यसरी हट्यो कागती गाउँमा बालविवाह

कान्तिपुर संवाददाता

काठमाडौँ — २०५४ देखि २०५९ सम्म म तत्कालीन नुवाकोट, ओखरपौवा (हाल ककनी गाउँपालिका–१) को गाविस अध्यक्ष थिएँ । मेरो घर ओखरपौवाको कागती गाउँमै हो, जुन बालबिवाहको नामले बदनाम थियो । कतै गएर परिचय दिंदा घर ओखरपौवाको कागती गाउँ भन्दा अरुले सोध्ने गर्थे–‘ए तपाईँ त्यो बालबिवाह हुने गाउँको अध्यक्ष हो ?’ एक त आफ्नै घर समाजमा यस्तो कुरिती देखेर चिन्ता लाग्थ्यो, अर्कोतिर बाहिरका मान्छेले बालविवाह हुने गाउँको अध्यक्ष भन्दा कम्ता पीर पर्दैनन्थ्यो । चिन्ता लागेर मात्र के गर्नु समस्या हल हुँदैनथ्यो । 

जीतबहादुर बलामी, पूर्व गाविस अध्यक्ष, ओखरपौवा, नुवाकोट

राजधानीसँग जोडिएको ठाउँमा बालबिवाह हुनु वास्तवमा लाजकै विषय थियो। अनि, हामीले यसलाई हटाउने अभियान चलाउन थाल्यौं। गाउँको महालक्ष्मी जनजागृति युवा क्लब, स्थानीय भवानी प्रावि (हाल मावि) र गाविसकै पदाधिकारी मिलेर बालविवाह विरुद्ध अभियान चलाउने निर्णय गर्‍यौं। तर सोचेजस्तो सजिलो कहाँ थियो र? मिडिया, विभिन्न संघ/संस्थाका मान्छे यहाँ बालबिवाहबारे बुझ्न आउँथे।

उनीहरुलाई देखेपछि स्थानीय कैयौं अभिभावक रिसाउँदै भन्थे– ‘यिनीहरु हाम्रो गाउँको बेइज्जत गर्न आएका हुन् यिनलाई लखेट्नुपर्छ।’ शिक्षित भएको भए यस्तो समस्या हुँदैनथ्यो। नबुझेपछि यस्तै हो। यतिसम्मकी गाउँमा श्रीपञ्चमीको दिन आएका पत्रकारलाई हुलले अभद्र व्यवहार पनि गर्‍यो। क्यामरा फालिदिए।

उनीहरुलाई लखेटे। कतिपटक यस्तो हुन खोज्दा जोगाएका पनि थियौं। स्थानीयलाई सम्झाएका थियौँ। कुनै बेला झुक्काएर गर्थे। हाम्लाई बदनाम गराउन आउने भनेर उनीहरु बाहिरका मान्छेहरुसँग झोक्किन्थे। तर कुरिती छोड्नसक्दैनथे।

समस्या हट्ला भन्दा झन् बढ्न थाल्यो। बालविवाहविरुद्ध अभियान जसले चाल्थे, उनीहरु विरुद्ध पनि अभिभावक खनिन थाले। चाँहिदो-नचाँहिदो आरोप लगाउँथे। मलाई त कतिसम्म आरोप लगाए भने, ‘तैँले बालबिवाहका फोटा बेचेर खाएको छस्।’

कसरी गाउँको कलंक हटाउने भनेर लागेको छु तर आरोप हुँदै नभएका सुन्नुपर्छ। जति गर्दा पनि नहुने कहिलेकाहीं आफैंलाई पनि दिक्क लाग्थ्यो। शिक्षा र चेतनाको कमी भएपछि केही गरेपनि सुध्रिँदैन भन्ने लागिरहन्थ्यो। तर हामीले हरेश खाएनौँ, जतिसक्दो गरिरह्यौं।

हाम्रो गाउँमा बालविवाह कहिले सुरु भयो भन्ने थाहा त छैन। म अध्यक्ष हुँदा र छोडिसकेपछि पनि व्यापक थियो। तर अहिले हाम्रो गाउँमा ठ्याम्मै छैन। कोसेली प्रथा र बालविवाह, जुन एक आपसमा जोडिएका छन्, ४/५ वर्ष जति भो दुवै हटिसकेका छन्। पहिला ‘तिम्रो छोरी र मेरी छोराको विवाह गरिदिने भन्दै बावुआमाले निर्णय गर्थे।’

