कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

महिलाको वेदना ठूलो कुरो ठानिन्न

लाउरी एडवार्डस

काठमाडौँ — मलाई अत्यन्तै दुर्लभ प्रकारको अनुवांशिक श्वास–प्रश्वास सम्बन्धी समस्या ‘प्राइमेरी सिलिएरी डिस्किनेसिया’ छ । म २३ वर्षको हुँदा चिकित्सकहरूले यो समस्या पत्ता लगाएका थिए । तैपनि लगभग जीवनभर नै म बिरामी रहेंँ । तारन्तार मेरो समस्याको जड केवल तनाव रहेको बताइयो । मेरो सोचको परिणाममात्रै हो भनेर पन्छाइयो ।

महिलाको वेदना ठूलो कुरो ठानिन्न

यो हरेक युवतीले भोग्ने समस्या हो । हामी सबैलाई थाहा भएकै कुरा हो, पुरुषको तुलनामा पीडामा रहेका महिलाको पूर्ण उपचार गरिँदैन । चिकित्सकहरूले पनि प्रायःजसो अवस्थामा युवतीको पीडालाई ‘साइकोसोम्याटिक’ (मानसिक सोचका कारण भइरहेको शारीरिक पीडा) भनेर पन्छाउने गर्छन् ।

याल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले केही समय अघिमात्रै गरेको एक अध्ययनले कसरी सानै उमेर लैंगिक भेदभाव सुरु हुन्छ भनेर देखाएको छ । अध्ययनमा सहभागी वयस्कहरूलाई रगत झिक्नका लागि औंलामा सियोले घोच्दा कसलाई बढी दुख्ला भन्ने प्रश्न गरिएको थियो । त्यसमा उनीहरूले बालिकालाईभन्दा बालकलाई बढी दुख्ने बताएका थिए ।

यस अध्ययनका अनुसन्धानकर्ताले यो तथ्यलाई ‘लैंगिक मानसिकता’सँग जोडेर व्याख्या गरेका छन् । लैंगिक मानसिकता अनुसार पुरुषहरू आफ्नो पीडालाई लिएर बढी सहनशील हुन्छन् भने महिलाहरू धेरै भावनात्मक हुन्छन् ।त्यसैले महिलाको पीडालाई कम विश्वास गरिन्छ ।

एक अनुमानअनुसार २० देखि ३५ प्रतिशत तन्नेरीले अत्यधिक पीडा महसुस गर्छन् । २०१७ को एक अध्ययन अनुसार चिकित्सकहरूले पुरुषले भोगिरहेको पीडालाई बढी ध्यान दिन्छन् भने महिलाको पीडालाई खासै वास्ता गर्दैनन् । यसले चिकित्सक र बिरामी बीचको सम्बन्धमा दीर्घकालीन असर पार्न सक्छ ।

इन्डोमेट्रियोसिस (महिलालाई पाठेघर वरपर हुने एक प्रकारको समस्या) यस प्रकारको विभेदबारे थप उजागर गर्नका लागि उपयोगी हुनसक्छ । हरेक १० मध्ये १ महिलालाई इन्डोमेट्रियोसिस हुन्छ । यो निकै पीडादायी अवस्था हो, जसमा पाठेघरभित्र हुनुपर्ने लाइनिङको वृद्धि बाहिर हुँदै जान्छ । यो अवस्थाको सुरुआत तन्नेरी अवस्थामै हुन्छ । तर केटीहरूलाई मासिक स्राव पीडादायी नै हुन्छ भनेर टार्ने गरिन्छ ।

त्यसैले यो भएको हो भनेर पत्ता लगाउनै वर्षौं लाग्छ । यो रोगबारे पत्ता लगाउन जति समय लगाइन्छ, महिलाहरूले त्यति नै पीडा भोग्नुपर्छ र उपचार पनि कठिन हुँदै जान्छ ।

लामो समयदेखि अत्यन्तै पीडा भोगिरहेका महिलाहरूसँग मैले कुराकानी गर्दा यस्तै प्रकारको सांस्कृतिक अविश्वास रहेको पाएको थिएँ । उनीहरूलाई पीडाको प्रमुख कारण तनाव रहेको बताइन्थ्यो । बारम्बार बेवास्ता गरेका कारण उनीहरूको आत्मविश्वास चुरचुर हुन्थ्यो । कालान्तरमा कमजोर वा रुन्छे भनेर चिनिने डरले उनीहरू आफूले भोगिरहेको पीडा लुकाउन बाध्य हुन्थे । जसका कारण उपचार झनै कठिन बन्छ ।

एक बिरामीले भनिन्, ‘लाज मान्दै, हतोत्साहि हुँदै आफ्नालागि कसरी उभिन सकिन्छ ? मलाई थाहा छ, मेरो शरीरले मलाई के भनिरहेको छ । तर डाक्टरको नतिजाको विरुद्ध कसरी जाने ?’

