कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

स्विस बैंकमा रकम

उता स्वीस बैंकमा मेरो रकम रहिरहन्थ्यो र यता म अग्घोर आर्थिक संकटसँग जुझिरहन्थेँ । अब यसलाई के राम्रो भन्ने ?
सिउँडी
विमल निभा

काठमाडौँ — सूचनार्थ निवेदन के छ भने स्वीस बैंकमा मेरो कुनै पनि रकम रहेको छैन । र यसको व्यक्तिगत तवरमा मलाई बहुतै अफसोस छ । अब योभन्दा बढी अरू म के पो गर्न सक्छु ? वस्तुत: कुरो के हो भने अहिले नेपालीहरूका स्वीस बैंकमा धमाधम कुस्त रकम फेला परिरहेको याममा मेरो त्यहाँ अलिकति पनि रकम नहुनु कुनै खुसीको विषय होइन । यसउसले केही दिनदेखि म औधी नै उदास–उदास छु मित्रहरू ।

‘आज तिम्रो अनुहार किन अँध्यारो यार ?’ मेरो अभिन्न मित्र हरेरामले सोध्यो ।

‘यार, मेरो स्वीस बैंकमा रकम छैन ।’

मैले भनेँ ।


मेरो जवाफ सुनेर मित्र हरेराम बेसरी हाँस्न थाल्यो । अनि एक्कासी गम्भीर भएर भन्यो, ‘मेरो पनि स्वीस बैंकमा कुनै रकम छैन यार ।’ अब भने हरेरामको अनुहार पनि मेरोजस्तै अँध्यारो भयो ।


एक प्रकारले सात समुद्रपारि युरोपको एक धनी मुलुक स्वीट्जरल्यान्डको कुनै पनि बैंक अर्थात् स्वीस बैंकमा मेरो रकम नहुनु त्यति नराम्रो पनि होइन । कदाचित मेरो त्यहाँ रकम भएको भए के हुन्थ्यो ? मलाई कुनै सजिलोचाहिंँ हुने थिएन । अपितु निकै गाह्रो–सारो नै हुने थियो ।


मेरो भन्नुको तात्पर्य के हो भने उता स्वीस बैंकमा मेरो रकम रहिरहन्थ्यो र यता म अग्घोर आर्थिक संकटसँग जुझिरहन्थेँ । अब यसलाई के राम्रो भन्ने ? हो, मित्रहरू, आजभोलि मेरो यही वास्तविक हालत रहेको छ । यतातिर केही वरिष्ठ अर्थशास्त्रीहरूले थरीथरीका आँकडा प्रस्तुत गरेर के भनिरहेका छन् भने वर्तमान विश्वमा आर्थिक मन्दीको अवस्था छ ।


मेरो त सदैवको यही एकमात्र अवस्था हो । न घटी न बढी । अर्काे शब्दमा स्थिर आर्थिक अवस्था भन्नोस् । वास्तवमा मेरो कुनै पनि जागिर–सागिर छैन । मेरो सम्पूर्ण जागिरहीनता याने कमाइ–धमाइबाट विमुखताको स्थिति सतत चालु छ । यसर्थ तपाईहरू मलाई एक चलनचल्तीको आर्थिक आवारा पनि भन्न सक्नुहुन्छ ।


किनभने आफ्नो पाइन्ट र कमिजको पुरै खाली–खाली पकेट लिएर डुलिरहन्छु । कहिले यता त कहिले उता । अर्थात् कता–कता † यस्तोमा पनि हेर्नाेस् त, मेरो थप विजोग † हिजो नयाँसडकमा डुलिरहँदा अनायास मेरो पकेट काटियो । र म आफ्नो पाइन्टको काटिएको देब्रे पकेटमा हात घुसारेर एक्लै सडकमा खितखित हाँसिरहेंँ ।


असलमा यो त्यस अभागी पकेटमाराका लागि मेरो सहानुभूतिको हाँसो थियो । विचराको परिश्रम त्यसै खेर गयो † जे होस्, मेरो भन्नु के हो भने मेरो पकेट अति नै हलुका किसिमको छ । यस्तो पकेटीय भारहीनता भनेको के हो ? यसलाई बुझ्न कुनै घाघडान अर्थशास्त्रीको तीक्ष्ण बुद्धिको सहयोग लिनुपर्ने आवश्यकता छैन । यही त मेरो निजी खालको आर्थिक मन्दीपन हो, मित्रहरू । यस्तोमा मेरो स्वीट्जरल्यान्ड राज्यको कुनै स्वीस बैंकमा रकम जम्मा रहेको भए पनि के फाइदा त !