प्रत्येक वर्ष रोपाइँको पहिलो दिन केटाको घरबाट केटीको घरमा कोसेली लैजानै पर्थ्यो। बालविवाह गर्ने तय गरेपछि कोसेली प्रथा अनिवार्य हुन्थ्यो। कोसेली प्रथा भनेको बालविवाहको लागि ‘बैना’ हालेजस्तै हो। कोसेली बोकेको देख्दा ‘फलानाका छोराले फलानीका छोरीलाई कोसेली लिएर आएको छ, हेर–हेर’ भन्थे।

ठूलोमा विवाह गरेर भेट गर्न जाँदा आफूखुसी सगुनको रुपमा कोसेली लैजान्छन्, जुन अहिले पनि छ। तर, बालविवाहलाई बैना गरेपछि कोसेली अनिवार्य हुन्थ्यो। राजीखुसीले त जुनसुकै बेला पनि कोसेली लिएर जाने भए। अब कागती गाउँमा बालविवाह र त्यसैको लागि लैजाने कोसेली प्रथा छैन।

हाम्रो गाउँमा बावुआमाले सानैमा छोरा–छोरीको विवाह गरिदिने चलन अब छैन। तर, आफूखुसी उमेर नपुगी विवाह गर्ने केटाकेटीलाई भने रोक्न सकिएको छैन। यो अहिलेको चिन्ताको विषय हो।

यो पनि विस्तारै बुझ्लान्। यसलाई हटाउने पनि मुख्यत: शिक्षा र चेतना नै हुनुपर्छ। अब यो अभियान थाल्नुपर्ने भएको छ। कागती गाउँमा करिब ४ हजार जनसंख्या र साढे छ सय परिवार बलामीकोछ।

पहिला बालविवाह हुने बेला त बाहिर निस्कन पनि गाह्रो थियो– ‘बालाविवाह गर्ने ठाउँको मान्छे भन्थे।’ अब कुरा काट्न पनि हट्यो। समाजमा सुधार भएको छ। अरु कुराको विकासमा सफल नभए पनि बालविवाह हटाउन सफल भईयो। पहिलो वर्षको एकपटक गाउँकै महालक्ष्मी मन्दिरमा धुमधामले बालविवाह हुन्थ्यो।

कति जोडी हुन्थे भन्न सकिँदैनथ्यो। अरु दिन बालविवाह हुँदैनथ्यो– सिर्फ एक दिन, त्यो पनि श्रीपञ्चमीमा मात्र। त्यो दिन त यहाँ मन्दिरमा ठूलो मेला हुन्थ्यो। अहिले भने श्रीपञ्चमीमा व्रतबन्ध, बेलाविवाह (इहि) वा अरु कार्जे हुन्छ तर बालविवाह हुँदैन। पहिला ६/७ वर्षदेखि १२/१५ उमेरमै बावुआमाले विवाह गरिदिन्थे।

बालविवाह हटेपछि अरु विवाह श्रीपञ्चमीको दिनमै हुन्छ भन्ने छैन। भागी विवाह त जहिले पनि हुने भो। रीतिरिवाजका विवाह भने साईत जुराएर गर्छन्। फागुन, वैशाख, मंसिर र माघमा लगन हेरेर गर्ने चलन छ।

अहिले २०, २२, २५ वर्षमा विवाह हुने गरेको छ। कुनै कुनैले १७, १८ मा पनि गरेका छन्। त्यो भन्दा सानोमा भएको छैन। हामीले त २० वर्षभन्दा अघि गर्नु हुँदैन न है भन्दै आएका छौँ।

अँ, बालविवाह त्यसै हटेको होइन, यसमा धेरैको योगदान छ। जस्तो तपाईहरु (मिडिया)ले प्रचार–प्रसार नगरेको भए यस्ता दबाब पनि पर्दैनथ्यो, चेतना फैलिन पनि समय लाग्थ्यो। संघ संस्था पनि लागेका हुन्। गाउँ र स्कुलमा जनचेतनामूलक कार्यक्रम भइरहे। विद्यार्थीहरु पनि सचेत भए।

