कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

लक्की प्रकरणले निम्त्याएको कूटनीतिक चुनौती

नारायण खड्का

अस्ट्रेलिया — राजदूत भएर आएको दुईवर्ष पनि नपुग्दै पहिलो महिला राजदूतका रूपमा अस्ट्रेलिया आएकी लक्की शेर्पाले सम्मानजनक रूपले पद त्याग्न पाइनन् । राजदूतले पद छोडेर जानेबेलामा यहाँको सरकारले दिने बिदाइ कार्यक्रम समेत भ्याईनन् । 

लक्की प्रकरणले निम्त्याएको कूटनीतिक चुनौती

आफ्नै कार्यालय सहयोगीले लगाएको आरोपमा सरकारले छानबिनका लागि नेपाल बोलाएपछि उनी पुन: राजदूतको कार्यभार सम्हाल्न अस्ट्रेलिया फर्कन समेत पाइनन् । आफू निर्दोष रहेको अहिलेपनि पटक पटक दाबी गरिरहेपनि उनले पदबाट राजीनामा दिनुपरेको छ ।


लक्की प्रकरणको सत्य तथ्य जे सुकै भए पनि यसले समग्र नेपालको विदेशी भूमिमा कूटनीतिक साख गिरेको छ । अब आउने राजदूतलाई यो गिरेको छविलाई उजिल्याउने चुनौती विरासतका रूपमा प्राप्त हुनेछ ।


यस सम्बन्धमा यहाँको नेपाली समुदाय र कूटनीतिक अधिकारीको बुझाइ भने समान छैन । लक्की प्रकरणले अस्ट्रेलिया सरकारले समेत नेपाली राजदूत वा दूतावासलाई हेर्ने नजर परिवर्तन हुनसक्ने दाबी नेपाली डायस्पोराको छ ।


अस्ट्रेलियाले अहिलेसम्म औपचारिक रूपमा यसबारेमा दूतावास वा सरकारसँग केही जानकारी माग नगरेकाले दूतावासका अधिकारी भने यसले उस्तो

फरक नपार्ने ठान्छन् ।


अस्ट्रेलियासँग नेपालको दौत्य सम्बन्ध कायम भएको ६ दशक पुग्दछ । यसबीचमा ‘डोनर एण्ड रिसिभर’ बाहेकको उल्लेखनीय सम्बन्ध स्थापित हुन सकेको छैन । बितेको केही वर्षदेखि दुई देशको दौत्य सम्बन्धमा केही महत्त्व राख्ने सचिवस्तरीय संयन्त्रको गठन भएको भए पनि यसले पनि कुनै उल्लेख्य काम गरेको सार्वजनिक भएको छैन ।


क्यानबेरामा रहेको दूतावासका अधिकारीहरूको भनाई मान्ने हो भने नेपाल अस्ट्रेलियाबाट सहयोग पाउने देशको रूपमा रहेका कारण समेत यो घटनाले खासै असर पर्ने छैन । यहाँको नेपाली राजदूतलाई फिर्ता बोलाएर राजीनामा गर्न लगाइएपनि यसले दुईदेशबीचको कूटनीतिक सम्बन्धमा खासै असर नपर्ने तर्क उनीहरूको छ ।


तर, अस्ट्रेलियाको उच्च सरकारी तहमा रहेर काम गरिसकेका र कूटनीतिक विषयका जानकारहरू भने यसको असर बिस्तारै देखिने सुनाउँछन् ।


अस्ट्रेलिया सरकारको वैज्ञानिक निकाय सिएसआइआरओमा प्रिन्सिपल रिसर्च साईन्टिस्टका रूपमा काम गरिसकेका डा. राजु अधिकारी यो घटनाले दुईदेशबीचको सम्बन्धमा कुनै असर पर्दैन भन्नु सत्यतालाई बेवास्ता गरिएको ठान्छन् ।


‘कूटनीतिक नियुक्तिमा आएको कुनै पनि विवादले असर गर्ने नै दुईदेशको सम्बन्धमा हो’ डा अधिकारीले कान्तिपुरसँग भने, ‘ यसले अब आउने नयाँ राजदूत, भविष्यमा हुनसक्ने लगानी, दुईदेशबिचको कूटनीतिक भ्रमण लगायतका विषयमा असर पर्न सक्छ ।’


