कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘माय् औसं च्वनेगु’ 

प्रा. वीणा पौड्याल

काठमाडौँ — सनातन धर्मावलम्बीका विभिन्न पुराण फरक–फरक समयमा लिपिबद्ध भएका छन् । स्वस्थानी व्रतकथा संस्कृत र नेपाली भाषासँंगै नेपाल भाषा (नेवारी भाषा) मा पनि श्रवण गर्न सकिने भएकाले काठमाडौंमा यस पुस्तकको महत्त्व विशेष छ । स्वस्थानी १४ औं/१५ औं शताब्दीमा लेखिएको पुराण हो ।

स्वस्थानी व्रतकथालाई साहित्यिक दृष्टिकोणबाट विश्लेषण गर्दा यसका धेरै प्रसङ्ग महिलामैत्री छैनन् । देव, दानव र मानव सबैको प्रसङ्गमा महिलाको सम्पूर्ण जिन्दगीको प्रमुख लक्ष्य भनेकै विवाह गर्नु, पति र उनका परिवार खुसी राख्नु र पतिव्रता धर्मको पालन गर्नु देखिन्छ । बलात्कार, यौन दुव्र्यवहार जस्ता घटनालाई महिलाको पूर्वजन्मसँंग जोडेर यसमा व्याख्या गरिएको छ ।


यसले दिन खोजेको सन्देशमा प्रश्न उठ्छ । बालविवाह, अनमेल विवाह, महिलामाथि यौन शोषण र महिला भएकै कारण सामाजिक विभेदका प्रसंग स्वस्थानी किताबमा धेरै ठाउँमा पाइन्छ । विष्णुले छलद्वारा वृन्दासंँग गरेको बलात्कारपश्चात सती वृन्दाले दिएको श्रापको पनि चित्तबुझ्दो तर्क गर्न सकिँंदैन । वृन्दाले विष्णु भगवानलाई घाँस (कुश), ढुंगा (शालिग्राम) र झार (तुलसी) हुनु भन्ने श्राप दिइन् । कुश, ढुंगा र तुलसीको रूपमा परिवर्तित भएर पनि विष्णुले पूजा प्राप्त गरे ।


काठमाडौंको साँखु साली नदीको सेरोफेरोमा यसको कथावस्तु घुमेको छ । त्यसैले आआफ्नो स्थान (स्वस्थानी) को देवी आफ्नो गाउँठाउँको वर्णन भएकाले पौराणिक कथा भए पनि यसले लोकजीवनको झलक दिन्छ । पुस्तकमा १५ औं/१६ औं शताब्दीताकाको लौकिक जीवनको विविध सामाजिक पक्ष समेटिएको छ । काठमाडौंका नेवार समुदाय र पहाडका महिला, पुरुषहरू स्वस्थानी माता र माधव नारायणको व्रत, पूजापाठ र तीर्थाटन गर्ने गर्छन् ।


ने.सं. ६९३ (ई.सं. १५७३) मा संस्कृत भाषा र देवनागरी हस्तलिखित लिपिमा लेखिएका स्वस्थानी व्रतकथाका पुस्तक अभिलेखालयको संग्रहमा छ । यस्तै ने.सं. ७२३ (ई.सं. १६०३) मा त्यसपछि उन्नाइसौं र बिसौं शताब्दीमा नेपालभाषा (नेवार भाषा) र देवनागरी लिपिमा लेखिएका स्वस्थानी पनि अभिलेखालय र व्यक्तिगत संग्रहमा संकलित छन् । काठमाडौं, पाटन, भक्तपुर र बाहिर पनि नेपालभाषामा लेखिएको स्वस्थानी व्रतकथाको पूजापाठ गर्ने चलन छ ।