अभिभावकहरुले बालविवाहका समस्या बुझ्न थाले। बालविवाह गरेका पनि कतिपय सफल भएनन्, कतिपय जोडी टुटे। यो सबै अशिक्षा र कुरितीले हो भनेर बुझे। गाउँ शिक्षित भएको भए बालविवाह हटाउने अभियान चाल्नै पर्दैनथ्यो, उहाँहरु आफैंले हटाउनुहुन्थ्यो। बालविवाह अन्त्य भएपछि उहाँहरु खुसी हुनुहुन्छ। कसै कसैले मलाई भन्नुहुन्छ, ‘बालविवाह पहिल्यै हटाउनुपर्थ्यो, अझै धैरै ढिला गरिएछ।’

( तत्कालीन् ओखरपौवा गाविसका अध्यक्ष जितबहादुर बलामीसँग कान्तिपुर संवाददाता दिनेश रेग्मीले गरेको कुराकानीमा आधारित )

यो पनि पढ्नुहोस्ः
सोह्र वर्षअघि र पछि

प्रकाशित : माघ २६, २०७५ १४:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दुई वर्षदेखि रोकिएको क्रिकेटरको तलब आयो

कुशल तिमल्सिना

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको २ वर्षदेखि रोकिएको तलब सुविधा एकमुष्ट निकासा गरेको छ । आईसीसीले राष्ट्रिय खेलकुद परिषद (राखेप)को खातामा १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ जम्मा गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

राखेप सदस्यसचिव केशव कुमार विष्टको पहलमा खेलाडीको तलब बापतको रकम निकासा भएको हो। राखेपले ३ पटकसम्म तलब निकासा गर्न आईसीसीलाई ताकेता गरेको थियो। सुरुमा दुई किस्ता गरेर भुक्तानी गर्ने भनिए पनि आईसीसीले २ वर्षको एकमुष्ठ पठाएको छ।

हालै यूएईमा भएको एकदिवसीय र ट्वान्टी–२० शृङखला जितेर फर्किएपछि नेपाली खेलाडीले विमानस्थलमै लामो समयदेखि तलब नपाएकोमा गुनासो गरेका थिए। कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटासँगको सल्लाहमा राखेपले खेलाडीको वर्गीकरण पुन:मूल्यांकन गरी आईसीसीमा पठाएको थियो।

जस अनुसार २१ जना क्रिकेटरलाई ३ तहमा विभाजन गरिएको थियो। श्रेणी ‘क’ मा कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी छन्। उनीहरुले मासिक ३५ हजार रुपैयाँ तलब पाउँछन्। उनीहरुका लागि २ वर्षको ५८ लाख ८० हजार रुपैयाँ आईसीसीले निकासा गरेको छ।

श्रेणी ‘ख’मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन्। उनीहरुले मासिक २५ हजार रुपैयाँ पाउनेछन्। यस श्रेणीका खेलाडीका लागि आईसीसीले २ वर्षको तलवस्वरुप ४२ लाख रुपैयाँ निकासा गरेको छ।

श्रेणी ‘ग’ मा सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनील धमला, शुसान भारी, किशोर महतो र विनोद भण्डारी छन्। उनीहरुको मासिक १५ हजार तलब अन्तर्गत २ वर्षको २५ लाख २० हजार रुपैयाँ निकासा भएको छ।

तीन वर्षअघि घरेलु क्रिकेटको नियमक निकाय नेपाल क्रिकेट संघ क्यान निलम्बन परेपछि खेलाडीको सुविधामा आईसीसीले जिम्मा लिएको थियो। निलम्बनपछिको एक वर्षको तलब पठाए पनि बाँकी दुई वर्षको तलब आएको थिएन।

राखेपको खाता रहेको स्टाण्डर्ड चार्टर्ड बैंकमा रकम जम्मा भएको र छिट्टै खेलाडीहरुलाई भुक्तानी गरिने प्रेस सल्लाहकार दाहालले जानकारी दिए।

प्रकाशित : माघ २६, २०७५ १३:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT