१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जलवायु परिवर्तन न्यूनिकरणका लागि सिमसार

सन्दर्भ: विश्व सिमसार दिवस
गोविन्द पोखरेल

काठमाडौँ — ‘सिमसार तथा जलवायु परिवर्तन’ भन्ने नाराका साथ आज विश्वभर सिमसार दिवस मनाइदैछ । सरकारको तर्फबाट पोखरामा यो दिवस मनाइदैछ । हिजोआज मुलुकका हरेकजसो स्थानीय तहमा ‘जलवायू परिवर्तन’ र तराई पर्यटकीय क्षेत्र भन्दै कृत्रिम ताल निर्माण गर्ने विषयले धेरै नै प्राथमिकता पाउने गरेका छन् । यसले सिमसारको संरक्षण र जलवायू परिवर्तनप्रति हामी केही सचेत छौ भन्ने देखाएको छ । 

जलवायु परिवर्तन न्यूनिकरणका लागि सिमसार

सिमसार अर्थात ‘वेटलेन्ड’,भिजेको माटो । पानी जमेको ठाँउ । वातवरण विज्ञानले सिमसारलाई ताल, तलाउ, पोखरी, दह, कण्ड, नदीनाला, बाढी क्षेत्र,जलाश्य, धाप वा दलदल सिम,जलक्षेत्रका घाासे मैदान वा जंगल क्षेत्रलाई जनाउने गरेको छ । सीमसारमा जमीन लुक्दैन, पानी सुक्दैन र जमिन रसिलो हुन्छ ।


त्रिभुवन विश्वविद्यालय वातवरण विज्ञान केन्द्रिय विभागका उपप्रध्यापक दिपनारायाण साहका अनुसार रामसार सम्मेलन पछि विश्वमा सिमसारीय क्षेत्रहरुको संरक्षणको गति लिन थालेको हो । सर्वप्रथम रामसार बुझ्न सिमसार बुझ्नुपर्ने साहको भनाइ छ । सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसार भन्ने सहरमा विश्वभरका १५८ मुलुकका प्रतिनिधिहरुले सिमसार संरक्षणका बारेमा जोड दिदै महासन्धी गरेका थिए । भेलामा सिमसार संरक्षण र व्यवस्थापन सम्बन्धि महासन्धी गरेको थियो । त्यहीबाट विश्वमा सिमसारीय क्षेत्रहरुको संरक्षण गर्न थालिएको हो । सन् २०१७मा रामसारको रिर्पोटले विश्वका कूल दुई हजार २ सय ९० वटा क्षेत्र रामसारमा सूचिकृत छन् जसले २ सय २५ मिलियन हेक्टर क्षेत्रफल ओगटेका छन् ।


कोशी टप्पु क्षेत्र सन् १९७८ मा रामसारमा सूचिकृत नेपालको पहिलो सिमसारीय क्षेत्र हो । नेपालका १० सिमसारहरु रामसार क्षेत्रमा सूचिकृत छन् जसले ६० हजार ५ सय ६१ ह्ेक्टर क्षेत्रफल ओगटेका छन् । मत्स्य विकास निर्देशानलयले सन् २०१२ मा प्रकाशन गरेको रिपार्ट अनुसार नेपालमा कूल ८ लाख १९ हजार २ सय ७७ हेक्टर जमिन सिमसार क्षेत्रमा पर्छ । राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा ५ हजार ३ सय ५८ वटा सिमसारीय क्षेत्रहरु रहेको जनाएको छ ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा सिमसारमा आश्रित छन् । २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ वटा सिमसारमा आश्रित छन् । नेपालमा पाइने सात हजार प्रजातिको वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित छन् । त्यसैगरी २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् । ३७ प्रजातिका किटपतङ,१८५ प्रजातिका माछा, ३६ प्रजातिका उभयचर, ८० प्रजातिका घस्रने जन्तु, १९३ प्रजातिका चराचुरुब्गीहरु सिमसार क्षेत्रमा रहेको विभागका प्रकाशनहरुमा उल्लेख छ ।


सिमसार विशेषत: माछा, चरा, उभयचर, कीटपतङ र विरुवाका लागि मात्रै नभएर यसले धेरै कार्बन सञ्चित गरेर राखेको हुन्छ । वातावरणीय सन्तुलन, जैविक विविधता र जीवनचक्रसँग मात्र नभएर सिमसार जलवायुसँग पनि सम्बन्धित छ ।


