१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

को बन्छ, अर्बपति ?

सिउँडी
विमल निभा

काठमाडौँ — नेपाली टेलिभिजनको रंगिन स्क्रिनमा विलकुलै नयाँ सो आएको छ– को बन्छ, करोडपति ? पहिले पनि यस्तै प्रकृतिको एउटा टेलिभिजन सो आएको थियो । मेरो स्मृतिबाट गएको छैन । त्यो ‘को बन्छ, लखपति ?’ नामक टिभी खेल मह जोडीका एक मदनकृष्ण श्रेष्ठले चलाएका थिए ।

त्यसकारण त्यसलाई सबैले एउटा हास्यकलाकारको फगत ख्याल–ठट्टा ठाने क्यारे † अत: त्यो सरासरी फ्लप टेलिभिजन सो सावित हुनगयो । यसको फलस्वरुप कोही पनि लखपति हुन पाएनन् । सायद सञ्चालक महोदय आफैंमात्र लखपति भएर सोलाई बन्द गर्नुपर्‍यो । तर यो पनि त्यति सही कुरो होइन । किनभने मदनकृष्ण श्रेष्ठ पहिलेदेखि नै एक लखपति हुन् । अब एउटा लखपतिले फेरि लखपति किन हुनुपर्‍यो ? मेरो कुरामा पत्यार नलागे उनको अर्काे लखपति जोडीदार हरिवंश आचार्यसँग सोध्नोस् ।


केही समयपछि लखपतिको लाख अंकमा खासा बढोत्तरी भएर करोडसम्म पुगेको छ । अब यो टेलिभिजन सोको वर्तमान शीर्षक भएको छ– को बन्छ, करोडपति ? त्यसैले यसलाई उल्लेखनीय प्रगति नै मान्नुपर्छ । यही खालको टेलिभिजन खेलको सो पहिलेदेखि नै छिमेकी मुलुक हिन्दुस्तानमा पनि चालु रहेको छ– कौन बनेगा करोडपति ? यसलाई हिन्दुस्तानी सिनेजगतका नायकहरूमा महानायक भनिएका अमिताभ बच्चनले सफलतापूर्वक चलाइरहेका छन् ।


र हाम्रो नेपाली टेलिभिजनको ‘को बन्छ, करोडपति ?’ खेल पनि छायापथका उस्तै महानायकको कुशल सञ्चालनमा रहेको छ । अर्थात् महानायक राजेश हमाल । कुन्नि, यो कोरा नक्कल हो या कुनै आकस्मिक संयोग † जे भए पनि कथित महानायकीय स्तरको भएकोले यसलाई उपेक्षा गर्न मिल्दैन । यसो ता संयुक्त राज्य अमेरिकाबाट यो ‘मिलियन डलर’ टेलिभिजन खेलको जन्म भएको हो । तत्पश्चात अन्य मुलुकमा यसको विस्तार हुनगयो । सम्भवत: नेपाल यो करोडको टेलिभिजन खेल प्रदर्शन गर्ने पछिल्लो मुलुक हो ।


‘यार, को बन्छ, करोडपति कुनै मामुली खेल होइन ।’ मेरो अभिन्न मित्र हरेरामले भन्यो ।‘किन हरेराम ?’ मैले उसको आशय बुझ्ने प्रयत्न गरेंँ ।


‘हेर, यो एक विशुद्ध पुँजीगत खेल हो ।’ हरेरामले गम्भीर भावमा भन्यो, ‘अर्काे शब्दमा पुँजीवादी टेलिभिजन सो भने पनि हुन्छ ।’

हो, दुनियाँको सबभन्दा धनी मुलुक संयुक्त राज्य अमेरिकाबाट आयातित यो ‘को बन्छ, करोडपति ?’ एक पुँजीवादी चरित्रको टेलिभिजन खेल भएकोमा कुनै शंका छैन । म मित्र हरेरामको भनाइमा शतप्रतिशत सहमत छु ।


हेर्नाेस्, यसमा भाग लिनेहरूलाई खेल–खेलमै करोडपति हुने अवसर प्रदान गरिन्छ । अब हामीजस्ता गरिब–गुरुवा टाइपका नेपालीहरूलाई योभन्दा बेसी अरु के चाहियो ? तपाई खेलाँची शैलीमा करोडपति बन्न सक्नुहुन्छ । र यसपछिको कुरो भने अलिक गम्भीर छ । वास्तवमा कुरो के हो भने तपाईलाई करोडपति बनाएर पुँजीवादले आफ्नो मुख्य खेल खेल्नेछ । यसलाई सम्पूर्णत: पँुजीवादी खेलवाड नै भन्नोस् । अर्थात् पुँजीवादी खेलवाडारम्भ ।


यो एक निर्मम प्रकृतिको मनोरञ्जक खेल हो । एक आफैंले कृपापूर्वक तयार गरेको करोडपतिलाई लुट्नुको आनन्द नै अर्काे हुन्छ । यसको कारण के पनि हो भने कंगालहरूलाई कसरी लुट्ने त ? हुन त केही पनि नहुनेहरूका जबर्जस्त शोषणको जगमै पुँजीवाद खडा छ । अब तपाई भन्नुहोला, केही पनि नहुनेहरूका शोषण कसरी सम्भव छ ? यही त श्रीमान पुँजीवादको चमत्कार हो, मित्रहरू ।


नेपालमा कम्युनिष्ट नामधारीहरूका सरकार रहेको छ । त्यसमाथि पनि दुई तिहाइ हैसियतको । यस्तो कम्युनिष्ट भनिएको सरकारको घनघोर समयमा पुँजीवादी खेलको निर्वाध आगमनको के अर्थ हुनसक्छ ? यस सम्बन्धमा वास्तविक जानकारी हासिल गर्न मैले एक परिचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कमरेडसँग सम्पर्क गर्दा उनले केही भन्न चाहेनन् ।


यसको विकल्पमा एक रहस्यमय मुस्कान फालेर मलाई हेर्न थाले । यसको निहितार्थ मैले त्यसबखत केही बुझ्नसकेको थिइन । अहिले भने सबथोक वाचाल भएर स्पष्ट भएको छ । वस्तुत: कमरेडको सरकारी मुस्कानको अर्थ के थियो भने– ‘तपाई म समक्ष यस्तो करोड–सरोडको कुरो गर्नुहुन्छ ? हामी त अर्बौंमा खेल्ने भइसकेका छौं ।’ ठिकै पनि हो ।


भर्खरै नेपाल वायुसेवा निगमको ‘वाइड बडी’ हवाइजहाज काण्डमा अर्बाैं कमिसनको खेल खेल्ने खेलाडीहरू समक्ष केको ‘को बन्छ, करोडपति ?’ अब ता सोझै यस्तो खाले टेलिभिजन खेल सोको प्रस्तुति समय–सापेक्ष हुनेछ– को बन्छ, अर्बपति ?

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?