यो एक युवतीको पीडालाई चिकित्सकहरूले कुन रूपमा लिन्छन् भन्ने प्रश्नमा मात्रै सीमित छैन । यो त एउटा महिलाको पीडालाई समाजले कुन रूपमा ग्रहण गर्छ भन्नेमा केन्द्रित छ ।

यौन दुर्व्यवहारको विषयमा कुरा गरौं । द अमेरिकन एसोसियसन अफ युनिभर्सिटी विमेनले कक्षा ७ देखि १२ सम्म अध्ययन गर्ने २ हजार विद्यार्थीमाझ एक सर्वेक्षण गरेको थियो । जसमा आधा जतिले आफूले कुनै न कुनै प्रकारको यौन दुर्व्यवहार भोगेको बताएका थिए । केटाहरूभन्दा केटीले धेरै दुर्व्यवहार भोग्नुपरेको देखिन्छ । त्यो पनि शारीरिक रूपमा निकै पीडादायी हुन्छ । र केटीहरूमा त्यसको नकारात्मक प्रभाव पनि लामो समयसम्म देखिन्छ ।

दुर्व्यवहार भोगेकामध्ये १२ प्रतिशत बालिकाले मात्रै विद्यालयमा आफूभन्दा ठूलालाई त्यसबारे भन्ने गरेको देखिन्छ । उनीहरूले आफूलाई भएको दुर्व्यवहार लुकाउनुको मुख्य कारणमा अरू विश्वास नगर्लान्, सामाजिक बहिस्कारमा परिएला, विद्यालयले वास्ता नगर्ला र दुर्व्यवहार भनेकै के हो भन्ने अन्योल रहेको देखिन्छ ।

कलेजमा भने हरेक ५ युवतीमध्ये एकजनामाथि दुर्व्यवहार हुन्छ र त्यसमा पनि २० प्रतिशतले मात्रै रिपोर्ट गर्छन् । यसमा पनि डर नै सबैभन्दा ठूलो बाधक रहेको देखिन्छ । केटीहरूले यस्तो महसुस गर्नुको पनि कारण छ ।

उदाहरणका लागि मिसिगन स्टेट युनिभर्सिटी र युएसए जिमन्यास्टिक फिजिसियन डा. ल्यारी नासरको केसलाई लिन सकिन्छ । उनी गतवर्ष ४० देखि १७५ वर्षका लागि यौन दुर्व्यवहारको आरोपमा जेल चलान भए । मिसिगन राज्यलाई डा. नासरको दुर्व्यवहारबारे १९९७ मै थाहा थियो । तर त्यो बेलाको उजुरीलाई बेवास्ता गरियो । जब उनलाई पक्राउ गरेर कारबाही अगाडि बढाइयो, उनको दुर्व्यवहारका सिकार भएकाहरूमा हालको दिनसम्म पनि नकारात्मक असर रहेको देखिएको थियो ।

मिटू अभियानले महिलाहरूलाई दुर्व्यवहार विरुद्ध अगाडि आउन हौसला प्रदान गरेको छ । त्यसैले अहिले हामी उनीहरूले भोगेका ती पीडालाई संस्थागत गरी संस्कृतिक परिवर्तनतर्फ उन्मुख छौं । युवतीहरूले कस्तो प्रकारको पीडा महसुस गर्छन् भन्नेमा पनि अध्ययन, अनुसन्धान हुन जरुरी देखिन्छ । उनीहरूले आफ्नो शरीरका बारे हामीलाई केही भने हामीले बिना कुनै पूर्वाग्रह सुनिदिनुपर्छ ।

एडवार्डस ‘इन द किङ्डम अफ द सिक : ए सोसियल हिस्ट्री अफ क्रोनिक इलनेस इन अमेरिका’ नामक किताबकी लेखिका हुन् ।

(द न्युयोर्क टाइम्सबाट अनुदित)

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?