेश गरेको र ५४०० इन्स्ट्रक्टरले काम गरिरहेको पुष्टि गरेको छ । हाल अमेरिकामा ६ हजार योग स्टुडियोहरू सञ्चालनमा रहेको योग डट अलाईनमा उल्लेख छ । त्यसै गरी अमेरिकामै २०१६ मा योग जर्नलले गरेको अर्को सर्वेक्षणले ३ करोड ६० लाख मानिस योग गर्ने कुरा देखाएको छ । यस क्षेत्रमा आवश्यक पर्ने सरसामानको लागि प्रतिवर्ष अमेरिकीहरूले १६ बिलियन डलर खर्च गर्ने गरेका छन् । अर्को एक सर्वेक्षणले सन् २०१२ देखि २०२० सम्म योग उद्योगबाट ९.०९ बिलियन डलर बराबरको कर उठ्ने प्रक्षेपण गरिएको छ । सन् २०१७ मा अस्ट्रेलियामा ७ लाख ४९ हजार मानिसले योग अभ्यास गर्ने गरेको तथ्य सर्वेक्षणले देखाएको छ ।

अमेरिका, बेलायत र अस्ट्रेलिया जस्ता विश्वको शैक्षिक गन्तव्यको रूपमा परिचित मुलुकका युनिभर्सिटीहरूले उच्चप्रथमिकतामा राखेर योग विधाको अध्ययन प्रारम्भ गरेका छन् । अफ्रिकी मुलुकदेखि लिएर अन्य खाडी मुलुकहरूमा समेत योग विधाले प्राथमिकता पाउन थालेको छ । यसले यो विधा कुनै जात, धर्म, लिङ्ग, भाषा, सम्प्रदाय, धर्म, संस्कृति भन्दा माथि रहेर मानवीयता र स्वास्थ्यको क्षेत्रमा सेवा प्रवाह गर्ने बहुआयामिक विधा हो भन्ने प्रस्ट्याउँछ । यसलाई औषधिको विकल्पको रूपमा विश्वले अपनाउन थालेको छ ।


विश्व स्वास्थ्य सङ्गठनले विश्वका दश अति डिप्रेसनको दलदलमा फसेका मुलुकको सुचीमा क्रमशः चीन, भारत, अमेरिका, ब्राजिल, रसिया, इन्डोनेसिया, पाकिस्तान, नाईजेरीया, बाङ्लादेश र म्याक्सीकोलाई राखेको छ । यी मुलुकमा अहिलेको परिवेश अनुरूप योगको अवस्थालाई हेर्ने हो भने साँच्चै नै योगलाई औषधिको पर्यायको रूपमा उपयोग गरेको प्रस्ट देखिन्छ ।


चीनका २३ प्रतिशत मिलिनियरहरुको मन पर्ने खेल योग हो । अमेरिकामा योग गर्नेहरू मध्ये ५८ प्रतिशत मानिसले आफ्नो स्वास्थ्य असल बनाउन, १६ प्रतिशतले कुनै निश्चित रोग जस्तै, ढाड दुखाई, विभिन्न मानसिक रोग आदिको निराकरणका लागि र २२ प्रतिशतले डक्टरको सल्लाहका कारणले योग गर्ने गरेको बताएका छन् । पाकिस्तानमा योगी हैदरले सन् १९९४ देखिनै योग सिकाउन थालेको तथ्य छ । इन्डोनेसियामा ६०८ ओटा योग तथा रिट्रिट सेन्टरहरू रहेका छन् । जहाँ मानिसहरू छुट्टी मनाउन र, शारीरिक र मानसिक तन्दुरुस्तीका लागि जाने गर्दछन् । भारतका आधुनिक स्वास्थ्य संस्थादेखि लिएर सामान्य स्वास्थ्य प्रदायक निकायमा अहिले योग तथा आयुर्वेद, न्याचुरोपेथि विभागलाई अनिवार्य गरिँदै लैजाने नीति लिएको छ । जुन नीति आधुनिक भारतका आम सर्वसाधारणले सरल वैकल्पिक स्वास्थ्यको उपयोग गरी औषधिको लागि गरिने खर्च कटौती गर्नु नै हो ।


उल्लिखित सबै घटनाले जहाँ मानसिक समस्याले जकडिएका मानिसको सङ्ख्या अत्यधिक छ, त्यहाँ योग विधा उदाउँदो र मौलाउँदो छ भन्ने तथ्य उजागर भएको छ ।

