कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

मैले देखेको छाउ

गरिबी, अशिक्षा जहाँ छ, त्यहाँ देवता ज्यादै कडा हुन्छन् ।
प्रगति राई

काठमाडौँ — म पूर्वको मानिस । पश्चिम जानु दक्षिण अफ्रिका जानुजत्तिकै गाह्रो । नौलो ठाउँ जानु साहस निक्कै चाहिँदो रहेछ । नयाँ उपन्यास ‘थाँक्रा’को धरातल पश्चिम कुनै स्थानको बनाउन मैले पश्चिम जानैपर्‍यो । महिला अधिकारबारे सुदूर पश्चिमको संस्कारले बाँधिएका महिलाहरूबारे नबुझी कसरी लेख्नु ? छाउप्रथा किन बाँचिरहन्छ ? कैयौं किशोरीको ज्यान गइसक्दा पनि त्यहाँका वासिन्दा किन यसैलाई मान्दै आइरहेका छन् ? बालविवाह अझै किन छ ?

मैले देखेको छाउ

काठमाडौं पढ्ने जित महराले बैतडीको आफ्नो घरमा खाने–बस्ने मिलाए । गाइड उनकै भाइ मान महरा जुराइदिए । हामी छब्बिस घन्टाको बसयात्रापछि बैतडी सतबाँझ चौर पुग्याैं, साँझको पाँच बजेतिर । मलाई होटलमा छोडेर गाइड बेपत्ता भए । रातको दस बजेसम्म आएनन् । निङलासैनी रेडियोका सञ्चालक सीपी लोहियाले यतै बस्नुस् भने । होटलवाला दीपक साउदले पनि बिहान म सुर्नया पुग्नसक्ने व्यवस्था मिलाइदिन्छु भने । तर म मानिन । रातसाँझ गरेर भए पनि जाने नै भएँ ।


रातको एघार बजे ‘हिँड्न तयार हुनु’ भन्ने फोन आयो । मन–मनमा अनेक कुतर्क उब्जियो– ‘मेरो गाइडलाई बदमासहरूले किनिसकेछन्, जिपचालक र सहायक भएर मलाई एकान्तमा केही गर्नेवाला छन् । तर म पनि कम तयारीमा छैन । कि वार कि पार ।’


लगेजमा भएको दापवाला छुरी पर्सनल ब्यागमा सारेंँ । सजिलो लुगा लगाएँ । मोबाइल भित्री गोजीमा लुकाएँ र मनमनै फाइटको रिहर्सल गरेंँ– ‘एउटालाई घाँटीमा, अर्कोलाई पेटमा अनि अर्कोलाई जाँङमा छुरी हानेर लडाउँछु । अनि आफै जिप हाँकेर पुलिस थाना आत्मसमर्पण गर्न जान्छु ।’


जिप आयो । लु जाऔं भन्दै गाइड झोला उठाउन आयो । बाहिर हेरेंँ, जिपको छेउमा एक गर्भिनी, एक बालक र सलले पुरै मुख छोपेकी युवती जिप चढ्न तयार भए । ‘पाहुना, बेहुली र गर्भिनी अगाडि सिटमा बस्ने’ भन्दै एक पुरुष जिपबाट फुत्त झरे । अघिसम्मको मेरो कुविचार आफैंलाई लाज लागेर ठूलो आन्द्राको सबैभन्दा मुनि लुकाएँ । ताकि छिट्टै निष्काशन भएर जाइजाओस् । रातको एक बजे जित महराको घर बरायल लेकडाँडा पुगियो । बरायलमा कस्तुरी महरा, रामकी बरायलमा बिनिता राई अनि मुस्याचौरमा तृप्ति बैनी र बैतडी सरदरमुकाममा सरस्वती नेपालीको साथले तीनहप्ते बसाइ सहज भयो । त्यसक्रममा मैले छाउ प्रथाका कारण पाएँ : एक, महिनावारी समयमा सेफ्टी प्याड प्रयोग नगर्नु । दुई, गाईवस्तु घरमा राख्नाले मानिसलाई बस्ने ठाउँ प्रशस्त नपुग्नु । तीन, शिक्षा, विज्ञान र विकासबाट विमुख रहनु ।


सेफ्टी प्याडको प्रयोग

गाउँ नजिकका पसलमा सेनेटरी प्याड बेच्न राखेको कतै पाइएन । नबिक्ने भएकाले पसलमा नराख्दा रहेछन् । एकैघरमा धेरैजना महिला भएकाले महिनैपिच्छे प्याडकै लागि तीन–चार सय खर्च गर्न सम्भव छैन । रगतलाई खुल्ला बग्न दिनु त राम्रै हो, तर व्यवस्थापनमा समस्या हुन्छ । दिनमा दुई–तीन पाउन्ड रगत बग्छ । कसैको त्योभन्दा धेर । बजारे प्याडले धान्दैन । तीन/चार घन्टाको फरकमा प्याड फेर्नुपर्ने । प्याडै नलगाउँदा कहीं नगई एकैठाउँ बसिरहनुपर्ने बाध्यता आउँछ । विद्यालय यसैले महिनामा पाँच दिन छुट्छ । नुहाउने कोठा छैन । धारामा नुहाए धारै रातो, खोलामा नुहाए खोलै । रातो आतङ्कबाट बच्न रातमा नुहाउनुपर्छ । गर्मीमा ठिकै छ, जाडोमा एकैचोटी चार दिनमा नुहाउने । दुर्गन्ध फैलिने भएकाले पनि छुट्टै बस्नुपर्ने ।


बस्ने ठाउँ नपुग्नु

कुख्रा, बाख्रा, खरायो आदिले घरका कोठाचोटा भर्छन् । बचेको कोठामा चेलाचेली बालबच्चा, वृद्धवृद्धा बस्नुपर्ने भएकाले चोखोनितो, छोइछिटोमा धेरै ध्यान दिनुपर्ने । यस्तो अवस्थामा रगत चुहाउँदै हिँड्न मिलेन । यसैले गाईभैंसी बस्ने कोठामा बस्दा भैंसी नरिसाउने र बिरामी पनि नहुने भएकाले रजस्वला अवस्थामा गोठमा बस्दारहेछन् ।


शिक्षा, विज्ञान र विकासबाट विमुख

गाउँमा पढाइ कम छ । त्यसमाथि महिला । जो पढेका छन्, उनीहरूलाई अन्धविश्वासले धेरै चाप्न सक्दैन । कम पढेका वा नपढेकालाई नै हो, अन्धविश्वासले गधा बनाउने/भारी बोकाउने । शिक्षिका, स्वास्थ्यकर्मी महिलाले रजस्वला अवस्थामा साविककै ओछ्यानमा सुते पनि देवता रिसाउँदैन । गरिब, अशिक्षा जहाँ छ, त्यहाँ देवता ज्यादै कडा हुन्छन् ।


यसर्थ कानुनले छाउगोठ भत्काउनुपूर्व चर्पी अनिवार्य गरेजस्तै नुहाउने कोठा र महिलाका लागि सुरक्षित कोठा अनिवार्य गर्नु जरुरी छ । जबसम्म गाउँ–गाउँमा शिक्षा र विकास पुग्दैन, तबसम्म यसैगरी महिलाहरू गोठमा बस्न बाध्य हुनेछन् । मैले एक स्वास्थ्यकर्मीलाई गिज्याएँ, ‘तपाईंले छुँदा त कोही बिरामी हुँदैन रहेछन् ।’ तिनले हाँसेर भनिन्, ‘म पर सरेको थाहा पाए भने बिरामी हुन्छन् । म पर सरेको कसैलाई भन्दिन ।’


बालविवाह कायम रहनुमा मैले दुई कारण पाएँ । पहिलो, छोरीमाथि अभिभावकले कुनै सपना नदेख्नु । दोस्रो, महिलाले घरगृहस्थ सम्हालेको बाहेक अरू काम गरेको उदाहरण नदेखिनु ।