स्वस्थानी व्रतकथामा सृष्टि, तपस्या, श्राप, त्रिदेव र स्वस्थानी देवीको महिमा पाइन्छ । पुस्तकको शीर्षक अनुसार स्वस्थानी देवीको स्वरुप र अन्य वर्णन यसमा छैन । स्वस्थानी देवीको शक्ति र उनलाई प्रसन्न पार्दाको फाइदा भने यस पुस्तकमा छ । साली नदीमा व्रत बस्नेहरूले पनि पशुपति र फर्पिङको शेषनारायणमा तीर्थाटन, मन्दिर दर्शन र स्नान गर्दा आफूहरूसँंगै माधवनारायणको चाँदीको मूर्ति बोकेर लाने गर्छन् ।


माघ, कृष्णपक्षको त्रयोदशीका दिन साँखुबाट व्रत बस्ने महिला र पुरुषको जमात डोकोमा माधवनारायणको मूर्ति बोकेर प्रस्थान गर्छन् । नाग, फणा, छत्र धातुको गहना तुलसीपत्रको माला श्रीवत्स, सिक्री र चाँदीको सिक्काको मालाले माधवनारायणको मूर्ति सजाइएको हुन्छ ।


पशुपतिको महास्नान घरमा रात बिताएर भोलिपल्ट औंसीको दिन व्रतालुहरू वाग्मती नदीमा स्नान गर्छन् । त्यही बेला माधवनारायणको धातुको मूर्तिलाई पनि स्नान गराइन्छ । पशुपतिनाथको पूजा, परिक्रमापश्चात लगनलाछी, पाचुटोल, दथुटोल हुँदै पशुपति अमालकोट कचहरीको उत्तरपट्टिको डबलीमा माधवनारायणलाई विराजमान गराइन्छ ।


जयवागेश्वरीको पूजा गर्ने पालो परेको कर्माचार्यले पूजा गर्छन् । स्वस्थानी माताको व्रत लिएका व्रतालुहरू माधवनारायणको मूर्ति लिएर नवालीटोल, सिफल, कालोपुल हुँदै सानो गौचरण पुगेर आराम गर्छन् । हनुमानढोका र फर्पिङको शिखरनारायण मन्दिर गएर रात बिताएपछि बिहान स्नान गरेर साँखु फर्कन्छन् । धेरै जात्रामध्ये स्वस्थानी मातासँंग जोडिएको माधवनारायण जात्रामा प्रसिद्ध मन्दिर परिक्रमा र स्नान यसको विशिष्टता हो ।


सनातन धर्मका अधिकांश पूजापाठको विधि बिहान वा मध्यान्हमा आरम्भ र समाप्त गर्ने विधान छ । स्वस्थानी पुस्तकको कथावाचन टोलटोलको डबली र घरका कोठा, चोटाहरूमा दिउँसो, साँझ वा रातको भान्छा सकेपछि गर्ने चलन छ । व्यापार र कृषि पेसा अपनाएका काठमाडौंबासीको जीवनशैली अनुसार नै स्वस्थानी पुस्तकको पाठ गर्ने चलन छ । नेपालका गाउँठाउँ चिनाउने र नेपालीत्व बोध गराउने ग्रन्थ हो, स्वस्थानी । ३१ अध्याय भएको स्वस्थानी व्रतकथाका पुराना पुस्तकमा २ दिन र १ रातको विधिमात्रै उल्लेख भएको छ ।


संस्कृत भाषामा मात्रै पुराण लेख्ने परम्परालाई स्थानीय मातृभाषामा रूपान्तरण गरेर बहुसंख्यक जनमानसको कदर गरियो । स्वस्थानी पुस्तकको माध्यमबाट कुरीति, कुसंस्कार, घमन्ड त्यागेर शिक्षाप्रद र व्यावहारिक ज्ञान लिन नवपुस्तालाई चुनौती छ ।


काठमाडौंबासी र संस्कृतिविज्ञ सत्यमोहन जोशी र हरिराम जोशीको घरमा नेपालभाषामा लेखिएका स्वस्थानी व्रतकथाका पुस्तकहरू संग्रहित छन् । काठमाडौंमा नेवार परिवारमा नेपालभाषामै लेखिएको स्वस्थानी पुस्तक पूजापाठ गर्ने चलन छ । ने.सं. ८९३ को नेपालभाषामा लेखिएको स्वस्थानी व्रतकथा (स्वस्थान परमेश्वरया बाखन पोस्तक) को पुस्तक हरिराम जोशीको संग्रहमा सुरक्षित छ ।