उनी राजदूतको असहज बर्हिगमनको वास्तविक असर कुन तहमा र कसरी गर्ने हो त्यसमा फरक पर्ने बिचार सुनाउँछन् । उनी अहिले देखिएको यो ‘डिप्लोमेटिक फलआउट’ लाई सरकारले जतिसक्दो चाँडो समाधान गर्नतिर लाग्नुपर्नेमा उनी सुझाव दिन्छन् ।


अस्ट्रेलिया सरकारको वरिष्ठ अर्थशास्त्रीको रूपमा झन्डै ३ दशक काम गरिसकेका डा. कृष्ण हमाल अहिले देखिएको घटनाबाट अस्ट्रेलियाले अब आउने राजदूतलाई ‘वाच’ गर्नसक्ने दाबी गर्छन् । त्यतिमात्र नभएर अस्ट्रेलियाले भविष्यमा नेपालमा गर्नसक्ने लगानीहरू समेत प्रभावित हुनसक्ने बताउँछन् ।


अर्कोतिर अब नेपालबाट राजदूतका रूपमा आउने जो कोही भए पनि पहिलेको तुलनामा अग्रिमो स्वीकृत गर्न समेत समय लिनसक्ने अनुमान गर्छन् । ‘घटना भएको धेरै नभएकाले समेत अहिल्यै के हुन्छ भन्न सकिन्न तर यस किसिमको घटनाले दुईदेशबीचको कूटनीतिक सम्बन्धलाई केही मात्रामा असर भने पर्न सक्छ ।’


अर्कोतिर राजदूत लक्की शेर्पाले विवादकाबीच पद छाड्नुपरेपछि यहाँका नेपालीहरूले सामाजिक सञ्जाल मार्फत अब आउने राजदूत राजनीतिक नियुक्ति नभएर विज्ञ कर्मचारी नै आउनुपर्ने माग गरिरहेका छन् । अस्ट्रेलियामा नेपालीहरूको जनसङ्ख्या र सामाजिक उपस्थिति बढिरहेको सन्दर्भमा राजनीतिक नियुक्तिलाई अस्ट्रेलिया सरकारले विश्वास नगर्न सक्ने तर्क उनीहरूको छ । उनीहरू दक्ष ‘करियर डिप्लोम्याट’ ले मात्र अहिले देखिएको समस्यालाई समाधान गर्नसक्ने विश्वास व्यक्त गरिरहेका छन् ।


क्यानबेरामा रहेको नेपाली दूतावासकी कार्यवाहक राजदूत द्रुपदा सापकोटा यस घटनाका बारेमा अहिलेसम्म अस्ट्रेलियाबाट आफूहरूलाई केही पनि नसोधिएको बताउँछिन् । उनी यस्तो घटनाले झन्डै ६ दशकदेखिको सम्बन्धलाई कुनै पनि असर नपर्ने समेत दाबी गर्छिन् ।


तर विज्ञहरू भने अहिले देखिएको यो समस्यालाई जतिसक्दो चाँडो दक्ष र सक्षम राजदूत नियुक्त गरेर अस्ट्रेलियालाई घटनाको बारेमा बताउन सक्नुपर्ने आवश्यक्ता देख्छन् । त्यतिमात्र नभएर अस्ट्रेलियामा रहेका करिब १ लाख नेपालीहरूलाई समेत देशको प्रतिनिधित्व गर्नसक्ने क्षमता भएको व्यक्तिलाई अबको राजदूत बनाउनुपर्ने सुझाव समेत दिन्छन् ।


नेपालले अहिलेसम्म ४ जना राजदूत नियुक्ति गरेर पठाइसकेको छ जसमा शेर्पा र योगेन्द्र ढकाल राजनीतिक नियुक्तमा राजदूत बनेर आएका थिए भने अहिलेका परराष्ट्र सचिव शङ्कर बैरागी र रुद्रकुमार नेपाल कर्मचारी थिए । सिङ्गो महादेशका रूपमा रहेको अस्ट्रेलियासँग नेपालको ठुलो व्यावसायिक सम्बन्ध नरहेको भए पनि दक्ष राजदूत पठाउनुपर्ने माग पहिल्यैदेखिको हो ।


त्यसैले पनि नेपाल सरकारले अब पठाउने राजदूत मार्फत पछिल्लो समयमा देखिएको घटनाक्रमलाई बिर्साउदै दुई देशबीचको सम्बन्धलाई अझ दरिलो बनाउन लाग्नुपर्ने अस्ट्रेलियाका नेपालीहरूको माग र सुझाव छ ।

प्रकाशित : माघ २४, २०७५ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?