छोरीमाथि सपना

‘बाइस चेली (छोरी) भए पनि एक चेलो (छोरा) चाहिन्छ’ समाजमा यस्तो नारा छ । अनि छोरीलाई कुनै अधिकार छैन । दबाब पनि छैन । उनीहरूलाई स्कुल जान पनि कर गरिन्न । लोग्नेको घर जानुपर्ने भएकाले । पढेर जागिर खाम्ला छैन, कहीँ जाम्ला छैन । घर नजिकको स्कुलमा जति पढाइ हुन्छ, त्यति पढ्ने हो । त्यसैले अधिकांशको पढाइ दस कक्षासम्म र अहिले प्लस टु आएकाले त्यहाँसम्म छ । त्यसपछि विवाह गर्ने । सामाजिक नियम अनुसार छोरीहरूले तेह्र वर्षदेखि सोह्र वर्षसम्ममा विवाह गरिसक्नु पर्छ । नत्र गाउँछिमेकले ‘अबिका’ (बिक्न नसकेको) नाम राख्ने चलन छ ।


विवाहयोग्य उमेर नभई कानुन विरुद्ध भागेर विवाह गर्ने चलन छ । भागेर विवाह गर्नु किशोरीको इच्छा नभएर समाजको आदेश हो । माइती बसेर समय बर्बाद गर्नुभन्दा विवाह गरेर बेलैमा छोरा जन्माउनु, छोरो नभए जन्मिने छोरीहरूलाई छिटछिटो जन्माएर छोरा जन्मिने पालो कुर्नु महिलाको प्रमुख दायित्व हो । अनि ती अनावश्यक जन्मिएका छोरीहरू छिट्टै विवाह गरेर गइदिए घर पनि खाली हुने भएकाले बालविवाह विरुद्धको कानुन नकाम भएको छ । जन्मघरमा छोरीलाई अर्काको सम्पत्ति ठान्नु र कर्मघरमा बुहारीलाई अर्काको सन्तान ठानेर परको व्यवहार गर्नु नेपालभरिकै चलन हो । यद्यपि किरात संस्कारमा चाहिँ अलिक खुकुलो छ ।

महिलाले अरू काम गरेको उदाहरण कैयौं अवरोध परास्त गरेर औंलामा गन्न सकिने महिला केही स्थानमा पुगेका छन् । ती पनि अल्पमतमा परेर निर्णयविहीन छन् । कति असल कामका उदाहरणभन्दा पनि दु:खका चित्र बनेका छन् । राजनीतिकर्मीले सांस्कृतिक परिवर्तनको कुरै उठाउँदैनन् । यस्तो जोखिम मोल्नु चुनावमा हारको खाता खोल्नु हो । राजनीतिको स्तर माथि भए पनि सांस्कृतिक परिवर्तन हुन निकै गाह्रो छ ।


आफन्त, अग्रज, वारिपारि सबै महिलाले आखिर लोग्नेको घर नै त सम्हालेर जीवन बिताएका छन् । किशोरीहरूले पनि त्यही सिको गर्ने हो । समाजका लागि, देशका लागि अनि मातापिताका लागि काम गर्नु चेलीको कर्तव्य हो । मजदुरी गरेर होस् कि व्यापार, आर्थिक भार पुरुष एक्लैले बोक्नुपर्छ ।


विकासले छुँदै गरेको स्थानतिर भने यस्ता घटनामा केही कमी आएको छ । त्यही सुर्नया गाउँपालिकामा एक पुरुष दुई छोरीहरूमा सन्तुष्ट छन् । ती दुई छोरीको स्वास्थ्य र उच्चशिक्षा अभिभावकको कर्तव्य हो भन्ने उनले बुझेका छन् । बजारको नजिक बस्ने किशोरीले रजस्वला अवधिमा पूजा गर्नु बाहेक अरू काम छोड्दैनन् । आशा गर्न सकिन्छ कि राज्यले कानुनभन्दा पहिले गाउँ–गाउँमा विकास पुर्‍याउनेछ । शिक्षा र विकासले नै मानिसलाई धार्मिक कानुनसँग लड्न सक्ने क्षमता प्रदान गर्छ ।

प्रकाशित : माघ ५, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?