स्वस्थानी व्रतकथाले पठन संस्कृति ल्याएको हो । भर्खरै लेख्न–पढ्न जानेका केटाकेटीले यो ग्रन्थ पाठ गरेर आफ्नो पढ्ने क्षमता वृद्धि गर्न सक्छन् । घर–घरमा अक्षर चिनेका केटाकेटीलाई पनि पाठ गर्न प्रोत्साहित गरिन्छ । स्वस्थानी ग्रन्थ पाठकै लागि अक्षर चिन्ने चलन छ, गाउँघरमा ।


स्वस्थानीमा वर्णन गरिएकी देवीको स्वरुप कस्तो छ त ? हनुमानढोका तलेजुदेवीको मन्दिरको नजिकै मखनटोलस्थित विहारमा शिव र स्वस्थानीको ढुंगाको मूर्ति छ । ने.सं. ७९४ को अभिलेखमा यो मूर्ति राजा प्रताप मल्लले स्थापना गरेका हुन् । त्यसमा प्रस्टसँंग स्वस्ति श्री ३ शिवसहितन श्री ३ स्वस्थानी परमेश्वरी... लेखिएको छ ।


४ वटा हात भएकी स्वस्थानी परमेश्वर अभय मुद्रामा प्रस्तुत गर्ने विधान छ । मखनटोलस्थित स्वस्थानी देवी वाहन सिंहमाथि र महादेव नन्दीमाथि पलेँटी कसेर बसेका छन् । मुण्डमाला, जपमाला, त्रिशूल, डमरु, अभय मुद्रामा महादेवलाई दर्शाइएको छ । यस मूर्तिमा शिवको शक्तिको रूपमा स्वस्थानी मातालाई प्रस्तुत गरिएको छ ।


‘माय् औसं च्वनेगु’ भनी माघ महिनामा महिला, पुरुष दुवै व्रत बस्ने चलन काठमाडौं उपत्यकामा थियो । व्रत बस्दा पाठ गरिने स्वस्थानी व्रतकथा संस्कृत, नेपाली र नेपालभाषामा थियो । अहिले बजारमा आएका स्वस्थानी व्रतकथाका केही पुस्तकमा क्राइष्टका कथाहरू पनि थप गरेर राखिएको छ । कुनै पनि धार्मिक पुस्तकमा अर्को कुनै धर्म, सम्प्रदायका कुरा थप्नु गलत हो । यसलाई सामाजिक अपराध मानी दण्ड दिनुपर्छ । केही वर्षयता हिन्दु धर्म, बौद्ध धर्ममाथि प्रत्यक्ष/अप्रत्यक्ष हमला भैरहेको छ ।


अमेरिकी नागरिक जेका वान्थाइन र लिन्डा इलटिसले स्वस्थानी व्रतकथामा विद्यावारिधि गरेका छन् । यस ग्रन्थले पारिवारिक माहोललाई सौहार्दपूर्ण र छिमेकीसँंग सम्बन्ध प्रगाढ बनाउनेमा कसैको दुईमत हुन सक्दैन । नेपाली साहित्यको लोकप्रिय काव्य हो यो । पारिवारिक मूल्य–मान्यतालाई निरन्तरता प्रदान गरेको छ ।


सामाजिक कुरीति विरुद्ध लड्न प्रेरणा दिएको छ । समय अनुसार संस्कार र चाडपर्वमा परिवर्तन आवश्यक छ, त्यसमा सुधार गर्नुपर्छ । स्वस्थानी पुस्तकमा उल्लेख भएका कुरीति, कुसंस्कारलाई अवलम्बन हैन, उन्मूलन गर्नुपर्छ । नवपुस्ताले स्वस्थानी पुस्तक पाठ गरिरहँंदा महिलामैत्री समाज निर्माण गर्ने प्रण गर्नुपर्छ ।


लेखिका त्रिवि केन्द्रीय पुरातत्त्व तथा संस्कृति विभागकी पूर्वप्रमुख हुन् ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?