पानीको गुणस्तरलाई बढाइदिने,सहरी हावालाई ताजा गराइदिन देखि सहरी वातवरणमा सन्तुलन तथा स्वच्छ बनाउने भुमिका सीमसारले खेलेको हुन्छ । सिमसार क्षेत्रमा पानीको ठूलो भण्डारण रहेको हुँदा यसले खडेरी नियन्त्रणमा सहयोग, प्रतिकूल मौसमसँग सामना, बाढि सँगसँगै आउने पानीलाई ठूलो क्षेत्रफलमा सञ्चित गर्ने,कार्वोनको सञ्जितकरण जस्ता महत्वपूर्ण वातवरणीय प्रतिक्रियाहरु गर्ने भएकाले यसले प्रकोप न्यूनिकरण गर्न भूमिका खेलिरहेको हुन्छ । सिमसारले पानीको शुद्धिकरण,प्रकृतिमा हुने खाद्य चक्रको सन्तुलन गर्ने,जैविक विविधता बढि हुने भएकाले यसको महत्व अझ बढेर गएको छ ।


सिमसार र जलवायु परिवर्तनको सम्बन्ध के ? यी दुई एकआपसमा कसरी सम्बन्धित छन् ? सिमसारीय क्षेत्र पृथ्वीमा कार्बन भण्डारणको सबैभन्दा ठूलो क्षेत्र हो । पृथ्वीको कूल क्षेत्रफलको तीन प्रतिशत क्षेत्रफल ‘पिटलेन्ड’ दलदल/धाबी क्षेत्रले ओगटेको छ जसले पृथ्वीको एक तिहाई कार्बन सञ्चित गरेर राखेको विश्व संरक्षण कोषको तथ्यांक छ । विश्वका जंगलभन्दा दुई गुणा बढी कार्बन यस्ता पिटलेन्डहरुमा सञ्चित हुने रामसार सचिवालयकी महासचिव मार्था रोजास उर्रेगोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रकृतिकले हरेक कुराको सोलुनसन यही दिएको छ । विज्ञान भन्छ,सिमसारीय क्षेत्रहरु कार्बन सञ्चितकरण गर्ने प्रकृतिको सबैभन्दा उपयुक्त वरदान हो । पेरिस सम्मेलनले पनि वायुमण्डलमा कार्बनलाई जान नदिनका लागि सिमसारीय क्षेत्रहरुको अहम् भूमिका रहेको बताइसकको छ । पृथ्वीमा हरित गृह ग्यासको उत्सर्जन बढिरहदा यसले हरित गृह प्रभाव पनि बढाएको छ । जसले जालवायु परिवर्तन गर्न सघाइरहेका छन् । यस्तो अवस्थामा हामीले कार्बन सञ्चितकरणमा विशेष ख्याल दिने गरिएको छ ।


सहरीकरण बढ्दो छ । सीमसारिय क्षेत्रहरु मासिने क्रममा छन् । रुख काट्ने, जलशाय सुक्ने, जताततै डोजर लगाउने प्रवृत्तिले भयानक अवस्था ल्याउने सक्ने वाटर इकोलोजीमा विद्यावारिधि गरेकी एवं काठमाडौं विश्वविद्यालयकी अनुसन्धानकर्ता रामदेवी तचामोको भनाइ छ ।


सिमसार कतै खेत त कतै घडेरीमा परिणत हुन थालेका छन् । पोखरी पुरेर घडेरी निकाल्न थालिएको छ । सिमसारको दोहन हुन थालेको छ । प्रदूषणको सिकार भएको भएको छ सिमसार । रासायनिक मल र विषादी बगेर जानाले पानी प्रदूषित बन्दै गएको छ । जलशाय क्षेत्रहरुमा वनस्पतिले ढाकेर सुक्न थालेका छन् । भू–क्षयले पनि उतिकै असर गरिरहेको सिमसारलाई । भलसँगै आउने ढुंगा, बालुवा, माटो सिमसारमा थुप्रिने गरेका छन् । यसले सिमसारीय क्षेत्रहरुलाई असर गरेका छन् ।


विश्व संरक्षण कोषकाको सन् २०१५ को रिपोर्टले सन् १९०० देखि विश्वका ६४ प्रतिशत सिमसारीय क्षेत्रहरु हराएको उल्लेख गरेको छ । ४५ वर्षयता विश्वका एक तिहाई सिमसारीय क्षेत्रहरु हराएर गएका छन् ।