ल, एकछिनका लागि मानिलिनोस्, हाम्रा परम स्वीस बैंकधारी मनुवाहरू सरह मेरो स्वीस बैंकमा रकम जम्मा छ रे ! यसो ता यो सम्भव प्रकृतिको कुनै होइन । किनभने यहाँका कुनै पनि ज्ञात–अज्ञात भ्रष्टाचारीसँग मेरो पात्रो पटक्कै मिल्दैन । र यस्तै म कुनै खुंखार कालाबजारी वंशजको विरासती पुत्र पनि होइन । म त एक साधारण खालको कलमबाज हुँ ।


एक थान डटपेनमार्फत आफ्नो जीविका चलाउने । यही त मेरो सर्वस्व पुँजी हो । यसले मेरो यावत् आर्थिक हैसियतको जीवन्त परिचय दिँदैन र ? म जे छु, साक्षात् तपाईहरू समीप नै छु मित्रहरू ! तथापि म जस्तोको पनि त्यो बहुचर्चित स्वीस बैंकमा रकम जम्मा भएको भए के हुन्थ्यो ? गजबै हुन्थ्यो नि ! यही सन्दर्भमा एक असम्भव कल्पना हाजिर छ ।


‘बधाई छ विमल निभाजी ।’ मेरा परिचितजन भन्थे ।


‘केको बधाई ?’ म प्रश्नवाचक अनुहार बनाउँथेँ । ‘तपाईको स्वीस बैंकमा रकम जम्मा छ भन्ने सुनिन्छ ।’ कुनै एकले गम्भीर मुख बनाउँथ्यो ।


‘हो र भाइ ?’ म चकित भावमा उसलाई हेर्थें ।


‘यस्तै व्यापक हल्ला छ ।’ र एकाएक उत्सुक प्रश्न गथ्र्याे, ‘अब त्यो स्वीस बैंकको रकम नेपालमा कसरी ल्याउनुहुन्छ निभाजी ?’

यहींनेर मेरो सुखद कल्पनाको अन्त्य । हेर्नाेस्, स्वीस बैंकको रकम स्वदेशमा ल्याउने उपाय नभएको पनि होइन । यसका लागि सर्वाेच्च न्यायालयको उदात्त सहयोग पनि लिन सकिन्छ । यो एउटा स्वस्थ विकल्प हुनसक्छ ।


जस्तो– सुप्रसिद्ध नवधनाढ्य श्रीमान अजय सुमार्गीले आफ्नो विदेशी बैंक (यो स्वीस बैंक पनि हुनसक्छ) मा रहेको रकम यहाँ ल्याउनलाई गरे । यही न्यायप्रदत्त मार्गको अवलम्बन उचित हुनेछ । यद्यपि लगत्तै सर्वाेच्च न्यायालयबाटै अजय सुमार्गीको रकमलाई रोक्का गरियो । र बैंकबाट झटपट लगिएको सबै रकमलाई तत्काल फिर्ता गर्ने आदेश जारी भयो । यस प्रकारको ‘एक्रोबाइटिक न्यायिक सिलसिला’ चालु नै रहेको छ । यस्तोमा स्वीट्जरल्यान्डको स्वीस बैंकमा मेरो रकम नभएको राम्रै भयो ।


म कुनै पनि न्यायिक–अन्यायिक झन्झट बोक्ने खालको व्यक्ति होइन मित्रहरू । यस्तो मेरो स्वभाव छैन । म स्वीट्जरल्यान्ड, सर्वाेच्च न्यायालय, आदेश न्यायाधीश, बैंक, रकम, खाता आदिबाट पर सरल जिन्दगीको पक्षमा छु । र वास्तवमा खास कुरो के हो भने मेरो स्वीस बैंकमा त के नेपालकै कुनै बैंकमा रकम रहेको छैन । यही मेरो व्यक्तिगत यथार्थ हो ।


नेपालको सबभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडदेखि भर्खरै मेरो टोलमा खुलेको सहकारी बैंक (नाम थाहा हुनसकेको छैन) सम्ममा मेरो रकम छैन । हो, राष्ट्रिय वाणिज्य बैंक, विशाल बजार शाखामा मेरो केही बाँकी–बक्यौता रकम जरुर रहेको छ । तर यसको पनि के लाभ ? त्यसलाई निकाल्न नै दिइएन । मैले एक–दुई पटक प्रयास गरेको थिएँ, तर असफल भए । किनभने एकाध हजारको सानो रकम खातामै राखिराख्नुपर्ने बैंकीय नियम छ । त्यसकारण म त्यो वाणिज्य बैंकको खाता नै बन्द गरेर आफ्नो अन्तिम रकम झिक्ने विचारमा छु ।

प्रकाशित : माघ १९, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?