नेपालको सन्दर्भलाई हेर्दा यो द्वन्द्वको दलदलमा फसेर आर्थिक रूपमा विपन्न मुलुक भएको कारणले आधारभूत आवश्यकताको समेत परिपूर्ति गर्न नसक्ने राष्ट्रको रूपमा चित्रित छ । स्वभावैले यस्तो प्रकारको देशका जनता मानसिक रूपमा अक्षम हुनु, शैक्षिक स्तर कमजोर हुनु, नैतिकता र इमान्दारिता नहुनु, आर्थिक रूपमा दुर्बल हुनुलाई सामान्य मानिन्छ । सम्पूर्ण पक्षले जेलिनुको परिणाम मानिसले गुणस्तरीय जीवनको परिकल्पना गर्न सक्दैन । यसको परिणाम स्वरूप मानिस मानसिक रूपमा दुर्बल हुन पुग्दछ । यसबाट उम्कनका लागि योग विधाको आवश्यकता हुन्छ । विकराल अवस्थाबाट गुज्रिरहेको नेपालमा पनि योग विधाका केही अवयवहरू यदाकदा देखिदैछन् ।


नेपालमा हाल सय भन्दा बढीको सङ्ख्यामा साना ठुला योग केन्द्रहरू, प्रशिक्षण स्थलहरू रहेका छन् । यद्यपि तिनीहरू सङ्गठित अवस्थामा भने छैनन् । बालमिकी बिधापिठमा ६ महिने योगको औपचारिक अध्ययन अध्यापन गरिन्छ । हालै मात्र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको संस्कृत विभागबाट २ वर्षको पोस्ट ग्रयाजुएट कक्षा सञ्चालनका लागि पाठ्यक्रम तयार भई भर्ना आह्वान भएको छ । हरेक वर्ष माघ १ गतेका दिन डा. हरिप्रसाद पोखरेललगायतको समूहको प्रयासमा मनाईदै आएको राष्ट्रिय योग दिवसलाई मन्त्रिपरिषद्बाटै कार्ययोजनासहित मनाउने निर्णय भएको छ । यी र यस्ता सानातिना प्रयासहरू व्यक्तिगत र सामुहमा भई रहेका छन् जुन नेपालमा पनि योग भन्ने कुरा जीवितै छ, पूर्ण रूपमा मृत अवस्थामा छैन भन्ने उदाहरण हुन ।


नेपाल योग विधाको जननी मुलुक हो । यस कारण यसले विश्वमा योग र यसको महत्त्वको तत्त्व बोध गराउन अग्रणी भूमिका निर्वाह गर्नु पर्दथ्यो । तर, हालसम्म पनि आफैले यसको बुझ्नु पर्ने जति महत्त्व बुझ्न भने नसकेको अवस्था छ । अरूले देखाएको बाटो हिँड्न समेत खुट्टा कमाएको अवस्था सबै सामु छर्लङ्ग छ । जसको परिणाम स्वरूप देशले अनगिन्ती चुनौतीको सामना गर्नु परेको छ ।


नेपालले योगको व्यवहारिक पाटोमा आफ्नो प्रबुत्व जमाउन सकेको छैन । योगको व्यवहारिक पाटोमा शिक्षा, स्वास्थ्य, रोजगारी, नैतिकता, ईमान्दारिता, जिम्मेवारिता, भाइचारा, आत्मसम्मान लगायतका दैनिक जनजीवनमा आवश्यक कुराहरू समाहित हुन्छन् । जुन सभ्य, प्रबल र सुव्यवस्थित समाज निर्माणका लागि कच्चा पदार्थ सरह हुन् ।


आर्थिक रुपम अब्बल, शैक्षिक रूपमा गुणस्तरीय, सामाजिक रूपमा नैतिकवान, जिम्मेवार र शारीरिक र मानसिक रूपमा स्वस्थ नागरिकले सुविचारको परिकल्पनाबाट नयाँ कुराको सृजना गर्दछ । जुन कुरा सृजना गर्नका लागि यस पटक राष्ट्रिट योग दिवसका लागि “शान्ति र समृद्धिका लागि योग” भन्ने आदर्श वाक्य निर्माण गरिएको छ । यो नाराको मर्मलाई सार्थकता प्रदान गर्नका लागि योगको व्यावहारिक पाटोमा राष्ट्र, यसका सम्पूर्ण अङ्गहरू, सबै तह र तप्काका योग विधाका अनुयायीहले बहुआयामिक भूमिका निर्वाह गर्न आवश्यक छ । यदि यसो नगर्ने हो भने योग दिवस वार्षिक रूपमा आफ्ना पितृलाई सम्झनाका लागि ब्रम्हाण डाकेर गरिने श्राद्ध सो सरह हुनेछ । यसर्थ योगको सार्थक प्रयोग गरौँ । व्यवहारिक रूपमा योगलाई अब्बल बनाऊँ र यसको सदुपयोग गरी सफल राष्ट्र बनाउन जुटेर लागौँ अनि बुझेर लागौँ । आफ्नो पुर्खाको धरोहरको कदर गरौँ अनि योग दिवसलाई सार्थक बनाऊँ न कि श्राद्ध ।


–लेखक योग थेरापिष्ट हुन् ।

[email protected]

प्रकाशित : माघ १, २०७५ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?