वन क्षेत्रभन्दा सिमसारीय क्षेत्रहरु तीन गुणाले हराउँदै गइरहेको रामसार सचिवालयले जनाएको छ । सन् २०१८ मा रामसार सम्मेलनको क्रममा सदस्यहरुले सीम,दलदल क्षेत्रहरु संरक्षणका, पुनस्थापना र व्यवस्थापनका लागि सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । सेनेगलमा सुकेका म्यानग्रुभ जंगलहरुलाई पून:स्थापना गर्ने हो २० वर्षसम्म ५ लाख टन कार्बन सञ्चितकरण गर्ने तथ्यांक निकालिएको छ ।


सिमसारीय क्षेत्रहरुमा हराउदै जादा पानी,खाना,खाद्य,जैविक विविधता र कार्बन सञ्तिकरणमा पनि असर गर्छ । रामसारको सचिवालय भन्छ,‘सन् १७०० देखि विश्वक ८७ प्रतिशत सीमसारिय क्षेत्रहरु हराएका छन् । ’ आइपीसीसी जस्ता अन्तर्राष्ट्रिय फोरामहरुले तापक्रम वृद्धिलाई २ डिग्रीभन्दा बढी हुन नदिने कुरामा तल्लीन भइरहेको बेला सीमसारिय क्षेत्रहरु घट्नाले यसले अर्को संकेत गर्छ ।


जैविक विविधता तथा पर्यावरणीय र ऋतु चक्रलाई कायम राख्न सीमसारले भूमिका खेलेको हुन्छ । बाह्रैमास पानी उम्रिरहने, विभिन्न प्रजातिका जलचर, थलचरको बसोबास र आगन्तुक पंक्षीहरुको जम्काभेट हुने ठाउ पनि हो, सीमसार । जसले कार्बन सञ्चितकरण गरिरहेको हुन्छ । वातवरण विज्ञानकी विद्यार्थी लिली श्रेष्ठका अनुसार सीमसारले 'पिट,लिटर,सेडिमेन्ट र बायोमास'मा कार्बन सञ्चित गर्छ ।


सिमसार सुक्दै जादा कार्बन भण्डार पनि कम हुन्छ । वायुमण्डलमा कार्बनको मात्रा बढ्न पुग्छ । यस्ता हरित गृह ग्यासले ताप सोसेर राख्छन् । फलस्वरुप पृथ्वीको प्रकृतिक हरित गृह प्रभावको दरलाई बढाइदिने काम गर्छ । फलस्वरुप तापक्रम वृद्धि हुन्छ । तापक्रम वृद्धिले हिमाली क्षेत्रको हिउँ पग्लनेदेखि तटीय क्षेत्र डुबानमा पर्ने लगायत प्रजातिको विनाश हुने साहको भनाइ छ ।


सिमसारसंरक्षणको क्षेत्रमा मुलुकको चार दशकभन्दा लामो अनुभव देखिएपनि त्यो फिक्का देखिन्छ । कमजोर राज्य व्यवस्थाका कारण यसको संरक्षण्मा पहल भएको दख्न सकिदैन । स्थानीय तहमा पनि यसलाई त्यति राम्ररी बुझेको पाइदैन । धाबी तथा दलदल क्षेत्रमा जेसिबी लगाएर पोखरी निर्माण गरी त्यहाँ डुंगा चलाउने ध्यानमा हामी छौँ । यसले प्राकृतिक र जैविक विविधतालाई असर गरिरहेको छ । यसतर्फ हामीले ख्याल गरेको छैनौँ ।

राज्यले सिमसार संरक्षणका लागि पर्याप्त लगानी गरेको देखिदैन । लगानीको नाममा पोखरी निर्माण र भौतिक संरचना बनाउनका लागि मात्र बजेट दिने गरिएको छ । अनुसन्धानात्मक कुराहरुलाई चासो दिइएको देखिदैन । सिमसार क्षेत्रको संरक्षण र वातावरणीय महत्व दर्शाउदै राज्यले वैज्ञानिक अनुसन्धानालाई प्रोत्साहन गर्नुपर्ने देखिएको छ । पानीका मुहान्हरुको संरक्षण र सीमसारलाई वैज्ञानिक व्यवस्थापन गरि संरक्षण गर्नु आजको हाम्रो आवश्यकता देखिएको छ ।

प्रकाशित : माघ १९, २०७५ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?